गरीबीले जन्माएको क्यान्सर
मार्गरेट चान / युकिया अमानो
क्यान्सर एक डरलाग्दो र विश्वव्यापी रूपमा बढ्दै गइरहेको सार्वजनिक स्वास्थ्य समस्या हो । विश्वमा प्रत्येक वर्ष क्यान्सरबाट ७० लाख ६० हजार मानिसको मृत्यु हुने गर्छ । त्यसमध्ये ४० लाख ८० हजार जनाको मृत्यु विकासशील देशमा हुने गर्दछ । कुनै समय क्यान्सर अधिकांश धनी देशका मानिसलाई लाग्ने रोग मानिन्थ्यो । तर, हाल आएर क्यान्सरको बोझ सबैभन्दा बढी गरीब र उपेक्षित जनसङ्ख्याले नै बेहोर्नुपरेको देखिन्छ ।
कतिपय अफ्रिकी देशहरूमा पाठेघर र स्तन क्यान्सरको उपचार गरेका रोगीमध्ये १५ प्रतिशत मात्र थप ५ वर्षसम्म बाँच्न सक्छन् । जबकि विश्वका अन्य देशहरूमा ती रोगको उपचार हुने र बिरामी बाँच्ने सम्भावना निकै धेरै हुन्छ । यो चिन्तालाग्दो तथ्याङ्क हो, जसबाट ठूलो अर्थिक खर्च निम्तिनुका साथै त्यसले मानवीय दु:ख, स्वास्थ्योपचार प्रणाली र गरीबी निवारणको अन्तरराष्ट्रिय अभियानमा नै गम्भीर असर पुग्न जान्छ । त्यसैले क्यान्सरलाई गम्भीर समस्याका रूपमा सम्बोधन गरिनुपर्दछ ।
क्यान्सरले गरीबहरूमाथि पार्ने प्रभाव धेरै कुरामा निर्भर हुन्छ । जनसङ्ख्या वृद्धि, जनसङ्ख्यामा वृद्धहरूको वृद्धि, सूर्ति सेवनलगायतका अस्वस्थकर जीवनशैली तथा क्यान्सरजन्य सङ्क्रमणको रोकथाममा कठिनाइजस्ता प्रभावहरू पर्ने गर्छन् । धेरैजसो क्यान्सरको जटिलता विस्तारै बढ्ने भए तापनि त्यसबाट जीवनशैलीमा व्यापक र तीव्र परिवर्तन आउँछ । यस्तो प्रक्रियालाई छिट्टै उल्टयाउन सकिँदैन ।
रोकथामका कुनै उपाय अवलम्बन नगरिएको खण्डमा विकासशील देशहरूमा क्यान्सरबाट हुने मृत्यु सङ्ख्या तीव्र रूपले बढ्नेछ । क्यान्सरजनित मृत्युको त्यस्तो सङ्ख्या सन् २०१५ सम्ममा ५० लाख ९० हजार पुग्ने अनुमान गरिएको छ । र, २०३० सम्ममा ९० लाख १० हजार पुग्ने पूर्वानुमान छ । धनी देशहरूमा क्यान्सरबाट हुने मृत्युको वृद्धिदरमा केही कमी आउने अपेक्षा गरिएको छ । अर्कोतिर, आगामी २० वर्षभत्र विकासशील देशहरूमा क्यान्सरबाट हुने मृत्यु ४० प्रतिशतले बढ्ने सम्भावना छ ।
अविकसित देशको स्वास्थ्य प्रणाली प्रायः सङ्क्रामक रोगसँग जुझ्ने उद्देश्यले मात्र निर्माण गरिएको हुन्छ । तर, ती देशमध्ये धेरैमा आवश्यक कोष, उपकरण र क्यान्सरका बिरामीलाई आधारभूत सेवा दिन सक्ने योग्य जनशक्तिको अभाव हुने गर्छ । विश्वका ३० देशमा एउटा पनि रेडियोथेरापी मेशिन छैन । ती ३० देशमध्ये पनि आधाभन्दा बढी अफ्रिकामा छन् । क्यान्सरका बिरामीलाई लामो समयसम्म विभिन्न सेवासुश्रुषा गर्नुपर्ने हुन्छ । त्यस्तो सेवासुश्रुषाका लागि आवश्यक आर्थिक स्रोत, सुविधा, उपकरण, प्रविधि, पूर्वाधार, कर्मचारी तालीमको अभाव पनि अविकसित देशहरूमा देखिन्छ ।
त्यसका साथै ती देशहरूमा क्यान्सर रोकथाम, जनचेतना वा समयमै रोगको पहिचान र उपचार गर्ने क्षमता पनि कम छ । प्राथमिक उपचारदेखि शल्यक्रिया, रेडियोथेरापी वा केमोथेरापीलगायत सबै क्षेत्रमा ती देशहरू नै कमजोर छन् । अफ्रिका कतिपय क्षेत्रहरूमा महँगो विदेशी उपचार गराउन सक्ने धनीहरूले मात्र त्यस्तो सुविधा पाउन सक्छन् ।
क्यान्सरजस्तो रोगका लागि आवश्यक दीर्घकालीन उपचार ज्यादै कठिन छ । देश र परिवारले त्यसको ठूलो आर्थिक मूल्य चुकाउनुपर्छ । किनभने, परिवार र समुदायलाई आफ्नो उत्पादनशीलताबाट फाइदा दिन सक्ने लाखौं मानिसहरूको जीवन यसबाट छोटिन्छ ।
