आर्थिक समानताले सामाजिक कुरीति हट्छ ?
डा. कमलराज ढुङ्गेल
केही समयअघि मैले सलाही र सिन्धुपाल्चोक जिल्लाको भ्रमण गरेँ । मैले भ्रमण गरेका सलाही जिल्लाका गाविसहरूमा यादव थरका मानिसको बाहुल्य रहेको छ । यी मानिसको रहनसहन परम्परागत शैलीको छ । यहाँका बासिन्दाहरू सामाजिक तथा आर्थिक असमानता दुवैले ग्रसित छन् । यी दुवैखाले असमानता जातजाति विशेषमा अझ गहिरो भएर रहेका छन् । आर्थिकको तुलनामा सामाजिक असमानताले यो समाजमा अझ बढी जरो गाडेर बसेको छ । भ्रमण गरिएका गाविसहरूको समाजमा जातजातिगत विभेद उच्च छ । तथाकथित सानो जातिका मानिस अछूत वर्गमा पर्दछन् । यी अछूत वर्गका मानिसहरूलाई आधुनिक भाषामा दलित भनिन्छ । जातजातिका बीचमा छुवाछूत तथा विभेद हटाउने कानूनी प्रविधान भए तापनि मानिसहरूले यो संस्कार छोड्न सकेका छैनन् । दलितहरू माथिल्लो जातका मानिसहरूको खेतीपातीमा कृषि मजदूरका रूपमा कार्य गर्दछन् । यी कृषि मजदूरहरूको ज्याला अत्यन्तै न्यून छ । तर, अचेल केही सुधार भएको पाइन्छ । दलितहरूले साहू महाजनका जग्गा अमानतमा लिएर उत्पादन बाँडफाँट प्रणालीअन्तर्गत खेतीपाती गर्ने गरेका छन् । यस जग्गाबाट प्राप्त आम्दानी लागत अनुपातको हिसाबले बाँड्ने गर्दछन् । अर्थात् केही उत्पादनको अंश जग्गावाललाई बुझाउँछन् भने बाँकी रहेको उत्पादनको अंश आफै उपभोग गर्दछन् । यो प्रथाले तराईका जिल्लाका गाउँगाउँमा जरो गाडेको छ । यसले दलितहरूको आर्थिक स्तर उकास्न निश्चय पनि अग्रगामी भूमिका खेलेको छ भन्न सकिन्छ । तर, तल्लो र माथिल्लो जातका मानिसहरूबीचमा रहेको सामाजिक कुरीति भने अझै पनि गहिरो रूपमा रहेको छ । मैले भ्रमण गरेका गाविसमध्ये सिसौरियामा धोती, चोलो, पटुका तथा अनुहारमा घुम्टो ओढेकी अन्दाजी ५० वर्षीया एउटी महिलाले अचानक मेरो खुट्टा समातेर ढोगिन् । म अत्यन्तै नतमस्तक भएँ । किनभने यस प्रकारको व्यवहार मैले कहिल्यै देखेको वा भोगेको थिइनँ । म झस्किएर पर सरेँ । ती महिला नेपाली भाषा बुझ्न वा बोल्न सक्दिन थिइन् । मैले नेपाली बुझ्ने मानिसलाई यो कुरा सुनाएँ । उनीहरूको जवाफ थियो, 'नयाँ मानिसलाई स्वागत गर्ने यहाँको यो एउटा परम्परा नै हो’ । तर, वास्तविकता त्यस्तो थिएन । ती महिला दलित रहिछन् । उनको परम्पराभन्दा पनि ठूलो जातका मानिसलाई आदर गर्ने एउटा आदरभाव दर्साउने कार्य रहेछ ।
