हरित 'बुटलेगर’ र पादरीहरू
ब्योर्न लोम्बर्ग
संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय समिति (आईपीसीसी)ले नवीकरणीय ऊर्जाबारे मेमा प्रस्तुत गरेको नयाँ प्रतिवेदनलाई सञ्चारमाध्यमले निकै चर्चामा ल्याए । विगतमा जस्तै आईपीसीसीले विस्तृत तथ्याङ्कपछि प्रस्तुत गर्ने गरी शुरूमा एउटा सङ्क्षेपमात्रै जारी गरेको थियो । त्यसैले प्रतिवेदनको आशय के हो भन्ने पत्रकारहरूलाई बुझाउने जिम्मेवारी आईपीसीसीका जनसम्पर्क विशेषज्ञमाथि छाडिएको थियो ।
आईपीसीसीको प्रेस वक्तव्यका अनुसार 'सही किसिमका सार्वजनिक नीति अवलम्बन गर्नसके यस शताब्दीको मध्यसम्म विश्वको ऊर्जा आवश्यकतामध्ये झण्डै ८० प्रतिशत नवीकरणीय ऊर्जाक्षेत्रबाट आपूर्ति गर्न सकिनेछ ।' विश्वभरिका सञ्चार उद्योगले पनि आईपीसीसीको त्यही सन्देशलाई दोहोर्याए ।
गत महीना आईपीसीसीले प्रतिवेदनको पूर्ण पाठ प्रस्तुत गरेको थियो, जसमा उसका आश्चर्यजनक रूपले आशावादी दाबी पछाडिका तथ्याङ्क प्रस्तुत गरिएको थियो । त्यसपछि मात्रै थाहा भयो कि उक्त प्रतिवेदन अनुसन्धानकर्ताहरूले छानबिन गरेका १ सय ६४ ओटा मोडेलमध्ये सबैभन्दा आशावादी मोडेलमा आधारित थियो । वातावरण संस्था ग्रीनपीसले प्रस्तुत गरेको प्रतिवेदनमा आईपीसीसीको प्रतिवेदन आधारित थियो । ग्रीनपीसका सदस्य तथा उक्त प्रतिवेदनका लेखक नै आईपीसीसीका प्रमुख लेखकमध्ये एक थिए ।
उक्त दाबी विश्वव्यापी ऊर्जा खपतलाई ठूलो मात्रामा घटाउन सकिन्छ भन्ने अनुमानमा आधारित थियो । तर, चीन र भारतका धेरै मानिस गरीबीबाट सम्पन्नतातर्फलम्किरहेको हुनाले त्यस्तो सम्भावना एकदमै क्षीण देखिन्छ ।
आईपीसीसीको त्यस्तो दाबीलाई शुरूमा विश्वव्यापी तापक्रमका अभियन्ता र नवीकरणीय ऊर्जा कम्पनीले उत्साहपूर्वक स्वागत गरे । 'नवीकरणीय प्रविधिले विश्वलाई आवश्यकताभन्दा पनि थप बढी ऊर्जा आपूर्ति गर्नसक्ने प्रतिवेदनले देखाएको छ,’ ग्लोबल विण्ड इनर्जी काउन्सिलका स्टीभ सयरले भने ।
यस्ता क्रियाकलाप र वैकल्पिक ऊर्जामा अनुदान चाहने अभियन्ता र ठूला ऊर्जा कम्पनीको उत्साह राजनीतिको 'पादरी र अवैध मदिरा विक्रेता’ अर्थात् 'बाप्टिष्ट एण्ड बुटलेगर’ सिद्धान्तसँग मिल्दोजुल्दो छ ।
यो सिद्धान्त अमेरिकाको दक्षिणी क्षेत्रको अनुभवमा आधारित छ, जहाँ आइतबार मदिरा विक्री गर्न निषेध गरिन्थ्यो । त्यस्तो सरकारी निषेधलाई नैतिकताको कारण धार्मिक समूहले पनि समर्थन गरेको थियो, किनभने आइतवार उनीहरूले आफ्नै बजार चलाउनु जो थियो । तर, राजनीतिकर्मीहरू भने एकातिर पादरीको पवित्र वचन दोहोर्याउँथे भने अर्कोतर्फ चुपचाप गैरकानूनी विक्रीबाट प्राप्त चन्दा कुम्ल्याउँथे ।
आजको जलवायु परिवर्तनका बुटलेगरहरू निश्चय पनि गैरकानूनी क्रियाकलापमा संलग्न छैनन् । तर, ऊर्जा कम्पनी, बायोइन्धन उत्पादक, बीमा कम्पनी, लबीकर्ता र 'हरित’ नीतिका समर्थकका आफ्नै नियोजित स्वार्थ छन् भन्ने प्राय: नजरअन्दाज गरिन्छ ।
वास्तवमा 'बुटलेगर्स र बाप्टिष्ट’ सिद्धान्तले विगत दशकदेखिको विश्वव्यापी तापक्रम नीतिको क्षेत्रमा भइरहेका गतिविधिलाई व्याख्या गर्छ । जस्तो कि, क्योटो प्रोटोकलको खर्च कैयौं ट्रिलियन डलर हुन आउँछ तर त्यसले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिमा व्यावहारिक रूपले नगन्यमात्र फरक ल्याउँछ । तैपनि, अभियन्ताहरूले कार्बन डाइअक्साइड कटौती गर्नुलाई नैतिक दायित्वका रूपमा हेर्ने गरेका छन्, जसलाई व्यापारिक समूहले पनि हौस्याउन पुगे ।
