मानव अङ्गको विशाल बजार
सुसान लुन्दिन
'अनलाइन पोटल ८८डीबी डट कम फिलिपिन्स'ले सेवा प्रदायक र उपभोक्ता दुवैथरीलाई भेट्न र अन्तरक्रिया गर्न मद्दत पुर्याउँछ । त्यस वेबसाइटमा नाओभल नाम गरेका एक इण्डोनेशियाली नागरिकले आफ्नो मिर्गौला बेच्न चाहेको सूचना राखेका छन् । अर्का एक फिलिपिनी नागरिकले पनि क्यान्सरग्रस्त श्रीमतीको उपचारका लागि आफ्नो मिर्गौला बेच्न चाहेको उल्लेख गरेका छन् । त्यसैगरी एनरिक नामक २१ वर्षीय स्वस्थ्य युवकले पनि केही कुराको सट्टामा आफ्नो मिर्गौला बेच्न तयार रहेको लेखेका छन् ।
केही वर्षअघि मात्र यस्तै किसिमका प्रस्ताव 'लिभरफोरयु डट ओआरजी' भनिने वेबसाइटमा पनि राखिएका थिए, जहाँ एउटा मिर्गौलाको मूल्य ८० हजारदेखि १ लाख १० हजार डलरसम्म
तोकिएको थियो ।
इण्टरनेटमा भइरहेका यस्ता गतिविधि वास्तवमा विश्वव्यापी रूपमा बढिरहेको मानव अङ्ग बजारको सङ्केत मात्र हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, विश्वभरि हुने मानव अङ्गको प्रत्यारोपणमध्ये १० प्रतिशतमा व्यापारिक लेनदेन हुनेगर्छ ।
मानव अङ्गको व्यापारमा एउटा स्पष्ट भौगोलिक प्रवृत्ति देखिन्छ । धनी देशका मानिसले मानव अङ्ग खरीद गर्छन् भने गरीब देशकाले बेच्ने गर्छन् । मानव अङ्गको बेचबिखनसम्बन्धी आफ्नो अध्ययनमा मैले यस्ता केही छद्म बजार भेट्टाएको थिएँ । यस्ता बजारमा गरीब, युद्धपीडित र कैदीका भित्री अङ्गहरू मालसामानझैँ विक्रीमा राखिएका हुन्छन् वा तिनको चोरी हुन्छ र रोगग्रस्त धनी व्यक्तिमा प्रत्यारोपणका लागि लगिन्छ ।
स्पेनका एक धनी व्यापारीबाट ठूलो रकम पाउने सहमतिमा आफूले मिर्गौला बेचेको लेबनानकी एक महिलाले मलाई बताइन् । तर, अन्त्यमा उनले कत्ति पनि पैसा पाइनन् । हाल उनको जीवन पहिलाभन्दा पनि दयनीय छ । शल्यक्रियापछिको जटिलताले उनलाई काम गर्न पनि अप्ठयारो छ । पूर्वसोभियत राज्यहरू, मध्यपूर्व र एशियाका अङ्ग विक्रेताहरूले पनि त्यस्तै कथा मलाई सुनाएका छन् ।
मानव अङ्गको बेचबिखन धेरै तत्त्वमा निर्भर रहन्छ । त्यसमध्येको एउटा तत्त्व मानिसहरूको दु:खपूर्ण जीवन हो । उनीहरू सामाजिक रूपले चेपुवामा परेका हुन्छन् वा उनीहरू युद्धले क्षतविक्षत समाजका हुन्छन्, जहाँ व्यापक रूपमा अपराध र कालाबजारीको बिगबिगी हुन्छ । यसको माग भने अङ्ग प्रत्यारोपण नगरे मृत्यु निश्चित भएका मानिसहरूले गर्छन् । त्यसैगरी, मानव अङ्गका दलाल पनि छन्, जसले क्रेता र विक्रेताबीच कुरा मिलाउँछन् ।
त्यसका साथै साधन सम्पन्न क्लिनिक र मेडिकल स्टाफ पनि आवश्यक छन् । इरान, पाकिस्तान, युक्रेन, दक्षिण अफ्रिका र फिलिपिन्सलगायत देशमा त्यस्ता क्लिनिक खुलेका छन् ।
