बाबुराम, शेयर बजार र प्रतिवेदन
रवीन्द्र भट्टराई
बाबुराम भट्टराई प्रधानमन्त्री भएकै दिन नेप्से परिसूचक ९ अङ्कभन्दा बढीले घट्न पुग्यो । धेरैको विश्लेषण के देखिन्छ भने विगतमा शेयर बजारप्रति अनुदार देखिएका भट्टराई प्रधानमन्त्री नै भएपछि र एमाओवादीको नेतृत्वमा सरकार बन्ने पक्का भएपछि लगानीकर्तामा त्रास छाएकाले बजार घटेको हो । तर, वास्तविकता यो होइन । बाबुराम प्रधानमन्त्री हुनु र शेयर बजार घट्नु संयोग मात्र हो ।
आव २०६४/६५ को अन्त्यताका एक कार्यक्रममा शेयर बजारलाई जुवाघरजस्तो बनाइनु हुँदैन भन्ने अभिव्यक्ति दिएपछि यो क्षेत्र बाबुरामप्रति नकारात्मक देखियो । तर, यथार्थमा यो विश्लेषण गलत थियो । अझै पनि शेयर बजारको गिरावटको कारण बाबुरामको अभिव्यक्ति नै हो भन्ने बुझाइ धेरैमा छ । यिनले त्यस्तो अभिव्यक्ति दिएको समयको अर्थतन्त्रका सूचकाङ्कहरूको अध्ययन र विश्लेषण गर्दा त्यस अवस्थामा बजारको बढी मूल्याङ्कन भइसकेको थियो । यही समयमा यिनले बोलेको विषय बाघ कराउनु र बाख्री हराउनु एकैपटक भएको मात्र थियो । बाबुरामले यस्तो अभिव्यक्ति दिनुभन्दा १ वर्षअगाडि नै ब्याजदर बढ्न शुरू गरिसकेको थियो । ट्रेजरी बिल्सको भारित औसत वार्षिक ब्याजदरले ०६३/६४ मा २ दशमलव ४४ प्रतिशतको न्यून बिन्दु बनाएर ०६४/६५ मा ४ दशमलव २१ प्रतिशत पुगिसकेको थियो । त्यस्तै, ०६४/६५ मा आव २०५८/५९ यताकै उच्च आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत पुगेको थियो । त्यसपछिका वर्षमा भने ३ दशमलव ७७ प्रतिशतमा झरेकोे थियो । त्यसैगरी, बजारमा उच्च लाभांश बाँड्दै आएका कम्पनीको लाभांश प्रतिफलदर ट्रेजरी बिल्सको ब्याजदरभन्दा तल र्झन थालेको थियो । तत्कालीन अवस्थामा नेपाल राष्ट्र बैङ्कका केही नीतिगत निर्णये पनि बजार घट्नमा मद्दत पुर्याएको थियो ।
एमाओवादी पार्टीबाट बाबुराम भटराई नेतृत्वको सरकार बन्ने पक्का भएकै दिन शेयर बजार ९ अङ्कभन्दा बढीले घट्नु बाबुराम र शेयर बजार गिरावटको अर्को संयोग हो । यो गिरावट बाबुरामको नेतृत्वमा सरकार बन्ने कारणभन्दा पनि राम्रा कम्पनीले घोषणा गरेको निराशाजनक लाभांशको परिणाम थियो । बाबुराम प्रधानमन्त्री हुनुभन्दा तीन दिनअघि मात्र नबिल बैङ्कले ३० प्रतिशत नगद लाभांश घोषणा गरेर निराश भएको बजारले प्रतिक्रिया देखाउन आइतवार नै कुर्नुपर्ने थियो । जुन दिन बाबुराम भट्टराई प्रधानमन्त्रीमा निर्वाचित हुँदै थिए । नेपाली उखान 'मन परेको केटो जेठाजु परेछ' भनेझैं नाफाको परिणामको हिसाबले सबैभन्दा बढी नाफा कमाएको निजीक्षेत्रको सुचीकृत बैङ्कले नै लगानीकर्ताले आशा गरेभन्दा धेरै कम लाभांशको घोषणा