'अटिज्म’ महामारीपछाडिको अर्थशास्त्र
एलेन फ्रान्सेस
केही दशक अघिसम्म 'अटिज्म'लाई यदाकदा मात्र देखिने मानसिक स्वास्थ्य समस्या मानिन्थ्यो । त्यसबाट २ देखि ५ हजार बालबालिकामा एक जना पीडित हुने गरेको बताइन्थ्यो । तर, सन् १९९४ मा मानसिक उपचारको निर्देशिका 'डीएसएम ४' प्रकाशित भएपछि भने स्थितिमा नाटकीय परिवर्तन देखिएको छ । त्यो निर्देशिका प्रकाशित भएको लगत्तै उक्त मानसिक समस्याबाट पीडित बालबालिकाहरूको सङ्ख्या बढेर सयकडा एक जना कायम हुनपुग्यो । हालै प्रकाशित एक प्रतिवेदनमा दक्षिण कोरियाको कुल जनसङ्ख्याको ३ प्रतिशत 'अटिज्म'बाट प्रभावित भएको उल्लेख छ । त्यहाँ ३८ जनामध्ये एक जनामा यो समस्या देखापरेको बताइएको छ । तसथ यो महामारी कसरी फैलिरहेको छ र हामी कहाँ जाँदैछौं भन्ने प्रश्नका उत्तर खोज्नुपर्ने भइसकेको छ ।
कुनै पनि महामारीप्रति मानिसको स्वाभाविक प्रतिक्रिया हो आतङ्कित हुनु । अहिले अभिभावकहरू आफ्ना सन्तानको सामाजिकीकरणमा केही ढिलाइ हुने बित्तिकै त्यसलाई
'अटिज्म'को सङ्केत हो कि भनेर चिन्तित हुने गरेका छन् । त्यस्तै, सन्तान पैदा नगरिसकेका दम्पत्तीहरू सन्तानहीन बस्ने निर्णयमा पुगिरहेका छन् । 'अटिज्म'को समस्याबाट प्रभावित बालबालिकाका दुखित अभिभावकहरू भने त्यसको कारण पत्ता लगाउन खोज्दैछन् ।
दादुराको खोपले 'अटिज्म' उत्पन्न गर्छ भन्ने बेलायती चिकित्सक एण्ड्रयु वेकफिल्डले अघि सारेको भ्रामक सिद्धान्तबाट पनि धेरै अभिभावकहरू प्रभावित भएका थिए । त्यो सिद्धान्तको प्रभावमा परेर कतिपय अभिभावकहरूले आफ्ना सन्तानलाई खोपै लगाएनन्, जसले गर्दा पूर्णरूपमा उपचार गर्न सकिने उक्त रोगको खतरामा धेरै बालबालिका परे । 'अटिज्म'को शुरुआती लक्षणहरू र खोप लगाएको लगत्तै देखिएको काकतालीय सहसम्बन्धका कारण धेरैले यस्तो बुझाइ लिएका थिए । वेकफिल्डको सिद्धान्त गलत र वैज्ञानिक बेइमानीपूर्ण भएको प्रमाणित भइसकेको छ । तर, अटिज्मले उत्पन्न गरेको ठूलो डर र यसप्रतिको तर्कहीन प्रतिक्रियाले गर्दा अझै केही अवस्थाहरूमा वेकफिल्डकै भनाइलाई सत्य मानिने गरेको छ ।
