अर्थशास्त्रको अन्त्य
ब्राडफोर्ड डेलङ
हालसालै न्यू ह्याम्पशायरमा सम्पन्न प्रख्यात अखबार फिनान्सियल टाइम्सका स्तम्भकार तथा संयुक्त राज्य अमेरिकाका पूर्वअर्थमन्त्री मार्टिन उल्फ र अमेरिकी राष्ट्रपति ओबामाका पूर्व आर्थिक सल्लाहकार लेरी समससँगको मेरो छलफल निकै चाखलाग्दो बन्यो । सन् १९४५ मा यही स्थानमा बसेर अहिलेको विश्व अर्थव्यवस्थाको संरचना तयार पारिएको थियो । 'पछिल्ला वर्षहरूमा के-के आर्थिक घटनाहरू भए ?,' उल्फले भने, 'तर, प्राज्ञ तथा अर्थशास्त्रीहरूलाई सो समयमा के भइरहेको थियो भन्ने सबै थाहा थियो त ?'
उल्फको सो प्रश्नको उत्तर समसले निकै रमाइलो ढङ्गले दिए । उनले भने, 'अहिले भर्खरै हामीले भोगेको आर्थिक मन्दीका विषयमा एक पत्रकार तथा व्यवसायी बागेहटलाई केही ज्ञान थियो । त्यसैगरी, प्रख्यात निबन्धकार मिस्कीलाई थप केही जानकारी थियो भने चार्ल्स किण्डलबर्जरलाई अझै बढी थाहा थियो ।' यस्तो कुरा सुन्दा गैरअर्थशास्त्रीहरूलाई पत्याउन गाह्रो हुन सक्छ । तर, यो तीतो यथार्थ हो ।
सन् १८२६ मा जन्मेका बागेहट १९औं शताब्दीमा बेलायतको लम्बार्ड सडकबाट वित्तीय बजारका सूचना तथा विश्लेषणहरू प्रकाशित गर्ने म्यागजिन 'दी इकोनोमिष्ट'का पत्रकार थिए । उनी १८७३ मा सो म्यागजिनका सम्पादक भएका थिए भने १८७७ मा उनको देहान्त भएको थियो । समसको त्यस भनाइमा आंशिक भए पनि सत्यता छ, किनभने लम्बार्ड सडक पनि विश्वव्यापी मन्दीबाट अछुतो थिएन । तथापि हामी अहिले त्यहीँबाट आर्थिक पुनरुत्थान गरिरहेका छौं ।
सन् १९१९ मा जन्मेका मिस्की एक प्रख्यात निबन्धकार थिए । उनका सबै निबन्धहरू 'क्यान इट ह्यापन अगेन' नामक ग्रन्थमा प्रकाशित भएका थिए । उनको मृत्यु सन् १९९६ मा भएको थियो । तर, सन् १९१० मा जन्मेका किण्डलबर्जरले भने १९७८ मा 'मनियास, प्यानिक एण्ड क्रयासेस 'अ हिष्टोरी अफ फिनान्सियल क्राइसिस' भन्ने किताब प्रकाशित गरेका थिए । सन् २००८ यता विश्व अर्थतन्त्रमा के भइरहेको छ भन्ने बुझ्न समसले मरिसकेका व्यक्तिहरूको नाम लिएका थिए । साथै ३३ वर्षपहिला प्रकाशित भएको एउटा किताब र एक शताब्दी पहिला नै लेखिएको अर्को पुस्तकको चर्चा पनि गरिरहेका थिए ।
