फलाम उत्खननको नेपाली मौलिक शैली
डा. प्रेम शर्मा
धवलागिरि अञ्चलका जिल्ला मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङका धेरै ठाउँमा फलाम, तामा र अन्य धातुका खानी भेटिन्छन् । हालसम्म भूगर्भ तथा खानी विभागले पत्ता लगाएका खानीहरू के कति छन् ? त्यस विषयमा जानकारी छैन । तर, यस क्षेत्रका स्थानीयवासी र उनीहरूका पुर्खापुर्खाले फलाम, तामा, शिशा, नीलोतुथो, नुन, चुन, सुन, स्लेटका खानी पत्ता लगाएका र प्रयोगमा ल्याएका छन् । स्थानीय कामी, छन्त्याल, थकाली र मगर समुदायले प्रयोग र उत्खनन गरेका खानीमध्ये मुस्ताङको नुनखानी, म्याग्दी, पर्वत र बागलुङका फलाम र तामाखानी बढी चर्चित छन् । म्याग्दीका सात, पर्वतका तीन र बागलुङका १२ गाउँको नाम खानीसँग जोडिएका छन् । ती खानीमध्ये केही २०३५ सालसम्म पनि चल्दै थिए । तर, आवादी जग्गा नापी भएपछि र २०२१ मा शुरू भूमिसुधार कार्यक्रमपछि खानीहरू बन्द हुन थाले । यसका पछाडि अन्य धेरै कारण छन् ।
यस लेखमा बागलुङ जिल्लाको १ फलामखानीबारे छोटो स्थलगत जानकारी गराउने प्रयास गरिएको छः
बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ खुङ्गा गाविस-९, मा लुकुरवन फलामखानी भन्ने स्थान छ । त्यस ठाउँमा म्याग्दीतर्फाट दरवाङ हुँदै बागलुङको तमान गाविसको दूरलेक भएर पनि पुग्न सकिन्छ । बागलुङ सदरमुकामबाट वा पाल्पा-रिडी-गुल्मी हुँदै बुर्तिबाङ भएर पनि यो ठाउँमा पुग्न सकिन्छ । हाल बुर्तिबाङसम्म गाडी पुगेको छ । त्यहाँबाट पैदल ५ घण्टाको यात्रामा फलामखानी पुग्न सकिन्छ । लुकुरवन फलामखानी दूरलेक पहाडको फेदी काल्चे खोलाको वारिपारि छ । यो फलाम खानीभन्दा ३-४ सय मिटर तल तामाखानीको सुरुङ पनि छ । ६५ वर्षीय प्रतिमान कामी लुकुरवन क्षेत्रमा बाहिरै फलामको धाउ (ओर) छयापछयापती भेटिने भएका कारण आफ्ना बाबुले ससुराली गाउँमै बसेर फलाम निकाल्ने काम थालेको बताउँछन् । आफ्ना बाबु दले कामी शिशाखानी (स्याला)बाट आई २००५/०६ सालतिरबाट फलाम उत्खननको काम थालेको उनले जानकारी दिए । त्यस क्षेत्रका अन्य कामी (नन्दराज विकका बाबुछोराहरू) पनि कृषि औजार बनाउँथे । बुर्तिबाङनिवासी ५० वर्षीया 'विकासका लागि महिला सञ्जाल'की अध्यक्ष कुमारी पुन पनि त्यसको पुष्टि गर्छिन् । आफ्ना बाबु र अन्य गाउँलेले लुकुरवन खानीका कामीहरूसँग अन्न वा पैसामा फलामका लाप्सा डल्ला खरीद गर्ने गरेको उनी बताउँछिन् । त्यसैबाट फाली, आँसी, कुटो, कोदालो र अन्य फलामका भाँडावर्तन बनाउने गरेको कुरा उनी बताउँछिन् । 