शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

वित्तीय स्थायित्व र म्याक्रो-प्रुडेन्सियल विश्लेषण
निलम तिम्सिना
सङ्कटोन्मुख वित्तीय अस्थायित्वको पहिचान र निराकरण गर्नका लागि मौद्रिक र वित्तीय परिसूचकहरूको अनुगमन गर्ने विश्वव्यापी वर्तमान पद्धति नै त्रुटिपूर्ण छ । विश्व आर्थिक इतिहासको विभिन्न कालखण्डमा भएका प्रणालीगत वित्तीय एवम् मुद्रासङ्कट, तिनको सङ्क्रमण प्रभाव एवम् अद्यपि सेलाई नसकेको (अमेरिकाबाट सन् २००८ मा शुरू भएको) विश्वव्यापी वित्तीय सङ्कटले यो तथ्य देखाएका छन् । वित्तीय सङ्कटले आर्थिक, सामाजिक र राजनीतिक सङ्कट निम्त्याउँछ । विदेशी विनिमय सञ्चितिमा ह्रास, उत्पादनमा कमी, गरीबी, उच्च सरकारी खर्चको बोझ, कर्जा क्षय, उच्च ब्याजदर अन्तर, न्यून वित्तीय मध्यस्थता, कर्जा सतर्कता, भुक्तानी प्रणालीमा अवरोध, मौद्रिक नीतिको न्यून प्रभावकारिता, न्यून मौद्रिकीकरण, मौद्रिक योगाङ्कहरूमा अस्थिरता, ब्याजदर असंवेदनशील खुलाबजार प्रक्रिया, उच्च निष्क्रिय कर्जाजस्ता विसङ्गतिहरू वित्तीय सङ्कटका उपज हुन् । यस्तो वित्तीय सङ्कट र यसको सङ्क्रमण असरलाई रोक्नका लागि समग्र वित्तीय क्षेत्र र यसका कमजोरीहरूको वास्तविक अर्थतन्त्रमा पर्ने असरको शीघ्र र निरन्तर अनुगमन, विश्लेषण र निराकरणका लागि नीतिगत व्यवस्था गर्नु अति आवश्यक छ भन्ने कुरालाई आज विश्वले स्वीकारिसकेको छ ।

वित्तीय अस्थायित्वको अनुगमन गर्ने विश्वव्यापी रूपमा स्वीकार्य कुनै मापदण्डको विकास भइसकेको छैन । तथापि विभिन्न अन्तरराष्ट्रिय वित्तीय संस्थाहरू यस कार्यमा जुटेका छन् । समष्टिगत वित्तीय परिसूचकहरू (म्याक्रो प्रुडेन्सियल इण्डिकेटर( एमपीआई)को विकास गर्ने कार्यले गति पाइरहेको छ । यस्ता परिसूचकहरू मुद्रा, कर्जा, ब्याजदर, बंङ्किङ, सरकारी खर्च, बाह्य ऋण, अन्तरराष्ट्रिय पूँजी प्रवाह, वैदेशिक व्यापार, विदेशी विनिमय सञ्चिति, घरजग्गा , स्टक बजारसँग सम्बन्धित समष्टिगत परिसूचकहरू समावेश हुन्छन् । वित्तीय प्रणालीसँग सूक्ष्म रूपमा सम्बन्धित पूँजी पर्याप्तता, सम्पत्तिको गुणस्तर, मुनाफा, तरलतासँग सम्बन्धित परिसूचकहरू पनि यसमा हुन सक्छन् । समष्टिगत आर्थिक परिसूचकहरूमा भएको परिवर्तनको धक्काले वित्तीय प्रणालीमा कस्तो प्रभाव पार्दछ । अथवा वित्तीय प्रणालीका परिसूचकहरूमा भएको परिवर्तनको धक्काले समष्टिगत परिसूचकमा कस्तो असर पर्दछ भनी विश्लेषण गर्नाले भावी वित्तीय सङ्कटका सङ्केत पत्ता लगाई निराकरण गर्न सजिलो हुन्छ । जस्तै, घरजग्गाको मूल्यमा आउने निश्चित प्रतिशत कमीले बैङ्कहरूको खराब कर्जामा कति वृद्धि हुन सक्छ भनी विश्लेषण गर्न सकिन्छ । यसबाट घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा सीमा, सतर्कता अपनाउन सकिन्छ ।