समर्सले त्यसपछि आइचेनग्रिन, एकर्लफ तथा शिलरलगायतका जीवित अर्थशास्त्रीहरूको दृष्टान्त दिएर उल्फको प्रश्नको उत्तर दिने प्रयास गरे । त्यसमा उनले कुनै आधारभूत आर्थिक परिसूचकहरूमा परिवर्तन नभएको अवस्थामा पनि विभिन्न सम्पत्तिको मूल्य आकाशिएको समयमा भएको वित्तीय क्रान्तिको चर्चा गरे । त्यस समयमा पनि बृहत् अर्थशास्त्रीय सिद्धान्तहरूले खासै काम नगरेको उनको तर्क थियो । त्यसैको फलस्वरूप, अहिले सबै बृहत् आर्थिक परिसूचकहरू ओरालो लागेको अवस्थामा पनि मिस्कीका शिष्य अर्थशास्त्रीहरूले 'मेनिया', 'प्यानिक' र तरलता सङ्कट भन्ने शब्दको अर्थ नै बुझ्न सकेका छैनन् ।
समर्सको विचारमा विद्यावारिधिको पहिलो वर्षको पाठयक्रममा अनगिन्ती जटिल, द्विविधापूर्ण र समस्या समाधान गर्न नसक्ने खालका विषयवस्तु समावेश हुनु नै यसको प्रमुख कारण हो । फलस्वरूप, अर्थशास्त्रमा भन्ने गरिएको स्वाभाविक परिमाण पनि विस्तारै बिसिंदै गइएको छ र त्यसको सट्टामा असङ्ख्य तथा अत्यधिक परिमाण भन्ने शब्दको प्रयोग
बढ्दै गएको छ ।
मेरो विचारमा समसको मूल्याङ्कन एकदमै ठीक छ । अर्थशास्त्रको इतिहासका विषयमा पढाउँदा मैले सधैं मेरा विद्यार्थीहरूलाई लम्बार्ड सडकका बारेमा अध्ययन गर्न भनिरहेको छु भने बृहत् अर्थशास्त्रको कक्षामा 'मेनिया', 'प्यानिक' तथा सङ्कटको चर्चा गर्न छुटाएको छैन । साथै, आइचेनग्रिन, एकर्लफ तथा शिलरलगायतका अर्थशास्त्रीहरूका अभिव्यक्तिप्रति सधैं सचेत रहने गरेको छु । तर, म आफूलाई त्यही अर्थशास्त्रका आधारभूत मान्यता बिसंदै गएको वा तिनीहरूबाट टाढा हुँदै गएको एक प्राणीको समूहमा परेको अनुभव गरेको छु ।
यी सबै कुराहरू सुने पनि म आश्चर्यमा परेको छु कि, कमसल बन्धकीका कारणले कति भयावह समस्या सृजना भएछ र विश्व अर्थतन्त्रको आकारको तुलनामा त्यसको क्षति अझै पनि निकै कम रहेछ । त्यसैगरी, उच्च जोखिमयुक्त ऋण भएका बैङ्कहरूको अति कमजोर जोखिम व्यवस्थापन, समष्टिगत माग कति तलसम्म जान सकेको, कसरी बजार संरचनाका तत्त्वहरूले असाध्यै असन्तुलित श्रमबजारलाई थामेर राख्न सकेको र कसरी ठूला देशका सरकारहरूले ब्याजदरमा कुनै चाप नपारीकन ऋण लिएर माग बढाउने प्रयास गर्न सकेका हुन् भन्ने विषयले पनि मलाई निकै अचम्मित बनाएको छ ।
यो वास्तवमै एक प्रकारको आर्थिक महामारी हो, जसले मलाई सजिलैसँग तर्साउन सफल भयो । तर, प्राज्ञिक अर्थशास्त्रले भविष्यमा हुन सक्ने यस्तै महामारीसँग जुध्ने उपाय विकास गर्न नसकेको देख्दा अझ धेरै तसिएको छु । 'हामीले प्राध्यापक नियुक्त गर्ने हाम्रो परिपाटीमा परिवर्तन गर्नै पर्छ,' मलाई आशा छ, यस भयावह महामारीबाट ब्युँझिएर विश्वभरिका विश्वविद्यालयहरूका अर्थशास्त्र विभागहरूले अवश्य पनि केही सिक्नेछन् ।
