शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

ल्याटिन अमेरिकाको चम्किएको दशक
आन्द्रेस भेलास्को
इण्टर अमेरिकन डेभलपमेण्ट बैङ्कले गत जुलाईमा यस दशकलाई 'ल्याटिन अमेरिकाको दशक’ घोषणा गरेको थियो । त्यसको केही महीनापछि द इकोनोमिष्टले पनि त्यसलाई समर्थन गर्यो । त्यसपछि, उक्त नारालाई थुप्रै समर्थक र विशेषज्ञले अनगिन्ती पटक दोहोर्याइसकेका छन् ।

अलिकता पनि आर्थिक वृद्धि हुनासाथ विशेषज्ञहरूलाई उत्साहित बनाउँछ । ल्याटिन अमेरिकामा २०१० मा ६ प्रतिशतले वृद्धि भएको थियो भने २०११ मा ४ दशमलव ७५ प्रतिशतमा रहने अन्तरराष्ट्रिय मुद्राकोषको अपेक्षा छ । गत तीन दशकभन्दा बढी समयदेखि त्यस क्षेत्रमा रहेको अर्थिक सुस्तीलाई हेर्दा हालको वृद्धिदर निश्चय पनि उत्साहवर्द्धक देखिन्छ । वित्तीय सङ्कटपछि ल्याटिन अमेरिकाका शेयर बजार तीव्र गतिमा उकालो लागिरहेका छन् । त्यसैगरी, ती देशमा घरजग्गाको मूल्य पनि बढिरहेको छ । त्यसैले पनि स्वभावतः धेरै जना उत्साहित भएका हुन् ।  

१९८० को दशकको शुरूतिर पनि ल्याटिन अमेरिका क्षेत्रमा त्यस्तै उत्साह देखिएको थियो । अमेरिकाबाट प्रशस्त बैङ्क ऋण आइरहेको थियो र अर्जेण्टिना, चिली र उरुग्वेजस्ता देशले तीव्र वृद्धि हासिल गरिरहेका थिए । तर, त्यसैबेला अमेरिकामा ब्याजदर बढाइयो, जसले गर्दा अमेरिकी डलर फेरि अमेरिका फिर्ता भयो । त्यसपछि धेरैजसो देशले ऋण तिर्न सकेनन्, परिणामस्वरूप १९८० को दशक ल्याटिन अमेरिकाका लागि 'गुमेको दशक’ हुन पुग्यो ।

त्यस्तै अर्को उत्साहको लहर १९९० को दशकको शुरू र मध्यतिर आयो । कमोडिटीहरूको मूल्य उच्च हुनुका साथै प्रशस्त बाह्य लगानीका कारण धेरै ल्याटिन अमेरिकी देशले वृद्धि हासिल गरे । वाशिङटन कन्सेसस्ले निर्देशन गरेबमोजिमको उदारीकरणसम्बन्धी सुधार लागू गरेपछि ल्याटिन अमेरिकाले निकै वृद्धि हासिल गर्ने अनुमान गरियो । तर, त्यसैबेला १९९४ मा मेक्सिकोले 'टेक्विला सङ्कट' भोग्नुपर्यो, त्यसपछि एशियाली सङ्कट शुरू भयो, जसबाट ल्याटिन अमेरिकी अर्थतन्त्रहरूलाई पनि ठूलो असर पर्न गयो । १९९८ मा ब्राजिल टुटयो र २००१ मा अर्जेण्टिना थला पर्यो ।  

मैले ल्याटिन अमेरिका अर्को ऋणसङ्कटको सङ्घारमा छ भन्न खोजेको भने होइन । वास्तवमा ब्राजिल, पेरू र कोलम्बियालगायत धेरै देशको बृहत् आर्थिक व्यवस्थापन १९८० र १९९० को दशकको शुरूतिरभन्दा निकै राम्रो अवस्थामा छ ।

तर, हालमा पनि ल्याटिन अमेरिकामा यसअघि देखिएको आर्थिक उत्साहका बेलासँग मिल्दाजुल्दा दुईओटा कुरा छन्- कमोडिटीहरूको उच्च मूल्य र सस्तो विदेशी पैसा । वास्तवमा, त्यस क्षेत्रका धेरै देशको व्यापारको लाभ (टर्म्स अफ ट्रेड) उच्चतर छ, उनीहरूलाई अन्तरराष्ट्रिय ब्याजदर हालसम्मकै न्यून छ । वास्तवमा, हालको वृद्धि कुनै नीतिगत परिवर्तनका कारणले नभई यिनै तत्त्वले गराइरहेका छन् ।  

