पर्यटन विकासमा होम स्टेको भूमिका
डा. प्रेम शर्मा
नेपाल पर्यटकीय सम्पदाहरूले भरिपूर्ण मुलुक हो । यो जलस्रोतपछि पूर्ण सम्भाव्यतायुक्त क्षेत्रका रूपमा रहेको छ । त्यसैले पर्यटनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकेमा शहरी एवम् ग्रामीण गरिबीलाई पूर्ण निवारण गर्न नसकिए पनि न्यूनीकरण गर्न भने सकिन्छ । ठूलो आर्थिक एवम् प्राविधिक लगानीविना पनि पर्यटन विकास गर्न सकिन्छ । सानो पूँजी, शिक्षा, प्राविधिक एवम् व्यावसायिक ज्ञान, शीप तथा जाँगरबाट पर्यटनसम्बन्धी काम सम्पादन गर्न सकिन्छ । मेगा बजेट, वैदेशिक लगानी, आयातित प्राविधिकहरूबाट मात्र जलस्रोतको विकास तत्काललाई सम्भव छ । तर, पर्यटन (विशेषगरी ग्रामीण क्षेत्रको पर्यटन)को विकास यी कुराविना नै सहज र व्यापक रूपमा गर्न सम्भव छ । विशेषगरी होम स्टे (घरबास)को माध्यमबाट त्यो सम्भावनालाई उजागर गर्न सकिन्छ । नेपाल सरकारको व्यावहारिक, सक्रिय एवम् सकारात्मक सहयोग यसका लागि आवश्यक छ । थोरै खर्च, सानो लगानी र कम दक्ष जनशक्तिबाट पनि यो क्षेत्रलाई राम्रोसँग अगाडि बढाउन सकिन्छ । नेपालले भविष्यमा दुई ठूला आर्थिक एवम् विकासका महत्त्वाकाङ्क्षी छिमेकी मुलुक- भारत र चीनको बजारलाई मध्यनजर राखी पर्यटन र जलस्रोतलाई प्राथमिकताका साथ अगाडि सार्नुपर्दछ । हरेक आयामबाट पिछडिएको नेपाली समाजलाई क्रान्तिकारी रूपान्तरण गर्नुबाहेक अरू विकल्प हामीसँग छैन ।
शहरी पर्यटन विकासमा निजीक्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । ग्रामीण पर्यटन विकासका लागि समुदायहरूलाई सङ्गठित र प्रोत्साहन गरी अगाडि बढाउनुपर्दछ । नेपालको ८५ प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छ । त्यसमध्ये ७९ प्रतिशत कृषिमा संलग्न छ । यो क्षेत्र शिक्षा र रोजगारमा धेरै पछाडि परेको छ । त्यसैले ग्रामीण क्षेत्रमा पर्यटनको विविधीकरण र विस्तार गरी सवसाधारणलाई गरीबी निवारण कार्यक्रममा प्रत्यक्ष संलग्न गराउन सकिन्छ । यसबाट उनीहरूको जीवनस्तरमा सुधार गर्ने लक्ष्यका साथ पर्यटनसम्बन्धी नीति तथा कार्यक्रम अगाडि सारिएका छन् । 'नेपाल पर्यटन वर्ष२०११' लाई कसरी ग्रामीणमुखी बनाउन सकिन्छ भन्ने विषय पनि अहिले विचारणीय छ । केही वर्षपहिलेदेखि नै सिरुबारी, घलेगाउँलगायत गाउँहरूमा होम स्टे सञ्चालनमा थियो । यसलाई भविष्यमा व्यापक र व्यवस्थित गर्ने उद्देश्यका साथ 'होम स्टे सञ्चालन कार्यविधि(२०६७' पनि कार्यान्वयनमा ल्याइएको छ । यो कार्यविधि हालको पर्यटन विकास कार्यक्रमका लागि पर्याप्त नै रहेको देखिन्छ । तर, भविष्यमा यस क्षेत्रका गतिविधिहरू बढ्दै जाँदा व्यवस्थापन र समायोजन गर्न सक्ने स्थिति यसबाट हुँदैन । तर, वैधानिक वा कानूनी रूपमा आएको यो कार्यविधिले धेरै सहयोगी