अरु तत्त्वहरू पनि 'अटिज्म'को तीव्र वृद्धिको पछाडिका कारण हुन सक्छन् । 'डीएसएम ४' प्रकाशन हुनुभन्दा अघि 'अटिज्म' मानसिक समस्याहरूमध्ये सबैभन्दा साँघुरो स्पष्ट रूपमा परिभाषित समस्या थियो । अटिज्म भनिने त्यो समस्या ३ वर्षको उमेरभन्दा अगाडि शुरू भएको हुनुपर्थ्यो र त्यसमा गम्भीर भाषागत समस्या, सामाजिक सम्बन्ध निर्माण गर्नमा असफलता र एकान्तमा अनौठा व्यवहार गर्दै रमाउनेजस्ता लक्षणहरू किटान गरिएका थिए । 'डीएसएम ४' तयार गर्दा हामीले एक 'एसपर्जस डिसअर्डर' नामक 'अटिज्म'को एक नयाँ प्रकार थप्ने निर्णय गरेका थियौं । यो अलि सामान्य खालको समस्या हो र यसलाई प्रस्ट रूपमा परिभाषित गर्न कठीन छ । कतिपय बालबालिकाकाहरू भाषिक विकास राम्रो हुँदा गम्भीर सामाजिक र व्यावहारिक अप्ठयाराहरू भोग्छन् । त्यसलाई पनि 'अटिज्म'भित्र समावेश गर्न यसो गर्नु आवश्यक देखिएको थियो । 'एसपर्जस डिसअर्डर'ले 'अटिज्म' प्रभावित जनसङ्ख्यालाई तीन गुणाले बढाउँदै ५ सयदेखि १ हजारमा एक जना भन्ने हिसाबमा पुर्याउने कुरा त हामीलाई थाहा थियो । तर, दक्षिण कोरियामा प्रत्येक ३८ जनामा १ जना यसबाट पीडित भन्नेबारे भने यसले केही पनि व्याख्या गर्न सक्दैन ।
पहिले पहिचान नभएका व्यक्तिहरूको समस्या अहिले सटीक ढङ्गले पहिचान भएर पनि 'अटिज्म'को महामारी फैलिएको देखिएको हुन सक्छ । तर, यो पनि एक सामान्य कारण मात्रै हो ।
त्यसैगरी, कुनै वातावरणीय कारणले 'अटिज्म'को महामारी फैलिरहेको छ भन्ने सिद्धान्त पनि छ । तर, यो पनि सामान्य कारण मात्रै हो । किनभने सन् १९९४ पछि यसको महामारी नै फैलाउने गरी वातावरणमा त्यस्तो कुनै अचानक परिवर्तन देखिएको छैन । यसको अर्थ वातावरणीय प्रभावले यसमा केही प्रभाव पारेको छैन भन्न खोजेको होइन । तर, त्यस्तो सम्भावना निकै न्यून छ भन्न खोजिएको हो । किनभने अटिज्म फैलिनुको योभन्दा बढी विश्वसनीय विश्लेषण तयार भइसकेको छ ।
विशेषगरी, अटिज्म फेसनेबल भएकाले यसको महामारी फैलिएको हुन सक्छ । हाल सबैभन्दा बढी चिकित्सकीय विश्लेषण गरिने मानसिक समस्याहरूमध्ये एउटा हो अटिज्म । कुनै बेला दुर्लभ र सटीक पहिचान हुने ठानिएको 'अटिज्म' भन्ने शब्द अहिले खुकुलो रूपमा उपयोग भइरहेको छ र 'डीएसएम ४' ले निर्धारण गरेका स्पष्ट मापदण्डमा नपर्ने व्यक्तिहरूलाई समेत यसले जनाइने गरेको छ । पहिले पहिचान नगरिएका वा अरू नै केही रोगका रूपमा पहिचान गरिएका हल्कास्तरका मानसिक समस्याहरूलाई पनि अहिले 'अटिज्म' भन्ने गरिएको छ । 'अटिज्म' पहिलेजस्तो अत्यन्त निष्क्रियताको अवस्था मात्र रहेको छैन । कतिपय सृजनशील र सामान्य रूपमा बहुलठ्ठी मानिसहरूले आफूमा अन्तर्निहित 'अटिष्टिक' गुणबारे जानकारी
पाएका छन् ।