वास्तवमा दुईओटा ल्याटिन अमेरिका छन्- प्राकृतिक स्रोत सम्पन्न दक्षिण अमेरिका र प्राकृतिक स्रोतको अभावले ग्रस्त मध्यअमेरिका तथा मेक्सिको । वास्तवमा दक्षिण अमेरिकाले छिमेकी उत्तर अमेरिकाको भन्दा तीव्र आर्थिक वृद्धि गरिरहेको छ । इण्टर अमेरिकन डेभलपमेण्ट बैङ्कको हालैको प्रतिवेदन अनुसार, २०१०/११ मा दक्षिण अमेरिकाको वृद्धिदर ४ दशमलव ४ प्रतिशत छ भने उत्तर अमेरिकाको मात्र २ दशमलव ७ प्रतिशत छ । सोही अवधिमा अर्जेण्टिनाको अर्थतन्त्रमा ६ दशमलव १ प्रतिशत, कोष्टारिकाको ३ दशमलव ८ प्रतिशत र एल साल्भाडोरमा मात्र १ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रतिवेदनको अनुमान छ । के त्यसोभए अर्जेण्टिनाको आर्थिक नीति एल साल्भाडोरको भन्दा झण्डै चार गुणा राम्रो छ भन्ने निष्कर्षकुनै अर्थशास्त्रीले निकाल्न सक्छन् त ?

प्रशस्त मात्रामा उपलब्ध अन्तरराष्ट्रिय पूँजीले पनि यो फरक ल्याइरहेको हो । वित्तीय बजारहरूको पछिल्लो रोजाइ ब्राजिल भएको छ, जहाँ २०१० मा ७ दशमलव ५ प्रतिशतको ठूलो वृद्धि भएको छ । ब्राजिलतर्फ झण्डै १ खर्ब डलरको पूँजी आप्रवाहले त्यस्तो उच्च वृद्धिदर गराएको हो । ब्राजिलले २०१६ को अन्त्यसम्ममा विश्वकप र ओलम्पिक खेल दुवै आयोजना गरिसकेको हुनेछ ।

फुटबलमा ब्राजिलको अग्रतालाई कमैले मात्र आशङ्का गर्छन् । तर, उसको आर्थिक प्रतिस्पर्धात्मकताको भने भिन्नै कथा छ । वर्ल्ड इकोनोमिक फोरमको १ सय ३९ देशको प्रतिस्पर्धात्मकता मापनमा ब्राजिल ५८औं स्थानमा छ  । मोण्टेनेग्रो, मरिसस र अजरबैजानजस्ता देशहरू पनि ब्राजिलभन्दा अगाडि देखिन्छन् ।

विगतमा सस्तो पैसा र स्टेरोइड खाएको धावकको जस्तो तीव्र गतिमा बढेको कमोडिटीहरूको मूल्य ल्याटिन अमेरिकाका लागि नमीठो अनुभव साबित भएको थियो । के यसपल्ट त्यसमा केही फरक आउनेछ त ?

अर्थशास्त्रीहरूले यसको जवाफ सदाझैँ उही दिनेछन् कि यो केही कुरामा निर्भर गर्नेछ । उदाहरणका लागि देशहरूले कसरी आफ्नो आर्थिक नीति सञ्चालन गर्नेछन्, त्यसमा यो भर पर्छ अथवा देशहरूले वित्तीय बजारमा उठ्न सक्ने फोकालाई नियन्त्रण गर्न सक्छन् कि सक्दैनन् यसमा त्यो भर पर्छ, आदि । आईएमएफले हालै एउटा प्रतिवेदनमा प्रश्न उठाएको थियो- के वित्तीय फोका निर्माण हुने अवस्था बलियो हुँदै गएको हो ? धेरै दक्षिण अमेरिकी देशमा कर्जाको अत्यधिक वृद्धि भएको (जस्तो कि, ब्राजिलमा २०१० मा मोर्गेज गएको ऋण ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ, जुन २००७ का तुलनामा तेब्बरभन्दा पनि बढी हो) । प्रवृत्तिलाई इङ्गित गर्दै आर्इर्मएफले अझै 'क्रेडिट बूम’ कै अवस्था नआइसकेको भए पनि यस्तै प्रवृत्ति जारी रहेमा त्यो अवस्था आउन पनि सक्ने निष्कर्ष निकालेको छ । कोषको यस्तो टिप्पणीलाई आसन्न सङ्कटको चेतावनीका रूपमा दक्षिण अमेरिकाका देशहरूले लिनुपर्छ । डाक्टरले बिरामी 'अझै' जिउँदै छ भन्दा 'अझै' शब्दले परिवारजनलाई पर्याप्त सङ्केत दिइसक्छ ।

