चीनको अग्रगमन
यु योङदिङ
चीनको वार्षिक प्रतिव्यक्ति आय अहिले ३ हजार ८ सय डलर पुगेको छ । यसको अर्थ चीन मध्यम आय भएको देश हो । तर, अर्थशास्त्रीहरूले चीनको विकास प्रक्रिया बढ्दै गएर यसले अमेरिकालाई कहिले भेट्टाउला भनेर विश्लेषण गरिरहँदा सन् २०१० मा चीनभित्रको मनोदशा भने दबिएको अवस्थामा रहयो । प्रधानमन्त्री वेन जियावाओले त चीनको आर्थिक वृद्धिलाई 'अस्थिर, असन्तुलित, समन्वयहीन र अन्ततः धान्न नसकिने’ समेत बताएका छन् ।
हुन त आर्थिक वृद्धि कुनै पनि देशमा कहिल्यै पनि सीधा रेखामा भएको छैन । मध्यमस्तरीय आय भएका थुप्रै देश त्यही तहमा दशकौंसम्म अड्किएको र/अथवा न्यून आय स्तरमा खस्किएको उदाहरण छ । दोस्रो विश्वयुद्धपछि मुट्ठीभर केही देशले मात्र पूर्ण औद्योगिक विकासको स्तरमा पुग्ने गरी आर्थिक वृद्धि हासिल गरेको नोबेल पुरस्कार विजेता अर्थशास्त्री माइकल स्पेन्सले देखाएका छन् ।
विगत तीन दशकमा चीनले हासिल गरेको प्रगति भनेको पूर्वी एशियाली आर्थिक वृद्धिको मोडेलकै अर्को सफल प्रकार हो । र, यो सफलता योजनाबद्ध समाजवादी अर्थतन्त्रको विरासतका रूपमा प्राप्त प्रारम्भिक अवस्थामा टुसाएको हो । वृद्धिको त्यस मोडेलको सम्भाव्यता अब करीब समाप्त भइसकेको छ । तर्सथ चीन अब एउटा निर्णायक मोडमा पुगेको छ । त्यो के भने पीडादायक संरचनात्मक समायोजन नगरिने हो भने यसको आर्थिक वृद्धिको गति अचानक अवरुद्ध हुन सक्छ ।
चीनको तीव्र वृद्धि एउटा अत्यन्तै उच्च लागतका बापत प्राप्त भएको हो । त्यो लागत ठयाक्कै कति हो भन्ने निक्र्यौल भविष्यले मात्र गर्न सक्छ । चीनको लगानी दर हाल ५० प्रतिशतभन्दा माथि छ । यसको अर्थ के हो भने चीनको 'पूँजी प्रभावकारिता’ न्यून छ । यस्तो उच्च लगानीदरका दुईओटा चिन्ताजनक पक्ष छन् । पहिलो, लगानीसम्बन्धी निर्णयको अधिकांश हिस्सामा स्थानीय सरकारहरूको प्रभाव छ । दोस्रो, कुल लगानीको करीब एक चौथाइ रियल इष्टेट विकासमा गएको छ ।
केही स्थानीय सरकारहरूले त साँच्चै अर्थमा खाल्डो खन्दै त्यसैलाई पुर्दै गरेर पनि गार्हस्थ्य उत्पादन बढाएका छन् । फलस्वरूप चाहिएभन्दा अत्यन्तै धेरै सङ्ख्यामा विलासितापूर्ण कण्डोमिनियम (आवासगृह) हरू, भव्य सरकारी कार्यालय भवनहरू र गगनचुम्बी भवनहरू तयार भएका छन् । चीनको प्रान्तीय शहरका होटेलहरू पश्चिमी देशको राजधानीमा पाइने होटेलभन्दा शानदार छन् ।
चीन संसारको बढी प्रदूषित देश भएको छ । यसका शहरहरूमा धूलो र धूवाँले मानिसहरू निसास्सिएका छन् । देशका सबैजसो प्रमुख नदीसम्म विषाक्त छन् । मरुभूमीकरण र वनजङ्गलको विनाश व्यापक छ । खडेरी, बाढी र पहिरो सामान्य भइसके । चीनका विभिन्न प्राकृतिक साधनहरूको मौज्दात पनि मनपर्दी दोहन गरिनाले चाँडै रित्तिँदै छ ।
चीनको कुल गार्हस्थ्य उत्पादनसँग व्यापारको अनुपात र कुल गार्हस्थ्य उत्पादनसँग निर्यातको अनुपात क्रमशः ६० र ३० प्रतिशत भन्दा बढी छ । आर्थिक वृद्धि कायम राख्न बाहय मागमै भर परिरहन सकिँदैन । तर, दुर्भाग्यवश चीनको निर्यात क्षेत्र निकै ठूलो छ, यसले करोडौं जनतालाई रोजगारी दिएको छ । फलस्वरूप निर्यातमा चीनको निर्भरता संरचनागत छ । यसको अर्थ चीनको व्यापार निर्भरता र व्यापार बचत घटाउन समष्टिगत आर्थिक नीतिहरूमा समायोजन गरेर मात्र पुग्दैन ।
