बैङ्क/वित्तीय संस्था समस्याग्रस्त किन हुन्छ ?
नीलम तिम्सिना
बैङ्किङ संस्थाहरू विशिष्ट प्रकृतिका व्यावसायिक प्रतिष्ठान हुन् । शेयरधनीहरूको निश्चित पूँजीबाट स्थापना भई निक्षेपकर्ताको अर्बौं रकमको कारोबार गर्ने बैङ्किङ क्षेत्रका प्रत्येक क्रियाकलापमा जोखिम हुन्छ । जोखिमको पहिचान, मापन, अनुगमन र नियन्त्रणमा पर्याप्त प्रयास नहुँदा बैङ्क/वित्तीय संस्थाहरू समस्यामा पर्ने गर्दछन् ।
कस्तो बैङ्कलाई समस्याग्रस्त भनिन्छ भन्नेबारेमा सर्वस्वीकार्य परिभाषा पाइँदैन । तथापि, धेरै बैङ्किङ साहित्यमा तरलताको चरम समस्या अर्थात् दायित्व भुक्तान गर्ने क्षमताको चरम अभावलाई समस्याग्रस्त हुनुको मुख्य कारण मानिएको छ । वासल कमिटी अन बैङ्किङ सुपरभिजनले 'समस्याग्रस्त बैङ्क त्यो हो, जसमा वित्तीय साधन, जोखिम ढाँचा, रणनीतिक व्यावसायिक दिशा, जोखिम व्यवस्थापन क्षमता र व्यवस्थापनको गुणस्तरमा थप सुधारको कुनै सम्भावना नरही तरलता/ऋण तिर्नसक्ने क्षमता खतरामा परेको हुन्छ' भनी बताएको छ । नेपाल राष्ट्र बैङ्क ऐन ०५८ ले निक्षेपकर्ता, शेयरधनी, साहू वा सर्वसाधारणको हितविपरीत हुने गरी कार्य गरेको देखिएमा, आफूले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेमा, भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरेमा, दामासाहीमा परेमा, उल्लेखनीय आर्थिक कठिनाइ भोगिरहेको भएमा कुनै बैङ्क/वित्तीय संस्था समस्याग्रस्त भएको मान्ने उल्लेख गरेको छ । साथै, प्रचलित कानून, नियमन, निर्देशनको अवज्ञा गरेमा, झूटा, जालसाज, गलत कागजात पेश गरी इजाजत लिएको देखिएमा, तोकिएको न्यूनतम पूँजीकोष कायम गर्न नसकेमा, खारेजीको प्रक्रिया अघि बढेकोमा पनि त्यो संस्थालाई समस्याग्रस्त मान्ने ऐनले व्यवस्था गरेको छ । विदेशी वाणिज्य बैङ्क/वित्तीय संस्थाको संलग्नतामा स्थापना भएको बैङ्क/वित्तीय संस्था भए र त्यस्तो विदेशी संस्था दामासाही/खारेजीमा परेमा जस्ता अवस्थाहरूमध्ये कुनै वा सबै कारण परेमा पनि त्यो संस्था समस्याग्रस्त हुन्छ ।
तीव्र व्यवसाय वृद्धि बैङ्क समस्यामा पर्ने एउटा मुख्य कारण हो । तीव्र मुनाफाको अपेक्षामा आफ्नो नियन्त्रण, अनुगमनभन्दा बाहिर हुने गरी व्यवसाय वृद्धि गर्नाले जोखिम समयमै सही रूपमा पहिचान गर्न कठिन हुन्छ । जतिबेला जोखिम वास्तविक रूपमा उजागर हुन्छ, त्यतिबेला बैङ्कमा समस्या आइसक्दछ । मुनाफा जसरी भए पनि बढाएर देखाउनुमा व्यवस्थापनको कुशलता देखिने भ्रमले उत्पादनशीलता, दिगोपना एवम् असुली सम्भावना, व्यवसाय विस्तारको सम्भावना, बजार वातावरण आदि पक्षलाई ध्यान नदिई हचुवाको भरमा लगानी ज्यादा हुँदा कर्जा असुलीमा समस्या उत्पन्न हुन्छ । त्यसले अन्ततोगत्वा तरलता जोखिम सृजना गर्दछ ।
बैङ्क समस्यामा पर्नसक्ने अर्को मुख्य कारण लाभदायकता अर्थात् मुनाफामा हुने क्रमिक ह्रास हो । यो सम्पत्ति दायित्वको सही व्यवस्थापन गर्न नसक्दा, लगानी सम्भाव्यताको सही विश्लेषण गर्न नसक्दा, कर्जा अनुत्पादक भई नोक्सानी व्यवस्था उल्लेख्य रूपमा गर्नुपर्दा र अन्य सञ्चालन खर्चहरू अत्यधिक हुँदा हुने गर्दछ ।
