शोधनान्तरको संवेदनशीलता
दीपेन्द्रबहादुर क्षेत्री
शोधनान्तर कुनै पनि अर्थतन्त्रको ज्यादै महत्त्वपूर्ण तथ्याङ्कको विवरण हो । निश्चित अवधिमा मुलुकका आर्थिक गतिविधिबापत प्राप्त भएको आम्दानी र खर्च भएको विदेशी मुद्रा (जसमा वैदेशिक ऋण, लगानी पनि समावेश गरिएको हुन्छ) बीचको अन्तर नै शोधनान्तर हो । गैरसरोकारवालाका लागि बुझ्न ज्यादै कठिन अनुभूति हुने शोधनान्तरको विषयवस्तुबाट सोही वर्ग पनि प्रभावित नभइरहन सक्तैन । समग्र अर्थतन्त्रका गतिविधिहरूको निचोडका रूपमा प्रस्तुत हुने शोधनान्तरको विवरण वैदेशिक मुद्राको चाँजोपाँजो मिलाउने केन्द्रीय बैङ्कले तयार पार्दछ । तर, यसका लागि सूचना सामग्री भने विभिन्न स्रोतहरूबाट सङ्कलन गरिन्छ । शोधनान्तरको विवरणमा कृषिदेखि उद्योगसम्म र सेवाका हकमा दाह्रीकपाल काट्ने नाइ (हजाम)सम्मको आयआर्जनको विवरण सम्मिलित हुन पुग्दछ ।
देशको अर्थतन्त्रको यथार्थ चित्रण शोधनान्तरबाट देखिने भएकाले सम्बन्धित मुलुकबारे जिज्ञासा राख्नेले सर्वप्रथम यही विवरणमा ध्यान दिन्छन् । विदेशी लगानीकर्ताका लागि त कुन क्षेत्र सबल छ र कुन कमजोर छ भनेर पत्ता लगाउने एकमात्र आधिकारिक विवरण शोधनान्तर हो । कृषिमा लगानी गर्ने आशय राख्नेले चालू खाताअन्तर्गतको वस्तुव्यापारमा कृषिको के भूमिका छ पत्ता लगाउन वस्तुव्यापारको विस्तृत विवरण हेर्ने गर्छन् । त्यस्तै औद्योगिक उत्पादनको स्थिति के छ, व्यापारमा केकस्तो प्रावधान छन् भन्ने जानकारी पनि चालू खाताअन्तर्गतको वस्तुव्यापारका विवरणहरूबाट आँकलन गर्न सकिन्छ ।
अन्तरराष्ट्रिय पद्धतिअनुसार चालू खातामा वस्तुव्यापार, सेवाव्यापार र रकम ट्रान्सफर समावेश गरिएको हुन्छ । चालू खाता नेपालमा खुला गरिएको छ । यसको अर्थ हो- प्रतिबन्ध नलगाइएका वस्तुहरू आयात गर्न विदेशी मुद्राको सहज प्राप्ति हुन्छ । अर्को अर्थमा आयात गर्न चाहने व्यवसायीले आयात गर्न चाहेको वस्तुका लागि प्रतीतपत्र (बैङ्कले अर्को मुलुकको निर्यातकर्तालाई भुक्तानी दिने प्रत्याभूतिपत्र) खोलिदिने कानूनी बाध्यता हुन्छ । त्यस्तै, सेवाक्षेत्रमा शिक्षा प्राप्त गर्न विदेशी शैक्षिक प्रतिष्ठानलाई भुक्तानी दिने विदेशी मुद्राको व्यवस्था र उपचारका लागि लाग्ने खर्चको सटही पनि उपलब्ध गराइने व्यवस्था छ । विगत केही वर्षअघिसम्म सुन वस्तु नै भए पनि आयात गर्न विदेशी मुद्राको आर्जनसँग आबद्ध गराइएको थियो । व्यापारीहरूले आयात गर्न पाउने व्यवस्थाको सूत्रपात भएपछि पनि लामो समयसम्म प्रचलनमा आएन । अन्तरराष्ट्रिय बजारमा सुन व्यापारको चहलपहल बढेपछि नेपालमा पनि अप्रत्याशित रूपले त्यसको आयात बढयो । दैनिक ३५ किलोसम्म सुन खपत हुने विवरण सार्वजनिक भए । तर, सुनको उपयोगको वस्तुनिष्ठ आधार भने देखिएन । त्यसैले निर्दिष्ट