भूमिका निर्वाह भने गर्न सक्ने सम्भावना छ । ग्रामीण पर्यटन विकासको प्रतिफललाई ती पिछडिएका ग्रामीण जनसमुदायसम्म पुर्याउन होम स्टे कार्यविधिले सहयोग पुर्याउन सक्छ । बाह्य तथा आन्तरिक पर्यटक एवम् व्यवसायीहरूलाई मार्गदर्शन गर्न, व्यवस्थित रूपमा शान्तिसुरक्षा दिन, होम स्टेको न्यूनतम मापदण्ड पूरा गर्न र सेवाग्राही र सेवाप्रदायकबीचमा सुमधुर सम्बन्ध स्थापना गर्न स्थानीय सरकार (निकाय)हरूलाई काम गर्न यो कार्यविधिले अवश्य पनि ठूलो सहयोग गर्नेछ । यसबाट एकातर्फहोम स्टे व्यवसायले कानूनी मान्यता प्राप्त गरेको छ भने अर्कातर्फघरबासको आनन्द भोग गर्न जाने आन्तरिक तथा बा⋲य पर्यटकलाई पनि निर्धक्क न्यूनतम गास, बास, मनोरञ्जन, शान्तिसुरक्षा तथा अन्य सुविधाहरू प्राप्त हुनेछ भन्ने विश्वास बढाएको छ । यो कार्यविधिले पश्चिमी मुलुकहरूमा प्रचलनमा रहेको घरबास सञ्चालन विधि, सरसुविधा र यस व्यवस्थामा संलग्न रहने व्यवसायी, पर्यटक, स्थानीय सरकार र समुदायहरूको कार्यक्षेत्र, अधिकार, मापदण्ड, स्तर आदिलाई सीमाङ्कन गरी स्तरीयता कायम गर्न खोजेको छ । यसमा संलग्न सरोकारावालाहरूले सकारात्मक तरीकाले यसलाई पालन र कार्यान्वयन गर्दा सबैलाई फाइदा पुग्छ । नेपाल सरकारको ग्रामीण गरीबी निवारण गर्ने लक्ष्यलाई अवश्य टेवा पुग्नेछ । यसले स्वरोजगार विकासका साथै मौजुदा नेपाली कला, संस्कृति, रीतिरिवाज, रहनसहनको संरक्षण, पर्यावरणीय सुधार एवम् संवर्द्धन गर्न मद्दत पुर्याउनेछ ।
कार्यविधिले पाँचओटा घरधनीको सामूहिक व्यवस्थापनमा सामुदायिक र निजीस्तरमा सञ्चालित घरबासलाई निजी होम स्टेका रूपमा गाउँ वा शहरमा सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ । तर, दुवैखाले व्यवसायलाई 'होम स्टे व्यवस्थापन समिति'मार्फत सञ्चालन हुनुपर्ने प्रावधान राखिएको छ । उक्त समितिमा एक महिला प्रतिनिधि अनिवार्य रहने र जिल्लामा 'जिल्ला होम स्टे समन्वय समिति' जिविसअन्तर्गत रहने व्यवस्था छ । यसो हुँदा यसले पूर्ण वैधता र कानूनी मान्यता प्राप्त गरी व्यवसाय सञ्चालक र सरोकारवालालाई सहज तुल्याएको छ । यी समितिहरूको अनुशासन तथा निरीक्षण केन्द्र (मन्त्रालय)मा रहेको पर्यटन उद्योग महाशाखाले गर्ने समेत व्यवस्था छ । वास्तवमा होम स्टे सञ्चालनको मुख्य उद्देश्य पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पुर्याउने, ग्रामीण क्षेत्रका जनतालाई पर्यटनमा प्र्रत्यक्ष सहभागी गराउने, उनीहरूको आयस्रोत वृद्धि गरी जीवनस्तर वृद्धि गर्ने, स्थानीयस्तरमा स्वरोजगार सृजना गर्ने, देशमा रहेका मौजुदा सम्पदाहरूको प्रचारप्रसार गर्ने, नेपाली संस्कृति, रीतिरिवाज, कला, रहनसहन र नेपाली आतिथ्य, प्रेम सद्भाव विश्वसामु चिनाउने मौका प्रदान गर्ने एउटा सरल र सहज वातावरणको