सोही प्रतिवेदनमा कोषले सम्पत्तिहरूको मूल्यवृद्धिको फोका (इक्विटी बबल)फुट्नेबारे पनि चेतावनी दिएको छ ।  चिली, कोलम्बिया र पेरूलगायतका दक्षिण अमेरिकी देशमा शेयरको मूल्य अस्वाभाविक रूपले उच्च रहेको कोषले औंल्याएको छ । कोषको त्यस्तो चेतावनीलाई चिलीका ब्रोकर र शेयर व्यवस्थापकले चर्को स्वरमा अस्वीकार गरेका छन्, किनभने लगानीकर्तालाई शेयर किन्न लगाउनुमै उनीहरूको रोजीरोटी निर्भर छ ।     

अहिलेको अवस्था साच्चै नै दुःखद परिणतिमा  टुङ्गिन्छ कि भन्ने कुरा वित्तीय नीतिमा पनि भर पर्छ । कुनै समय ल्याटिन अमेरिकाका आर्थिक नीतिहरू अत्यन्तै प्रोचक्रीय हुने गर्दथे । वस्तुको मूल्य घटनासाथ सरकारले पूँजी बजारबाट रकम उठाउने शक्ति गुमाउँथ्यो । त्यसैले, आर्थिक विस्तारको आवश्यकता परेका बेला ती देश बजेट घाटा घटाउनतर्फ लाग्नुपथ्र्यो ।

तर, यस्तो प्रवृत्तिमा विस्तारै परिवर्तन आइरहेको छ । सरकारी ऋण विगतको भन्दा निकै कम भइसकेको छ । त्यसैले, धेरै ल्याटिन अमेरिकी देशले २००९ मा पहिलोपटक प्रतिचक्रीय घाटा बजेट लागू गरे, जसबाट तिनले विश्वव्यापी वित्तीय सङ्कटबाट उत्पन्न असरबाट घरेलु अर्थतन्त्रलाई जोगाउन सकेका थिए ।

प्रतिचक्रीय आर्थिक नीति भन्नाले चक्रको दुवै अवस्थामा बहावविरुद्धको नीति तय गर्नु हो- अर्थात्, खराब अवस्थाका बेला खर्च बढाउने (सजिलो काम) र अवस्था राम्रो रहेको बेला खर्च घटाउने (नीतिको वास्तविक परीक्षण) । तर, समस्या के छ भने, यस्तो तथ्य ल्याटिन अमेरिकी देशका सरकारले अझै राम्ररी बुझ्न बाँकी नै देखिन्छ । हाल लगभग सबै ल्याटिन अमेरिकी देशले अति विस्तारकारी आर्थिक नीति लागू गरेका छन् ।  

वित्तीय उत्साहटका साथै कमोडिटीहरूको उच्च मूल्य र पर्याप्त मात्रामा उपलब्ध ऋणले हालको आर्थिक वृद्धि गराइरहेको छ । तर, त्यसका लागि भविष्यको स्थिरता र आर्थिक वृद्धिमा सम्झौता गरिएको छ । ल्याटिन अमेरिकाको समय अन्ततः आइपुगेको दाबी धेरै आर्थिक पण्डितले अझै पनि गर्ने नै छन् । उनीहरूको त्यस्तो दाबी सही प्रमाणित भइदिए कति राम्रो हुन्थ्यो ।
आन्द्रेस भेलास्को चिलीका पूवअर्थमन्त्री हुन् ।

Admin 2011-05-29