कम पहिचानबाट अति पहिचानसम्मको यो नाटकीय वृद्धिलाई व्यापक प्रचारले ऊर्जा दिएको छ । इण्टरनेटमा आधारित सहयोग समूहहरू, अटिज्मबारे सामाजिक चेतना बढाउन भनेर काम गर्ने समूहहरू र अटिज्मको रोग भएको भनेर तोकिएकाहरूले मात्र महँगो स्कूल सेवा पाउने कारणले पनि यो वृद्धि ल्याएको हो । उदाहरणका लागि कोरियामा गरिएको उल्लिखित अध्ययनको खर्च यस्तै 'अटिज्म'बारे वकालत समूहले प्रायोजन गरेको थियो र त्यस प्रतिवेदनले अटिज्मको उच्च वृद्धि भएको देखाउँछ । सो संस्थाले उत्साह प्रदर्शन रोक्न सकेको थिएन ।
कोरियाको अध्ययनले महामारीसम्बन्धी अध्ययनहरूमा हुने पूर्वाग्रही निष्कर्षदिनबाट बच्ने प्रयास गरेको छैन । यस्ता अध्ययनले रोगको दरलाई सधैँ बढी देखाउँछन् । किनभने यस्तो अध्ययनमा सामान्य किसिमको समस्यालाई पनि रोगकै श्रेणीमा राखेर देखाउने गरिन्छ । ३ प्रतिशत जनसङ्ख्यामा 'अटिज्म'का केही लक्षणहरू देखिएको सत्य हुन सक्छ । तर, त्यति धरै मानिसका ती सबै लक्षणहरू 'अटिष्टिक डिसअर्डर' नै हुन सक्ने गरी गम्भीर भएको भन्नेचाहिँ अविश्वसनीय हो । प्रतिवेदनमा उल्लिखित दरलाई मानसिक समस्याको सही सङ्ख्या नभई माथिल्लो सीमाका रूपमा अर्थात् त्यो सङ्ख्याभन्दा बढीमा यो समस्या छैन भन्ने अर्थमा बुझ्नुपर्छ ।
मानवीय स्वभाव, न्यूरोलोजिकल बिमारी र मानसिक विचलनजस्ता परिवर्तन निकै विस्तारै हुने गर्दछन् । २० वर्षअघिको भन्दा स्थितिलाई १ सय गुणाले बढाउने गरी वातावरणीय प्रदूषण त्यत्तिकै अचानक देखा पर्दैनन् ।
'डीएसएम ४' ले सामान्य अवस्थासँग नजिक भएको 'एसपर्जर डिसअर्डर'लाई पनि 'अटिज्म'को एउटा प्रकार बनाइदिएको हुनाले अटिज्म रोगीको सङ्ख्या बढेको हो भन्ने विश्लेषण नै बढी विश्वसनीय छ । त्यसपछि परिभाषाको व्यापकता, इण्टरनेटबाट भएका प्रचारबाजी, वित्तीय प्रलोभन र रोगको परीक्षणबाट प्राप्त नतीजाको केटाकेटी पाराले गरिएको व्याख्याका कारण 'अटिज्म' व्यापक रूपमा फैलिएको हो ।
रोग पहिचान निर्देशिकाको अर्को पुनरवलोकन प्रकाशित भएर सन् २०१३ मेमा नयाँ निर्देशिका 'डीएसएम ५' प्रकाशित हुने भएको छ । त्यसपछि अटिज्मको महामारी झन् फैलिनेछ । 'डीएसएम ५' मा समावेश भएका 'अटिष्टिक स्पेक्ट्रम'को परिभाषाले अहिले सामान्य मानिएका वा अरू नै कुनै समस्या भएका व्यक्तिहरूलाई पनि अटिष्टको समूहमा समेट्नेछ । तर, उनीहरूको लक्षणचाहिँ परिवर्तन भएको हुँदैन, केवल संज्ञा मात्र परिवर्तन हुन्छ ।
एलेन फ्रँसेस, एमडी, डीएसएम ४ को कार्यदलका अध्यक्ष थिए ।