ईश्वर, विश्वास र ब्राण्ड
अभय पाण्डे
के तिमीले ईश्वर देखेका छौं ? यो प्रश्नको सामना मैले जीवनमा धेरैपटक गरेको छु । आस्तिक भएको नाताले मलाई यसको जवाफ दिन गाह्रो छ, किनकि मैले ईश्वरलाई देखेको छैन । तर, ईश्वर नदेख्दैमा वा भनौं देख्न अक्षम हुँदैमा यो तथ्यले मेरो ईश्वरमाथिको विश्वासमा रत्तीभर पनि कमी ल्याएको छैन । मैले ईश्वर देख्न नसक्नुमा अनेकौं कारण हुन सक्छन् । भौतिकदेखि लिएर आध्यात्मिकसम्म । शायद,ईश्वरले मेरो इन्द्रिय (विशेषतः दृष्टि) यति सबल बनाइदिएनन् जसले गर्दा मैले उनलाई देख्न सकूँ । शायद,ईश्वर त्यस्तो स्वरूपमा छैनन्, जस्तो हेर्न मेरा आ“खा वा मस्तिष्क अभ्यस्त छन् । मनुष्य स्वभावतः सबै वस्तुमा आफ्नो प्रतिविम्ब देख्न चाहन्छ । हामी बादलमा अनुहार देख्छौं । गाडीलाई हेर्दा हाम्रो मस्तिष्कको त्यही भाग सक्रिय हुन्छ, जुन भाग अनुहार चिन्न सक्रिय हुन्छ । मार्केटिङमा हामीले वस्तुलाई मानवीय चरित्र दिने प्रयास गर्छौं । तर,ईश्वर हाडछालाले बनेको मानवीय गुण/दोषयुक्त र यो ब्रह्माण्डको नियम अधीनस्थ चल्ने जीव हुनुपर्ने कुनै आवश्यकता छैन । त्यस्तो सोच्नु हाम्रो सोचको सीमितताबाहेक केही हुन सक्दैन ।
जहा“सम्म विज्ञानको प्रश्न छ, जसको दुहाई दिएर कतिपय ईश्वरको अस्तित्वलाई नर्काछन्, त्यो आफैमा एउटा सम्पूर्ण विद्या होइन । त्यस्तो विद्या कुनै छँदा पनि छैन । विज्ञानले ठोकुवाका साथ न त ब्रह्माण्डको उत्पत्तिबारेमा नै केही भन्न सक्छ, न मनुष्यको उत्पत्ति र मस्तिष्कका बारेमा नै, जसले ब्र≈माण्ड र मनुष्यको उत्पत्तिको सिद्धान्त निर्माण गर्दछ । संसारमा कतिपय प्रश्न यस्ता छन् जो वैज्ञानिक तवरले प्रमाणित गर्न असम्भव प्रायः छन् । यी सदा अनुत्तरित प्रश्नका रूपमा रहिरहनेछन् । तर्सथर् इश्वरका विषयमा अहिले नै नतीजामा पुग्ने विज्ञानको चेष्टा अपरिपक्व नै हुनेछ । विज्ञान विशेषतः सङ्कुचित विज्ञान हो, किनकि यसले आफूले थाहा नपाएको विषयलाई नकार्दछ र बुझ्न नसकेको कुरालाई पन्छाउने प्रयास गर्दछ । शताब्दीऔंसम्म विज्ञानले 'इमोशन’लाई पन्छायो । र, अहिलेसम्म चेतनालाई पन्छाउँदै छ । किनकि, विज्ञानले न त यसलाई राम्ररी बुझ्न नै सकेको छ, न त चेतना कुन प्रक्रियाद्वारा मस्तिष्कमा उत्पन्न हुन्छ भन्ने कुराको व्याख्या गर्न सक्दछ । तर्सथ, हालका लागि विज्ञानलाई विज्ञान र भगवान्लाई भगवान् नै रहन दिनु राम्रो हुनेछ । सारमा भगवान् र विज्ञान दुवैको उद्देश्य एउटै छ- जीवको कल्याण ।