पूँजी बैङ्किङ क्षेत्रको सुरक्षाकवच हो । तसथ, प्रत्येक मुलुकमा बैङ्क/वित्तीय संस्थाले कुल जोखिम भारित सम्पत्तिको निश्चित प्रतिशत पूँजी न्यूनतम रूपमा राखेको हुनुपर्दछ भनी नियमक निकायले तोक्ने व्यवस्था छ । नेपालमा बैङ्कहरूले कायम गर्नुपर्ने न्यूनतम प्राथमिक पूँजी अनुपात ६ प्रतिशत र कुल पूँजी अनुपात १० प्रतिशत तोकिएको छ । यस्तो न्यूनतम पूँजी अनुपातमा क्रमिक ह्रास आउन थाल्यो भने बैङ्क समस्यामा पर्न थालेको आभास मिल्दछ । विशेषगरी जोखिमयुक्त सम्पत्तिको वृद्धि भएमा, कर्जा नोक्सानी व्यवस्थामा वृद्धि भएमा, मुनाफामा कमी हुँदै गएमा, वित्तीय स्वार्थ भएका कम्पनीहरूमा लगानी भएमा पूँजीमा ह्रास आउने हुन्छ ।
सम्पत्तिको गुणस्तरमा ह्रास आउनु बैङ्क समस्यामा पर्ने अर्को कारण हो । बैङ्कको सम्पत्ति भनेको मुख्य रूपमा कर्जा लगानी नै हो । तसथ कर्जाको गुणस्तर राम्रो हुनु बैङ्किङ व्यवसायको दिगोपनाका लागि जरुरी छ । कर्जाको गुणस्तर खस्किई निष्क्रिय हुन गएमा त्यसबापत बैङ्कले उल्लेख्य रूपमा कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ, जसले बैङ्कको मुनाफामा कमी ल्याउनुको साथै पूँजीमा समेत नकारात्मक असर पार्दछ । यसले बैङ्क समस्यामा पर्दछ । बैङ्कले कर्जा नोक्सानी व्यवस्था अपर्याप्त रूपमा गरेको छ भने त यो झनै ठूलो समस्याका रूपमा खडा हुन्छ ।
वासलातबाहिरका कारोबारहरूको मात्रा धेरै छ भने पनि त्यसले बैङ्किङ व्यवसायमा समस्या ल्याउन सक्छ । विकसित मुलुकहरूमा आउने वित्तीय सङ्कटका पछाडि यो कारण निकै महत्त्वपूर्ण मानिन्छ । अतिसार रूपमा डेरिभेटिभ्सको प्रयोग, सेक्युरिटाइजेशनलगायत अन्य यस्ता कारोबारबाट यदि जोखिम सतहमा आएमा बैङ्कमा समस्या उत्पन्न हुन्छ ।
सम्पत्ति/दायित्वको प्रभावकारी व्यवस्थापन हुन नसकी अर्थात् 'मिसम्याच' भई तरलता समस्या उत्पन्न हुनु, अन्तरबैङ्क सापटी प्राप्त गर्न कठिन हुनु, पर्याप्त सरकारी प्रतिभूतिलगायत तरल सम्पत्ति नहुनु, अन्यत्रबाट स्रोतसाधन जुटाउन कठिन हुनु, निक्षेप आकर्षित नहुनु, निक्षेप फिर्ता हुने क्रम बढ्नु, निक्षेप अधिकेन्द्रित जोखिम बढ्नु, अधिक रकम कर्जाका रूपमा प्रवाह भइसकेको हुनु, केन्द्रीय बैङ्कबाट प्राप्त गर्न सकिने सापटी सुविधाहरू, जस्तै रिपो- एसएलएफ, पुनर्कर्जा, अन्तिम ऋणदाताका रूपमा दिइने सुविधाहरू प्राप्त गर्ने आधारहरूको कमी हुनु आदिले बैङ्कमा तरलता समस्या सृजना हुने गर्दछ ।
गैरजिम्मेवार व्यवस्थापन बैङ्क समस्यामा पर्ने अर्को मुख्य कारण हो । तथ्यगत रूपमा भन्नुपर्दा सबैभन्दा मूल कारणचाहिँ यही हो । प्रभावकारी रूपमा जोखिम पहिचान, मापन, अनुगमन, नियन्त्रण नगर्ने, अल्पकालीन लाभमा मात्र ध्यान दिने, जोखिम पन्छाउने, अनुत्पादक क्षेत्रमा पर्याप्त धितोविना कर्जा प्रवाह गर्ने, न्यूनतम संस्थागत सुशासन पालना नगर्ने, ऐन, नीति, नियमको गलत अर्थ लगाई समस्यालाई ढाकछोप गर्ने प्रवृत्तिका कारण निक्षेपकर्ताको निक्षेप धरापमा पर्ने हुन्छ । यसले बैङ्क अन्ततोगत्वा समस्याग्रस्त हुन्छ ।