वास्तविकता के हो भने हामीलाई प्रभावकारी बजारमा विश्वास गर्ने केही अर्थशास्त्रीहरूको खाँचो छ । साथै, सूक्ष्म संरचनाहरूमा काम गर्ने, मध्यस्थताको सीमा कायम गर्ने तथा विधिका पक्षपाती मानिसहरूको खाँचो छ । त्यसैगरी, हामीलाई व्यापार चक्रको सन्तुलनमा विश्वास गर्ने र धेरै परम्परागत किन्सियन तथा मौद्रिक वादका समर्थकहरूको पनि अहिले खाँचो छ । हामीलाई धेरै मौद्रिक तथा आर्थिक विचारका इतिहासर्विद् र केही आधुनिक प्रारूप (मोडल) निर्माता पनि चाहिएको छ । साथै, किण्डलबर्जर, मिस्की र बागेहटहरूलाई बिर्साउने अझै धेरै आइचेनग्रिन,एकर्लफ तथा शिलरहरूको टड्कारो खाँचो छ ।
अहिलेसम्म यस विषयमा कुनै पनि विश्वविद्यालयका अर्थशास्त्र विभागमा बहस भएको मलाइ थाहा छ्रैन । अहिले विश्वअर्थतन्त्रमा के भइरहेको छ भन्ने विषयमा मेरो अध्ययन नपुगेको पनि हुन सक्छ । त्यसैगरी, सन् १९७० को मूल्यवृद्धिबाट पाठ सिकेर अहिलेको महामन्दीपछि अर्थशास्त्रीहरू पुन: निर्देशित भएजस्तै गरी जागरुक भएका हुन सक्छन् । यदि यस विषयमा भइरहेको प्रगतिका सम्बन्धमा म अनभिज्ञ रहेछु भने सबै नयाँ विकासका बारेमा मलाई बताइदिन वा देखाउन विनम्र अनुरोध गर्दछु । यस विषयमा अर्थशास्त्र विभागले बिजनेश स्कूल, सार्वजनिक नीति कार्यक्रम तथा राजनीतिशास्त्र, मनोविज्ञान र समाजशास्त्र विभागबाट पनि सल्लाह-सुझावको साथै मार्गदर्शन लिन सक्छ । विश्वविद्यालयका कुलपति तथा विद्यार्थीहरूले सान्दर्भिक तथा उपयोगी पढाइ माग गर्न सक्छन् । तर, कसरी अर्थव्यवस्था चल्छ र त्यसका विषयमा कसरी पढाउने भन्ने कुराको सम्पूर्ण जिम्मा कलेजहरूले प्राज्ञ अर्थशास्त्रीहरूलाई दिएका हुन्छन् । र, उनीहरूको इमानदारीमा विश्वास गर्छन् । तर, व्यवहारमा त्यस्तो भएको पाइँदैन ।
यस्तो अवस्था कायमै रहेका इतिहासमा अर्थशास्त्र भन्ने एउटा विषय थियो भन्ने अवस्थाको सृजना हुन सक्छ । अनि मानव जीवनमा अर्थशास्त्रको कुनै मूल्य कायम नरहने र वास्तविकताभन्दा टाढिँदै विश्वविद्यालयहरूमा पढाइ मात्रै हुनेछ । साँच्चै नै त्यस्तो अवस्था आएमा हामीले अहिलेको भन्दा पनि भयावह मन्दीको सामना गर्नुपर्नेछ । साथै, हाम्रो जीवन अझै जटिल र कष्टकर बन्ने निश्चित छ ।
ब्राडफोर्ड संयुक्त राज्य अमेरिकाका पूर्वसहायक अर्थमन्त्री, क्यालिफोर्निया विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक तथा राष्ट्रिय आर्थिक अनुसन्धान विभागका अनुसन्धान सहायक हुन् ।
कपीराइट : प्रोजेक्ट सिण्डिकेट २०११
Admin 2011-05-06