मजस्तो साधारण मानिसका लागि जीवनका यक्षप्रश्नहरूजस्तै भगवान्को अस्तित्वको प्रमाण वा यो ब्रह्माण्ड र मनुष्य भगवान्ले सृष्टि गरे कि आफै उत्पत्ति भयो आदिको खोजी गर्दै हिँड्नु समय फाल्नुमात्र हुनेछ । ब्रह्माण्ड र मनुष्य सृष्टिबाट जन्मे वा उत्पत्तिबाट भन्ने प्रश्नको निर्क्यौल अन्ततः भइहाले पनि त्यो रहस्योद्घाटनले भगवान् वा विज्ञानको अन्त्यचाहिँ अवश्य आउने छैन । जतिबेलासम्म हाम्रो मन र शरीरले बनेको जीवात्मा रहिरहनेछ, त्यतिबेलासम्म भगवान् र विज्ञान दुवैले हाम्रो जिन्दगीमा प्रभाव पारिरहनेछन् । त्यसैले भगवान्का विषयमा ठूलाठूला प्रश्नको सट्टा एउटा साधारण प्रश्न सुन्न रुचाउँछु म । त्यो प्रश्न हो, के तिमी ईश्वरमा विश्वास राख्छौं ? यो प्रश्नको उत्तर मैले ठूलो स्वरमा सधैँ एउटै दिन्छु, 'हो म भगवान्मा विश्वास राख्छु र मलाई विश्वास छ भगवान छन् ।’
साँच्चैभन्दा विश्वास आफैमा कुनै चमत्कारभन्दा कम हुँदैन । विश्वास मलहम हो, शरीर र मन दुवैका लागि । भगवान्माथिको विश्वासले हामीलाई नैतिक बाटोमा हिँड्न शक्ति प्रदान गर्दछ । कठिन घडीमा भगवान्माथिको विश्वासले मलगायत करोडौं मानिसलाई आफ्नो सन्तुलन गुम्नबाट जोगाएको छ । तर, मेरो विश्वास केवल भगवान्मा मात्र सीमित छैन । मेरो विश्वास सर्वत्र फैलिएको छ । विज्ञानदेखि ब्राण्डसम्म । जसको वकालत म स्वयम् गर्दछु । पृथ्वी तत्कालै अरू ग्रह वा नक्षत्रमा गएर ठोकिँदैन भन्ने वैज्ञानिकहरूलाई यदि मैले विश्वास नगरेको भए मानसिक तनावका कारण मेरो अस्तित्व धेरै पहिले समाप्त भइसक्ने थियो । साँच्चै भन्ने हो भने, संसारका अधिकांश मानिसका लागि वैज्ञानिक सत्य वा सिद्धान्त केवल विश्वासमात्र हुन् । हामीहरूका लागि अणु वा त्यो भन्दा पनि सूक्ष्म क्वार्क वा स्टि्रङको अस्तित्व वैज्ञानिक सत्य नभई केवल विश्वास मात्र हो । पदार्थको अति सूक्ष्मतम रूप कसैले पनि देख्न सक्दैन, वैज्ञानिकहरूले पनि । एक हिसाबले भन्ने हो भने क्वार्क वा स्टि्रङ हुन्छ भन्ने कुरा पनि वैज्ञानिकहरूको केवल विश्वास हो, सिद्धान्त हो, वैज्ञानिक सत्य होइन ।
म यहाँ के प्रस्ट पार्न चाहन्छु भने यो लेख न तर् इश्वरको विषयमा हो, न त विज्ञानका विषयमा । आस्तिकहरूका विरुद्ध त अवश्य पनि होइन । ईश्वरप्रतिको उनीहरूको अविश्वास र मेरो विश्वास एउटै सिक्काका दुइ पाटा हुन् । यो लेख मूलतः विश्वासका बारेमा हो, किनकि विश्वास नै त्यो कुरा हो, जसले कुनै उत्पादनलाई ब्राण्ड बनाउँछ । सामान्यतः एउटा उत्पादन र अर्को उत्पादनबीच तात्त्विक भिन्नता केही हुँदैन । मूलतः विज्ञापनको माध्यमबाट उत्पादनकर्ताले उपभोक्ताभित्र जगाउने विश्वास नै त्यो चिज हो, जसले उपभोक्ताको