गरेपछि सो कम्पनीको शेयरमूल्य आइतवार १० प्रतिशतबराबरले घटयो । यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घट्न पुग्यो । असार मसान्तको कुल बजार पूँजीकरणमा नबिलको ७ दशमलव ८५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डको ८ दशमलव ९५ प्रतिशत हिस्सा छ । बजारमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने यी कम्पनीको शेयरमूल्यमा कमी आएपछि अन्य कम्पनीको मूल्यमा नकारात्मक प्रभाव पर्नु स्वाभाविक नै हो । यसैले, सो दिन नेप्सेमा ९ अङ्कभन्दा बढीको गिरावट आयो ।
यस्तै, निराशाजनक अवस्था कम्पनीका प्रतिवेदन र नेपाल राष्ट्र बैङ्कको निर्णयले पनि सृजना गरेको छ । बैङ्किङ क्षेत्रमा देखिएको तरलता समस्या र बढ्दो जोखिमलाई मध्यनजर राखी नेपाल राष्ट्र बैङ्कले नगद लाभांश वितरणमा कडाइ गर्ने नीति लिएपछि लाभांश हात पारी बैङ्कको ब्याज तिर्न तयार लगानीकर्तालाई थप निराश बनाएको छ । नाफा कम बाँडेर बढी नाफा कम्पनीमा राख्नु कम्पनीको वित्तीय अवस्था सुधार गर्ने र लगानी सुरक्षाका दृष्टिकोणबाट राम्रो हो । अर्कोतर्फबैङ्कको पूँजीको लागत बढ्दो रहेको अवस्थामा बाहिरबाट बढी लागतको पैसा लिएर लगानी गर्नुभन्दा विनालागतको पैसा बचाउनसके नाफाको दरमा वृद्धि गर्न सकिन्छ भन्ने पनि हो । सूचीकृत वाणिज्य बैङ्कको आव २०६६/६७ को तथ्याङ्कअनुसार औद्योगिक औसत पूँजीको लागत ६ दशमलव ४५ प्रतिशत रहेकोमा २०६७/६८ मा बढेर ८ दशमलव २२ प्रतिशत पुगेको छ ।
सञ्चित नाफा बढाउने नीतिले कम्पनीको वित्तीय स्वस्थता बढाउँछ । नेटवर्थ वृद्धि गर्छ । शेयरधनीको लगानीको सुरक्षा बढ्न जान्छ । त्यसको परिणामस्वरूप दीर्घकालमा शेयरको मूल्य बढ्छ । संसारका तेस्रो धनी वारेन बफेटले व्यवस्थापन गरेको वर्कशायर हयाथवे कम्पनीले कहिले पनि लाभांश नबाँड्ने नीति लिएको छ । यो कम्पनीको शेयरमूल्य सन् २००८ को आर्थिक मन्दीअघि १ लाख ५१ हजार डलर प्रतिशेयरसम्म पुग्यो । कम्पनीसँग राम्रो अवसरका लगानीका प्रशस्तै विकल्प छन् भने लाभांश कम बाँडी बढी सञ्चित गर्नु नराम्रो होइन । तर, लगानीकर्ताका आम्दानीका स्रोतहरू खुम्चँदै गएको अवस्थामा नगद लाभांशमाथि राष्ट्र बैङ्कले कडाइ गर्दा तत्काल नाफा लिने उद्देश्य भएका लगानीकर्ता भने निराश हुने अवस्था हो ।
