जीवन बीमामा रणनीतिक परिवर्तनको खाँचो
रवीन्द्र भट्टराई
एक तथ्याङ्कअनुसार जीवन बीमा गर्ने नेपालीको सङ्ख्या कुल जनसङ्ख्याको करीब ५ प्रतिशत रहेको छ । यसमा अधिकांश शहरबजारको जनसङ्ख्या रहेको छ । बीमा कम्पनीको सङ्ख्या थपिँदै जाँदा पछिल्लो समयमा ग्रामीण क्षेत्रमा पनि बीमाको बजार विस्तार हुँदै गएको छ । तर, यो सन्तोषजनक भने छैन । यो हुन नसक्नुका पछाडि बीमा गराउनुको उद्देश्य, बीमा अभिकर्ताको क्षमता तथा बीमा गराउने कम्पनीको रणनीति प्रमुख कारण देखिन्छ । यदि यी विषयमा ध्यान दिने हो भने बीमाबजारलाई विस्तार गर्दै देशको कुना काप्चासम्म पुर्याउन सकिने सम्भावना रहेको छ ।
बीमा एक प्रकारको अदृश्य बचत तथा लगानी हो । यसले परनिर्भरतालाई कम गर्दै वित्तीय समस्याको समाधान गरी अन्य क्षेत्रको लगानी जोखिमलाई पनि न्यूनीकरण गर्ने काम गरिरहेको हुन्छ । त्यसैले यसलाई लगानी 'पोर्टफोलियो'को अभिन्न अङ्गका रूपमा विकास गर्नुपर्छ । यसका साथै बीमा आफू जीवित रहँदै आफ्नो जीवनका विभिन्न समयमा आइपर्ने ठूला तथा साना वित्तीय समस्याहरूको समाधान गर्न प्रयोग गरिने औजार हो भन्ने पनि बुझ्न जरुरी छ । अङ्गभङ्ग भई काम गर्न नसक्ने भएमा, आँखा नदेख्ने भएमा, बिरामी भई उपचार गर्नुपर्दा ठूलो रकम लाग्ने भएमा बीमाले ठूलो आर्थिक सहयोग पुर्याउँछ । त्यस्तै छोराछोरीलाई स्कूल, कलेज पढाउन तथा विवाह गर्न आवश्यक पर्ने रकमको बचत गर्दै जान पनि बीमा गर्न सकिन्छ । उदाहरणका लागि स्कूल भर्ना गर्न पाँचवर्षको बीमा, कलेज भर्ना गर्न १६ वर्षो बीमा तथा विवाहका लागि २५ वर्षो बीमा गर्न सकिन्छ ।
धेरै बीमितलाई बीमा गर्नुको उद्देश्यसमेत प्रस्ट भएको देखिँदैन । बीमा गराउने अभिकर्तामा पनि बीमितका आवश्यकता बुझेर उनीहरूलाई सन्तुष्ट गरी बीमा गराउने चलन कम देखिन्छ । यसै प्रसङ्गमा करीब २ वर्षअगाडिको एउटा घटना स्मरणयोग्य छ । त्यस समय शेयरमा लगानी गर्ने प्रायः लगानीकर्ता कम्पनीले बोनस शेयर दिए हुन्थ्यो भन्ने चाहना राख्थे । कम्पनीले थोरै प्रतिशत बोनस शेयर वितरण गर्दा पनि त्यसले बजारमूल्य धेरै बढाउँथ्यो । प्रायः बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कको पूँजी वृद्धिको अनिवार्यता पूरा गर्न बोनस शेयर नै दिने गर्थे ।
लगानीकर्ताको यही चाहनाबीच मेरा एक जना आफन्तले बोनस शेयर दिएर आफूलाई कम्पनीले बर्बाद पारेको गुनासो गरे । पूरा बजारले नै कम्पनीबाट लाभांशका रूपमा बोनस शेयरको अपेक्षा राखेको अवस्थामा तपाईंचाहिँ कसरी बबार्द हुनुभयो ? भनी मैले प्रश्न गरेँ । उनले शेयर विक्री गरेर नाफा लिन नभई कम्पनीबाट आउने नगद लाभांशले आफ्ना परिवारका सदस्यको बीमाको प्रिमियम तिर्न शेयर किनेको र कम्पनीले नगद लाभांश नदिएपछि आफूलाई प्रिमियम बुझाउन समस्या परेको बताए । हुन त बोनस शेयर पनि विक्री गरेर नगद लिन सकिन्छ, तर बोनस शेयर सूचीकरण गरेपछि मात्र विक्री गर्न सकिन्छ । सूचीकरण हुन महीनौँ लाग्ने र भनेको समयमा विक्री नहुने भएकाले समयमा प्रिमियम बुझाउन नसकिने उनको गुनासो थियो ।
