मरिससको चमत्कार
जोसेफ स्टिग्लिज
यदि कुनै सानो राष्ट्रले उसका नागरिकलाई विश्वविद्यालयसम्मको शिक्षा निःशुल्क प्रदान गरिरहेको छ, बच्चाहरूलाई स्कूल जानका लागि सर्वारी सुविधा पनि निःशुल्क प्रदान गर्छ, मुटुको जटिल शल्यक्रियासम्मको स्वास्थ्य उपचार निःशुल्क प्रदान गर्छ भनेर कसैले तपाईंलाई बतायो भने तपाईं के सोच्नुहुन्छ ? तपाईं कि त त्यो देश अचम्मको धनी होला भन्ने सोच्नुहोला वा वित्तीय सङ्कटको बाटोमा तीव्र गतिले अघि बढिरहेको छ भन्ने कल्पना गर्नुहोला ।
धनी भनिने यूरोपेली देशहरू पनि विश्वविद्यालय शिक्षा सित्तैमा दिन नसकिने निष्कर्षमा पुगेका छन् । उनीहरूले साना बच्चाहरू तथा तिनका अभिभावकहरूलाई पढाइको शुल्क स्वयम् बहन गर्न भनिरहेका छन् । संयुक्त राज्य अमेरिकाले त सबैलाई निःशुल्क विश्वविद्यालय शिक्षा दिने कहिल्यै प्रयास गरेन । अमेरिकामा गरीबलाई स्वास्थ्य सेवामाथि पहुँचको प्रत्याभूति दिने विषयमा पनि तीव्र विवाद भइरहेको छ । रिपब्लिकन पार्टीमा त्यस व्यवस्थालाई खारेज गराउनका लागि कडा प्रयास चालिरहेको छ । राष्ट्रले यसको खर्च बहन गर्न सक्दैन भन्ने उसको तर्क छ ।
तर, अफ्रिकाको पूर्वी तटभन्दा पूवमा अवस्थित सानो टापुराष्ट्र मरिसस न त धेरै धनी छ, न त ऊ आफ्नो बजेट प्रणालीलाई बिगार्ने बाटोमा नै छ । तैपनि, बितेको दशक उसले अर्थतन्त्रलाई विविधीकरण गर्ने, प्रजातान्त्रिक राजनीतिक प्रणालीको विकास गर्ने तथा एउटा बलियो सामाजिक सुरक्षा जालो निर्माण गर्ने दिशामा निकै सफलता हासिल गरेको छ । धेरै देशहरूले (संयुक्त राज्य अमेरिकाले पनि) यसको अनुभवबाट सिक्न सक्नुपर्छ ।
केही अघि मैले यो १३ लाख जनसङ्ख्या भएको उष्ण टापुको भ्रमण गर्ने क्रममा त्यहाँको सरकारले चालेका केही कदमहरू देख्ने मौका पाएको थिएँ । मरिससले गरेका काम तथा हासिल गरेका उपलब्धिहरू अमेरिका तथा अन्यत्र हुने बहसको प्रकाशमा नौला र अचम्मका लाग्न सक्छन् । घरको स्वामित्वलाई नै लिऊँ न, कुल अमेरिकीहरूमध्ये ७० प्रतिशतलाई आवासको स्वामित्व पुर्याउने सरकारी प्रयास नै आर्थिक मन्दीको कारण रहेको भनेर अमेरिकी अनुदारवादीहरूले बताउने गरेका छन् । तर, ८७ प्रतिशत मरिसियनहरूको आफ्नै घर छ, तैपनि त्यहाँ घरजग्गाको मूल्यवृद्धिको बेलुन फुटेन ।
अब हामीलाई पीडा दिने सङ्ख्यातिर ध्यान दिऔं । विगत लगभग ३० वर्षदेखि मरिससको कुल गार्हस्थ्य उत्पादन वार्षिक ५ प्रतिशतभन्दा छिटो वृद्धि भइरहेको छ । यसमा केही विशेष 'ट्रिक' होला कि ? मरिसस हिरा, तेल तथा अन्य मूल्यवान वस्तुमा धनी पो छ कि ? होइन, ऊसँग दोहनयोग्य प्राकृतिक स्रोत छैन । वास्तवमा १९६८ मा यसले बेलायतबाट स्वतन्त्रता प्राप्त गर्दा यसका सम्भावनाहरू निराशाजनक थिए । नोबेल पुरस्कार विजेता अर्थशास्त्री जेम्स मीडले सन् १९६१ मा लेखेका थिए- 'यदि विद्यमान जीवनस्तरमा कुनै कमीविना नै यो देशका नागरिकहरूलाई उत्पादनमूलक रोजगारी प्रदान गर्न सकियो भने त्यो नै ठूलो उपलब्धि हुनेछ । शान्तिपूर्ण विकासको सम्भावना कमजोर छ ।'