मनमा उत्पादनहरूबीच भिन्नता जगाउँछ । चिकित्साशास्त्रले विश्वासको एउटा बेजोड उदाहरण प्रस्तुत गरेको छ । त्यो हो- प्लेसेवो एफेक्ट । यसअर्न्तर्गत बिरामीहरूले चिनीको डल्ला सेवन गरेर पनि स्वास्थ्यलाभ गरिरहेका हुन्छन् । यो विश्वासले कि उनीहरू साच्चिकै औषधि सेवन गरिरहेका छन् । विश्वास कति शक्तिशाली हुन्छ भन्ने कुराका यो एउटा उदाहरण हो ।
शरीर र मन
एउटा मात्र कोष भएको जीवजस्तै ब्याक्टेरियाले पनि यस्तो व्यवहार देखाउँछ, मानौं ऊसँग मन छ । ऊ विषादीबाट पर भाग्छ र आहारतिर अघि बढ्छ । ब्याक्टेरियाका लागि यस्तो व्यवहार जीवनरक्षाको महत्त्वपूर्ण शस्त्र हो । मानिससँग शरीरका अतिरिक्त मन पनि हुन्छ, यद्यपि दुवैको उद्देश्य एउटै हुन्छ । एउटा यस्तो उद्देश्य जुन पृथ्वीका समस्त प्राणीबीच साझा छ । त्यो हो- अस्तित्वको रक्षा र उन्नति । वस्तु वा सेवा मूलरूपमा मन/शरीरको यही उद्देश्य पूर्तिका सहयोगी मात्र हुन् । चाहे त्यो अस्तित्व शारीरिक होस् वा मानसिक वा सामाजिक । यही अन्तरज्ञानबाट प्रेरित भएर विदेशमा विज्ञापनहरू वस्तुको गुण वा कार्यक्षमतामा केन्द्रित नभई उक्त वस्तुले मानिसको अस्तित्वमा पार्ने प्रभावमा बढी केन्द्रित हुन्छन् । जानेर वा नजानेर हाम्रा विज्ञापन पनि त्यही दिशातर्फअग्रसर छन् ।
मन र शरीरको प्रश्नले शताब्दीऔंदेखि कैयौं ठूला वैज्ञानिक र दार्शनिकलाई कौतुहल बनाएको छ । पूर्वीय ज्ञानपरम्पराले मन र शरीरको सम्बन्धलाई धेरै पहिले नै बुझिसकेको भए तापनि पश्चिमी ज्ञानपरम्पराले यी दुइबीचको सम्बन्ध बुझ्न एक्काइसौं शताब्दी कुर्नुपर्यो । हाल आएर पश्चिममा भएका कैयौं वैज्ञानिक अध्ययनले यही कुराको पुष्टि गर्दछ कि मन र शरीरको गहिरो सम्बन्ध छ । मनले शरीर चलाउँछ भन्ने कुरा नौलो होइन । तर, मनमा चल्ने आँधीले शरीरलाई उडाउँछ र शरीरमा हुने हलचलले मनको निर्माण गर्न मद्दत गर्छ भन्ने वैज्ञानिक ज्ञानचाहिँ नौलो नै भन्नुपर्छ । शताब्दीऔंसम्म पश्चिमले शरीरविहीन मन (डिस्एम्बोडिडमाइण्ड) को अवधारणालाई आत्मसात् गर्यो, यसको असर धेरै विधामा पर्यो । यही अवधारणाबाट प्रभावित भएर चिकित्सा विज्ञानले रोगहरूलाई केवल शरीरको दृष्टिकोणबाट हेर्ने र शरीरलाई मात्र ठीक गर्ने उपचारपद्धतिको विकास गर्यो र यस क्रममा मनलाई पन्छायो । मनको चिन्ताले धेरै रोग निम्त्याउँछ भने, सकारात्मक सोच र विश्वासले धेरै रोगबाट बच्न र लड्न मद्दत गर्दछ भन्ने अनुमान लगाउनु गलत नहोला । यसै सन्दर्भभमा मन/शरीरको पाश्चात्य अवधारणाले विज्ञापनमा समेत प्रभाव पार्यो । परिणाम स्वरूप उत्पादनकर्ताले लामो समयसम्म