यस्तै, निराशाजनक अवस्था कम्पनीका चौथो त्रैमाशका प्रतिवेदनले पनि देखाएको छ । सूचीकृत २४ वाणिज्य बैङ्कको आव २०६७/६८ मा करपछिको नाफा अघिल्लो वर्षको तुलनामा ४ दशमलव ६३ प्रतिशतले मात्र बढेको छ । अहिलेको ९ प्रतिशतभन्दा बढीको मुद्रास्फीतिको तुलनामा बैङ्किङ उद्योगको नाफाको वास्तविक वृद्धि ऋणात्मक हो । नाफाको यो वृद्धिलाई हेर्दा समग्र बैङ्किङ उद्योगले लगानीकर्ताको वास्तविक सम्पत्ति बढाउनसक्ने अवस्था देखिँदैन । अपरिष्कृत विवरणअनुसार सुचीकृत २४ बैङ्कमध्ये सातओटा बैङ्कको नाफा अघिल्लो वर्षभन्दा घटेको छ । बैङ्कले अहिले देखाएको नाफा लेखापरीक्षणपछि थप घट्ने सम्भावना प्रशस्तै रहन सक्छ । यसैगरी, बैङ्किङ क्षेत्रमा जोखिम थप बढेको बैङ्कको खराब कर्जा प्रतिशतले देखाएको छ । अघिल्लो वर्षसूचीकृत बैङ्कको औद्योगिक औसत खराबकर्जा प्रतिशत १ दशमलव ८७ प्रतिशत रहेकामा २०६७/६८ मा बढेर २ दशमलव ४८ प्रतिशत पुगेको छ । यो अनुपात बढ्नु पनि बैङ्कको नाफामा कमी आउनुको प्रमुख कारण हो । एक बैङ्क तथा वित्तीय संस्थाले अर्को बैङ्क तथा वित्तीय संस्थामा ब्याजआर्जन गर्ने गरी निक्षेप राख्न नपाउने राष्ट्र बैङ्कको पछिल्लो निर्देशिकाले बैङ्क तथा वित्तीय संस्थाको नाफाको वृद्धिलाई आगामी वर्षथप नकारात्मक प्राभाव पार्ने सम्भावना देखिन्छ ।
चौथो त्रैमासिकको प्रतिवेदनअनुसार सुचीकृत बैङ्कको इक्विटीमा प्रतिफल पनि खुम्चँदै गएको छ । बैङ्किङ उद्योगको इक्विटीमा प्रतिफल ०६६/६७ मा २३ प्रतिशत रहेको थियो । आव २०६७/६८ मा घटेर १७ दशमलव ५७ प्रतिशतमा झरेको छ । बोनस तथा हकप्रद शेयरको कारण बढेको पूँजीको अनुपातमा नाफा बढ्न नसक्दा यो प्रतिफलमा कमी आएको हो । यो प्रतिफलका आधारमा हेर्दा कुल सूचीकृत वाणिज्य बैङ्कमध्ये ११ ओटा वाणिज्य बैङ्कले औसतभन्दा बढी प्रतिफल शेयरधनीको पूँजीमा आर्जन गर्न सकेका छैनन् । यसका आधारमा एभरेष्ट बैङ्क शेयरधनीको पूँजीमा सबैभन्दा बढी ३५ दशमलव ८३ प्रतिशत प्रतिफल आर्जन गर्ने बैङ्क देखिन्छ । यी बैङ्कमध्ये प्रतिशेयर आम्दानी र इक्विटीमा प्रतिफल यो बैङ्कको सबैभन्दा बढी छ । इक्विटीमा प्रतिफल कम्पनीको नाफाको गणना गर्ने सबैभन्दा उत्तम र अन्तिम औजार हो ।
बैङ्कका प्रतिवेदनले प्रतिफल घटेको र जोखिम बढेको देखाए पनि मूल्य आम्दानीका आधारमा धेरै बैङ्कको शेयर कम मूल्याङ्कन भएका छन । समग्र बैङ्किङ उद्योग भने सही मूल्याङ्कन भएको यसको औद्योगिक औसत मूल्य-आम्दानी अनुपातले देखाउँछ । पछिल्लो प्रतिवेदनअनुसार औद्योगिक औसत मूल्य-आम्दानी अनुपात १५ गुणा छ । १० देखि १५ सम्मको अनुपातलाई सही मूल्याङ्कनको अवस्था मानिन्छ ।
बैङ्कले स्वविवेकमा शेयर धितो कर्जा नवीकरण गर्न पाउने गरी राष्ट्र बैङ्कले पछिल्लोपटक नीतिगत व्यवस्था गरेको छ । देशको समग्र परिवर्तनका लागि अपेक्षा गरेको व्यक्ति नै प्रधानमन्त्री भएको अवस्था छ । त्यसैले, आगामी दिनमा शेयर बजारमा सुधार हुने अपेक्षा भने गर्न सकिन्छ ।
लेखक शेयर विश्लेषक हुन् ।
Admin 2011-09-01