शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बजार घट्नु साहसी लगानीकर्तालाई अवसर
गोपालकृष्ण आचार्य
'जब सडक पूर्ण रक्ताम्य हुन पुग्छ, त्यो नै शेयर बजारमा लगानी गर्ने सबैभन्दा उपयुक्त समय हो' भन्ने अभिव्यक्ति दिएपछि ब्यारोन रोथचाइल्डको प्रसिद्धीमा थप वृद्धि भयो । १८औं शताब्दीको बेलायती समाजमा उनको अभिव्यक्तिलाई लिएर निकै तीखा टीकाटिप्पणी पनि भए ।

उनको अभिव्यक्तिको सार 'जब शेयरबजार घटेर तल्लो बिन्दुमा पुग्छ तब  सुझबुझयुक्त लगानीकर्ताले नआत्तिईकन शेयर किन्नुपर्छ' भन्ने थियो । तर, उक्त धारणामा प्रस्तुत शब्दलाई लिएर भने कडा आलोचना भएको थियो । ब्यारोनको धारणालाई उल्लेख गर्दै वालस्टि्रटका एक प्रसिद्ध लगानीकर्ता रिचर्ड ग्राहमले 'दि न्यूयोर्क टाइम्स'सँगको एक अन्तरवार्तामा विगत ५० वर्षको इतिहासपछि सन् २०११ मा त्यस्तो दिन आउने बताएका छन् । उनको दृष्टिमा ब्यारोनले भनेजस्तै निकट भविष्यमा वालस्टि्रट रक्ताम्य हुने दिन आएपछि अमेरिकाको मुहार फेरिनेछ । त्यसले अमेरिकी नागरिकहरुको दैनिक जीवनयापनमा समेत व्यापक परिवर्तन आउने उनले दाबी गरेका छन् ।

ब्यारोनले भनेजस्तै बजार घटेकै कारण सडकै रक्ताम्य भएर नेपालीहरुको मुहार नै फेरिने अवस्था अहिले छैन । जब नेप्से परिसूचक ४ सय बिन्दुभन्दा तल झर्ने सङ्केत गर्दै ओरालो लाग्न शुरू गर्‍यो तब अधिकांश शेयर विश्लेषकहरुले अब बजार यसभन्दा तल झर्दैन भन्ने धारणा सार्वजनिक गरे । र, अहिले शेयर किन्ने उपयुक्त समय हो भन्ने दाबी पनि गरेको पाइयो । शेयरबजार विश्लेषणका लागि प्रयोग गरिने आधारभूत सुचकहरुले पनि बजार त्योभन्दा धेरै तल जान सक्ने सङ्केत गर्दैनन् । नेप्से १ हजार १ सय ७५ बिन्दुमा पुग्दा लगानी गरेकाहरु सो परिसूचक ४ सयभन्दा तल र्झन थाल्दा पक्कै पनि ब्यारोनले भने जस्तै सडकमा पुग्ने अवस्था आएको हो की भनेर अत्तालिएको पनि पाइन्छ । तर, यो विषयमा कोही पनि खुलेर बोल्न भने सकेका छैनन् ।