उनले परिवारको बीमा गर्दा रोजेको बीमा प्रिमियम तिर्ने समयले मलाई अझ अचम्मित पार्यो । उनले बीमा प्रिमियम माघ महीनामा तिर्ने व्यवस्था गरेका रहेछन् । यसो गर्नुको कारण पनि उनले बडो गजबको दिए । कम्पनी ऐनअनुसार कम्पनीले पुसमसान्तभित्र वार्षिक साधारणसभा गरिसक्नुपर्ने कानूनी व्यवस्था भएको र यही साधारणसभाबाट कम्पनीले लाभांश पारित गर्ने भएकाले त्यहाँबाट माघसम्ममा पाउने लाभांशले माघ महीनामा प्रिमियम तिर्न सजिलो हुने हुनाले यस्तो गरेको उनले बताए ।
बीमाको यो रोचक प्रसङ्गसँगै दुइ छोराछोरी भएका यी आफन्तलाई बीमा गर्नुको उद्देश्यबारे थप सोध्न मन लाग्यो । उनले बाबुआमाको बीमा रकमले छोराछोरीको बिहे खर्च र छोराछोरीको बीमा रकमले कलेज भर्ना तथा पढाइ शुल्क तिर्न र केही मात्रामा भए पनि अन्य क्षेत्रको लगानीको जोखिम कम गर्न पनि आफ्नो बीमाको उद्देश्य भएको बताए ।
यी मेरा आफन्तको बीमा गर्नुको उद्देश्य र बीमा प्रिमियम तिर्ने आम्दानीको स्रोत, समय र रणनीतिबाट समग्र बीमक, अभिकर्ता तथा बीमितले पाठ सिक्नुपर्ने आवश्यकता छ । त्यस्तै बीमा कम्पनीहरूले पनि सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखेर नीति निर्माण गर्नु आवश्यक छ । ५० प्रतिशत नेपालीसँग बीमा गर्ने क्षमता छ । तर, तिनमा ३ सय ६५ दिन जुनसुकै दिनमा प्रिमियम बुझाउन सक्ने क्षमता भने छैन । यसका लागि बीमा अभिकर्ताले सर्वसाधारणको आम्दानीको स्रोत र आम्दानी हुने समय पत्ता लगाई उनीहरूको बजेटअनुसार तिर्न सक्ने क्षमता निक्र्योल गरेर सोहीअनुसारको बीमा गराउनुपर्छ ।
उदाहरणका लागि ताप्लेजुङको एक दुर्गम गाउँको अलैँची उत्पादन गर्ने किसानले जीवन बीमा गर्न सक्छ । तर, चैत महीनामा नभई भदौदेखि मङ्सिरसम्ममा प्रिमियम बुझाउने गरी बीमा गराएमा उसलाई सजिलो पर्छ । यस समयमा अलैँची विक्री भएर उसको पैसा आउँछ र त्यसैबाट बीमा प्रिमियम तिर्न सक्छ । त्यसैगरी गुल्मीको कफी उत्पादन गर्ने किसान तथा धनकुटामा सुन्तला तथा बन्दाकोभी उत्पादन गर्ने किसानले पनि बीमा गराउन सक्छन् । तर, यसका लागि बीमा अभिकर्तामा स्थानीय वित्तीय ज्ञान हुनु आवश्यक छ । बीमा कम्पनीको नीति पनि यसैअनुसार निर्माण गरिनुपर्छ ।