यो उदाहरणले लैङ्गिक असमानता कति छ भन्ने तथ्य उजागर गर्दछ । त्यस क्षेत्रमा १२ देखि ३५ वर्षबीचका महिलाहरू घुम्टो ओढेर घरमा नै बस्ने गर्दछन् । दुवै दलित वा गैरदलित महिलाहरूमा यही परम्परा छ । यो उमेर समूहका महिलालाई सामान्यता बाहिर निस्कन बन्देज नै लगाइएको हुन्छ । यसले के पुष्टि गर्दछ भने यी महिलाहरूको अत्यन्तै उत्पादनशील उमेर निष्क्रिय भएर बित्छ । यसले विपन्नतातर्फ उन्मुख गराई अरूको मुख ताक्ने अवस्थाको सृजना हुन्छ । र, ४० वर्षनाघेपछि महिलाहरू आर्थिक क्रियाकलापमा सरिक हुने गर्दछन् । अधिकांश महिला विद्यालय जाँदैनन् । यदि गए भने उनीहरूले सामाजिक भेदभावको पराकाष्ठा बेहोर्नुपर्छ । विद्यालयमा पठनपाठनको तुलना गर्दा माथिल्लो वा तल्लो जातिको अवस्थामा खासै भिन्नता पाइँदैन । अर्थात् दुवै जातिका बालिकाहरू शिक्षाको उज्यालो घामबाट अलग रहेका हुन्छन् । केही मात्रात्मक हिसाबमा कम वा बढी भएको हुन सक्दछ । अर्थात् गैरदलित बालिकाहरूको विद्यालयमा केही मात्रामा उपस्थिति रहेको पाइन्छ । त्यसैले तराईका गाउँगाउँका विद्यालयमा छात्राको सङ्ख्या अत्यन्त न्यून हुन्छ । यी विद्यालयमा छात्रा छन् नै भने पनि तिनीहरू पहाडी मूलका मात्र हुन्छन् ।
यी तथ्यहरूले के पुष्टि गर्दछ भने सामाजिकभन्दा आर्थिक असमानताको दूरी कम भएको छ । दलित तथा महिलाहरूले कृषि मजदूरका रूपमा काम गरे तापनि उनीहरूले पाउने ज्यालामा केही सुधार भएको पाइन्छ । यसो हुनुमा दलित तथा महिलाहरूको कार्यमा केही विविधता आउनु हो । अचेल यो वर्गका मानिस यातायात, उद्योग, व्यापारव्यवसाय, निजी तथा सार्वजनिक कार्यालयमा कार्यरत छन् । माथि उल्लेख गरेजस्तै कृषि मजदूरहरू अत्यन्तै न्यून ज्यालामा आफ्नो अमूल्य श्रम बेच्न बाध्य भएका थिए । तर, आज केही फरक भएको पाइन्छ । असमानतामा जग्गाजमीन लिएर खेतीपाती गरेका कारण उनीहरू आफ्नो श्रमको मालिक आफै भएका छन् । यो जग्गामा दलितहरूले आफ्नो र बजारको रुचिअनुसार बाली लगाउँछन् । यसबाट उनीहरूलाई राम्रै आम्दानी भई उनीहरूको जीवनस्तरमा सुधार भएको छ । यो आर्थिक रूपान्तरले कृषि मजदूरको ज्यालादरमा सुधार भएको भए तापनि सामाजिक असमानतामा सुधार हुन सकेको छैन । जबसम्म सामाजिक कुरीति समाजबाट अलग गराउन सकिँदैन, तबसम्म आर्थिक समानतामा भएको एक्लो सुधारले दलित तथा अन्य पिछडिएका जातजातिको मान, प्रतिष्ठा, इज्जत तथा सशक्तीकरण गराउन सकिँदैन ।
तराईको यही तथ्यको तुलनार्थ म सिन्धुपाल्चोकका केही गाविसको समेत भ्रमण गर्न गएँ । त्यहाँ दलित तथा गैरदलितबीचको आर्थिक स्तर र क्रियाकलाप करीबकरीब समान छ । अर्थात् यहाँका मानिसहरूको आम्दानीको दूरी त्यति फराकिलो रहेको छैन । यदि कहीँकतै दलित तथा गैरदलितबीचमा अन्तर देखिन्छ भने यो जग्गाजमीनको असमान वितरणले मात्र भएको हो । त्यसैगरी शीप, शिक्षा तथा अवसरको पहुँच असमानताले पनि आर्थिक स्तरमा केही अन्तर देखाएको छ । यी पहाडी गाविसहरूमा जसरी आर्थिक स्तरमा केही अन्तर कम छ त्यसरी नै सामाजिक असमानताको दूरीमा पनि । दलितहरू आफै समाजिक मतभेदमा कमी आएको तथ्य स्वीकार गर्छन् । उनीहरूको सामाजिक प्रतिष्ठा, मान्यता तथा समावेशीकरणमा वृद्धि भइरहेको छ । यहाँका बासिन्दाहरूमा सामाजिक विभेद छैन । अन्य जातका सरह दलितका बच्चाबच्चीहरू पनि विद्यालय जाने गर्दछन् । यसै सिलसिलामा एउटा कामी जातका दलितले भने, 'हामीले सामाजिक प्रतिष्ठा अरू जातसरह प्राप्त गर्न थालिसकेका छौं । तर, हामी र अन्य जातबीचमा वैवाहिक सम्बन्धको विकास भने अझै हुन सकेको छैन ।' उनका अनुसार अब समाजमा छुवाछूतको भेदभाव छैन । दलितहरू गैरदलितसँग एकैठाउँमा काम गर्ने, खाने, उठबस गर्ने आदि कार्यहरू समान रूपले गर्दछन् । समाजमा अटुट रूपले भइरहने धार्मिक, सामाजिक, आर्थिक तथा राजनीतिक क्रियाकलापमा दलितहरूले पनि अन्य जातजातिसरह भाग लिने गर्दछन् । त्यस्तै गरेर माथिल्लो जातका मानिस तल्लो जातका मानिसहरूकहाँ हुने सामाजिक क्रियाकलाप जस्तै : मलामी जन्ती तथा अन्य क्रियाकलापमा सहभागी हुने गर्दछन् । तर, दलितहरूले माथिल्लो जातका घरभित्र भने सामान्यत: प्रवेश गरेका छैनन् । यी पहाडी गाविसहरूमा लैङ्गिक असमानताको अन्तर पनि एकदमै कम छ । दलित तथा गैरदलितका छोराछोरीहरू समान रूपले शिक्षा आर्जन गर्न विद्यालय जाने गर्दछन् । अझ भन्ने हो भने पहाडका अधिकांश विद्यालयमा छात्रभन्दा छात्राको उपस्थिति अझ बढी देखिन्छ । यसको कारण भने फरक छ ।
यी तथ्यहरूले के प्रस्ट पार्दछ भने छुवाछूत तथा सामाजिक कुरीति पहाडी इलाकामा भन्दा तराईमा बढी छ । अन्धविश्वास र परम्पराको नक्कल तराईमा अझै पनि व्यापक रूपमा रहेको छ । महिलाहरूको सामाजिक प्रतिष्ठा, अवसर, राजनीतिक क्रियाकलापमा सहभागिता, घरायसी तथा सामूहिक सम्पत्तिमाथिको अधिकार र यिनीहरूको प्रयोगका बारेका निर्णयप्रक्रियामा सहभागिता, निजी तथा सार्वजनिक सम्पत्तिमा पहुँच आदि आदि क्रियाकलापहरू पहाडी भेकमा बढिरहेको छ । यस भेकमा दलित वर्गको पनि ती क्रियाकलापमा सहभागिता तीव्र रूपले अगाडि बढिरहेको छ । मधेशमा यो क्रम अझै पछाडि छ । अर्थात् परम्परागत सामाजिक असमानता तराईमा व्याप्त छ । तराईमा रहेको दाइजो प्रथाले महिलाहरू अपहेलित मात्र होइन, ज्यानै जाने खतराबाट अझै मुक्त हुन सकेका छैनन् । जबसम्म सामाजिक कुरीतिहरू रहिरहन्छन् आर्थिक समानताले समाजलाई भयमुक्त गराउन सक्दैन । सामाजिक कुरीतिको अन्त्यका निम्ति सम्पत्तिमाथिको अधिकार, राजनीतिक सहभागिता, आर्थिक अवसरहरूमा पहुँचको
आवश्यकता पर्दछ ।
लेखक त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।
प्रतिक्रियाका लागि : kamal.raj.dhungel@gmail.com
Admin 2011-07-07