तर्कवादी-भौतिकवादी बाटो विज्ञापनमा अँगाले र इमोशनलाई पन्छाए । शरीरमा चल्ने इमोशन र त्यसले मनमा छाड्ने छाप (फिलिङ) ज्ञानको अभावमा इमोशनलाई विज्ञापनको सशक्त आयामका रूपमा सदा पन्छाइयो । केही समययता आएर मात्र विज्ञानले इमोशनको व्याख्या र जीवनमा यसको उपयोगिताका बारेमा एउटा बृहत्तर अवधारणा अघि सारेको छ । यसअनुसार इमोशनले हामीलाई राम्रोसँग बाँच्न मद्दत गर्दछ । यदि डर भन्ने इमोशन नभइदिएको भए हामी राजमार्गका बीचमा मस्तसँग हिँड्ने थियौं, शायद यो धेरैबेर सम्भव हुँदैन । त्यस्तै खुशीको इमोशन नभइदिएको भए हामी कुनै पनि प्रकारको अभियानमा लाग्ने थिएनौं । चाहे हाम्रो पुर्खा जङ्गलमा बस्दा खाना वा सेक्सको खोजीलाई लिएर होस् वा आजको सभ्य समाजमा बस्दा वैज्ञानिक अविष्कारको खोजीकै लागि किन नहोस् । सदा दुःखी रहने मानिस त्यस्तो प्रकारको खोजमा लाग्न असम्भव प्रायः हुन्छ । कसैले तर्क गर्दछन् कि इमोशनले विग्रह निम्त्याउँछ । तर, यो तर्क त्यति बेला मात्र लागू हुन्छ जब कुनै इमोशन वा त्यसको मात्रा परिस्थिति अनुरूप हुँदैन ।
मन/शरीरको एकीकृत सिद्धान्तको पुनरोदयसँगै शरीर (जो इमोशनको क्रीडास्थल हो), नतिजा (रक्तचाप, श्वासप्रश्वास, आन्तरिक अङ्गहरू, आन्तरिक रसायन, मांसपेसी प्रणाली आदिको गति/कार्यमा परिवर्तन ), त्यसले मनको निर्माणमा पार्ने प्रभाव (मनमा इमोशनको अनुभूति हुन्छ र वस्तु र अनुभव कति आनन्ददायी/पीडादायी आदिका हिसाबले वर्गीकरण हुन्छ ) र ज्ञानले व्यवस्थापन र अन्ततः विज्ञापन क्षेत्रमा आफ्नो न्यायोचित स्थान पायो । त्यसभन्दा अघि व्यवस्थापनमा इमोशनलाई सकारात्मक रूपले हेरिँदैन थियो । स्नायु विज्ञानमा भएका पछिल्ला अध्ययनले त इमोशनले स्मृति निर्माण र व्यक्तिगत निर्णय प्रक्रियामा सकारात्मक एवम् अत्यन्त महत्त्वपूर्ण योगदान पुर्याउँछ । स्मरणीय छ, इमोशनले नयाँ विश्वास सृजना गर्न र भएको विश्वासलाई बलियो बनाउन मद्दत गर्दछ । ब्राण्डसँगको हाम्रो इमोशन सम्बन्धले नै ब्राण्डमाथिको हाम्रो विश्वासलाई बलियो बनाउँछ ।
मन र ब्राण्ड
वस्तुहरू बाहिरी संसारमा हुन्छन् । मन हामीभित्र हुन्छ । हामीले आफ्नो शरीरको माध्यमबाट बाहिरी वस्तुहरू (ब्राण्डलगायत )सँग अन्तरक्रिया गर्दछौं । तथापि यो हाम्रो मन नै हो जसले हाम्रो शरीरको सहायताले बाहिरी वस्तुलाई अर्थ प्रदान गर्दछ । अर्को शब्दमा भन्नुपर्दा, मन र वस्तु मिलेर ब्राण्डको निर्माण हुन्छ । हामीले सोचेको जस्तो वस्तुहरूको अन्तरनिहित विशेषता हुँदैन । वस्तुहरू सामान्यतः न त राम्रा हुन्छन्, न नराम्रा न काला हुन्छन्, न