'दलेका बाबुछोरा एक दुइ दिन धाउ जम्मा पार्ने र पगाल्ने अँगेनो बनाएर खार्ने काम गर्थे', उनी भन्छिन् । दले कामीका छोरा प्रतिमानले २०३४/३५ सालसम्म त्यो कामलाई निरन्तरता दिँदै आएका थिए । दले कामीका अर्का सहकर्मी ७५ वर्षीय टेकमान विक आफू र दले कामीका छोराहरू मिलेर कसैले धाउ जम्मा पार्ने र घाममा सुकाउने, कसैले कोइला तयार पार्ने र अँगेनोमा खार्ने काम गरेको बताउँछन् । उनका अनुसार कहिलेकाहीँ दिनमा पाँच धार्नीसम्म (२०-२२ किलोग्राम)सम्म फलाम निकाल्ने गरिन्थ्यो । त्यहाँका खानीमा तीन गुणस्तरका फलाम पाइन्थ्यो- १. आङ्ले (फुट्ने खालको), २. लचकदार (जता पनि सजिलै जोड्न सकिने) ३. झिर्का निस्कने (खास काम नलाग्ने) । त्यस समयमा धाउलाई खानीबाट झिक्न धेरै गाह्रो थिएन । जमीनबाट पाँच-सात मिटरको दूरीमै (प्वालभित्र भेटिने) धाउ भेटिन्थ्यो । धेरै भित्र जानुपरे १५-२० मिटरको सुरुङसम्म जानुपथ्र्यो । फलामको धाउलाई खानीबाट निकालेर सुकाएपछि झण्डै ५०-६० मिटर तल (जहाँ हाल फलामको कीट प्रशस्त भेटिन्छ) पहाडको कापमा लगिन्थ्यो । आफरमा त्यसको प्रशोधन गरिन्थ्यो । आफरमा दुइ जनाले गोरु/गाईको छालाको खाल (खलाँती) लगातार चलाउने, एक जनाले कोइला र धाउ अगेनोमा राख्ने गर्नुपथ्र्यो । दिनको सरदर पाँच-सात जनाले चार-पाँच धार्नी फलाम निकाल्ने गरेको टेकमान सुनाउँछन् । आफूले निकालेको दुइ-तीन बिसौली (आधा धार्नी) फलाम माया लागेर उनले हालसम्म घरैमा राखेका छन् । त्यही खानीको फलामबाट बनेका घन, कोदालो, बाउसो, सन्नाखो, कुँढी (दूध तताउने), ओदान, चिम्टालगायत धेरै घरायसी औजार उनीसँग अहिले पनि छन् । तर, हिजोआज मधेश (भारत)बाट सजिलो र कमलो फलाम आउने भएका कारण खानीबाट निकाल्न छोडिएको छ । तत्कालीन समयमा मुखियालाई चर्को भेजा (राजस्व) बुझाउनुपर्ने कारण खानीहरू क्रमशः लोप हुँदै गएको उनी बताउँछन् । उनीहरूका अनुसार वार्षिक रूपमा मुखियालाई ७०-७५ रुपैयाँ बुझाउनुपथ्र्यो । शुरूशुरूमा फलाम प्रतिधार्नी ५० पैसादेखि १ रुपैयाँसम्म बेच्नुपथ्र्यो । म्याग्दी, बागलुङ तथा अन्य टाढाका गाउँहरूमा बेच्दा अलि बढी मूल्य (१-२ रुपैयाँसम्म) पाइन्थ्यो । स्थानीय बासिन्दासँग भने प्रायः अन्नवालीसँग (१ धार्नीबराबर तीन पाथी अन्न) साट्नुपर्ने चलन थियो । नन्दराज विक अहिले पनि गाउँमा फलामका औजारहरू बनाउँछन् । उनी भन्छन्, 'हाम्रो ठाउँ कति धनी छ । आधुनिक साधन हुने हो भने यहाँको खानीको फलामले धेरै पैसा कमाइन्थ्यो हजुर ।' त्यसो