शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

दोस्रो बजारका शेयर लगानीकर्ताको कदर
राकेश अडुकिया
तीन-चार वर्ष पहिले कुनै ठोस कारणविना नै शेयरमूल्य एकाएक वृद्धि भयो । लगानीकर्ताहरू अहिले पनि सोहीअनुरूप शेयरमूल्यको वृद्धि खोजिरहेका छन् । त्यसैले नेप्से परिसूचक कहिले उकालो लाग्ला भन्ने प्रश्न सबैको मुखमा झुण्डिएको छ । नेप्से परिसूचक उकालो लाग्न सूचीकृत कम्पनीहरूको शेयर मूल्य बढ्नु जरुरी हुन्छ । त्यसका लागि नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय गुणस्तर राम्रो हुनुपर्छ । अहिले नेप्सेमा सूचीकृत कम्पनीहरूको सङ्ख्या मात्रै  बढिरहेको छ, तर तिनीहरूको वित्तीय गुणस्तरमा सुधार आउन सकेको छैन । पहिला सूचीकृत कम्पनीहरू थोरै थिए र बैङ्क तथा वित्त कम्पनीहरूको बाहुल्य थियो । फलस्वरूप, शेयरबजार उकालो लाग्न थालेपछि नयाँ बैङ्क तथा वित्त कम्पनीहरू खुल्ने क्रम बढ्दै गयो । त्यसले बजारमा शेयरको आपूर्ति हृवात्तै बढायो । तर, आपूर्तिको अनुपातमा शेयरको माग बढ्न सकेन । त्यसैगरी, नयाँ बैङ्क तथा वित्त कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा शुरू भयो । तर, आधारभूत वित्तीय परिसूचकहरूमा खासै सुधार देखिएन । फलस्वरूप, शेयरबजार क्रमशः ओरालो लाग्न थाल्यो ।

अहिले सबैले शेयरमूल्य उकालो लागोस् भन्ने चाहिरहेका छन् । यद्यपि नेपाली शेयरबजारमा बाहुल्यता रहेका बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक, व्यवस्थापक र सरकारी निकायहरूको पूँजीबजारलाई हेर्ने दृष्टिकोण अझै स्पष्ट छैन । अन्तरराष्ट्रियजगत्मा पूँजीबजारलाईपूँजी परिचालन गर्ने संयन्त्रका रूपमा आत्मसात् गरेर त्यसको विकास र प्रवर्द्धन गरिएको हुन्छ । नेपालमा भने त्यसो हुन सकेको छैन । वास्तवमा पूँजीबजारको काम सर्वसाधरणसँग छरिएर रहेको लगानीयोग्य बचतलाई एकीकृत गरेर ठूला परियोजनाहरू सञ्चालन गर्न सघाउनु हो । त्यसरी लगानी गरेका लगानीकर्ताहरूलाई उनीहरूले चाहेको समयमा आफ्नो हिस्सा विक्री गर्न सजिलो बनाउनु पनि हो । उदाहरणका लागि कुनै परियोजनामा आफ्नो क्षमताअनुसार कसैले १ हजार, कसैले १० हजार र कसैले १० लाख रुपैयाँ लगानी गरेका हुन्छन् । त्यसरी गरेको लगानी उनीहरूले चाहेको समयमा फिर्ता लैजान पाउनुपर्छ । त्यसमा शेयरको दोस्रो बजारले सहयोग गरिरहेको हुन्छ ।