नेप्से उच्च बिन्दुमा पुगेको समयमा लगानी गर्दा पनि लगानीकर्तामा सुझबुझ र बजारका आधारभूत सूचकहरुको अध्ययन र विश्लेषण गर्न सक्ने क्षमताको अभावै थियो र उनीहरुले बजार अझै बढ्ने आशामा लगानी गरेका थिए । वास्तविक आधारविना बजार बढेको हुनाले पनि त्यतिबेलाको नेप्से परिसूचक दिगो हुन सकेन । बजारमा चल्ने हल्ला र अरूले कमाएको देखेर आफूले पनि त्यसैगरी कमाइन्छ भन्ने गलत मानसिकतामा अधिकांश लगानीकर्ताहरु बजार प्रवेश गरेका थिए । अपेक्षाअनुसार बजार बढ्न नसक्नुमा उनीहरुको अपरिपक्व सुझबुझ नै मुख्य कारक हो । बजारको वास्तविक विश्लेषण गरेर बजार बढ्नुपर्ने गतिलो आधार नभएको लगानीकर्ताले थाहा पाएपछि नेप्से परिसूचक घट्न शुरू गरेको हो । राजनीतिक अस्थिरता, परिवर्तन भइरहने मौद्रिक तथा वित्तीय नीति, बजारमा बढ्दै गएको शेयर आपूर्ति, बढ्दो बैङ्क ब्याजदर, शेयर कर्जामा दिइने मार्जिन फाइनान्सिङमा कडाइलगायतलाई बजार घट्नुको दोस्रो  कारण  मानिएको छ ।

ब्यारोनको तर्क पनि के हो भने बजार अस्वाभाविक रूपमा बढ्दा अथवा घट्दा ठूला लगानीकर्ता एवम् बजारका खेलाडीहरुले यसरी नै नाफा कमाउछन् । बजार घटेको बेला उनीहरु भटाभट शेयर किन्छन् भने बजार बढ्न थालेपछि उनीहरु तिनै शेयर बेच्न थाल्छन् । यसमा खेलको नियम नबुझ्ने र नवप्रवेशी लगानीकर्ताहरु सधैं मर्कामा पर्छन् । यस्ता मौकामा जान्ने बुझ्ने र चलाख लगानीकर्ताहरुले मात्रै कमाउँछन् । यो क्रम नेपालमा मात्र होइन, संसारभरि चलिरहन्छ । बजार घट्दा शेयर किन्ने र बजार बढ्न थालेपछि बेच्ने क्रमबाट लगानीकर्ताहरुले पक्कै पनि कमाउँछन्, तर त्यो त्यति सजिलो भने छैन । सारा बजार ध्वस्त हुने क्रममा अगाडि बढिरहेका बेला भटाभट शेयर किन्न निकै ठूलो आँट चाहिन्छ । तुरुन्तै बिक्न नसक्ने, तत्कालै कुनै प्रतिफल नदिने, न्यूनस्तरका शेयरहरुमा त्यस्ता लगानीकर्ताले निकै नाफा देख्छन् र त्यसलाई नाफा कमाउने अवसरका रुपमा लिन्छन् । अधिकांश लगानीकर्ताहरु जहिले पनि आफ्नो पोर्टफोलियोमा सधैँ विजयी भएको महसूस गर्न चाहन्छन् । तर, विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटले यसप्रति चेतावनी दिँदै भन्छन् 'सबैको खुशीयाली र उन्नति भएको बेला तपाईंले शेयरका लागि उच्चमूल्य तिर्नुपर्छ, तर त्यो तपाईंको पोर्टफोलियोका लागि भने फलदायी हुने छैन ।'

सन् १९७३/७४ को वियरिस मार्केटका कारण २२ महीनाको अवधिमा ४५ प्रतिशतले बजार तल खस्केको थियो । उक्त वियरिस बजारले वारेन बफेटलाई वाशिङ्गटन पोष्ट कम्पनीको महत्त्वपूर्ण लगानीकर्ता बन्ने अवसर दियो । बजार पूँजीकरण ८ करोड डलर हुँदा बफेटले किनेको वाशिङ्गटन पोष्ट कम्पनीको शेयर केही सयमपछि ४० करोड डलर पुगेको थियो । सन् १९८७ मा भएको क्रयासमा पनि डाउजोन्स परिसूचक एकै दिनमा २२ प्रतिशतले घटेको थियो । डाउजोन्स घटेको बेला पनि थुप्रै अमेरिकीहरुले प्रशस्तै कमाए । सन् २००१ सेप्टेम्बर ११ मा वर्ल्ड ट्रेड सेण्टरमा आतङ्ककारी हमलापछि घटेको अमेरिकी शेयरबजारमा पनि केही लगानीकर्ताहरुले राम्रै कमाए ।

सेप्टेम्बर ११ को आतङ्ककारी हमलापछि अब अमेरिका आर्थिक दृष्टिले तहसनहस नै हुन्छ भन्ने हल्ला फैलिएकाले बजार निकै तल झरेको थियो । सो हमलापछि अमेरिकाले अब बोइङ कम्पनी बन्द गर्दैछ भन्ने हल्ला चलाइयो र उक्त कम्पनीको शेयरमूल्य अत्याधिक मात्रामा घटयो, तर आक्रमणको ५ वर्षको अवधिमा त्यसको शेयरमुल्य चार गुणाभन्दा  माथि पुग्यो । त्यसपछि बोइङ कम्पनीले लगानीकर्ताहरुलाई राम्रै प्रतिफलसमेत दिएको छ । आफू टाट पल्टेको घोषणा गर्दै संरक्षण गर्न सरकारसमक्ष फाइल दर्ता गर्ने 'थर्ड एभेन्यु भ्यालु फण्ड'का म्यानेजर मार्टी विटम्यानले 'के-मार्ट' कम्पनीले जारी गरेको एक डलरको बण्ड २० सेण्टमा खरीद गरेका थिए । केही समयलगत्तै उक्त बण्ड 'न्यू के-मार्ट'को नाममा न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचीकृत भई कारोबार हुन थालेपछि उनले सो बण्डबाट करीब १५ प्रतिशत प्रतिफल प्राप्त गर्न सफल भए ।

नेपाली शेयरबजारको इतिहास त्यति लामो नभए पनि करीब दुई दशकको अवधिमा सन् १९९८/९९ तिर बजार निकै तल खस्केको थियो । सो समयमा नेपालमा केही व्यक्तिहरुले प्रशस्त कमाए भने २००५ मा भएको जनआन्दोलन-२ पछि पनि शेयरबजारबाट धेरै लगानीकर्ता कमाउन सफल भए । यसको अर्थ शेयरबजारबाट पैसा कमाउन घाटा खाएका, न्यून गुणस्तरका शेयरहरु किन्नुपर्छ भन्न खोजिएको हुँदै होइन । बजार जहिले पनि बढ्ने/घट्ने भइरहन्छ । बजारमा आउने यही उतारचढावमा पनि सुझबुझ भएका लगानीकर्ताले कमाउँछन् भन्ने हल्लाको पछाडि लागेर बजार प्रवेश गर्ने नयाँ लगानीकर्ताले भने गुमाउने सम्भावना रहन्छ ।

खर्च र आम्दानी बराबर हुन्छ भन्ने अर्थशास्त्रको एउटा सामान्य सिद्धान्त हो । त्यसको अर्थ एक पक्षबाट भएको खर्च अर्को पक्षका लागि आम्दानी हुन्छ । शेयरबजारमा पनि एउटा लगानीकर्ताले गुमाउँछ भने अर्कोले कमाउँछ । हामीले आफूलाई भने सकेसम्म गुमाउने लगानीकर्ता बनाउनु हुँदैन । यसका लागि लगानीकर्ताको चेतनास्तर उच्च हुनुपर्छ र बजारका आधारभूत पक्ष एवम् सूचकहरुको विश्लेषण गरी सोहीअनुसार लगानी गर्न  सक्नुपर्छ । यसले लगानीकर्तालाई कहिल्यै सडकमा पुर्‍याउँदैन, बरु अन्य लगानीकर्ताहरु सडकमा पुगेको बेला तपाईंले सस्तो मूल्यमा शेयर किन्न सक्नुहुन्छ ।  
लेखक नेपाल धितोपत्र बोर्डमा कार्यरत छन् ।  व्यक्त विचार उनका निजी हुन् ।
gkacharya299@yahoo.com