बैङ्कहरूले सुन आयात गरी मागको आपूर्ति गर्ने पद्धति बसालियो । कालखण्डमा सुनको आयातमा रोक लगाउनुपर्ने स्थिति पनि आयो । किनभने, शोधनान्तर स्थितिलाई प्रतिकूलतामा धकेल्ने काम सुनको आयातले गरेको अनुभूति गरियो । हुन त यातायातका साधन, पेट्रोलियम पदार्थको आयात पनि सोही परिमाणमा वृद्धि भएका थिए । तर, सुनको आयातले ध्यानाकर्षण गर्यो । हाल पनि बजारको मागमुताबिक सुनको आपूर्ति हुन नसकेको गुनासो व्यवसायीको भए पनि अर्थतन्त्र नै उथलपुथल भएको चर्चा भने भएको छैन ।
चालू खातामा विप्रेषण आम्दानी समावेश गरेपछि र वैदेशिक रोजगारीको महत्त्व बढ्दै गएपछि शोधनान्तरको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको यो हिसाब नाफामा परिणत भएको थियो । अर्थव्यवस्थाका लागि यो राम्रो सूचक थियो । प्रायजसो उत्पादन, वितरणको सबै अंश चालू खातामा रहने भएकाले यस खातामा नाफा देखिनु अर्थव्यवस्थाको अनुकूता वा सबल पक्षको जनाउ हो । तर, वस्तुव्यापारमा रहेको घाटाको वृद्धिका कारण वैदेशिक रोजगारीबाट प्राप्त बढ्दो विप्रेषणले पनि थेग्न सकेको भने छैन । फलस्वरूप चालू आर्थिक वर्ष(२०६७/६८) को पहिलो महीनामा रहेको चालू खाता घाटा रू. २ अर्ब ४२ करोड बढेर सातौं महीनामा रू. ३२ अर्ब ३५ करोड पुगेको छ । सोही अवधिमा सुनको आयात रू. ८७ करोड ६२ लाखबाट झण्डै दोब्बर वृद्धि भई रू. १ अर्ब ९८ करोड पुगेको छ । यसले सङ्केत गरेको तथ्य के हो भने शोधनान्तरको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको चालू खाताको निर्णायक तत्त्व सुनको आयात मात्र होइन ।
पूँजी र वित्तीय खाताअन्तर्गत राष्ट्रलाई प्रदान गरिएको वैदेशिक ऋण, प्रत्यक्ष वैदेशिक लगानी र व्यापार भुक्तानीका लागि खोलिएका प्रतीतपत्रहरू र तिनको भुक्तानी पर्दछन् । सरकारको बजेट परिचालन सन्तोषजनक नरहेका कारण वैदेशिक ऋणको उपयोगमा तीव्रता आउन सकेको छैन । ऋणभन्दा अनुदानमा दाता र उपयोगकर्ता दुवैथरिको जोड रहेका कारण पनि यो खाताको भूमिका निर्णायक मानिँदैन । त्यो हुँदाहुँदै पनि यस खाताअन्तर्गतको 'व्यापार कर्जा'को रकमका साथै अन्य त्यस्तै अपुष्ट शीर्षकहरूमा समावेश भएको रकमले शोधनान्तरको स्वरूप सन्देहजनक ढङ्गले परिवर्तित गरिदिएको पाइन्छ । अघिल्लो आर्थिक वर्ष(२०६६/६७) को ११औं महीनामा रू. १५ अर्ब ७ करोडको शोधनान्तर घाटा हुँदा व्यापार कर्जा (नेपाली व्यापारीले विदेशीबाट व्यापारबापत पाएको उधारो रकम) रू. १९ अर्ब ५५ करोड र विविध रकम रू. १ अर्ब ९२ करोड देखाइएको थियो । लगत्तै पछिको महीना अर्थात् वार्षिक तथ्याङ्कमा रू. २ अर्ब ६२ करोड मात्रा शोधनान्तर घाटा देखाइयो । अघिल्लो महीनाको तुलनामा जादूगरी रूपले शोधनान्तर घाटा झण्डै रू. १३ अर्बले घटेको देखियो । यस अवधिमा व्यापार कर्जा रू. २१ अर्ब ९७ करोड र विविध पूँजी रू. १४ अर्ब ५२ करोडको योगदानका कारण शोधनान्तर घाटा घटेको मात्र होइन, उल्लेख्य रूपले अर्थतन्त्र मजबुत भएको देखियो । विविध पूँजी (उद्देश्य यकिन गर्न नसकिएका रकमको योगाङ्क)मा देखिएको एक्कासि वृद्धिले उक्त अवस्था सृजना गरेकोमा शङ्का मान्नुपर्ने अवस्था छैन ।