शेयरबजार मात्रै यस्तो ठाउँ हो, जहाँ कारोबार गर्न वा लगानी गर्न ठूलो रकमको आवश्यकता पर्दैन । कुनै पनि व्यक्तिले आफ्नो क्षमताअनुसार सानो रकमबाट पनि कारोबार शुरू गर्न सक्छ, र चाहेको समयमा सजिलै फिर्ता लैजान सक्छ ।  त्यस्ता कमाइबाट सरकारले पनि राजस्व प्राप्त गर्छ ।  शेयरबजारमा गरेको लगानीको अवस्था पत्ता लगाउन लगानीकर्ताले लेखा राखिरहनु पनि पर्दैन । उनीहरूको छरिएर रहेको निष्क्रिय पूँजी लगानी पनि भयो । र, त्यसको व्यवस्थापनका लागि समय तथा दिमाग पनि लगाउन परेन । शेयरबजारको अर्को महत्त्वपूर्ण काम भनेको सम्पत्ति निर्माणमा सहयोग पुर्‍याउनु हो । यो काम अरू क्षेत्रको तुलनामा शेयरबजारले निकै सजिलै गर्न सक्छ । कुनै पनि लगानीकर्ताको लगानीको वास्तविक मूल्य कति छ ? त्यसको कारोबार मूल्य कति छ ? जस्ता कुराको निर्धारण बजार संयन्त्रले गर्दछ । शेयरबजारले सम्पत्ति निर्माणको काम मात्रै गर्दैन, सम्पत्ति सञ्चयको काम पनि गर्छ । हामीले कुनै प्राइभेट कम्पनीमा सय रुपैयाँ लगानी गर्दा त्यो स्थायी रूपमा रहिरहन्छ । त्यसलाई हामीले चाहेको समयमा आंशिक वा पूर्ण  रूपमा बेच्न सक्दैनौँ । कम्पनीले नाफा वा घाटा जे गरे पनि सहेर बस्नुपर्ने हुन्छ । तर, त्यही सय रुपैयाँ शेयरबजारको सूचीकृत पब्लिक कम्पनीमा लगानी गरियो भने त्यसलाई हजारौंपटक किनबेच गर्न सकिन्छ । त्यसमा नाफा पनि कमाउन सकिन्छ । अथवा लामो समयसम्म लाभांश लिएर बस्न पनि सकिन्छ । यसरी शेयरबजारलाई बहुउपयोगी बजारका रूपमा लिइन्छ ।

अहिले नेपाली शेयरबजार परिसूचक मात्रै होइन, यसको गुणस्तर पनि खस्केको छ । यो किन र कसरी भयो अनि समाधानका उपाय के-के हुन सक्छन् ? भन्नेतिर कसैको ध्यान गएको छैन । पहिला बजार स्वाभाविक र गुणस्तरयुक्त थियो । तर, अहिले सङ्ख्यात्मक र प्रचारात्मक मात्रै भएको छ । हल्लाकै भरमा गुणस्तरहीन कम्पनीहरूमा पनि लगानी ओइरिनुले यस्तो भएको हो । २ वर्षअघि नेप्से परिसूचक १ हजार १ सय ७५ सम्म पुग्यो । तर, त्यतिबेला पूँजीबजारलाई त्यही गतिमा वा सामान्य अवस्थामा चल्न आवश्यक उपायहरूको अवलम्बन गर्न सकिएन । बजारको गुण तथा विशेषताहरूलाई बुझ्न सकिएन । कम्पनीका सञ्चालक समितिले शून्य दशमलव ५ प्रतिशत संस्थापक शेयर हुनेको नाम वार्षिक प्रतिवेदनमा छाप्नेबाहेक अरू कुनै ठोस काम गर्न सकेन । तर, त्योभन्दा धेरै लगानी भएका सर्वसाधारण लगानीकर्ताको वास्ता गरेको पाइएन । त्यसैगरी पूर्व वार्षिक साधारणसभाका सम्बन्धमा सर्वसाधारण लगानीकर्तालाई सामान्य जानकारीसमेत दिइँदैन । त्यसमा संस्थापक शेयरधनीलाई बढी लाभ हुने खालका प्रस्तावहरू मात्रै साधारणसभामा लैजाने निर्णय गरिन्छ । उता अङ्कित मूल्यको दश गुणा बढी तिरेर शेयर किनेका सर्वसाधारण लगानीकर्तालाई भने सधैं हेपाहा व्यवहार गरिन्छ । त्यसकारण शेयरबजारमा सर्वसाधारण लगानीकर्ताको उचित मूल्याङ्कन भएको छैन ।

