प्रसन्नताको अर्थशास्त्र
जेफ्री डी साख्स
हामी अहिले अति चुनौतीपूर्ण समयमा छौं । संसारको कुल सम्पत्ति अभूतपूर्व रूपले उच्च छ, तर त्यससँगै विशाल असुरक्षा, अस्थिरता र असन्तोष पनि बढेको छ । बहुसङ्ख्यक अमेरिकीहरू देश 'गलत बाटोमा हिँडिरहेको’ ठान्दछन् । नैराश्य चुलिएको छ । अन्यत्र पनि पनि त्यस्तै हालत छ ।
यस्तो परिप्रेक्ष्यमा हाम्रो आर्थिक जीवनमा खुशीको आधारभूत स्रोतबारे पुनर्विचार गर्नुपर्ने समय आइसकेको छ । उच्च आम्दानी गर्ने निरन्तर प्रयासले बढी खुशी र सन्तुष्ट जीवनको साटो अभूतपूर्व असमानता र चिन्ता उत्पन्न गराएका छन् । आर्थिक प्रगति महत्त्वपूर्ण छ किनभने त्यसले जीवनको गुणस्तरमा ठूलो सुधार ल्याउन सक्छ । तर, त्यसलाई अन्य लक्ष्यहरूसँगै मिलाएर लान सकिएमा मात्र त्यस्तो सुधार हुन सक्छ ।
यस सन्दर्भमा हिमाली अधिराज्य भुटानले अग्रता कायम गरेको छ । ४० वर्षअघि सत्तासीन भएका त्यतिखेरका युवा र भुटानका चौथा राजाले एउटा अनौठो निर्णयगरे: भुटानले कुल गार्हस्थ उत्पादन (जीएनपी)को साटो 'कुल राष्ट्रिय प्रसन्नता’ अर्थात ग्रस नेशनल ह्याप्पिनेश (जीएनएच)को लक्ष्य लिनेछ । त्यसपछिका दिनहरूमा उक्त देशले विकासको एउटा वैकल्पिक र साङ्गोपाङ्गो शैली अवलम्बन गरेको छ, जसले आर्थिक वृद्धिमात्र नभई संस्कृति, मानसिक स्वास्थ्य, करूणा र समुदायलाई पनि अँगालेको छ ।
हालै उक्त देशबारे जानकारी लिन राजधानी थिम्पुमा दर्जनौं विशेषज्ञ भेला भएका थिए । जीएनएच र दिगो विकासको अवधारणाका एकजना प्रमुख प्रवर्तक भुटानका प्रधानमन्त्री जिग्मे थिन्लेसँगै म पनि उक्त सम्मेलनको सह-आयोजक थिएँ । संयुक्त राष्ट्रसङ्घीय साधारणसभाले जुलाईमा गरेको घोषणापत्रमा राष्ट्रिय नीतिहरूले कसरी सम्बन्धित समाजमा खुशी प्रवर्द्धन गर्न सक्छन् भन्ने निरीक्षण गर्न आह्वान गरेको परिप्रेक्ष्यमा हामी भेला भएका थियौं ।
भेलामा सहभागी सबै राष्ट्रिय आम्दानीको साटो प्रसन्नतालाई जोड दिनुपर्नेमा सहमत थिए । हामीले अध्ययन गरेका प्रश्न थिए : तीव्र शहरीकरण, आमसञ्चार, विश्वव्यापी पूँजीवाद र वातावरणीय क्षति भइरहेको विश्वमा कसरी प्रसन्नता हासिल गर्न सकिन्छ ? सामुदायिकता, विश्वास र वातावरणीय दिगोपना हासिल गर्न कसरी हाम्रो आर्थिक जीवनलाई पुनर्गठन गर्न सकिएला ?
केही प्रारम्भिक निचोड यस्ता छन् । पहिलो, हामीले आर्थिक प्रगतिको महत्त्वलाई कम आँक्नु हुँदैन । जब मानिसहरू भोका हुन्छन्, तथा स्वच्छ पानी, स्वास्थ्य सेवा, शिक्षा र अर्थपूर्ण रोजगारबाट वञ्चित हुन्छन्, उनीहरूको जीवन कष्टप्रद हुन्छ । गरीबी निवारण गर्ने खालको आर्थिक विकास प्रसन्नता प्रवर्द्धनको दिशामा महत्त्वपूर्ण कदम हो । दोस्रो, अन्य लक्ष्यलाई उपेक्षा गरेर जीएनपी बढाउन मात्र केन्द्रित हुनु प्रसन्नतातर्फो बाटो होइन । अमेरिकाको जीएनपीमा विगत ४० वर्षभित्र तीव्र वृद्धि भएको छ, तर त्यसै अनुपातमा प्रसन्नता बढेको छैन । बरु जीएनपी वृद्धिको मात्र एकहोरो ध्याउन्नले सम्पत्ति र शक्तिको विशाल असमानता उत्पन्न भएको छ, विशाल निम्नवर्ग सृजना गरिरहेको छ, लाखौं बालबालिका गरीबीमा च्यापिएका छन् र गम्भीर वातावरणीय क्षति भइरहेको छ ।
