पूँजीबजार र वास्तविक क्षेत्रबीचको अन्तरसम्बन्ध
डा. गोपालप्रसाद भट्ट
भारत र चीनजस्ता उदीयमान एवम् आर्थिक वृद्धिदरलाई १०/११ प्रतिशतले तीव्र बनाइरहेका मुलुकको बिचमा छ, नेपाल । तर, नेपालले आव २०६६/६७ मा ५ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको भए पनि ३ दशमलव ५ प्रतिशतको न्यून दरमा चित्त बुझाउनुपर्यो । नेपाललाई कृषिमा आधारित अर्थतन्त्र भनिन्छ । तर, सो क्षेत्रको वृद्धिदर र्सवाधिक न्यून (१ दशमलव १ प्रतिशत) देखिनु र उद्योग तथा सेवाक्षेत्रको क्रमशः ३ दशमलव ९ प्रतिशत र ६ दशमलव ३ प्रतिशत देखिनुले समग्र अर्थतन्त्रको अवस्था अन्यन्त कमजोर रहेको देखिन्छ । अर्कोतर्फउपभोक्तामुखी अर्थतन्त्रको अवस्था कायमै रहनु (९१ दशमलव ५ प्रतिशत कुल उपभोग)ले मुलुकको बचत एवम् पूँजी निर्माणमा बाह्य निर्भरता झन् बढ्न गएको देखिन्छ । साथै, मुद्रास्फीति दर दोहोरो अङ्कमा रहनु एवम् शोधनान्तर स्थिति प्रतिकूल हुनुले समष्टिगत आर्थिक स्थायित्वमा समेत चुनौती थपिरहेको अवस्था छ ।
नेपालको पूँजीबजारमा गैरवित्तीय क्षेत्रको (वास्तविक क्षेत्र) न्यून भूमिका नेप्से सूचकाङ्कको सहायक सूचकाङ्कहरूबाट समेत स्पष्ट मापन गर्न सकिन्छ । नेप्सेको सहायक सूचकाङ्कहरूमा वाणिज्य बैङ्क, उत्पादन तथा प्रशोधन, होटल, जलविद्युत्, व्यापारिक, बीमा, वित्त कम्पनी, विकास बैङ्क तथा अन्य गरी नौओटा सूचकाङ्क रहेका छन् । वास्तविक क्षेत्रको प्रतिनिधित्व उत्पादन तथा प्रशोधन, होटल, जलविद्युत्, व्यापारिक र अन्य क्षेत्रले गर्दछन् । जलविद्युत क्षेत्रका शेयरको मूल्यमा भएको तीव्र उतारचढावले सो क्षेत्रको सूचकाङ्कको स्टयार्ण्र्डड डेभिएशन अल्पकालमा उच्च देखिने गर्छ । तर, वित्तीय क्षेत्रको समग्र स्टयार्ण्र्डड डेभिएशनले यसमा नेतृत्व गरिरहेको पाइन्छ । सो अधारमा समेत वास्तविक क्षेत्रका शेयरको मूल्यमा खासै उत्तारचढाव आएको नपाइनु कारोबारको परिणाम ठूलो मात्रमा नहुनु, 'क' श्रेणीमा वर्गीकृत कम्पनी (आव २०६६/६७ मा १ सय १७)मध्ये अत्यन्त न्यून (६ मात्रै) गैरवित्तीय क्षेत्रमा पर्नु, सर्वोत्कृष्ट कम्पनीमा जलविद्युत् क्षेत्रका एक/दुइओटा कम्पनी र टेलिकमबाहेक अन्यको उपस्थिति नदखिनुले समेत पूँजीबजारमा वास्तविक क्षेत्रको उपस्थिति प्रभावहीन देखाउँछ ।
पूँजीबजारमा वास्तविक क्षेत्रको न्यून प्रभावकारिताका कारणहरू
