शेयरको मूल्यः कुन हो न्यून बिन्दु ?
गोपालकृष्ण आचार्य
नेपाली शेयरबजारको परिसूचक 'नेप्से'मा तीव्र रूपमा कमी आएको छ । यसो हुँदा अधिकांश लगानीकर्ताहरू 'केके नै कमाइएला भनेर शेयरमा लगानी गरेको, त्यसै दिनदेखि बजार घटिरहेको छ' भनिरहेका छन् । केही भने आफ्नो भाग्यलाई धिक्कार्दै बिर्सेर पनि अब शेयरमा लगानी नगर्ने निर्णयसुनाइरहेका छन् । तर, वास्तविकता त्यस्तो होइन, शेयरबजार घट्दा यसले न एकजना लगानीकर्तालाई मात्रै हानि पुर्याउँछ न कुनै एउटा कम्पनीको मात्रै बजार मूल्य घटिरहेको हुन्छ । आफूले गरेको लगानीको मर्म लगानी गर्नेलाई मात्रै थाहा हुन्छ र सोचिन्छ 'ओहो, मेरो मात्रै लगानी डुब्ने भयो, म मात्रै खत्तम हुने भएँ, बजार घटेर अझ कति तल पुग्ने होला ।'
मूल्यमा आउने उतारचढाव बजारको सामान्य सिद्धान्त नै हो । यही सिद्धान्तअनुसार नै कसैले बजारमा केही गुमाइरहेका हुन्छन् भने कसैले त्यसरी नै कमाइरहेका पनि हुन्छन् । बजारको मूल्य, मान्यता र सिद्धान्तलाई ख्याल गरी लगानी गर्नेले खासै गुमाउनु पर्दैन । बजारको विश्लेषण गर्न नसक्नेहरूले नजानिँदो किसिमबाट गुमाइरहेका हुन्छन् । बजारलाई राम्रोसँग बुझ्न सक्नेहरूले उतारचढावबाट नै प्रतिफल प्राप्त गर्ने हो । यसैले बजारले कहिल्यै पनि कुनै व्यक्तिलाई हेरेर नोक्सानी पुर्याउँदैन । बरु सैद्धान्तिक रूपमा सबैलाई उत्तिकै स्नेह गरिरहेको हुन्छ । माथि उल्लिखित धारणाहरूलाई बजार प्रवित्तिप्रतिको अनभिज्ञता मान्न सकिन्छ ।
केही दिनयता बजारमा आइरहेको उतारचढावप्रति सर्वसाधारण लगानीकर्ता एवम् सञ्चार माध्यमहरूमा निकै टीकाटिप्पणी हुने गरेको छ । बजारलाई राम्रैसँग विश्लेषण गर्नेहरूले पनि बजार अब कतिसम्म तल जाला त ? भनी अनुमान गरिरहेको पाइन्छ । तर, संसारमा अहिलेसम्म कसैले पनि आजको बजार प्रवृत्तिका आधारमा भोलि हुने बजारको प्रकृति सम्बन्धमा सही अनुमान गर्न सकेका छैनन् । र, बजारको अनुमान गर्न त्यति सजिलो पनि छैन । विश्वप्रसिद्ध लगानीकर्ता पिटर लिञ्च 'बजार अनुमानका लागि तपाईंले खर्च गरेको १३ दिनमध्ये ११ दिन र्व्यर्थमा खर्च भएको छ र दुई दिनको विश्लेषण मात्रै भविष्यमा केही हदसम्म काम लाग्न सक्छ' भन्दछन् । लिञ्चको दृष्टिकोणका आधारमा पनि नेप्सेमा आएको उतारचढावलाई यकिन गरेर सबैभन्दा तल कतिसम्म जान सक्छ भन्न सकिँदैन ।
अधिकांश लगानीकर्ताहरू चाहन्छन्- सकेसम्म आफूले गरेको लगानीबाट सधैं उच्चतम प्रतिफल प्राप्त भइरहोस् । तर, उनीहरू बजार घटिरहनुलाई अधिक लाभ प्राप्त गर्ने अवसर हो भन्ने बिसन्छन् । बजार एकपटक घटयो भने सधैं यही अवस्था कायम भइरहँदैन । तर, आम सर्वसाधारणहरूमा बजार घटिरहेको बेलामा शेयर किन्न तसिन्छन् र मात्र सोच्छन्- बजार मूल्य बढेको बेलामा शेयर बेचेर बढी नाफा लिने हो । बजार घट्दा कहिल्यै पनि कोही एकजना लगानीकर्ता मात्र डुब्दैन, यदि साँच्चै नै बजार डुब्यो भने तपाईंजस्तै हजारौं लगानीकर्ताहरू एकैचोटि डुब्छन् । शेयरबजार तल झर्नु भनेको लगानी डुब्नु मात्रै होइन कि यसले सम्भावित नोक्सानीलाई समेत रोकेको हुन्छ । यसले उच्च नाफा प्राप्तिका लागि ढोकासमेत खोलिदिन्छ । यसैले मूल्यका आधारमा गरिने आधारभूत तथा प्राविधिक विश्लेषणले बजार कता गइरहेको छ भन्न त सकिन्छ । तर, यो नै शेयर मूल्य पुग्न सक्ने न्यून बिन्दु हो भन्न सकिँदैन ।