सञ्चालक तथा संस्थापकहरूले र्सवसाधारण लगानीकर्ताहरूलाई चिन्न सक्दैनन् भने त्यस्ता कम्पनीको शेयर किनेर  तिनीहरूको मूल्य बढाउनुपर्ने कुनै कारण छैन । यस्तो अवस्थाले अझ मूल्य घट्दै जाने सङ्केत गर्छ । अब सूचीकृत कम्पनीहरूले मुख्यतः संस्थागत सुशासन तथा वित्तीय गुणस्तरमा ध्यान दिनुपर्ने समय भएको छ । त्यसपछि मात्रै उनीहरूप्रति सर्वसाधारण शेयरधनीहरूको विश्वास बढ्छ । तर, अहिले त्यसो हुन सकिरहेको छैन । कम्पनी सञ्चालकहरूले आफूलाई मालिक ठान्ने प्रवृत्ति बढेको छ । उनीहरूले र्सवसाधारण शेयरधनी तथा कम्पनीका व्यवस्थापकहरूलाई बेवास्ता गरे पनि यसको विपक्षमा आजसम्म कसैले आवाज उठाउन सकेका छैनन् । अहिले सूचीकृत कम्पनीका सबै पक्षहरूको विस्तृत विश्लेषण गर्ने हो भने केही कम्पनीहरू मात्रै लगानीका लागि उत्कृष्ट ठहरिन सक्छन् । तर, लगानीकर्ता विश्लेषणविना नै लगानी गरिरहेका छन् । शेयरबजारको स्वाभाविक विकासका लागि लगानीकर्ताहरू पनि जागरुक हुनु जरुरी छ । त्यसैगरी, शेयरबजारमा सूचीकृत भएका सबै कम्पनी पब्लिक लिमिटेड कम्पनी भएकाले उनीहरूले पनि सर्वसाधारण लगानीकर्ताहरूको हितलाई बढी ध्यान दिनुपर्ने हुन्छ । यसो भएमा मात्रै थप लगानीकर्ता आकर्षित हुन सक्छन् ।

दोस्रो बजारमा कारोबार हुने सबै शेयर र्सवसाधारण लगानीकर्ताका लागि नै भएकाले उनीहरूका मागको सम्बोधन हुनैपर्छ । र्सवसाधारण लगानीकर्तालाई कम्पनीका बारेमा सजिलै विश्लेषण गर्न सक्ने वातावरण बन्नुपर्छ । यसको अर्थ सूचीकृत कम्पनीहरूको वित्तीय विवरण सर्वसाधारणले सजिलै बुझ्न सक्ने तरिकाले प्रकाशन गर्नुपर्छ भन्ने हो । यसबाहेक त्यस्ता प्रतिवेदनमा कुनै द्विविधा भएमा सम्बन्धित कम्पनी वा ब्रोकर कम्पनीहरूले इमानदारीपूर्वक बुझाइदिने संस्कृतिको विकास हुनुपर्छ । आफ्नो कम्पनीका बारेमा बढाइचढाई गरेर लगानीकर्ताहरूलाई भ्रमित गर्ने कार्य कसैले गर्नु भएन । अहिले नै गुणस्तरमा ध्यान दिइएन भने यसको प्रतिकूल असर शेयरबजारमा निकै लामो समयसम्म पर्न सक्छ । कम्पनीहरूले आफ्नो गुणस्तर बढाउनका लागि साधारण लगानीकर्ताहरूबाट पनि सल्लाह सुझाव लिने बानी बसाल्नुपर्छ । किनभने उनीहरूको पसिनाको कमाइ पनि त्यो कम्पनीमा लगानी भएको हुन्छ । वार्षिक साधारणसभालाई औपचारिक कार्यक्रम र खर्च देखाउने शीर्षकका रूपमा मात्रै हेरिनु भएन ।

शेयरबजारले सर्वसाधारण लगानीकर्ताको विश्वास गुमायो भने यो कहिल्यै उठ्न नसक्ने गरी थला पर्न सक्छ । त्यसकारण, बजारका आधारभूत समस्याहरूको समाधान नगरेसम्म र कम्पनीहरूको गुणस्तरमा सुधार नभएसम्म शेयरको मूल्य बढ्नुको कुनै अर्थ रहँदैन ।  त्यस्तो वृद्धि टिकाउ पनि हुन सक्दैन । अहिले शेयरबजार घट्नुको कारण पत्ता लगाएर आवश्यक सुधारका उपाय अवलम्बन गरे मात्र शेयरबजार कहिले उकालो लाग्छ भन्ने प्रश्नको उत्तर पाउन सकिन्छ ।
लेखक वेल्थ एक्सचेञ्ज प्रालिका प्रबन्ध निर्देशक  एवम् शेयर लगानीकर्ता हुन् ।