पूँजीबजारको विकास भएका अन्य मुलुकमा वास्तविक क्षेत्रले नै उक्त बजारलाई निर्देशित गरेको हुन्छ । नेपालमा भने त्यसको ठीक विपरीत दृश्य देखिन्छ । समान्यतया पूँजीबजारमा कम्पनीहरूको निर्भरता तिनीहरूलाई आवश्यक पर्ने पूँजीको मात्रा, सो प्रदान गर्ने बजार एवम् लगानीकर्ताको जोखिम लिने क्षमतामा निर्भर गर्दछ । नेपालमा बैङ्क तथा वित्तीय संस्थाहरूलाई आवश्यक पर्ने पूँजीका लागि कानूनले नै लिमिटेड कम्पनीका रूपमा स्थापना गर्नुपर्ने, सर्वसाधारणलाई विक्री गर्ने शेयरको सङ्ख्या निर्धारण गरिएको हुनुपर्ने र सञ्चालनमा आएको निश्चित अवधिभित्र सर्वसाधारणलाई विक्री गरिसक्नु पर्ने व्यवस्था गरिदिएको छ । त्यसैले वित्तीय क्षेत्रका लागि पूँजीबजार निर्भरता अनिवार्यजस्तै भएको छ । उत्पादनमूलक, प्रशोधन, होटल, व्यापारिक एवम् अन्य सेवाप्रदायक सङ्गठित संस्थालाई भने यस किसिमका कानूनी अनिवार्यता रहेको पाइँदैन ।
वित्तीय क्षेत्रका कम्पनीहरूले जारी गरेका शेयरहरूलाई धितोपत्र बजारमा सूचीकृत नगरेमा नियमनकारी निकाय एवम् लगानीकर्ताको प्रोत्साहनबाट वञ्चित हुन्छन् । साथै, यस्तो गर्ने कम्पनीहरू प्रत्यक्ष निगरानीमा पर्दछन् । तर, गैरवित्तीय क्षेत्रका कम्पनीहरूले शेयर जारी गरी सूचीकृत गराउँदा र नगराउँदाको विभेद संस्थापकको हितमा हुन्छ वा हुँदैनले निर्धारण गर्दछ । नेपालको सन्दर्भमा वास्तविक क्षेत्रसँग सम्बन्धित उद्योग-व्यवसायले नाफामा रहुन्जेल सर्वसाधारणलाई शेयर जारी गर्दैनन् । घाटामा जान लागेपछि मात्र उनीहरूले शेयर जारी गर्ने प्रचलनजस्तै भएकाले पूँजीबजारमा यस्तो क्षेत्रको उपस्थिति न्यून भएको पाइन्छ ।
गैरवित्तीय क्षेत्रको पूँजी सङ्कलनको स्रोत वित्तीय क्षेत्र स्वयम् हुन् । त्यसैले नेपालमा उद्योग, व्यापार, सेवाक्षेत्रमा सङ्गठित संस्थाहरू सीधै पूँजीबजारबाट पूँजी सङ्कलन गर्नुभन्दा बैङ्क तथा वित्तीय संस्थाबाट नै सङ्कलन गर्न रुचाउँछन् । पूँजी बजारमा अल्पकालीन तथा दीर्घकालीन उपकरणहरूको कमी, लगानीकर्ताहरूमा ज्ञानको अभाव, सङ्गठित संस्थाहरूमा नै बैङ्क तथा वित्तीय संस्थामा निर्भर हुने संस्कृति, वित्तीय व्यवस्थापनमा दक्ष जनशक्तिको अभावले गर्दा गैरवित्तीय क्षेत्रका संस्थाहरूले पूँजीबजारमा सीधै पहुँच पुर्याएको पाइँदैन ।
बैङ्क तथा वित्तीय संस्थाबाट पूँजीको अभाव पूर्ति गर्न कर्जा लिनुपर्दा गैरवित्तीय क्षेत्रका सङ्गठित संस्थालाई कर्जालागतको गणना गर्न र सोमा अन्तरनिहित जोखिमको आँकलन गर्न सजिलो हुन्छ । वित्तीय क्षेत्रका संस्थाले आफूले लिने ब्याजदर स्पष्ट र पारदर्शी तरीकाले प्रकाशित गर्छन् । साथै नियमनकारी निकाय राष्ट्र बैङ्कले सोको अनुगमन गरिरहेको हुन्छ । पूँजीबजारबाट पूँजी सङ्कलन गर्दा लाग्ने लागत र जोखिमको विश्लेषण गर्न भने वित्तीय विश्लेषणमा पोख्त जनशक्ति आवश्यक पर्छ । यस्तो जनशक्ति राख्नु र व्यवस्थापन गर्नु ती संस्थाका लागि खर्चिलो हुन सक्छ । तसर्थ, सजिलो माध्यमका रूपमा पूँजी प्राप्त गर्ने आकर्षण वित्तीय क्षेत्रतर्फनै बढेको देखिन्छ ।