समष्टिगत वित्तीय विश्लेषणको माध्यमबाट आसन्न वित्तीय सङ्कट र समग्र आर्थिक दुष्परिणाम रोक्न सहज हुन्छ भनी आज समग्र विश्व नै त्यसतर्फअग्रसर भएको छ । सङ्कटको सम्भावना, समय, प्रकार र परिणामको ठयाक्कै भविष्यवाणी गर्न त असम्भव प्राय: नै छ । तर, समष्टिगत वित्तीय विश्लेषणको माध्यमबाट यसलाई रोकथाम गर्न सकिन्छ । अत: वित्तीय सङ्कटका सङ्केतहरूको पहिचान गरी बेलैमा त्यसको रोकावट गर्नका लागि अवलम्बन गरिने एमपीआईज अनुगमन विधि लागत प्रभावकारी, सहज, निरन्तर र कार्यान्वयनयोग्य हुनुपर्दछ । कतिपय एमपीआईजको विगत लामो समयदेखिको तथ्याङ्क उपलब्ध हुन नसक्ने कारणले गर्दा 'थ्रेशहोल्ड' सीमा कायम गर्न कठिन हुन्छ । यस्ता परिसूचकको अनुगमनका लागि वर्तमान तथ्याङ्कको छुट्टै प्रवृत्ति विश्लेषण गरी उतारचढाव हेर्नुपर्ने हुन्छ । जति बढी उतारचढाव हुन्छ, त्यति नै सङ्कटको सङ्केत थाहा हुन्छ र त्यसको निराकरणका लागि उपयुक्त नीतिगत व्यवस्था गर्न सकिन्छ । प्रवृत्ति विश्लेषणका अतिरिक्त पीर रिभ्यू प्रक्रियाबाट पनि सङ्कटको सङ्केत पहिचान गर्न सकिन्छ । यस्तो पीर रिभ्यू छिमेकी मुलुकहरूको वित्तीय एवम् आर्थिक परिसूचकहरूसँग गर्न सकिन्छ ।

समष्टिगत वित्तीय विश्लेषणको सबभन्दा ठूलो कठिनाइ भनेकै समष्टिगत वित्तीय परिसूचकहरूबाट प्राप्त सूचनाहरूको विश्लेषण, व्याख्या गर्नु हो । नीति निर्माताले सही निर्णयगर्न सक्ने हिसाबले यसको विश्लेषण हुनु आवश्यक छ । तसथ, यस्तो विश्लेषण र व्याख्या मुलुकको आर्थिक एवम् वित्तीय प्रणाली र परिस्थिति सुहाउँदो हुनुपर्दछ । अर्को मुख्य कार्य भनेको ती परिसूचकहरूको उपयुक्त तुलनात्मक सीमा कायम गर्नु हो, जसभन्दा तल वा माथि हुनासाथ सङ्कटको सङ्केत पहिचान गर्न सकियोस् । समष्टिगत वित्तीय विश्लेषणले एउटा परिसूचक यसको 'थ्रेशहोल्ड' बेञ्चमार्कभन्दा तल वा माथि छ भन्ने मात्र हेर्न होइन, क्रमिक वित्तीय अस्थायित्व र सङ्कटको कारक हो वा होइन भन्ने कुरामा समेत केन्द्रित हुनुपर्दछ । यसले समष्टिगत वित्तीय परिसूचकहरूको अझै गहन, निरन्तर विश्लेषण गरिरहनुपर्ने कुरामा जोड दिन्छ । प्रत्येक परिसूचक नियमित रूप (१५ दिन, १ महीना)मा अद्यावधिक गरिरहनुपर्दछ र बेञ्चमार्क सीमासँग तुलना गरिरहनुपर्दछ ।

मूलत: यस्ता परिसूचकहरूको विश्लेषण गर्न चार विधिहरूको विकास भएको छ( प्रवृत्ति विश्लेषण, दबाब परीक्षण, शीर्घ चेतावनी सङ्केत र परम्परागत सुपरिवेक्षण विधि । प्रवृत्ति विश्लेषणअन्तर्गत एमपीआईजको प्रवृत्तिबाट वास्तविक परिसूचकमा कति भिन्नता छ, त्यसको आधारमा वित्तीय सङ्कटको सङ्केत र निराकरणका लागि नीतिगत व्यवस्थाको पहिचान गरिन्छ । दबाब परीक्षणअन्तर्गत कुनै खास परिसूचकमा आएको धक्काले अर्को परिसूचक र समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्दछ, त्यसले वित्तीय संस्थाको वासलात र आय विवरणमा कस्तो प्रभाव पार्दछ, सो हेरिन्छ । शीघ्र चेतावनी सङ्केत मोडलअन्तर्गत तथ्याङ्कीय मोडलको सहायताद्वारा एमपीआईजको विश्लेषण गरिन्छ, जुन निकै जटिल हुन्छ । अर्को विधि परम्परागत सुपरिवेक्षण विधि हो, जुन सरल  हुन्छ तर धेरै विश्वसनीय हुँदैन । त्यसैले कुनै खास विधिलाई पूर्ण मान्न सकिँदैन । तसथ सबै विधिहरूका राम्रा पक्षलाई आत्मसात् गरेर एमपीआईजको विश्लेषण गर्न सकिन्छ । त्यस्तै, विश्लेषणमा संलग्न कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्नु आवश्यक छ । विभिन्न क्षेत्रका विज्ञहरू जस्तै वित्तीय अर्थशास्त्री, बैङ्किङ/वित्तीय विज्ञ, सुपरिवेक्षण विज्ञ, एकाउण्टेण्ट, अर्थशास्त्री, इकोनोमेट्रिसियन, तथ्याङ्कशास्त्री आदिको समूह बनाउनुपर्दछ । अर्थ मन्त्रालय, केन्द्रीय बैङ्क, पूँजीबजार तथा अन्य नियामक निकायहरू र बैङ्क-वित्तीय क्षेत्रलाई प्राविधिक प्रशिक्षण दिने व्यवस्था हुनुपर्दछ । छिमेकी मुलुकका त्यस्ता संस्थाहरूबाट समेत केही पाठ सिक्न सकिन्छ ।