सेता न सुन्दर हुन्छन्, न त घीनलाग्दा नै । एउटा निश्चित गुणस्तरीय मापदण्डअनुरूप निर्माण भएमा यी न उत्कृष्ट हुन्छन्, न निकृष्ट नै । हाम्रो मनले वस्तुहरूलाई ती विशेषता दिन वा नदिन भूमिका खेल्दछ । यही तथ्यले विज्ञापनको भूमिकालाई अहम् बनाउँछ । विज्ञापनले उपभोक्ताको मनलाई वस्तुको लक्षित विशेषतासँग आत्मसात् गर्न प्रभाव पार्दछ । जब वस्तुको लक्षित विशेषता विज्ञापनको सन्देशमार्फ बारम्बार उपभोक्तासामु आउँछ, त्यो विशेषताले विश्वासको रूप धारण गर्दछ । शर्त यति हो कि सन्देश सार्न्दभिक हुनुपर्दछ र प्रभावकारी तरीकाले विज्ञापनको कथावस्तुमा ढालिएको हुनु पर्दछ । सुन्दरतासम्बन्धी उत्पादनले मानिसलाई त्यक्ति सुन्दर बनाउँदैन जति सुन्दरताको महशुस गराउँदछ । यो कुरा विशेष डिजाइन गरिएको लुगादेखि लिएर अधिकांश उत्पादनमाथि लागू हुन्छ । के एउटा स्वास्थ्यसम्बन्धी पेयले अरू पेय पदार्थभन्दा बच्चाहरूलाई बढी अग्लो र बुद्धिमान् बनाउँछ ? सर्वप्रथम त बुद्धिमान् नै बनाउँछ कि बनाउँदैन ? यकिन गरेर भन्न गाह्रो छ । वस्तुको विज्ञापनले गर्ने वैज्ञानिक दाबी वस्तुगत कारणभन्दा बढी अन्तरसम्बन्धमा आधारित हुन्छ । जब उपभोक्तालाई एउटा पेयपदार्थले साँच्चिकै उनीहरूको बच्चालाई बढी बुद्धिमान् बनाउँछ भन्ने विश्वास हुन्छ तब सारा तर्क अर्थहीन हुन्छन् ।
ब्राण्ड र ईश्वर
ब्राण्ड भन्ने कुरा त्यसका अंशहरूको योगभन्दा कहीं अधिक हुन्छ । ब्राण्ड भनेको भौतिक पदार्थ र अभौतिक विश्वासको योग हो । विश्वास, ब्राण्ड र्रर् इश्वर दुवैको आधार हो । फरक केवल मात्राको हो । मन त्यो सतह हो, जहाँ ईश्वर र ब्राण्ड दुवैको अनुभूति हुन्छ । यसको अर्थ ईश्वर कुनै मानसिक अनुभूति मात्र हो भन्नेचाहिँ कदापि होइन । र, यहाँ ईश्वर र ब्राण्डका बीच कुनै तुलना गर्न खोजिएको पनि होइन । ईश्वर मानिसले बनाएको वा बनाउन सक्ने कुनै पनि ब्राण्डभन्दा धेरै शक्तिशाली छन् । ईश्वरले मात्रै त्यसको विश्वास पैदा गर्न सक्छन्, जुन उनी गर्छन् । तर पनि यदि कुनै ब्राण्डले ईश्वरको जस्तै (ईश्वरको जति नभए तापनि) विश्वास पैदा गर्न सक्छ भने त्यही नै साँचो अर्थमा अलौकिक ब्राण्ड हुनेछ भन्ने मेरो मान्यता छ । त्यस्तो गर्न सम्भव छ वा छैन भन्नेचाहिँ बेग्लै विषय हो । तर, यो शङ्काले ब्राण्डलाई त्यसतर्फजाने प्रयासबाट चाहिँ रोक्न मिल्दैन । यही प्रयासले ब्राण्डलाई निरन्तर अघि बढ्न ऊर्जा प्रदान गर्नेछ ।
लेखक स्वतन्त्र टीभी विज्ञापन निर्माता र सर्वाधिक कृति अवार्ड जित्ने विज्ञापनकर्मी हुन् । लेख साभारः न्यु बिजनेश एज, नोभेम्बर २०१० ।