धितोपत्र बजारमा सङ्गठित संस्थाहरूको कार्य सम्पादन हेर्दा वित्तीय क्षेत्रले लगानीकर्तालाई अपवादबाहेक राम्रै प्रतिफल दिइरहेको छ । तसर्थ, बैङ्क तथा वित्तीय संस्थाले शेयर या ऋणपत्र जारी गर्नेबित्तिकै लगानीकर्ताबाट आवश्यकभन्दा बढी पूँजी आपूर्ति भइरहेको हुन्छ । गैरवित्तीय क्षेत्रका सूचीकृत संस्थाहरूमा अपवादबाहेक प्रायःले ऋणात्मक प्रतिफल प्रदान गरिरहेका छन् । लगानीकर्तामा परेको यस्तो प्रभावले गर्दा यस्ता संस्थाहरूप्रति तुरुन्तै लगानीकर्ताको विश्वास अभिवृद्धि हुने देखिँदैन ।
वित्तीय क्षेत्रका सङ्गठित संस्थाहरूलाई नियमन गर्ने निकाय नेपाल राष्ट्र बैङ्क तथा बीमा समितिको सुपरिवेक्षकीय क्षमता तुलनात्मक रूपमा अन्य क्षेत्रका नियमनकारी निकायभन्दा प्रभावकारी छ । लगानीकर्ताहरूले वित्तीय क्षेत्रको धितोपत्रमा लगानी गर्न नहिच्किचाउने एउटा कारण यो पनि हो । तर, गैरवित्तीय क्षेत्रको नियमन विशेषगरी सरकारी निकायहरूले गरिरहेका छन् । ती निकायको अकुशल व्यवस्थापन, ढिलासुस्ती, अपारदर्शी व्यवहार, समयबद्ध कार्ययोजनाको अभाव र निर्णय प्रक्रियामा देखिने विविधखाले विचलनले गर्दा गैरवित्तीय क्षेत्रका सङ्गठित संस्थाहरूप्रति पूँजीबजार सकारात्मक भएको पाइँदैन ।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई पारदर्शी हुन विभिन्न कानूनी तथा नियमनकारी निर्देशनहरू जारी गरिरहेको हुन्छ । साथै उसले त्यसको अनुगमनसमेत गरिरहेको हुन्छ । यी संस्थाहरूको लेखापरीक्षण नियमित रूपमा हुन्छ तथा आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था पनि सुदृढ हुन्छ । यी संस्थाले नियमनकारी निकाय र सर्वसाधारणलाई नियमित सूचना तथा विवरण पठाउनुपर्ने व्यवस्था छ । त्यसैले वित्तीय संस्थाहरू बढी पारदर्शी हुन्छन् । गैरवित्तीय क्षेत्रमा प्रभावकारी कानूनी एवम् अनुगमन व्यवस्थाको कमी छ । त्यसो हुँदा ती संस्थाको पारदर्शितामा प्रश्नचिन्ह उठ्ने गरेको छ । पूँजीबजारमा पारदर्शिता र बजार अनुशासनको ठूलो महत्त्व हुन्छ । लगानीकर्ताले सूचनाका आधारमा विश्लेषण गरी लगानी नीति बनाउने, मूल्य निर्धारण गर्ने र बजार सञ्चालन गर्ने गर्छन् । सोको अभावमा गैरवित्तीय क्षेत्रतर्फको लगातीकर्ताको आकर्षण घट्न गएको देखिन्छ ।