वास्तवमा फिलिपिन्स मानव अङ्गको अवैध व्यापार र प्रत्यारोपण पर्यटनको केन्द्रका रूपमा देखापरेको छ । १९९० देखि २००८ मा नयाँ नीति नल्याउन्जेलसम्म विदेशी क्रेताहरूलाई फिलिपिनोहरूले बेचेको अङ्ग प्रत्यारोपणका घटनामा लगातार वृद्धि भएको देखिन्छ । इजरायलका धेरै अङ्ग विक्रेता आफ्ना ग्राहकसँगै मनिला आएको पाइएको छ ।
फिलिपिन्सको क्वेजन प्रान्तस्थित तीन विपन्न शहरका थुप्रै मिर्गौला विक्रेतामध्ये हेक्टर पनि एक हुन् । उनका भाइ मलेशियामा त्यहाँका आपराधिक समूहलाई चर्को ऋण तिर्न नसकेर फसेका थिए, त्यसैले भाइलाई मुक्त गराउन हेक्टरले आफ्नो एउटा मिर्गौला बेचे । त्यसैगरी, मिर्गौला बेचेका अर्का एक मिचेल पछि आफै दलाल हुन पुगे । पिताको उपचारका लागि मिर्गौला बेच्न पुगेका मिचेललाई उनको मिर्गौला झिक्ने शल्यचिकित्सकले नै अरू अङ्ग विक्रेता खोज्न बाध्य पारे । यसरी त्यस क्षेत्रका धेरै मानिसले बेचेको अङ्ग फिलिपिन्स, इजरायल, जापान, दक्षिण कोरिया र सउदी अरेबियाका मानिसमा प्रत्यारोपण गरिएको थियो ।
मानव र तिनका अङ्गहरूको बेचबिखन नयाँ कुरा भने होइन । तर, अहिलेको व्यवसाय ऐतिहासिक रूपले भिन्न खालको छ । हाल यस्तो व्यवसायका लागि उच्चस्तरको बायोमेडिसिन प्रविधि चाहिन्छ । साथै, मानव अङ्गको व्यापारलाई समर्थन गर्ने केही विचार र मान्यता पनि चाहिन्छ । पश्चिमा औषधि विज्ञानले रोग र मृत्युलाई एक किसिमको असफलताको रूपमा हेर्दै त्यसलाई जित्नुपर्ने मान्यता राख्दछ । शरीरलाई फेरि पूर्ववत् अवस्थामा फर्केको देख्न चाहने यस्तो अवधारणा व्याप्त भएको वातावरणमा नै प्रत्यारोपण उद्योग फस्टाएको र मानव अङ्गको माग बढेको हो ।
मानव शरीरलाई स्रोतका रूपमा हेर्ने अवधारणाको ज्वलन्त उदाहरणमध्ये एउटा धेरै देशका अस्पतालहरूमा देखिने लामा प्रतीक्षा सूची पनि हुन् । हालसालै त्यस्तै प्रतीक्षा सूचीमा रहेका एक स्वीडिश नागरिकलाई मैले भेटेको थिएँ । तर, उनले प्रतीक्षामा बस्नुको साटो पाकिस्तान गएर मिर्गौला प्रत्यारोपण गराए । उनले आफ्नो अनुभव मलाई यसरी सुनाए, 'म अरूलाई प्रयोग गर्ने खालको मानिस त होइन, तर म त्यसो गर्न बाध्य भएँ । मैले मृत्यु वा जीवन एउटा रोज्नैपर्ने थियो ।’
चाहनेबित्तिकै अङ्ग प्रत्यारोपण गर्न पाइने हालको युगमा यस्तो दुविधाबाट मुक्त हुने अर्को कुनै उपाय छैन । प्रतीक्षा सूचीबाट सृजित जैविक बाध्यताले प्रत्यारोपणलाई सजिलै आर्थिक कारोबारमा रूपान्तरण गर्छ । जहाँ आपूर्तिभन्दा माग बढी हुन्छ, त्यहाँ मानिस पालो कुरेर बसिरहन चाहँदैनन् । परिणामस्वरूप अन्य देशका मानिसहरूका अङ्ग खरीद गर्नु एउटा वैकल्पिक उपाय बन्न पुग्छ ।
सुसान लुन्दिन स्वीडेनस्थित लुन्द विश्वविद्यालयकी प्राध्यापक हुन् ।
कपीराइट : प्रोजेक्ट सिण्डिकेट २०११