व्यवस्थापन हो । यस कार्यक्रममा र्'पर्यटनका लागि सँगसँगै' (टुगेदर फर टुरिजम) भनेझैं सरकार, निजीक्षेत्र र समुदाय एवम् व्यक्तिलाई एकैसाथ सहभागी गराएर अगाडि बढ्ने संयोग निर्माण गरिएको छ । त्यसैले व्यवसायको सञ्चालनमा कानूनी मान्यता, न्यूनतम सरसुविधा, आचारसंहिता (सरोकारवाला सबै पक्षका लागि) पालना र सम्बन्धित निकायबाट अनुगमन तथा निरीक्षणको व्यवस्था हुनु एउटा असल शुरूआत हो । प्रचारप्रसारका लागि अग्र र पश्च (फरवार्ड र ब्याकवार्ड लिङ्केज) सम्बन्ध संयोजनको व्यवस्था गर्ने कुरा पनि उल्लेख हुनु यसको थप सबल पक्ष हो ।
कार्यविधिले होम स्टे सञ्चालनका आधारभूत मापदण्डहरूको निर्माण गरेको छ । कम्तीमा पाँच घरवाला/धनीहरूको जमानतमा स्तरीय स्थानमा आधारभूत पूर्वाधारको उपस्थितिमा घरबास सञ्चालन हुनुपर्ने व्यवस्था कार्यविधिमा छ । घरवालाको कम्तीमा एक कोठा छुट्टै हुनुपर्ने, बढीमा चार कोठाको प्रयोग गर्न पाइने, प्रतिकोठा बढीमा दुई शय्या हुनुपर्ने, बिछयौना ३ह६ दशमलव ५ फीट आकारको हुनुपर्ने मापदण्ड पनि कार्यविधिले बनाएको छ । भुइँमा गुन्द्री, कार्पेट वा राढी र ढोकामा डोरम्याट आवश्यक रहेको कार्यविधिमा छ । ओढ्ने-ओछयाउने कपडाको स्तर, कोठाभित्र बिजुली वा बत्तीको व्यवस्था, धुँवारहित कोठा, फोहोर व्यवस्थापन, ऐना, चप्पल, टी-टेबल, कुर्सी,शौचालय र स्नानघर, भान्साकोठा र खानाखाने व्यवस्था, स्वास्थ्य सरसफाइको व्यवस्था आदि न्यूनतम स्तरहरूको व्यवस्था उल्लेख कार्यविधिमा छ । सो गाउँ बस्तीमा वातावरणीय संरक्षण संवर्द्धनको व्यवस्था आदि हुनुपर्ने उल्लेख कार्यविधिमा छ । होम स्टेका लागि आउने पाहुनाहरूले पनि केही आचारसंहिताहरू पालना गर्नुपर्ने प्रावधानहरू उल्लेख भएको हुँदा यो व्यवस्था अगाडि बढाउन सहज र सरल हुने भएको छ ।
'होम स्टे सञ्चालन कार्यविधि- २०६७' नेपालको गाउँ-पर्यटन विकासका लागि एउटा आधारभूत नीति र विधिका रूपमा अगाडि आएको छ । सम्भवत: 'नेपाल पर्यटन वर्ष२०११' मा नेपाल सरकारले होम स्टे सञ्चालन गर्न चाहने समुदाय, व्यक्ति र सरोकारवालाको प्रोत्साहनका लागि यसलाई कार्यान्वयन गर्नेछ । निजी तथा समुदाय स्तरको यो व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिहरूले यसबाट फाइदा लिनेछन् । यो व्यवसायलाई मर्यादित, व्यवस्थित र कानूनी रूपमा अगाडि बढाउन आवश्यक छ । त्यसका लागि नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालयको पर्यटन उद्योग महाशाखा र स्थानीय सरकारहरूले यो कार्यविधिलाई जनस्तरमा प्रचारप्रसार गर्नु आवश्यक छ । गाउँ पर्यटन विकासलाई राष्ट्रव्यापी रूपमा अगाडि बढाई यसमा जनसहभागिता बढाउन सक्दा सबै नेपालीले यसबाट फाइदा लिन सक्छन् ।
लेखक त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन् ।