संस्थापक, सञ्चालक, व्यवस्थापनतर्फबाट हुने भित्रिया कारोबार (इन्साइडर ट्रेडिङ) र जालसाजी बैङ्क समस्याग्रस्त हुने अर्को मुख्य कारण हो । एक त बैङ्किङ व्यवसाय अत्यन्त कम स्वपूँजी अनुपातमा सञ्चालन हुने व्यवसाय हो । कुल साधनमा करीब ५-६ प्रतिशत जति मात्र शेयरहोर्ल्र्डसको रकम हुने, अन्य सबै निक्षेपकर्ताको रकममा कारोबार गरिने व्यवसाय हो यो । त्यही आफूले लगाएको रकम पनि विभिन्न बहानामा संस्थापकहरूले झिक्ने, आफ्नो बैङ्कबाट नभए अरू बैङ्कमा संस्थापक शेयर धितो राखी झिक्ने, सञ्चालकसम्बद्ध फर्म, कम्पनी, नातागोतालाई अप्रत्यक्ष रूपमा कर्जा प्रवाह गर्ने, घरजग्गा खरीद, भाडामा लिनेदिने प्रयोजनमा समेत सञ्चालक, संस्थापक र सम्बद्ध फर्म, कम्पनीहरूलाई प्राथमिकता दिने, बैङ्कबाट ऋण लिएर पूँजी वृद्धि गरिनेजस्ता क्रियाकलापहरूले इन्साइडर ट्रेडिङलाई मलजल गर्दछ । यस्तो अभ्यासले बैङ्क अन्ततोगत्वा समस्यामा पर्दछ ।
कमजोर जोखिम व्यवस्थापन बैङ्क समस्यामा पर्ने अर्को मुख्य कारण हो । बैङ्किङ व्यवसायमा कर्जा जोखिम, सञ्चाल, बजार, तरलता, ख्याति, कानूनी, रणनीतिक जोखिमलगायतको कुशल, दूरदर्शी र प्रभावकारी व्यवस्थापन हुन नसक्दा कर्जा निष्क्रिय हुने, जालसाजी हुने, घाटा हुने, तरलता अभाव हुने, दायित्व पूरा गर्न नसक्ने, बजारमा नकारात्मक प्रचार हुने र ख्यातिमा गिरावट आउने हुन्छ, जसले बैङ्क समस्यामा पर्दछ ।
प्रचलित बैङ्किङसँग सम्बन्धित ऐन, नीति, नियम, कानून, नियमनकारी/सुपरिवेक्षक निकायले दिएका निर्देशनहरूको लगातारको अवज्ञा गर्ने प्रवृत्तिले पनि बैङ्किङ व्यवसायलाई भित्रभित्रै खोक्रो बनाइसकेको हुन्छ । रोगको पहिचान गरी डाक्टरले दिएको औषधि सेवन नगर्ने बिरामी समस्यामा परेजस्तै त्यस्ता वित्तीय संस्था पनि समस्याग्रस्त हुने गर्दछन् ।
समष्टिगत आर्थिक परिसूचकहरूको प्रतिकूल अवस्था र सिष्टेमिक जोखिमको प्रभाव पनि बैङ्क/वित्तीय संस्था समस्यामा पर्ने कारण हुन् । मुलुकको आर्थिक विकासको अवस्था, शोधनान्तर स्थिति, मुद्रास्फीति, विनिमयदर, ब्याजदर, विप्रेषण स्थिति, तरलता स्थिति, घरजग्गा क्षेत्रको मूल्यमा हुने उतारचढाव, सरकारी बजेट स्थितिजस्ता समष्टिगत आर्थिक परिचसूचकहरू प्रतिकूल हुन जाँदा र आफ्नै मुलुकभित्र उत्पन्न होस् वा बा⋲य रूपमा भित्रिएको प्रणालीगत बैङ्किङ सङ्कट आदिका कारण पनि बैङ्क/वित्तीय संस्थामा समस्या आउने गर्दछ । अर्कातिर सरकारी नीतिगत अन्योल, अस्थिरता, राजनीतिक अस्थिरता, सुरक्षाको कमजोर स्थिति, कमजोर नीतिगत, कानूनी प्रावधान, उद्योगमैत्री वातावरण नहुनु, विद्युत्लगायत इन्धन आपूर्ति अनिश्चितता, कुशल जनशक्ति अभाव आदिले पनि प्रत्यक्ष, अप्रत्यक्ष रूपमा बैङ्किङ संस्थामा समस्या उत्पन्न हुने गर्दछ ।