गर्न नसकेका कारण उनका तीन छोरा खाडी मुलुकतर्फ गएका छन् । भविष्यमा सरकारले खानी उत्खनन गर्ने कुरामा स्थानीय कामीहरू आशावादी छन् । आफूहरूले त्यहाँ काम पाउनेमा उनीहरू ढुक्क छन् । स्थानीय शिक्षकद्वय कुलबहादुर छन्त्याल र तिलक पुन आफ्ना पुर्खाले त्यस ठाउँको खानीको महत्त्वका कारण त्यहाँ बसोबास गरेको बताउँछन् । छन्त्यालहरू विगतमा खानी खोज्ने अन्वेषक (मुसा)का रूपमा परिचित भएको कुलबहादुरले बताए । हाल बन्द रहेको खानी फेरि पनि सञ्चालनमा आओस् भन्ने स्थानीय
बासिन्दाको इच्छा छ ।
लुकुरवन खानीबाट फलाम निकाल्ने र औजार बनाउने कामीहरू खानीको काम बन्द भएपछि आपत्मा परेका छन् । विगतमा उनीहरूसँग जग्गाजमीन थिएन । २०२१ सालपछि नापी हुँदा थोरै घरवास मात्र उनीहरूका नाममा नापी भयो । परम्परागत रूपमा गर्दै आएको पेशा बन्द भयो । त्यसैले बाँच्नका लागि वनमा गई निगालोको चोया बनाउने, डोको, डालो, मान्द्रो, कोक्रो बनाउने काम उनीहरूले थालेका छन् । हिजोआज उनीहरूको मुख्य पेशा नै त्यही छ । छोराछोरीलाई नपढाउने वा कम पढाउने गरेका छन् । आर्थिक एवम् शैक्षिक पछौटेपनका कारण ऋण काढेर विदेश पठाउने गरिरहेका छन् । उनीहरू मौसमी ज्यालादारी पनि गरी गुजारा गरिरहेको भेटिन्छन् । तर, उनीहरूसँग विगतका सहकर्मी भई खानीको कामले जीविकोपार्जन गर्ने छन्त्याल र थकाली समुदाय धेरै अगाडि बढिसकेका छन् । थकालीहरूले यो पेशासँग सम्बन्ध र सरोकार देखाउन पनि छोडे । 'उनीहरू यो पेशासँग सम्बन्ध देखाउन लाज मान्छन्', बुर्तिबाङका झमबहादुर शेरचन भन्छन् । छन्त्यालहरू चेतनशील र पढेलेखेका भएका कारण क्रमशः जीविकोपार्जनको राम्रो व्यवस्था गरिरहेका छन् । तर, यी दलित कामीहरू धेरै पिछडिएको जीवन बिताइरहेका छन् ।
फलामको खानी उत्खननको परम्परागत र मौलिक नमूनाका रूपमा रहेको यो खानी पुनः सञ्चालनका लागि सरकारले पहल गर्नपर्छ । यदि आधुनिक रूपमा यत्रतत्र छरिएका खानीको पुनः सञ्चालन भइदिएमा अवश्य पनि यी जातिको उद्धार हुने थियो । बागलुङ, पर्वत र म्याग्दीमा यस्ता खानी र विगतमा त्यहाँ संलग्न कामी (विक)/छन्त्यालहरू प्रशस्त भेटिन्छन् । ती जातिको परम्परागत शीपलाई त्यहीँ खानी उत्खननका लागि प्रयोग गर्नसके तिनीहरूको जीवनस्तर सुधार्न त सकिन्छ नै, देश विकासमा पनि त्यसले योगदान दिनेछ । त्यसैले नेपाल सरकारले अध्ययन-अनुसन्धान गरी यससम्बन्धी काम अघि बढाउनुपर्छ ।
लेखक त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन्
Admin 2011-03-06