अहिलेसम्मको स्थिति हेर्दा आफैले बीमाको महत्त्व र आवश्यकता बुझेर भन्दा पनि बीमा अभिकर्ताको बारम्बारको दबाब र करकापका कारण बीमा गर्नेको सङ्ख्या बढी छ । म आफैले क्याम्पस पढ्दै गर्दा कुनै आम्दानीको स्रोत नै नभएको समयमा २०५८ सालतिर बीमा गरेँ । बीमा अभिकर्ता १ वर्षसम्म पछि लागेका कारण उसको करकापबाट मुक्त हुन बाध्य भएर मैले बीमा गर्नुपरेको थियो ।
आत्मनिर्भरतामा जोड
बचत, लगानी, वित्तीय योजना, कर छूटका सुविधा, अत्यधिक खर्च गर्ने बानीलाई नियन्त्रण र जीवनमा आइपर्ने वित्तीय समस्या समाधान गर्ने उपायका रूपमा बीमालाई जनतामाझ बुझाउनु जरुरी छ । तर, यहाँ यस्तो हुन सकिरहेको छैन । अधिकांश बीमा अभिकर्ताले बीमा गरिएमा मरेपछि आफ्ना आश्रतिले पैसा पाउँछ भन्ने गरेका हुन्छन् । मलाई बीमा गराउनेले पनि धेरैपटक यही कुरा दोहोर्याएका थिए । बीमा कम्पनीको विज्ञापनमा पनि यिनै विषयलाई प्राथमिकता दिइएको हुन्छ । कतिपय विज्ञापनमा आफू मरेको र परिवारमा वित्तीय समस्या परेको सपना देखेकोसम्म देखाएर बीमा गर्न आकषिर्त गराइएको हुन्छ । बीमाको प्रचारमा भन्दा आत्मनिर्भरलाई जोड दिने र वित्तीय व्यवस्थापनको माध्यम बनाउनु जरुरी छ । बीमालाई शुरूमै मरेपछि पैसा पाउने विषयसँग नजोडी ब्यक्तिको जीवनमा आईपर्ने हरेक आर्थिक समस्याको समाधान गर्ने उपायका रूपमा अघि बढाउँदा यसको प्रभावकारिता बढ्न सक्छ ।
बीमामा यस प्रकारको शिक्षा हालसम्म कुनै नियमन निकाय, संस्था तथा बीमा अभिकर्ताले दिन सकेका छैनन् । बीमा गराएर एकपटक प्रिमियम लिनु ठूलो कुरा होइन । आम्दानी, खर्च, बचतको बजेट बनाएर बीमितलाई बीमाको अवधिभरि प्रिमियमको रकम बुझाउन कुनै बोझ नहुने गरी योजना बनाइदिन सक्नुपर्छ । बचतको केही अंशलाई बीमा प्रिमियम तिर्न अभिप्रेरित गर्नु अनि बीमितको आम्दानीको समय पत्ता लगाई सोही समयमा घरमै पुगेर बीमा गराउनुपर्छ । बीमा गरेपछि नियमित रूपमा सोही समयमा गएर प्रिमियम सङ्कलनको सेवा दिने हो भने बीमा गर्नेको सङ्ख्या बढाउन सकिन्छ ।
बीमा अभिकर्ताका रूपमा एसएलसी मात्र पास भएको जनशक्तिले नपुग्ने देखिन्छ । बीमाभित्रका यी महत्त्वलाई यो जनशक्तिले ठीकसँग बुझ्नै सकेको हुँदैन । यही कारणले हुन सक्छ, बीमाको महत्त्व र यसका फाइदा बुझाएरभन्दा नियमित दबाब र करकाप गरेर बीमा गराउने प्रचलन बढी छ । बीमा अभिकर्ताको आचारसंहितामा करकापलाई दण्डनीय मानिएको छ । तर, त्यसको कार्यान्वयन हुन सकेको छैन ।
अब एसएलसी पासलाई मात्र होइन, माष्र्टस डिग्री भएका, अनि त्यसमा पनि बीमा तथा लगानी विषयमा विशेषज्ञता हासिल गरेकाहरुलाई बीमा अभिकर्ता हुन प्रोत्साहन गर्न सक्नुपर्छ । बीमा अभिकर्तालाई ऋण उठाउन आउने साहूका रूपमा नलिई वित्तीय समस्या समाधान गर्ने डाक्टरका रूपमा लिने वातावरण बनाउन आवश्यक छ ।
लेखक शेयर विश्लेषक हुन् ।