घटेको बजार मूल्यमा निराश हुनुभन्दा आफूले गरेको लगानीको अवस्था कस्तो छ, यकिन गर्नुपर्छ । कहिलेकाहीँ समूहगत रूपमा बजार घटेको पनि हुन सक्छ भने त्यस्तो बेलामा लगानीकर्ता आत्तिइहाल्नु पर्दैन । एउटा कुनै खास समूहका कम्पनीहरूको मूल्य घट्नपुग्दा पनि समग्र बजार परिसूचक घटिरहेको हुन्छ । यसैले आफूले लगानी गरेको कम्पनीको समूह कुन हो र उक्त समूहको बजार अवस्था कस्तो छ भन्ने विश्लेषण गरिरहनुपर्छ । जस्तै-नेपाल स्टक एक्सचेञ्च लिमिटेडले सूचीकृत कम्पनीहरूलाई आठ समूहमा वर्गीकरण गरेको छ । ती समूहहरूमध्ये ठूलो अंश ओगट्ने कुनै कम्पनीको शेयर मूल्यमा केही कमी आयो भने त्यसले समग्र बजारलाई तल झारिदिन्छ । बजार मात्रै घटेर यस्तो चिन्ता गरिएको हो भने त्यस्तो घटाइमा अन्य कम्पनीका लगानीकर्तालाई खासै कुनै असर हुँदैन । समूहगत न्यूनतामा पनि कुनै कम्पनी राम्रोसँग चलिरहेको हुन्छ भने कुनै नकारात्मक नेर्टवर्थमा रहेको हुन्छ । आफूले गरेको लगानी कत्तिको फलदायी छ, त्यो आफैले बुझ्ने, विश्लेषण गर्ने गर्नुपर्छ ।
बजारमा लगानी गरेर मात्रै प्रतिफल प्राप्त हुँदैन । यसका लागि सम्बन्धित क्षेत्रमा भएका गतिविधि एवम् सरकारी प्रयास र कानूनी व्यवस्थाहरूका बारेमा समेत सचेत हुन जरुरी हुन्छ । नेपाल राष्ट्र बैङ्कले केकस्ता नीतिनियमहरू ल्याइरहेको छ भन्ने कुराले बैङ्किङ क्षेत्र कता जाँदै छ भन्ने बुझ्न सकिन्छ । लगानीकर्ता यसमा चनाखो हुनुपर्छ । बरु नेपाल राष्ट्र बैङ्कले गरेको नीतिगत परिवर्तनले गर्दा मैले लगानी गरेको बैङ्कको शेयर घट्छ कि बढ्छ, त्यो विचार गरिहाल्नुपर्छ । कुनै दुईटा संस्थाहरू एकआपसमा गाभिँदै छन् भने आफूसँग शेयर भएको कम्पनीको अवस्था कस्तो छ ? त्यसबाट लाभ हुन्छ कि हानी बेलैमा यकिन गरेर शेयर बेच्ने वा नबेच्ने निर्णयगरिहाल्नुपर्छ । बजारमा आउने कुनै सूचनाहरूको कारणबाट आफूले लगानी गरेको शेयर निकै तल जान सक्छ कि भनी आँकलन गरिरहनुपर्छ ।
प्राविधिक रूपमा शेयरको मूल्य र कारोबारको आकारले पनि अब बजार कता जाँदै छ भन्ने बुझ्न सकिन्छ । बजारमा बढी कारोबार हुने शेयरबाट बढी लाभ लिन सकिन्छ । बजारमा आफ्नो शेयरको कारोबार कत्तिको हुन्छ, त्यो पनि बुझिरहनुपर्छ । प्राविधिक विश्लेषणका आधारमा बजारमा कुनै कम्पनीको शेयर विक्री गर्ने एकजना पनि हुन छाडयो भने बुझ्न सकिन्छ कि उक्त शेयरको मूल्य निकै तल पुगेछ । निकै न्यून मूल्य वा घाटै खाएर थोरै लगानीकर्ताले मात्र शेयर विक्री गर्छन् । यसैले, बजारमा शेयर बेच्नेहरू कति छन्- यसको आधारमा पनि बजार प्रवृत्ति नाप्न सकिन्छ । यदि बजारमा शेयर किन्नेहरू प्रशस्त छन् तर बेच्नेहरू अति न्यून छन् भने त्यस्तो बेलामा खरीदकर्ताले बढी मूल्य तिर्न चाहन्छन् । यसरी बढेको बजार मूल्यमा पनि शेयरबजार खासै माथि गएको मान्न सकिँदैन ।