वित्तीय क्षेत्रले बजारमा उपलब्ध प्रतिभाशाली जनशक्तिलाई बढी लागत तिरेर पनि सेवामा लिइरहेको छ । त्यस्तो जनशक्तिको अत्युत्तम प्रयोगबाट प्रतिफलमुखी कार्ययोजनाका साथ उपयोग भइरहेको देखिन्छ । फलस्वरूप ती क्षेत्रहरूले विविधखाले सृजनात्मक योजनामार्फत आफ्नो शेयरधनीहरूलाई लगानीको प्रतिफल दिइरहेका छन् । तिनले राज्यलाई समेत विभिन्न प्रकारका कर बुझाएर राजस्व वृद्धिमा योगदान पुर्याइरहेका छन् । गैरवित्तीय क्षेत्रको प्रवर्द्धन एवम् लगानीमा पारिवारिक पृष्ठभूमि र अनुभवको बढी योगदान हुन्छ । त्यसैले श्रमबजारमा उपलब्ध प्रतिस्पर्धी जनशक्तिलाई वाञ्छनीय उपयोग गरिरहेको पाइँदैन । फलस्वरूप, त्यस्ता संस्थाहरूले पर्याप्त प्रतिफल दिने तथा पूँजीबजारलाई आकर्षित गर्ने गरेको देखिँदैन ।
निष्कर्ष पूँजीबजारको विकास र विस्तारमा वास्तविक क्षेत्र नै महत्त्वपूर्ण संवाहक हो । वित्तीय क्षेत्रको प्रभावकारिता पनि वास्तविक क्षेत्रको उन्नति र प्रगतिमा निर्भर गर्दछ । नेपालको सन्दर्भमा वास्तविक क्षेत्र खस्किँदो अवस्थामा हुँदा पनि वित्तीय क्षेत्रले लगानीमा उचित प्रतिफल दिइरहेकोजस्तो विरोधाभाषपूर्ण अवस्था छ । बढी पारदर्शी र अनुशासित मानिने वित्तीय क्षेत्रले राम्रो कार्य सम्पादन देखाइरहेको छ । त्यसैले कमजोर संस्थागत सुशासन भएका गैरवित्तीय क्षेत्रप्रति लगानीकर्ता उत्साहित नहुनु स्वाभाविक नै हो । यसले वास्तविक क्षेत्रमा विद्यमान प्रशस्त विसङ्गतिपूर्ण अवस्थालाई चित्रण गर्दछ । अतः पूँजीबजारमा वास्तविक क्षेत्रको योगदानलाई प्रभावकारी बनाउन गैरवित्तीय क्षेत्रमा पब्लिक लिमिटेड कम्पनी स्थापना गर्न कानूनी संरचना एवम् कर नीतिमार्फत प्रोत्साहन दिनुपर्ने अवस्था छ ।
गैरवित्तीय क्षेत्रको विकास र विस्तार मुलुकको श्रमकानून, राज्यको प्राथमिकता, विद्युत्, यातायात र सञ्चारजस्ता पूर्वाधारको विकास र शान्ति सुरक्षामा समेत निर्भर रहन्छ । त्यसैले राज्यको सबलताबाट यो क्षेत्र स्वतः विकसित हुन्छ । गैरवित्तीय क्षेत्रको नियमन, अनुगमन, लेखापरीक्षण, आन्तरिक नियन्त्रण प्रणाली, अभिलेख पद्धति, संस्थागत सुशासन र पारदर्शिताका विषयलाई सम्बोधन गर्ने संयन्त्रको विकास गर्नु आजको आवश्यकता हो । वित्तीय क्षेत्रको प्रतिफल वास्तविक क्षेत्रको उत्पादकत्वबाट नै सम्भव हुन्छ । त्यसैले वास्तविक क्षेत्रमा प्रतिफल नै नभएको मान्न सकिँदैन । तसर्थ, यस क्षेत्रमा विद्यमान विसङ्गतिको पहिचान गर्ने तथा सरोकारवालाहरूलाई जागरुक बनाउने अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ । यी विषयहरूमा उचित सम्बोधन हुन सकेमा आगामी दिनमा वास्तविक क्षेत्रको योगदान पूँजीबजारमा बढ्न सक्ने अपेक्षा गर्न सकिन्छ ।
लेखक नेपाल राष्ट्र बैङ्कका निर्देशक हुन् ।
Admin 2011-02-28