बजार घट्दा कमाउने रणनीति
रविन्द्र भट्टराई
कुनै कम्पनीको शेयर मूल्य २ सय रुपैयाँबाट बढेर २ सय ५० पुग्यो भने ५० रुपैयाँ कमाउन सकिने प्रायः सबैलाई थाहा छ । तर, सोही शेयरको मूल्य १ सय ५० रुपैयाँमा झर्यो भने घटेको ५० रुपैयाँ पनि नाफाका रूपमा कमाउन सकिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । शेयरबजारमा यो पनि सम्भव छ । शेयरमा मात्र नभई कमोडिटिज तथा विदेशी मुद्राको कारोबारमा पनि यसरी कारोबार गर्न सकिन्छ । त्यसैले यो बजारलाई घट्दा वा बढ्दा दुवै समयमा नाफा लिन सकिने बजारका रूपमा लिइन्छ ।
बजार घट्दा शेयर हुनेको सम्पत्तिमा कमी आउँछ । तर, शेयर नहुनेलाई भने यसले थुप्रै अवसर प्रदान गरिरहेको हुन्छ । शेयरबजारमा प्रवेश गर्न चाहने तथा कम पूँजी भएकाहरूका लागि घट्दो बजार लगानीको राम्रो अवसर हो । त्यसैगरी कम्पनीको व्यवस्थापन नियन्त्रणमा लिन तथा सञ्चालक समितिमा निर्वाचित भएर कम्पनीमा आफ्ना आवाजहरू पुर्याउन चाहनेका लागि घट्दो बजार झनै राम्रो अवसर हो । यी उद्देश्य पूरा गर्न बढ्दो बजारमा सामान्यतः असम्भव हुन्छ । यसका अलावा बैङ्क तथा वित्तीय संस्था सञ्चालन गर्न चाहनेका लागि राष्ट्र बैङ्कले दर्ता रोकेको अवस्थामा सञ्चालनमा रहेका संस्था खरीद गरी सञ्चालन गर्न सकिन्छ । अहिलेको बजारमा अङ्कित मूल्य तथा नेटवर्थभन्दा कममा शेयर खरीद गर्न सकिने सम्भावना प्रशस्तै छन् । यही समयमा एउटा कम्पनीले समान प्रकृतिको अर्को कम्पनी खरीद गरी आफ्नो बजार हिस्सा बढाउन तथा वित्तीय स्थितिलाई बलियो बनाउन पनि सक्छन् ।
अहिले हाम्रो बजारमा शेयरको मूल्य बढ्ने भएमा त्यसबाट फाइदा लिन सक्ने गरी कारोबार गर्न सकिने व्यवस्था छ । तर, मूल्य घट्ने सम्भावना देखिएमा त्यहाँबाट फाइदा लिन सक्ने गरी कारोबार गर्ने कानूनी व्यवस्था छैन । यदि यो भएको भए ३ वर्षदेखि निरन्तर घट्दै आएको बजारबाट लगानीकर्ताले राम्रै नाफा लिन सक्थे । बजार विश्लेषण गरी लगानीकर्ताले दुवै हातमा लड्डु हुने गरी कारोबार रणनीति बनाउन सक्छन् । विश्व बजारमा भने यसरी गरिने कारोबार कुनै नौलो विषय होइन । घट्दो बजारबाट पनि लागानीकर्ताले राम्रै नाफा लिन सक्छन् ।
उदाहरणका लागि कुनै कम्पनीको शेयर हाल बजारमा २ सय रुपैयाँ प्रतिशेयरका दरले कारोबार भइरहेको छ । यसपछिका दिनमा यो मूल्यमा हुने परिवर्तनका बारेमा लगानीकर्तामाझ दुई फरक विश्लेषण हुन सक्छन् । कोही मूल्य बढेर २ सय ५० पुग्ने अनुमान लगाइरहेका हुन्छन् भने कोही १ सय ५० मा झर्ने । बढ्ने अनुमान लगाउनेले हालको मूल्यमा शेयर किन्छ र उसको विश्लेषणअनुसार मूल्य बढेमा विक्री गरेर फाइदा लिन सक्छ । तर, घटेमा घाटा हुन्छ ।