दशकौंसम्मको तीव्र विस्तारपछि चीन अहिले विश्व अर्थतन्त्रको कारखाना भएको छ । अनि समस्या के छ भने यो एउटा कारखानाभन्दा बढी केही हुन सकेको छैन । नवप्रवतन (इन्नोभेशन) र सृजनाको अभाव यस अर्थतन्त्रको मर्मस्थान भएको छ । उदाहरणका लागि परिमाणका हिसाबले चीन अहिले संसारकै ठूलो कार उत्पादक हो । यसले वर्षोनि १ करोड ७० लाख कार उत्पादन गर्छ । तर, चिनियाँ कार निर्माताले आफै तयार गरेका मोडेलको सङ्ख्या भने नगण्य छ । तीव्र प्राविधिक उन्नति, सृजनशीलता र नवप्रवर्तनको यस जमानामा विश्व आर्थिक परिदृश्य पनि तीव्र रूपमै परिवर्तन हुन सक्छ । नवप्रवर्तन र सृजनशीलताको बलियो क्षमताविना विशालकाय दानव पनि कमजोर हुन्छ । विशालकाय दानव लडयो भने त्यसले धेरैलाई हानि पुर्याउँछ ।
विगत ३० वर्षमा चीनको जीवनस्तर नाटकीय रूपले बढ्दै गर्दा धनी र गरीबबीचको खाडल पनि तीव्र रूपमा बढेको छ । आयको वितरण निकै लामो समयसम्म धनीहरूको पक्षमा गएको छ । र, सरकार आफूले उपलब्ध गराउनुपर्ने सार्वजनिक उपभोगका वस्तु र सेवा उपलब्ध गराउन असफल भएको छ । एकातर्फधनीहरूको विलासी जीवनशैली र अर्कोतर्फगरीबहरूको जीवनयापनका स्थितिमा सुधार ज्यादै मन्द भएकाले सामाजिक तनावलाई उमाल्दै छ । यसको अर्थ गम्भीर किसिमको विस्फोट हुने अवस्था तयार हुँदै छ । आफ्ना संरचनागत समस्याहरूलाई समयमै सम्हाल्न चीन असफल भयो भने यसको आर्थिक वृद्धि दिगो हुन सक्दैन ।
संरचनागत समायोजन गर्नु भनेको पीडादायी अभ्यास हो । तर, यसमा जति ढिलो गरियो, उति नै यो थप पीडादायक हुन्छ । अहिले चीनसँग भएको बलियो वित्तीय स्थितिले उसलाई एउटा अवसर प्राप्त छ । तर, त्यो अवसर चाँडै हराउनेछ । किनभने खास सुधारात्मक नीतिबाट जसले लाभ पाए, उनीहरू अब 'निहित स्वार्थसमूह' बनेका छन् । र, उनीहरू आफूले पाइसकेको लाभलाई कायम राख्न कडा संघर्ष गर्नेछन् । चिनियाँहरूलाई मन नपर्ने सबभन्दा ठूलो कुरा हो- सरकारी अधिकारीहरू र व्यवसायीहरूबीचको मिलेमतो । यसलाई चिनियाँ प्रतिष्ठित अर्थशास्त्री उ चियाङ लियावले 'शक्तिशाली र धनीहरूको पूँजीवाद' भनेका छन् । यस अपवित्र गठबन्धनलाई तोड्नुमै २०११ र यसपछिको अवधिमा चिनियाँ नेतृत्ववर्गको ठूलो परीक्षण निहित हुनेछ । चीनको वर्तमान संस्थागत व्यवस्थामा सुशासनका लागि पूर्वशर्त हो- योग्यहरूको शासन । तर, योग्यहरूको शासन भन्ने अवधारणालाई चाकरीबाजी र अरूले गरेको जे कुरा पनि भएन भन्ने प्रवृत्तिले कमजोर तुल्याएको छ । तसर्थ, फेरि पनि आर्थिक विकासको द्वन्द्वले राजनीतिक सुधार गर्नुपर्ने आवश्यकतालाई अगाडि ल्याएको छ ।
बाहिरी दुनियाँमा चीनको उन्नत्रि्रति प्रशंसाका साथै ईर्ष्या, शङ्का र कुनैकुनै ठाउँमा त सीधा शत्रुतासमेत व्यक्त भएको छ । चिनियाँ नेताहरूले आफ्नो देशको विस्तारवादी आकाङ्क्षा नभएको भनेर जति स्पष्ट गर्न खोजे पनि चीनको वास्तविक चाहना के होला भन्नेबारे आशङ्का रही नै रहनेछ । त्यो बुझ्न पनि सकिने कुरा हो । नयाँ शक्तिको उदयले इतिहासमा हमेसा त्यसबेला स्थापित अन्तरराष्ट्रिय प्रणालीलाई बिथोलेको छ । १ अर्ब ३० करोड जनसङ्ख्या भएको तथा एउटा भिन्न राजनीतिक प्रणाली र दर्शनमा आधारित देश यस्तो नयाँ शक्ति भएर उदायो भने त्यसबाट विश्वभरि झन् बढी असजिलो उत्पन्न गर्नु स्वाभाविकै हो । सौभाग्यवश विश्वव्यापीकरणले गर्दा चीनको उन्नति सबैको हितमा छ । अरू उदीयमान अर्थतन्त्रहरूको उन्नति पनि सबैको हितमा छ । आगामी वर्षहरूमा मौसम परिवर्तन, अन्तरराष्ट्रिय सन्तुलन र अन्तरराष्ट्रिय मौद्रिक प्रणालीको सुधारजस्ता विषयमा चीनले बढी सक्रिय भूमिका खेल्नुपर्छ । पारस्परिकता अत्यावश्यक भएको कुरा भनिरहनुपर्दैन ।
लेखक चाइना सोसाइटी अफ वर्ल्ड इकोनोमिक्सका वर्तमान सभापति तथा पिपल्स बैङ्क अफ चाइनाको मौद्रिक नीति समितिका पूर्वसदस्य हुन् ।
साभारः प्रोजेक्ट सिण्डिकेट