मीडको भनाइ गलत सार्वित भयो । स्वतन्त्रता प्राप्त गर्दा ४ सय अमेरिकी डलरभन्दा कम रहेको मरिसियनहरूको प्रतिव्यक्ति आय अहिले ६ हजार ७ सय डलरभन्दा बढी छ । ५० वर्षअघि यो देशको अर्थतन्त्र चिनीमा मात्र आधारित थियो । अहिले यसले आफ्नो अर्थतन्त्रलाई पर्यटन, वित्त, टेक्स्टाइल आदिमा विविधीकरण गरेको छ । यदि वर्तमान योजना फलदायी भयो भने अत्याधुनिक प्रविधि पनि उसको अर्थतन्त्रको आधार हुनेछ ।
भ्रमणका क्रममा मैले मानिसहरूले मरिसस मिराकल (मरिससको चमत्कार) किन भनेका रहेछन् र अरू देशले त्यसबाट के कुरा सिक्न सक्छन् भनेर बुझ्ने प्रयास गरें । त्यहाँबाट वास्तवमा धेरै पाठ सिक्न सकिन्छ । तीमध्ये केही अमेरिकी तथा अन्यत्रका राजनीतिकर्मीहरूले मनन गर्नुपर्छ ।
पहिलो, हामी सबै जनतालाई स्वास्थ्य सुविधा र शिक्षा प्रदान गर्न सक्छौं कि सक्दैनौं वा व्यापक मात्रामा आवासमाथि स्वामित्व प्रदान गर्न सक्छौं कि सक्दैनौं भन्ने कुनै प्रश्न नै होइन । यदि मरिससले ती कुरा गर्न सक्छ भने ऊभन्दा धेरै आयाममा धनी यूरोप र अमेरिकाले पनि सक्छन् । समाजलाई कसरी व्यवस्थित गर्ने भन्ने चाहिँ वास्तविक प्रश्न हो । मरिससले यस्तो बाटो लिएको छ, जसले उच्चस्तरको सामाजिक सद्भाव, कल्याण र आर्थिक वृद्धितर्फडोर्याउँछ । साथै, असमानताको न्यूनीकरण पनि उसको लक्ष्य हो ।
दोस्रो, अन्य धेरै साना देशहरूको विपरीत मरिससले धेरै सैनिक खर्च बेकारको हो भनेर निर्णय गर्यो । कहीँ टाढा जानु पर्दैन, अमेरिकाले हतियारमा खर्च गर्ने पैसा (जुन अस्तित्वमै नभएका शत्रुका लागि भनेर खर्च गरिन्छ र त्यसले कुनै काम गर्दैन)को एउटा भाग मात्रै खर्च गर्ने हो भने त्यसले मानवीय समाज निर्माणको दिशामा लामो यात्रा तय गर्न सकिन्छ, जसबाट खर्च गर्न नसक्ने गरीबहरूका लागि स्वास्थ्य सेवा र शिक्षाको प्रत्याभूति दिन सकिन्छ ।
तेस्रो, मरिससले के स्वीकार गर्यो भने प्राकृतिक स्रोतविना पनि केही गर्न सकिन्छ । आफ्ना जनता नै सम्पत्ति हुन् भन्ने कुरा उसले आत्मसात् गर्यो । सायद मानव संसाधनलाई दिइएको यही उच्च महत्त्वका कारण मरिससले के बुझयो भने धार्मिक, जातीय एवम् राजनीतिक विविधता भएको मरिससजस्तो देशमा सामाजिक एकताका लागि सबैका लागि शिक्षा अत्यावश्यक हुन्छ । तिनै विविधताको आडमा केही मानिसहरूले यस देशलाई बेलायती उपनिवेश नै राख्न प्रयास पनि गरेका थिए । यसका साथै मरिससले प्रजातान्त्रिक संस्थाहरूप्रति र श्रमिक, सरकार एवम् रोजगारदाताबीच आपसी सहयोगप्रति बलियो प्रतिबद्धता कायम राख्यो । यसको विपरीत आजको अमेरिकामा अनुदारवादीहरूले भने विभाजनलाई अझ गहिरो बनाउन प्रयास गर्दै छन् ।