चालू आर्थिक वर्षको दोस्रो महीनामा चालू खाता घाटा रू. ३ अर्ब २६ करोड रहँदा शोधनान्तर घाटा रू. ४ अर्ब ३६ करोड थियो । सातौं महीनामा पुग्दा चालू खाता घाटा दोस्रो महीनाको तुलनामा झण्डै १० गुणा बढेर रू. ३२ अर्ब ३५ करोड पुग्यो भने शोधनान्तर घाटा झण्डै ३ गुणाले बढेर रू. १२ अर्ब ५७ करोड पुग्यो । आठौं महीना अर्थात् फागुनमा भने रू. ११ अर्ब ३० करोड घाटा रहेको प्रकाशमा आएको छ । चालू खाताको अनुपातमा शोधनान्तर घाटाको अनुपात कम रहनुमा व्यापार कर्जाको योगदान छ । दोस्रो महीनामा व्यापार कर्जा रू. २१ अर्ब ९७ करोड थियो भने सातौं महीनामा यस्तो कर्जा केवल रू. ८ अर्ब ७१ करोड मात्र रह्यो । उक्त तथ्यहरूले के पुष्टि गर्दछन् भने व्यापार कर्जा र विविध पूँजी शोधनान्तर अनुकूलता र प्रतिकूलताका निर्णायक तत्त्व हुन् । फेरि यी दुवै तत्त्वहरू ठोस आधारमा उपलब्ध हुने तथ्याङ्कभन्दा पनि विभिन्न मान्यता (एजम्सन)मा आधारित अनुमानित तथ्याङ्क हुन् । यसले शोधनान्तर तथ्याङ्क निर्मातालाई आफ्ना अवधारणा प्रयोगमा ल्याउने अवसर दिन्छ, जसको परिणाम यसले अर्थतन्त्रको सकारात्मक वा आवश्यकताअनुसार प्रतिकूलता दर्शाउने गुञ्जायस दिएको हुन्छ ।
शोधनान्तरको संवेदनशीलतालाई ध्यानमा राख्दै जटिल परिस्थिति आइपरेमा अन्तरराष्ट्रिय सङ्घ/सङ्गठनले उचित कदम उठाउने परम्परा रहिआएको छ । केही महीनाअघि शोधनान्तर घाटा रू. २३ अर्बको हाराहारीमा पुगेपछि नेपाल सरकारले अन्तरराष्ट्रिय मुद्राकोषलाई सहयोगको अपेक्षासहित पत्राचार गर्यो । कोषले द्रुत कर्जा सुविधाअन्तर्गत नाम मात्रको ब्याजदरमा झण्डै रू. ४ अर्ब सहुलियत कर्जा प्रदान गर्यो । तत्काल राहतका रूपमा उपयोगमा ल्याइएको सो पद्धतिलाई कार्यक्रमका रूपमा लिई 'विस्तारित कर्जा सुविधा'मा परिणत गराउन कोषको टोली नेपाल सरकारका विभिन्न निकायमा पुगेको समेत बुझिएको छ ।
विश्व व्यापार सङ्गठनले पनि शोधनान्तरको समस्या रहेका मुलुकहरूमा आयात व्यवस्थापन गर्ने छूट दिएको छ । सामान्यतया विश्व व्यापार सङ्गठनले व्यापारमा अवरोध आउने कुनै पनि नीति वा पद्धतिलाई स्वीकार्दैन । तर, छोटो अवधिका लागि आयात निरुत्साहित गर्ने नीतिप्रति सकारात्मक रहने सङ्गठनको पद्धतिकै सिलसिला सुन आयातमा लगाइएको प्रतिबन्ध हो । नेपालमा विगतमा धान निकासीमा लगाइएको प्रतिबन्ध र पोस्तादाना (पपिसीड) आयातमा लगाइएको रोकप्रति मुद्राकोषले आपत्ति जनाएको थियो । स्वतन्त्र व्यापारमा अवरोध भएको हठर उसको थियो ।