यसरी समष्टिगत वित्तीय विश्लेषण भावी आसन्न वित्तीय सङ्कटको सङ्केत पहिचान र त्यसको समयमै निराकरण गर्नका लागि उपयुक्त औजार हो भनिए तापनि यसका केही सीमा भने अवश्य छन् । यसको एउटा मूल मान्यता के हो भने सङ्कट आउनुपूर्वको अर्थतन्त्र स्थिर र नियमित प्रकृतिको हुनुपर्दछ । अर्को कुरा यो विगत तथ्याङ्कमा आधारित हुन्छ । तर, विगतमा वित्तीय सङ्कट नभोगेका मुलुकहरूमा सङ्कटसम्बन्धी विगतका तथ्याङ्क प्राप्त गर्न कठिन हुन्छ । अर्को कुरा, विगतमा अनुकूल ठानिएका तथ्याङ्क सङ्कटको समयमा उपयुक्त नहुन सक्छन् । त्यस्तै, सङ्कटको प्रकारले पनि परिसूचकहरूको उपयुक्ततामा भिन्नता ल्याउँदछ । मुद्रा सङ्कटका समयमा उपयुक्त मानिएका परिसूचकहरू बैङ्किङ सङ्कटका बेला उपयुक्त नहुन सक्छन् । तसथ समय, परिस्थिति, मुलुक, सङ्कटको समय, प्रकार आदिलाई दृष्टिगत गरी परिसूचकहरूको विकास गर्नुपर्दछ । जस्तो कि भर्खरै मात्र विश्वले भोगेको वित्तीय सङ्कटबाट के पाठ सिकिएको छ भने समष्टिगत वित्तीय परिसूचकहरूमा वाणिज्य बैङ्क र लगानी बैङ्कका वासलातबाहिरका कारोबारहरू, जोखिमपूर्ण वित्तीय डेरिभेटिभहरू, घरजग्गा कारोबारहरू, ठूला वित्तीय कारोबारहरू पनि समावेश गरिनुपर्दछ ।

त्यस्तै, एउटा मुलुकमा सङ्कट भविष्यवाणी र निराकरण गर्न विकास गरिएका परिसूचकहरू अर्को मुलुकका लागि अनुपयुक्त हुन सक्छ । मुलुक विशेषको आर्थिक, वित्तीय विकासको अवस्था, वित्तीय जटिलता, वित्तीय क्षेत्रको सक्षमता आदिले पनि यस्ता परिसूचकमा अन्तर ल्याउँछन् । अर्को कुरा, गुणात्मक सूचनाहरूको मापन हो । जस्तो कि कमजोर बैङ्किङ सुपरिवेक्षण, कमजोर सुशासन, केन्द्रीय बैङ्कको कम स्वायत्तता, कमजोर कानूनी व्यवस्था, राजनीतिक अस्थिरता आदिजस्ता गुणात्मक विषयहरू (जुन सङ्कट ल्याउने कारक तत्त्व हुन्)को मापन, विश्लेषण र निष्कर्षनिकाल्न नै कठिन हुन्छ । यी सीमा/चुनौती विद्यमान भए तापनि समष्टिगत वित्तीय विश्लेषणले वित्तीय प्रणाली र समग्र अर्थतन्त्रमा भावी दिनमा के कस्ता चुनौती/सङ्कट आउन सक्छ भनी अनुमान गर्ने र सोका लागि वर्तमानमा नै सतर्कताका उपाय अवलम्बन गरी वित्तीय सङ्कटबाट बच्न सकिन्छ । समग्र विश्व नै यसतर्फ क्रियाशील भइरहेको अवस्थामा नेपालले पनि समग्र आर्थिक परिसूचक र वित्तीय क्षेत्रका परिसूचकको समन्वयात्मक रूपमा विश्लेषणको माध्यमबाट समग्र वित्तीय प्रणालीको स्वस्थता सुनिश्चित गरी वित्तीय स्थायित्व प्रवर्द्धन गर्ने उपयुक्त विधिको निर्माण गर्नमा ढिलाइ गर्न नहुने देखिन्छ ।
लेखक नेपाल राष्ट्र बैङ्ककी निर्देशक हुन् । यहाँ व्यक्त विचार लेखकका निजी हुन् ।

Admin 2011-09-06