बजार घट्ने अनुमान गर्ने जोसँग शेयर छ, उसले शेयर विक्री गरी घटेको मूल्यमा पुनः किनेर फाइदा लिन पर्खन्छ । तर, जोसँग शेयर नै छैन, उसले पनि घट्दो बजारमा कारोबार गरेर फाइदा लिन सक्छ । यसका लागि भने बजार निर्माण गर्न आवश्यक छ । भविष्यमा बजार घट्ने अनुमान गर्ने तर शेयर नै नहुनेले शेयर मूल्य २ सयबाट घटेर १ सय ५० पुगेमा घटेको ५० रुपैयाँ कमाउने गरी कारोबार गर्न सक्छ र यो गर्न पाउनुपर्छ भन्ने यो पङ्क्तिकारको माग हो । हाल सञ्चालनमा रहेका कमोडिटिज तथा डेरिभेटिभ बजारमा भने यस प्रकारको अवसर छ । यो भनेको बजारमा भएका लगानीका विकल्पमाथि कारोबारको विविधीकरण हो । लगानीकर्ताको अपेक्षाअनुरूप लगानी गर्ने अवसर प्रदान गरिनु हो ।
घट्दा पनि कमाउन सकिने वा बजार घट्दा पनि फाइदा हुने गरी गरिने कारोबारलाई र्'सर्ट सेल' वा शेयर सापटी लिएर विक्री गर्ने प्रणाली भनिन्छ । यो रणनीतिअन्तर्गत भविष्यमा शेयरको मूल्य घट्ने अपेक्षा हुनेले भविष्यमा मूल्य बढ्ने अपेक्षा हुने तथा शेयर होल्ड गरेर राख्ने लगानीकर्ताबाट सापटी लिई तत्कालको बजारमूल्यमा विक्री गर्छ । माथिको उदाहरणमा मानौं १ सय कित्ता शेयर सापटी लिएर प्रतिशेयर २ सयका दरले विक्री गर्छ । त्यसपछिका दिनमा मानौं लगानीकर्ताको अपेक्षाअनुसार मूल्य घटेर १ सय ५० मा आएछ भने उसले अब प्रतिशेयर १ सय ५० का दरले बजारबाट १ सय कित्ता शेयर किनेर सापटी तिर्दछ । यसबाट यो कारोबारकर्तालाई प्रतिशेयर ५० रुपैयाँका दरले १ सय शेयरबाट ५ हजार रुपैयाँ (कमिशन नकटाई ) फाइदा हुन्छ । तर, बजार मूल्य तल नआई माथि गएमा भने घाटा हुन्छ । यदि मूल्य २ सय २० पुगेमा भने उसले बजारबाट २ सय २० प्रतिशेयरका दरले शेयर खरीद गरी सापटी तिर्दा प्रतिशेयर २० रुपैयाँका दरले १ सय शेयरमा २ हजार रुपैयाँ नोक्सान बेहोर्नुपर्छ ।
यो कारोबार दुई पक्षको समझदारीमा हुने भन्दा पनि ब्रोकरको मध्यस्थतामा हुने गर्छ । यसमा एक पक्षको कारण अर्को पक्षलाई हुन सक्ने जोखिम ब्रोकरले उठाउने गर्छ । शेयर सापटी लिइदिने काम ब्रोकरले गर्छ । भविष्यमा मूल्य बढ्ने आशमा मार्जिनमा शेयर खरीद गरी ब्रोकरकहाँ धितोका रूपमा राखिएको शेयर नै घट्दो बजारबाट फाइदा लिई नाफा कमाउन चाहने लगानीकर्ताका लागि ब्रोकरले सापटी मिलाइदिने काम गर्छ । यो कारोबारमा 'सर्ट सेल' गरेर आएको रकम ब्रोकरकहाँ नै राखिन्छ भने र्'सर्ट सेल' गर्ने लगानीकर्ताबाट शेयर विक्री गरेर आएको