शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

वित्तीय सेवाप्रदायकहरूको मर्जरका आयाम  
नीलम तिम्सिना
विगत केही वर्षयता विश्व अर्थव्यवस्थामा द्रुत गतिमा बैङ्कहरू मर्जर हुने प्रक्रिया चलिरहेको छ  । बैङ्क मर्जरको बढ्दो प्रवृत्तिका पछाडि निश्चय पनि केही उत्प्रेरक तत्त्वहरूले काम गरिरहेको हुन्छ । अर्थव्यवस्थाको सुधारका लागि बैङ्किङ क्षेत्रमा जोखिम व्यवस्थापन निकै महत्त्वको विषय हो । प्रत्येक मुलुकको बैङ्किङ क्षेत्रले निक्षेप र कर्जाबीचमा उपयुक्त सन्तुलन कायम राख्नुपर्ने अपेक्षा गरिएको हुन्छ । जोखिम व्यवस्थापनको यसै परिवेशमा मर्जरलाई पनि हेर्न  सकिन्छ । जोखिम विविधीकरण गर्न मर्जरको महत्त्वपूर्ण भूमिका हुन्छ ।

जब एउटा संस्थाले अर्को एउटा वा धेरैओटा संस्थालाई आफूसँग गाभेर त्यसको सम्पूर्ण अधिकार, सम्पत्ति तथा दायित्व ग्रहण गरी आफू अस्तित्वमा रहन्छ भने त्यसलाई 'मर्जर' भनिन्छ । अर्को किसिमको मर्जरमा दुइ वा दुइभन्दा बढी  संस्था एकआपसमा गाभिई नयाँ संस्थाको जन्म हुने गर्दछ, र त्यसको नाम पनि नयाँ नै राख्ने गरिन्छ । जे भए पनि मर्जरबाट संस्थाहरूको सङ्ख्या घट्ने र कुशलता अभिवृद्धि हुने अपेक्षा गरिन्छ ।

बैङ्क तथा वित्तीय संस्था मुनाफाउन्मुख हुने हुँदा त्यहाँ जोखिम पनि त्यत्तिकै हुन्छ । एउटा बैङ्कले मुनाफा कमाएको देखेर अर्को बैङ्क खोल्ने प्रवृत्तिले बजारमा यस्ता संस्थाको सङ्ख्या बढ्दै जान्छ । जब अर्थबजारमा बैङ्क तथा वित्तीय संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्छ, तब तीव्र प्रतिस्पर्धा हुनु स्वाभाविकै हो । यस्तो प्रतिस्पर्धा विभिन्न क्षेत्रमा हुने गर्दछ । जस्तै- निक्षेप सङ्कलन र कर्जा प्रवाह, कर्मचारी र कार्यकारी प्रमुख तान्न, मुनाफा कमाउन, पारिश्रमिक लिन-दिन यस्तो प्रतिस्पर्धा हुने गर्छ । कतिपय अवस्थामा यस्तो प्रतिस्पर्धा अस्वस्थ्य पनि हुन पुग्छ ।