सम्भावित लगानीकर्ताहरूले समग्र अर्थतन्त्रको पहिचान लिन र आफ्नो लगानीको खास क्षेत्रमा विशिष्टीकृत जानकारी लिने माध्यम पनि शोधनान्तर स्थितिको ज्ञान हो । वैदेशिक सञ्चितिको संरचना शोधनान्तरको अवस्थाले जाहेर गर्दछ । बचत शोधनान्तरले मुलुकको वैदेशिक सञ्चितिलाई बढाउन प्रत्यक्ष योगदान दिन्छ र यस्तो सञ्चितिले लगानीकर्तालाई आफ्नो लगानी सुरक्षित छ र फिर्ता गर्ने सुनिश्चितता छ भन्नेमा विश्वस्त तुल्याउँछ ।
शोधनान्तरको तथ्याङ्क यथार्थपरक र समयनिष्ट साथ प्रकाशनमा आउनु अर्थतन्त्रको दिशा र गति आँकलनका उद्देश्य दुवैका लागि महत्त्वको विषय हो । तर, तथ्याङ्कको स्रोत विविध र बहुधा भएका कारण यथार्थभन्दा अनुमानले पनि ठाउँ पाउनु वैधानिक नै मानिन्छ । उदाहरणका लागि विप्रेषणको तथ्याङ्क लिँदा बैङ्किङ क्षेत्रबाट भित्रिएको रकममात्र अङ्कित हुँदैन । अनौपचारिक ढङ्गले व्यक्तिले ओसारपसार गर्ने अङ्कका साथै वैदेशिक रोजगारीमा रहेकाको औसत कमाइ र बचत गर्नसक्ने क्षमतासमेत आँकलन गरी अङ्क तयार पार्नु वैज्ञानिक पद्धति मानिन्छ ।
शोधनान्तर तथ्याङ्कको संवेदनशीलता पनि अर्को महत्त्वपूर्ण पाटो हो । सामान्यतया समग्र अर्थतन्त्रको शोधनान्तरको तथ्याङ्क प्रकाशमा ल्याउने गरिएको छ । छिमेकी भारतसँगको शोधनान्तर स्थितिको पनि लेखाजोखा हुने गरेको छ तर सार्वजनिक गर्ने चलन छैन । यसको मूल कारण के हो भने नेपाली रूपैयाँ भारतीय रूपैयाँसँग आबद्ध (पेग) गराइएको छ । शोधनान्तरको अवस्था कमजोर पहिचान हुनासाथै मुद्रामा चाप पर्दछ र स्थिर विनिमय दर कायम भएको पद्धतिलाई सट्टेबाजीजस्ता नकारात्मक प्रवृत्ति बढ्न गई अस्थिरता सृजना हुन सक्तछ ।
यसप्रकार शोधनान्तर स्थिति प्रकाशमा ल्याउने पद्धतिले अर्थतन्त्रको सक्कली स्वरूप चित्रण गर्छ । तर, छोटो समयमा नै ठूलाठूला परिवर्तनहरू देखापर्ने उक्त तथ्याङ्कमा मानवीय सोचले पनि काम गर्ने देखिएको छ । त्यसैले त अघिल्लो महीना नकारात्मक तथ्याङ्क प्रसारमा आएकोमा अर्को महीना केही चरहरूका तथ्याङ्कमा फेरबदलसहित वाञ्छित नतीजासहित प्रकाशमा आउने गरेको पनि छ । यसको प्राविधिक पक्ष जटिल रहेको हुन्छ । शोधनान्तरका विभिन्न पक्षहरूको संवेदनशीलतालाई ध्यानमा राखी होसियारपूर्ण ढङ्गले विषयवस्तुको अध्ययन, अनुसन्धान हुनु मुलुकका लागि पनि हितयोग्य कुरा हो । कमजोर शोधनान्तरलाई सुधार गर्न अर्थात् सबल अर्थतन्त्रको निर्माण गर्न तथ्याङ्कको यथार्थता, यथेष्ठता, समयनिष्ठतालाई विशेष ध्यान पुर्याउनसके मुलुकलाई आर्थिक क्षेत्रमा दिशानिर्देशको मार्गप्रशस्त हुनेछ । र, आर्थिक विकासका लागि सकारात्मक भूमिकाको महत्त्व पनि बढ्ने अपेक्षा गर्न सकिन्छ ।
लेखक नेपाल राष्ट्र बैङ्कका पूवगभर्नर हुन् ।
Admin 2011-04-29