सन् २००९ डिसेम्बरको असफल कोपेनहेगन जलवायु सम्मेलनका बेला डेनमार्कको राजधानी शहरमा बलियो सम्झौताको आह्वान गर्दै आकर्षक विज्ञापन छयापछयाप्ती टाँसिएका थिए । ती विज्ञापनलाई विश्वकै सबैभन्दा ठूलो विण्डमिल उत्पादक भेष्टासले प्रायोजन गरेको थियो ।
धर्म परिवर्तन गरेर वातावरणवादी भएका प्रख्यात तेल धनाढय टी बून पिकेन्सले एउटा 'योजना’को मस्यौदा गरेका छन् (जसलाई उनले आफ्नै नाममा राखेका छन्), जसमा नवीकरणीय ऊर्जा क्षेत्रमाथि अमेरिकाको निर्भरता बढाउने योजना गरिएको छ । निश्चय पनि, उनी वायुशक्ति र प्राकृतिक ग्यास कम्पनीहरूका प्रमुख लगानीकर्ता पनि हुन्, जसले सरकारी अनुदानबाट फाइदा उठाउनेछन् ।
परम्परागत ऊर्जाक्षेत्रका विशाल कम्पनी बीपी र शेलले वातावरण 'अमैत्रीपूर्ण’ ठानिएको कोइला इन्धनको साटो तेल र ग्यास बेचेर आफ्ना 'हरित’ प्रमाणपत्र बनाएका छन् । कोइलाको प्रमुख खपतकर्ता विद्युत् ऊर्जा उत्पादक विशाल अमेरिकी कम्पनी डयुक इनर्जीले पनि अमेरिकी 'क्याप एण्ड ट्रेड स्किम' (कार्बन डाइअक्साइडको उत्सर्जनको सीमा तोकेर त्यसको व्यापार गर्ने योजना) प्रवर्द्धन गरेर हरित प्रशंसा कमाएको थियो । तर, अन्तत: उक्त कम्पनीले त्यही योजना लागू गर्ने मस्यौदा विधेयकको विरोध गर्न पुग्यो किनभने त्यो विधेयकमा कोइला कम्पनीहरूका लागि पर्याप्त मात्रामा नि:शुल्क कार्बन उर्त्सजन अनुमतिपत्र दिने व्यवस्था थिएन ।
'विश्वासी' अभियन्ताहरूका सन्दिग्ध दाबी (र लबीकर्ताको समर्थन)ले बायोफयुल उद्योग सृजना हुन पुग्यो । बायोफयुल उत्पादनले वनजङ्गलको व्यापक फँडानी गराउने हुँदा परिणामस्वरूप वातावरणीय कार्बनको मात्रा बढाउँछ । उता, बाली परिवर्तन गर्नाले खाद्यवस्तुको मूल्य बढ्न गई विश्वव्यापी अनिकाल पनि बढाउँछ । यस्तो तथ्यलाई वातावरणविद्हरूले स्वीकार गर्न थालिसकेका छन् तर बायोफयुल उद्योगले शुरूका दिनमै यत्ति धेरै अभियन्ता पायो कि अब कृषिव्यापार र हरितऊर्जा उत्पादकलाई आफ्नो बाटो फेर्नुपर्ने कुनै आवश्यकता छैन ।
निश्चय पनि, निजी कम्पनीहरू आफ्नै स्वार्थबाट प्रेरित हुन्छन् र त्यो कुनै खराब कुरा पनि होइन । तर, ग्रीनपीस र ठूला व्यवसायबीचका जुनसुकै सहमतिलाई पनि राम्रो मान्नुपर्ने कतिपय टिप्पणीकारको सुझाव हुने गर्दछ । व्यवसायीले समर्थन गर्ने गरेका क्योटो प्रोटोकलजस्ता महँगा नीतिले जलवायु परिवर्तनको क्षेत्रमा पुर्याउने नगन्य योगदानले भने अन्यथा नै सङ्केत गर्दछन् ।
जलवायु परिवर्तनका 'पादरीहरू’ले राजनीतिकर्मीका योजनालाई नैतिक धरातल प्रदान गर्छन् । सञ्चारमाध्यमले तिनका पाठक र दर्शकलाई वातावरण परिवर्तनका त्रासदीपूर्ण कथाहरूले तर्साउँछन् । व्यवसायीहरूले करदाताबाट उठाइएको आम्दानीबाट अनुदानको अवसर खोज्छन् र अवश्यम्भावी खर्चवृद्धिलाई उपभोक्तामा सार्छन् ।
दुर्भाग्यवश, स्वार्थहरूबीचको यस्तो मिलनले हामीलाई जलवायु परिवर्तनका प्रभावहीन र खर्चिलो पक्षमा केन्द्रित गर्नेतर्फधकेल्छ । जबजब विपरीत राजनीतिक शक्तिहरू एक अर्काप्रति आकर्षित हुन्छन् जस्तो कि विश्वव्यापी तापक्रम वृद्धिको विषयमा अभियन्ता र ठूला व्यवसायबीच भइरहेको छ, सार्वजनिक चासोका विषय मझधारमा पर्ने ठूलो जोखिम रहन्छ ।
ब्योर्न लोम्बर्ग 'द स्केप्टिकल इन्भाइरोमेण्टलिष्ट’ र 'कुल इट’का लेखक, कोपनहेगन कन्सेसस् सेण्टरका प्रमुख र कोपनहेगन बिजनेश स्कूलका एड्जङ्क्ट प्रोफेशर हुन् ।
Admin 2011-08-05