विशेषगरी साना र नयाँ वित्तीय संस्थालाई यस्तो प्रतिस्पर्धामा टिक्न झनै कठिन हुन थाल्दछ । प्रतिस्पर्धामा टिक्नका लागि नयाँ वित्तीय संस्थाले नयाँ तथा अर्को वित्तीय संस्थाका पुराना निक्षेपकर्ताहरूलाई समेत आकर्षित गर्न बढी ब्याजदर प्रदान गर्नुपर्ने बाध्यता हुन्छ । बढी ब्याजदर दिएर निक्षेप लिएपछि त्यसलाई कर्जाका रूपमा लगानी गर्दा पनि उच्च ब्याजदर लिनैपर्ने हुन्छ । अन्यथा संस्थाको स्रोतको लागत, सञ्चालन खर्च र मुनाफा हुने स्थिति रहँदैन । यसरी उच्च ब्याजदरमा कर्जा लिने ऋणी र स्वयम् बैङ्क समेत जोखिमपूर्ण स्थितिमा रहन्छन् । अरू बैङ्कमा डिफल्ट (गल्ती) गरिसकेका, बैङ्कले नपत्याएका, ऋण तिर्न सक्ने आर्थिक हैसियत गुमाएका वा ऋण तिर्ने मनसाय नभएका ऋणीहरू नै उच्च ब्याजदरमा कर्जा लिन अग्रसर हुन्छन् । पुराना र असल ऋणीहरू त कम लागतको ऋण लिन ठूलो/बलियो र पुरानै संस्थामा जान्छन् । तसर्थ, नयाँ तथा साना बैङ्कहरूलाई प्रतिस्पर्धामा टिक्न, कुशलता हासिल गर्न र मुनाफा आर्जन गर्न निकै कठिन हुन्छ । यस्ता संस्थाहरू जोखिमको धेरै निकट हुन्छन् ।

वित्तीय क्षेत्र अन्य क्षेत्रहरूभन्दा विशिष्ट हुन्छ । एउटा वित्तीय संस्था जोखिममा पर्नेबित्तिकै त्यसको प्रभाव समग्र वित्तीय प्रणालीमा फैलिन्छ । तसर्थ, यस्तो जोखिमलाई समयमै पहिचान गरी रोकथाम गर्न लागिहाल्नु पर्ने हुन्छ । यसका लागि नियामक, सुपरिवेक्षक संस्था र सरकारको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । तर, लाभ कमाउन्जेल आफू सक्षम भएको ठानी सो लाभ उपभोग गर्नमा लापर्बाही गर्ने संस्था धराशयी हुनलाग्दा त्यसलाई जोगाइदिन सुपरिवेक्षक संस्था र सरकार नै लाग्नुपर्ने नैतिक खतराको अवस्थाबाट कसरी पार पाउने भन्नेतर्फअब सोच्नुपर्ने बेला आइसकेको छ । त्यसैले यस्ता संस्थाको खुला प्रवेश सहज भएझैं खुला बहिर्गमनलाई पनि बजारले स्वीकार गर्नुपर्ने अवस्था आइसकेको छ । खुला बहिर्गमनअन्तर्गत प्रतिस्पर्धामा अकुशल वित्तीय संस्था या त बन्द हुन्छन् या त अर्को संस्थासँग विलय हुन्छन् । बैङ्क/वित्तीय संस्थाको मर्जरलाई यसै पृष्ठभूमिमा हेरिनुपर्दछ । तथापि, मर्जर अन्य विभिन्न कारणहरूले पनि हुने गर्दछ ।

बैङ्क/वित्तीय संस्थाहरू मर्जरमा जान उत्साहित हुने पहिलो कारण 'इकोनोमी अफ स्केल' हासिल गर्न हो । यो लागत घटाएर हासिल गर्न सकिन्छ । स्थिर प्रकृतिका खर्च र सञ्चालन खर्चमा हुने दोहोरोपनलाई घटाएर लागत घटाउन सकिन्छ । अर्थव्यवस्थामा ठूलो सङ्ख्यामा बैङ्क तथा वित्तीय संस्थाहरू फैलिने र बजारको सीमितताले वास्तविक क्षेत्रको विकास हुन नसक्दा तिनीहरूले गर्ने मुनाफा पनि आकर्षक हुँदैन । यसबाट हरेक वित्तीय संस्थाको मुनाफा घट्न जाने हुन सक्छ । तर, खर्च भने सबैको छुट्टाछुट्टै र बढिरहेको हुन्छ । जस्तो कि, छुट्टाछुट्टै भवन, गाडी, कर्मचारी, अन्य भौतिक सम्पत्ति, सूचना प्रणाली, शाखा सञ्चालन, बिजुली, पानीलगायत अन्य विविध खर्चहरू छुट्टाछुट्टै रूपमा गर्नुपरिरहेको हुन्छ । तर, दुइ वा सोभन्दा बढी वित्तीय संस्थाहरू गाभिएर एक भएमा यसले खर्चमा कमी ल्याउँछ । मुनाफा बढाउन कठिन भएको बेलामा खर्च कटौती हुनु निश्चय नै सफलताको परिचायक हो ।