बजारमा हुने शेयर कारोबारको आकारले पनि केही हदसम्म विश्वासनीयता बढाउँछ । बढी कारोबार हुँदा लगानीकर्ताले अरूले पनि लगानी गरिरहेका छन् भन्ने लाग्दछ र लगानी जारी रहन्छ । यसबाट बजार तथा बजार मूल्य दुवैमा बढोत्तरी आउन सक्दछ । लगानीकर्ताले कहिल्यै के बिर्सन हुँदैन भने स्वतन्त्र बजारमा जसरी वस्तुको माग तथा पूर्तिको आधारमा कारोबार हुन्छ, ठीक त्यसरी नै शेयरको पनि कारोबार हुन्छ । शेयरको मूल्य कायम हुनुमा त्यस्तै अनेकौं तत्त्वहरूले उत्तिकै जिम्मेवार भूमिका खेलिरहेका हुन्छन् । ५० प्रतिशत कारोबार खस्केको कुनै कम्पनीको औसत दैनिक कारोबार ५ करोड थियो । तर, अन्तिम तीन दिनमा उक्त कम्पनीको औसत कारोबार १५ करोड भयो भने यो अवस्थामा शेयरको मूल्य बढिरहेको हुन्छ । ५० प्रतिशत बजार खस्केको अवस्थामा पनि तीन दिनको औसत कारोबार १५ करोड नै हुन्छ । तर, पछिल्ला दिनहरूमा शेयरको मूल्य बढिरहेको छ भन्ने बुझ्न सकिन्छ । न्यून मूल्यमा शेयर बेच्नेहरू थोरै हुन्छन् किनकि अधिकांशको चाहना सकेसम्म बढी मूल्यमा बेच्ने नै हुन्छ । यदि बजारमा शेयर खरीदकर्ता मात्रै भए पनि यसले शेयरको मूल्य बढ्न मद्दत गर्दछ । यसैले कारोबारको आकारले पनि मूल्य कता जाँदै छ भन्ने थाहा हुन्छ ।
आफूले गरेको लगानी ठीक छ कि छैन भन्ने बुझ्न लगानीकर्ताहरू सडकमा आउँदै छन् कि छैनन्, त्यो पनि हेरिरहनुपर्छ । मूल्य घटेर सारै न्यून बिन्दुमा पुग्यो भने लगानीकर्ताहरूले त्यो सहन सक्दैनन् र कुनै न कुनै रूपमा उनीहरू आक्रोशित भइहाल्छन् । तर, औसत लगानीकर्ताहरू यस्तो अवस्थाप्रति खासै वास्ता गर्दैनन् । बरु बजारमा सुनिएका यस्ता हल्लाहरूको विपरीत बुद्धिमतापूर्वक लगानी रणनीति तर्जुमा गर्छन् । अधिकांश लगानी सिद्धान्तहरूले पनि बजारमा चल्ने अफवाह, हल्लाको विपरीत उत्साहित भएर लगानी गरिरहन उत्प्रेरित गरेका हुन्छन् । यस्ता 'साहसिक लगानीकर्ता'हरूले बजार घटेको यस्तो अवस्थामा लगानी वृद्धि गरेर उच्चतम प्रतिफल प्राप्त गरिरहेका हुन्छन् । सन् २००७/०८ मा अमेरिकाबाट शुरू भएको आर्थिक सङ्कटको बेलामा लगानी गर्ने साहसिक लगानीकर्ताहरूले २/३ वर्षको अवधिमा प्रशस्तै कमाइसकेका छन् । यसैले कुनै बजार अत्यधिक माथि जानु वा निकै तल झर्नु लगानीकर्ताका लागि उच्चतम प्रतिफल प्राप्त गर्ने सबैभन्दा राम्रो अवसर हो । शेयरबजारको लगानीकर्ताको नाताले तपाईं अरूको कुरा सुन्न एक सेकेण्ड पनि खेर नफाल्नोस्, निर्णयआफै गर्नोस् । बजारबाट हुने नाफा-घाट तपाईंको आफ्नै हो । तपाईंको लगानी निर्णया लागि तपाईं स्वयम्भन्दा भरपर्दो विकल्प अरू कोही हुँदैन ।
लेखक नेपाल धितोपत्र बोर्डमा कार्यरत छन् । यहाँ व्यक्त विचार लेखकका निजी हुन् ।
Admin 2011-04-06