सुपरिवेक्षक संस्थाको सुपरिवेक्षण क्षमता, जनशक्ति सीमितता, सुपरिवेक्षणको गहनता, पर्याप्तता, कुशलता र सुपरिवेक्षकबाट दिइएका निर्देशनहरूको पालना गराउनेजस्ता विषयहरू प्रभावकारी हुन नसक्दा वित्तीय क्षेत्रको विसङ्गति ओझेलमा परिरहेको हुन सक्छ । यसमा सुधारको आवश्यकतालाई नकार्न कदापि मिल्दैन । तथापि, वित्तीय क्षेत्र आफैले ज्यादा मुनाफाको प्रलोभनमा नपरी, सुपरिवेक्षकीय निकायको निर्देशन एवम् अन्य प्रचलित कानून र अन्तरराष्ट्रिय अभ्यासबमोजिम व्यवसाय सञ्चालन गर्ने हो भने समस्या आउने सम्भावना न्यून भएर जान्छ । नीति, नियम र निर्देशनलाई अधिकतम मान्ने र झारा टारेसरह पालना गरेको देखाउनुभन्दा नीति नियमलाई न्यूनतम मानेर त्यसभन्दा बढी कडाई आफै अवलम्बन गर्ने हो भने समस्या स्वत: कम भएर जान्छ । नियामकले विसङ्गति नहोस् भनी नियम बनाइदिने र सुपरिवेक्षकले कहाँनेर नियमको पालना भएन भनेर औंल्याइदिने हो । आफू संस्थागत सुशासनमा बस्नु, नियमको पालना गर्नु नै बैङ्क/वित्तीय संस्थाका लागि सबैभन्दा ठूलो रक्षाकवच हो । आफू वित्तीय अनुशासनमा नबस्ने, समस्या निम्त्याउने र समस्या परेपछि नियामक सुपरिवेक्षक निकायतर्फदोष पन्छाउने प्रवृत्तिले समस्या सुल्झाउने होइन, बल्झाउने गर्दछ । यदि वित्तीय क्षेत्र अनुशासित नहुने र नियामक निकायले जोगाउन ठूलो धनराशि खर्च गर्दै जाने हो भने यो शृङ्खलालाई धान्न कति धनराशि आवश्यक पर्ला ? त्यो पनि सोचनीय छ । यसले जसरी भए पनि मुनाफा कमाउनुपर्छ, समस्या परे नियामक निकाय जोगाउन आइहाल्दछ भन्ने नैतिक खतरालाई पनि निम्त्याउँछ । सिक्काको अर्को पाटो पनि छ । सिष्टेमिक जोखिम, अर्थात् अरू संस्थाको सङ्कटको कारणले निक्षेप फिर्ता गई समस्यामा परेका तर संस्थागत सुशासन सुदृढ भएका वित्तीय संस्थालाई भने पर्याप्त असल धितो र वचनबद्धता लिई नियामक निकायले सहयोग गर्नु आवश्यक छ । यसमा सरकारका तर्फबाट पनि सहयोग हुनु आवश्यक छ । तर, वित्तीय संस्थाको समस्याको कारण चिन्नु चाहिँ अति आवश्यक छ ।
नेपाली बैङ्क/वित्तीय संस्थामा उपरोक्त समस्याहरू थोरबहुत विद्यमान छन् । समस्याको मात्रा र जटिलता फरक मात्र हो । कतिपय संस्थाहरूले कुशल जोखिम व्यवस्थापन, दूरदर्शिता, वित्तीय अनुशासन पालना गरेर समस्यालाई सृजना नै हुन नदिई/कम गरी आफ्नो दिगोपनालाई सुनिश्चित गरेका छन् । कुनै वित्तीय संस्था भने उल्लिखित समस्याहरूमाथि काबु राख्न नसकेर समस्याग्रस्त भएका छन् । एउटा पनि वित्तीय संस्था समस्याग्रस्त हुनु भनेको समग्र वित्तीय प्रणालीको स्वास्थ्यका लागि राम्रो होइन । तसथ समग्र वित्तीय प्रणालीको दिगोपनाका लागि उपरोक्त कारणहरूको यथासमयमा पहिचान, मापन, अनुगमन र नियन्त्रण गरी कागजी रूपमा मात्र होइन, वास्तवमै जोखिम व्यवस्थापन गर्नेतर्फबैङ्क/वित्तीय संस्थाहरू लाग्नु जरुरी छ । वित्तीय अनुशासन, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र सुपरिवेक्षक/नियामक निकायको निर्देशन पालना नै बैङ्किङ क्षेत्रमा समस्या आउन नदिने मुख्य उपायहरू हुन् ।
लेखक नेपाल राष्ट्र बैङ्ककी निर्देशक हुन् । यहाँ व्यक्त विचार लेखकका निजी हुन् ।
Admin 2011-07-06