वित्तीय संस्थहरू एकआपसमा गाभिनुपर्ने अर्को कारण पूँजीसम्बन्धी व्यवस्था हो । नियामक निकायले तोकेको न्यूनतम पूँजीसम्बन्धी व्यवस्था पुर्‍याउन कठिन भएका धेरै वित्तीय संस्थाहरू एकआपसमा मिलेमा पूँजी व्यवस्था गर्न सजिलो मात्र हुने नभई पूँजीको जग समेत निकै नै बलियो हुन पुग्छ । यसबाट वित्तीय संस्थाहरूलाई 'बफर'मा बस्न सजिलो हुन्छ । जोखिम व्यवस्थापनको मुख्य स्तम्भ नै बफरसहितको पर्याप्त पूँजी भएकाले कठिन परिस्थितिमा आइपर्ने धक्काहरूको सामना गर्न मर्जरले कुशनको काम गर्दछ ।

दुइ वा सोभन्दा बढी वित्तीय संस्थाहरू मर्ज हुँदा विभिन्न प्रकारका प्रडक्ट (निक्षेप, कर्जा प्रवाह र अन्य सेवाहरू)को बजारीकरण, वितरणको दायरा फराकिलो भई कुशलता प्राप्त गर्न सकिन्छ । त्यस्तै, उच्च मुनाफा आर्जन गरिरहेको वित्तीय संस्थाले नोक्सानमा गएको वित्तीय संस्थालाई गाभ्दा मर्ज गरिलिने संस्थाको कर दायित्व कम हुन्छ । मर्जरका पछाडि यो पनि एक उत्प्रेरक तत्व हुन सक्छ । व्यावसायिक विशिष्टीकरणको अवसरबाट फाइदा लिन पनि कम कुशल संस्था बढी विशिष्टीकृत संस्थासँग गाभिन प्रोत्साहित हुन्छन् ।

त्यस्तै, भौगोलिक विविधीकरणको फाइदा लिन पनि वित्तीय संस्थाहरू मर्ज हुने गर्दछन् । विभिन्न वित्तीय संस्थाका शाखा र कारोबार विभिन्न भौगोलिक क्षेत्रमा फिँजिएका हुन्छन् । संस्थाहरू एकीकृत हुँदा यो विस्तार हुनु स्वाभाविकै हो ।

बैङ्क मर्जर हुँदा नियामक र सुपरिवेक्षक संस्थालाई पनि फाइदा हुने गर्दछ । धेरै र अव्यवस्थित संस्थाहरूको सट्टा थोरै र व्यवस्थित वित्तीय संस्थाहरू हुने हो भने कर्मचारी, लागत, समय र गुणस्तर सम्पूर्ण दृष्टिकोणले बैङ्क/वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणको प्रभावकारितामा निखार आउने हुन्छ ।

यी विभिन्न कारणले गर्दा बैङ्क तथा वित्तीय संस्थाहरू एकआपसमा मर्ज हुन उत्साहित भएको विश्व वित्तीय प्रणालीको अनुभवले देखाएको छ । धेरै अवस्थामा बैङ्क तथा वित्तीय संस्थाहरू स्वतःस्फूर्त रूपमा नै मर्जरका लागि प्रोत्साहित भएका हुन्छन् । तर, जोखिममा परेका संस्थाहरूलाई उद्धार गर्नुपरेको अवस्थामा सरकार र नियामक निकायले प्रोत्साहित वा बाध्य गर्ने गरेको पनि पाइन्छ । मर्जरमा जाने संस्थाहरूलाई निश्चित वर्षम्म संस्थागत आयकर, पूँजीगत लाभकर, स्टयाम्प डयुटी, शेयरहोल्डरको व्यक्तिगत आयकर, मूल्य अभिवृद्धि कर आदिमा छूट दिने, रियल इष्टेट र बिल्डिङको कारोबारमा लाग्ने करमा छूट दिने, विदेशी मुद्रा कारोबार गर्न, सरकारी निक्षेप सङ्कलन गर्न सुविधा दिने, सहुलियतपूर्ण ऋणजस्ता प्रोत्साहनहरू दिएका उदाहरण विभिन्न मुलुकमा पाइन्छ ।