रकमको केही प्रतिशत रकम मार्जिनका रूपमा लिइन्छ । यदि 'सर्ट सेल' गरिएको शेयरको मूल्य बढयो र शेयर सापटी लिएर विक्री गर्ने लगानीकर्ताले बदमासी गरेमा त्यसबाट शेयर सापटी दिने लगानीकर्तालाई उत्पन्न हुन सक्ने जोखिम मार्जिन रकमबाट न्यूनीकरण गरिन्छ । माथिको उदाहरणमा शेयरको मूल्य २ सय २० रुपैयाँ पुग्यो तर सापटी लिनेले शेयर किनेर तिर्न आनाकानी गरेमा ब्रोकरले किनेर तिर्नुपर्ने हुन्छ, जसबाट ब्रोकरलाई प्रतिशेयर २० रुपैयाँ नोक्सानी हुन्छ । तर, यो कारोबारमा १ सय कित्ता शेयर २ सय कित्ता विक्री गरेर आएको मूल्यको ५० प्रतिशत रकम मार्जिनका रूपमा 'सर्ट सेल' गर्नेबाट लिइएको रहेछ भने अब ब्रोकरको कार्यालयमा शेयर विक्री गरेर आएको २० हजार र त्यसको ५० प्रतिशत मार्जिनसहित जम्मा ३० हजार रुपैयाँ हुन्छ । शेयरको मूल्य बढेर २ सय २० पुगेमा बजारबाट १ सय कित्ता शेयर किनेर सापटी तिर्न २२ हजार रुपैयाँ लाग्छ । अब ब्रोकरले शेयर सापटी लिएर विक्री गर्नेको खातामा रहेको ३० हजारबाट २२ हजारको शेयर खरीद गरी सापटी तिरिदिन्छ भने बाँकी ८ हजार रकम कमिशन कटाएर सर्ट सेल गर्नेलाई फिर्ता गर्छ । बढ्दो बजारका कारण सापटी लिनेबाट हुने जोखिम न्यूनीकरण गर्न यहाँ पनि मर्मत मार्जिनको व्यवस्था गरिएको हुन्छ ।
नेपाल धितोपत्र बोर्डले बजारमा कारोबारलाई विविधीकरण गर्न जारी गर्नुपर्ने अर्को निर्देशिका 'धितोपत्र सापटी लिई गरिने कारोबार निर्देशिका' हो । यो निर्देशिका जारी गर्नुअघि बोर्डले 'धितोपत्रको मार्जिनमा गरिने कारोबारसम्बन्धी निर्देशिका' जारी गर्नुपर्छ । यी दुई कारोबारमा मार्जिन तथा अन्य विषयवस्तुमा धेरै समानता हुन्छन् । साथै, ब्रोकरको भूमिका महत्त्वपूर्ण हुन्छ । केन्द्रीय निक्षेप प्रणालीको शुरुआतसँगै धितोपत्र बोर्डले यी निर्देशिका जारी गर्नुपर्ने देखिन्छ भने नेप्सेले यो कारोबार सुहाउँदो प्रविधिमा हालको प्रविधिलाई ढाल्न जरुरी हुन्छ ।
बजारलाई अन्तरराष्ट्रियस्तरमा लैजानका लागि गरिँदै आएका प्रयाससँगै सम्बन्धित निकायले अन्तरराष्ट्रिय बजारमा अवलम्बन गरिँदै आएका प्रणालीलाई पनि भित्र्याउनु आवश्यक छ । यसले बजारमा तरलता तथा कारोबार बढाउने काम गर्छ । यस्तै लगानीको विकल्प कम भएको हाम्रो धितोपत्र बजारमा एउटै विकल्पमा दुईओटा अवसरको निर्माण गरेर बजार विस्तार गर्न सकिन्छ ।
शेयर, कमोडिटिज तथा विदेशी मुद्राको कारोबार मूल्यको एकोहोरो वृद्धिबाट मात्र फाइदा लिन सकिने बजारका रूपमा केन्द्रित हुनु हुँदैन ।
लेखक शेयर विश्लेषक हुन् ।
Admin 2011-05-31