तेस्रो, व्यक्ति र समाज दुवैले जीवनप्रति अपनाउने सन्तुलित दृष्टिकोणबाट प्रसन्नता हासिल हुन्छ । आधारभूत भौतिक आवश्यकता पूर्ति हुन नसके व्यक्तिका रूपमा हामी खुशी हुन सक्दैनौं । तर, उच्च आम्दानी मात्रको ध्याउन्नले परिवार, मित्रजन, समुदाय, करूणा र आन्तरिक सन्तुलनलाई विस्थापन गर्यो भने पनि हामी खुशी हुन सक्दैनौं । समाजका रूपमा जीवनस्तरलाई बढाइराख्ने आर्थिक नीतिहरूको व्यवस्थापन गर्नु एउटा कुरा हो, तर मुनाफामा मात्र केन्द्रित भएर समाजका सम्पूर्ण मूल्यमान्यतालाई उपेक्षा गर्नु एकदमै भिन्न कुरा हो ।
निष्पक्ष, न्याय, विश्वास, शारीरिक र मानसिक स्वास्थ्य तथा वातावरणीय दिगोपनाजस्ता आकाङ्क्षालाई अमेरिकाको राजनीतिले व्यापारिक मुनाफामातहत ल्याइदिएको छ । चुनाव प्रचारको व्यापारिक प्रायोजन हुने गरेको छ र यसबाट लोकतान्त्रिक प्रक्रियाको झन्झन् उपेक्षा गरिँदैछ, जसलाई अमेरिकी सर्वोच्च अदालतको पनि आशिर्वाद रहेको देखिन्छ ।
चौथो, विश्वव्यापी पूँजीवादले धेरै किसिमबाट प्रसन्नतालाई जोखिममा पारिरहेको छ । यसले जलवायु परिवर्तन र अन्य प्रकारका प्रदूषणमार्फत प्राकृतिक वातावरणलाई नष्ट गरिरहेको छ, जबकि तेल उद्योगका अविच्छिन्न प्रोपोगण्डाले धेरै मानिसलाई त्यसबारे अज्ञानतामै राखिरहेको छ । यसले सामाजिक विश्वास र मानसिक स्थिरतालाई कमजोर गराइरहेको छ, चिकित्सक अवसादको रोग बढिरहेको पाउँदै छन् । आमसञ्चार व्यापारिक गृहका 'खबर’ पुर्याउने माध्यम भएका छन् र यी खबरमध्ये धेरैजसो स्पष्ट रूपले अवैज्ञानिक छन् र तिनले अमेरिकीहरूमा 'उपभोक्ता अम्मल' बढाइरहेका छन् ।
तयारी खाद्यवस्तुको उत्पादन गर्ने उद्योगहरूले तेल, चिल्लो पदार्थ, चिनी, तथा अन्य अम्मल लाग्ने पदार्थ कसरी प्रयोग गर्छन्, जसले मोटोपना बढाउने खाद्यवस्तुमाथिको निर्भरता बढाउँछन् । हाल एक तिहाइ अमेरिकीहरू 'अति मोटा' छन् । बच्चाहरूलाई अस्वस्थ्य र अम्मल लाग्ने खालका खाद्यवस्तुको विज्ञापनलगायतका खतरनाक व्यावसायिक क्रियाकलापमाथि नियन्त्रण गरिएन भने अन्तत: सारा विश्वमा यस्तै हुनेछ ।
समस्या खाद्यवस्तुको मात्र होइन । आमसञ्चारमा आउने विज्ञापनले त्यस्ता थ्रुपै अन्य उपभोक्ता अम्मली भइरहेका छन्, जसले सार्वजनिक स्वास्थ्यमा ठूलो नोक्सानी पुगिरहेको छ । धेरै टीभी हेर्ने, जुवा खेल्ने, लागूऔषधको प्रयोग, धूमपान र रक्सी खानेजस्ता अम्मल त्यस्ता उदाहरण हुन् ।
पाँचौं कुरा, खुशी प्रवर्द्धनका लागि हामीले जीएनपीको साटो समाजको स्वस्थता बढाउने वा घटाउने अन्य धेरै किसिमका तत्त्वको पहिचान गर्नुपर्छ । धेरैजसो देशले जीएनपी मापनका लागि लगानी गर्छन् तर कमजोर स्वास्थ्यका स्रोत (जस्तो तयारी खाना र अत्यधिक टीभी हेर्ने कार्य), घट्दो सामाजिक विश्वास र वातावरणीय क्षतिका कारण पहिचान गर्न निकै कम खर्च गर्छन् । त्यस्ता तत्त्वहरूबारे बुझ्न सकियो भने त्यस दिशामा कार्य सकिन्छ ।
व्यावसायिक मुनाफा मात्रको बहुलट्ठीपूर्ण ध्याउन्नले हामी सबैलाई जोखिममा पारेको छ । आर्थिक वृद्धि र विकासलाई निश्चय पनि समर्थन गर्नुपर्छ तर एउटा बृहत् परिप्रेक्ष्यमा मात्र जसले वातावरणीय दिगोपनाका साथै सामाजिक विश्वासका लागि चाहिने करूणा र इमानदारीलाई पनि प्रवर्द्धन गरोस् । खुशीको त्यस्तो खोज हिमाली अधिराज्य भुटानमा मात्र सीमित रहनु हुन्न ।
जेफ्री डी साख्स अर्थशास्त्रका प्राध्यापक तथा कोलम्बिया युनिभसिटीस्थित अर्थ इन्षिटच्युटका निर्देशक हुन् । उनी सहस्राब्दी विकास लक्ष्यका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष सल्लाहकार पनि हुन् ।
साभार: प्रोजेक्ट सिण्डिकेट
Admin 2011-09-09