मर्जरका सकारात्मक पक्ष जति छन्, चुनौती पनि उत्तिकै छन् । शेयर  मूल्याङ्कन, शेयर संरचना, प्रविधिसम्बन्धी जटिलता, वासलात मूल्याङ्कन, कर्मचारी मिश्रण र व्यवस्थापन, दायित्वहरूको भुक्तानी, शाखाहरूको पुनःसंरचना, मुनाफामा पर्ने असर, सम्पत्ति दायित्वको मूल्याङ्कनसम्बन्धी जटिलताहरू यस सन्दर्भमा निकै संवेदनशील चुनौतीका रूपमा देखा पर्न सक्छन् । गाभ्ने/गाभिने बैङ्क तथा वित्तीय संस्थाहरूले अत्यन्त संवेदनशील र दूरदर्शी भएर मात्र यी चुनौतीहरूको सामना गर्न सक्छन् । त्यसैले मर्जरका निम्ति नियामक निकायको मार्गदर्शन र अन्तरराष्ट्रिय अभ्यासलाई पछयाउँदै अघि बढेमा धेरै जटिलता समाधान हुन सक्छ ।

नेपालको वित्तीय क्षेत्र पनि अहिले निकै नै विस्तार भइसकेको छ । २०६७ पुस मसान्तसम्म ३१ वाणिज्य बैङ्क, ८८ विकास बैङ्क, ७९ वित्त कम्पनी, २१ लघुवित्त विकास बैङ्क, १६ सहकारी संस्था र ४५ गैरसरकारी संस्था गरी जम्मा २ सय ८० वित्तीय संस्थाहरू वित्तीय प्रणालीमा छन् । यिनीहरूका शाखाहरूको पनि हिसाब गर्ने हो भने १ हजार ५ सय नाघिसकेको अनुमान छ । वित्तीय संस्थाहरूको यो सङ्ख्यात्मक वृद्धि अर्थतन्त्रका लागि साँच्चै आवश्यक हो त भन्ने जिज्ञासा आफ्नै ठाउँमा छ । तर, यिनीहरूको बीचमा तीव्र प्रतिस्पर्धाको कारण अहिले मर्जरको चर्चा विशेष रूपले चलेको छ । आर्थिक वर्ष२०६७/६८ को बजेटले पनि 'बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीहरूलाई परस्पर गाभिन प्रोत्साहन गर्न आयकर ऐनमा भएको एकआपसमा गाभिएमा सम्पत्ति तथा दायित्वको निर्सग मानी कर लगाउने प्रावधानमा परिवर्तन गरी कर नलाग्ने एवम् शेयरधनी, व्यवस्थापक तथा कर्मचारीसमेतको सन्दर्भमा विशेष व्यवस्था मिलाएको'छ । अतः यस्ता प्रोत्साहन व्यवस्थाको पूर्णसदुपयोग गर्दै, मर्जरका क्रममा आउन सक्ने चुनौतीहरूप्रति संवेदनशील र दूरदर्शी भई बैङ्क/वित्तीय संस्था मर्जरको बाटोमा अगाडि बढेमा निश्चय नै नेपाली अर्थतन्त्रले लाभ लिन सक्दछ ।
लेखक नेपाल राष्ट्र बैङ्ककी निर्देशक हुन् । यहाँ व्यक्त विचार लेखकका निजी हुन् ।

Admin 2011-03-04