मरिसस समस्याविहीन छ भन्न खोजिएको होइन । अन्य धेरै सफल उदीयमान बजार अर्थतन्त्रका देशहरूजस्तै मरिससले पनि विनिमयदरको प्रतिस्पर्धात्मक क्षमता क्षयको सामना गरिरहेको छ । र, अमेरिकाले परिमाणात्मक सहजीकरणका माध्यमबाट गरिरहेको मुद्राको अवमूल्यनको जवाफमा धेरै देशले आफ्नो मुद्राको विनिमयदर पनि कम गर्न बजार हस्तक्षेप गरिरहेका छन् । यसले समस्यालाई अझ बढाउँदै छ । निश्चय नै मरिससले पनि त्यस्तो बजार हस्तक्षेप गर्नुपर्नेछ ।
यसका अतिरिक्त विश्वका अन्य देशहरूजस्तै मरिसस पनि अहिले आयातित खाद्यान्न र इन्धनको बढ्दो मूल्यलाई लिएर चिन्तित छ । ब्याजदर बढाएर मूल्यवृद्धि रोक्ने प्रयास गरियो भने त्यसले चक्रीय समस्या निम्त्याउनेछ । त्यसको प्रभावस्वरूप वस्तुको मूल्य त उच्च हुने नै छ, उच्च बेरोजगारी र प्रतिस्पर्धात्मक क्षमता अझ कमजोर बनाउने विनिमयदरको सामना गर्नुपर्नेछ । प्रत्यक्ष हस्तक्षेप, छोटो समयको पूँजी प्रवाह, पूँजीगत लाभकर, स्थिर प्रुडेन्सियल बैङ्किङ नियम सबैमा विचार पुर्याउनुपर्नेछ ।
मरिसस मिराकलको शुरुआत यसको स्वतन्त्रतादेखि नै भएको हो । तर, देशले अझै पनि जमीन तथा भूमिमा असमानता तथा विश्वराजनीतिको कारण उसले झेल्नुपर्ने जोखिमजस्ता आफ्नो औपनिवेशिक विरासतसँग संघर्ष गरिरहेको छ । अमेरिकाले मरिससनजिकै एउटा टापु डिएगो गासियामा कब्जा जमाइरहेको छ । विनाक्षतिपूर्ति कब्जा गरिएको त्यो टापुमा अमेरिकी नौसेनाको अड्डा छ । आधिकारिक रूपमा यो बेलायतसँग कागज गरेर भाडामा लिइएको छ । बेलायतले पनि डिएगो गासिया रहेको छागोस दीपसमूहलाई आफ्नो नियन्त्रणमा राखेर संयुक्त राष्ट्रसङ्घ र अन्तरराष्ट्रिय कानूनको उल्लङ्घन गरेको छ । उसले त्यहाँका नागरिकलाई त्यहाँबाट निष्काशन गरेको छ र र्फकने अनुमति दिएको छैन ।
अब अमेरिकाले यो शान्तिपूर्ण र प्रजातान्त्रिक देशलाई न्याय प्रदान गर्नुपर्छ, डिएगो गासियामाथिको मरिससको आधिकारिक स्वामित्वलाई स्वीकार गर्नुपर्छ, बेलायतसँगको सम्झौतामा पुनर्विचार गर्नुपर्छ र अवैधानिक रूपमा दशकौंसम्म उसको
भूमि कब्जा गरेबापत मरिससलाई न्यायिक क्षतिपूर्ति प्रदान गरेर पुरानो पापलाई पखाल्नुपर्छ ।
जोसेफई स्टिग्लिज कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता हुन् । उनको पछिल्लो कृति 'फ्रि फलः फि मार्केट एण्ड द सिन्किङ अफ द ग्लोबल इकोनोमी' फ्रान्सेली, जर्मन, जापानी र स्पेनी भाषामा उपलब्ध छ ।
कपीराइटः प्रोजेक्ट सिण्डकेट २०११
Admin 2011-05-02