सबैभन्दा त्रासदीपूर्ण के छ भने धेरैजसो यस्ता बिरामीहरूले मृत्युवरण गर्नु नपर्ने हो । उनीहरूको जीवन बचाउन सकिन्छ । किनभने एकतिहाइ जति क्यान्सर रोकथाम गर्न सकिन्छ । क्यान्सरको कारक वातावरणीय र जीवनशैलीसँग सम्बन्धित तत्वहरू पहिचान गर्न सकेमा रोकथाम सङ्ख्यामा अझै उल्लेखनीय वृद्धि हुन सक्छ । साथै, क्यान्सरको पहिचान हुनेबित्तिकै मृत्यु भइहाल्ने पनि होइन । किनभने, समयमै पत्ता लगाउन सकियो र सही उपचार गरियो भने एकतिहाइ क्यान्सरको उपचार गर्न सकिन्छ ।
विकासशील देशहरूको क्यान्सर नियन्त्रणमा सुधारका लागि विश्व स्वास्थ्य सङ्गठन र अन्तरराष्ट्रिय आणविक ऊर्जा निकाय (आईएइए) मिलेर काम गरिरहेका छन् । विकासशील देशहरूको रेडिएशन उपचार क्षमता निर्माणमा केन्द्रित आईएइएको वैशिष्टय उपयोग भइरहेको छ । तर, राम्रो तालीम र जागरूक जनशक्तिविना प्रविधि मात्रैले केही काम दिँदैन । त्यसैले यी दुवै संस्थाहरू तालीम र प्रशिक्षण सञ्चालन र सार्वजनिक-निजी साझेदारीको नौलो अवधारणाको विकास गर्नेतर्फलागेका छन् । सार्वजनिक स्वास्थ्यका बारे बृहत्तर दृष्टिकोण राख्दै स्वास्थोपचार प्रणाली र प्राथमिक उपचारलाई पनि सुदृढ बनाउनु आवश्यक छ । त्यसबाट समयमै रोग पहिचान, निदान र उपचारका साथै सेवासुश्रुषामा सुधार आउन सकोस् ।
धूमपान प्रतिबन्ध गर्नेजस्ता सार्वजनिक स्वास्थ्यसम्बन्धी प्रावधानले क्यान्सरको रोकथाममा ठूलो मद्दत पुग्न सक्छ । त्यसैगरी हेपाटाइटिस बी र ह्युमन पापिलोमाभाइरसविरूद्धको खोप सुलभ दरमा उपलब्ध गराउन सके क्रमशः कलेजो र गर्भाशयको क्यान्सर रोकथाममा ठूलो मद्दत पुग्ने थियो । डब्ल्यूएचओसम्बद्ध अन्तरराष्ट्रिय क्यान्सर अनुसन्धान निकायमा क्यान्सरका कारणहरूबारे थप अनुसन्धान भइरहेको छ । त्यसबाट प्राप्त जानकारीले विश्वव्यापी रूपमा नै क्यान्सरको बोझलाई हलुङ्गो बनाउनेछ ।
कतिपय देशमा आशालाग्दो परिणाम देखिएका छन् । तर, आवश्यकताको सागरमा हाम्रा प्रयासहरू एउटा थोपाजस्तो मात्र भइरहेका छन् । विश्वव्यापी रूपमा बढ्दो क्यान्सरको महामारीलाई रोक्नका लागि एचआईभी/एड्सविरूद्धमा विश्वव्यापी कार्यक्रम सफलतापूर्वक परिचालन गरेजस्तै कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ ।
क्यान्सरलाई विश्वव्यापी स्वास्थ्य नीतिको एउटा महत्त्वपूर्ण अङ्गका रूपमा स्थापित गर्नुपर्छ । विकासशील देशहरूले सामना गरिरहेका क्यान्सर सङ्कटका बारे विश्व नेताहरूलाई सचेत गराउनुपर्छ । धनी र गरीब देशबीच क्यान्सरका कारण हुने मृत्युदरमा देखिएको व्यापक असमानतालाई अन्त्य गर्न सर्वोच्च तहमा प्रणालीगत कार्य गर्नुपर्छ । त्यसबाट लाखौं जीवनलाई बचाउन सहयोग पुग्नेछ ।
अबको क्यान्सरविरुद्धको लक्ष्यले प्रभावकारी क्यान्सर नियन्त्रणलाई प्रवर्द्धन गर्नुपर्छ र त्यसलाई सारा विकासशील राष्ट्रहरूका राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गरिनुपर्छ ।
संयुक्त राष्ट्रसङ्घीय महासभाले आगामी सेप्टेम्बरमा नसर्ने रोगको विश्व सम्मेलन गर्ने भएको छ । विकासशील देशहरूमा देखिएका क्यान्सरको प्रभावबारे सारा विश्वको ध्यान आकृष्ट गर्ने अवसर सो सम्मेलनले प्रदान गर्नेछ । हामी सबैको प्रयासले २०११ को सुखद् समाचारमध्ये 'क्यान्सर नियन्त्रण' पनि एक हुने कामना गरौं ।
मार्गरेट चान विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक तथा युकिया अमानो अन्तरराष्ट्रिय आणविक ऊर्जा निकायका महानिर्देशक हुन् ।
स्रोतः प्रोजेक्ट सिण्डिकेट
Admin 2011-03-03