पर्यटन वर्ष२०११ सफल पार्ने चुनौती
लक्ष्मणप्रसाद भट्टराई
नेपाल पर्यटन वर्ष२०११ को दिनगन्ती शुरू भइसकेको छ । यसको औपचारिक शुभारम्भ हुन अब ३६ दिन मात्रै बाँकी छ । पर्यटन नेपालको अर्थतन्त्रमा प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्र हो । त्यसैले नेपाल पर्यटन वर्ष२०११ मा १० लाख पर्यटक भियभयाउने सरकारको महत्वाकाङ्क्षी लक्ष्यबारे सबैतिर चासो हुनु स्वाभाविक हो । यसबीचमा पर्यटन वर्षका सम्बन्धमा बहसहरू पनि भइरहेका छन् ।
पर्यटन वर्षलाई सफल बनाउनका लागि सबै राजनीतिक दल, सम्बन्धित उद्योगी-व्यवसायी, पर्यटन मन्त्रालय, नागरिक समाज र पत्रकार सबै मिल्नु आवश्यक छ । यसलाई सफल पार्न सामूहिक प्रतिबद्धता आवश्यक छ । पर्यटन वर्षको राष्ट्रिय अभियनलाई असर पुर्याउने काम कतैबाट पनि नगर्ने सर्वपक्षीय सहमति पनि भएको छ । यसैगरी सबै राजनीतिक दलले बन्द-हड्ताल नगर्ने सहमति पनि व्यक्त गरेका छन् । यसबाट एक प्रकारले जागरुक पनि बनाएको छ । पर्यटन वर्षलाई सफल बनाउनका लागि पर्यटन मन्त्रीको
अध्यक्षतामा नेपाल पर्यटन वर्ष२०११ मूल समिति गठन भइसकेको छ । यसैगरी पर्यटन सचिवको संयोजकत्वमा १४ जनाको कार्यक्रम कार्यान्वयन समिति पनि गठन भएको छ । यस काममा निजी क्षेत्रले पनि सहभागिता जनाएका छन् ।
गत आर्थिक वर्षमा सरकारले पर्यटन क्षेत्रका लागि २ करोड रुपैयाँ मात्र विनियोजन गरेको थियो । यस वर्षभने पर्यटन वर्षलाई सफल बनाउनका लागि २३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसबाट पर्यटन वर्षलाई सफल बनाउनका लागि केही सहज पक्कै भएको छ । यसका साथै पर्यटन प्रवर्द्धनका लागि मन्त्रालय मातहतमा विभिन्न कामहरू पनि भइरहेका छन् । विशेष गरेर यसको प्रचारप्रसार र शुभारम्भको तयारी तीव्र बनाइएको छ ।
नेपालको पर्यटन विकासका लागि द्वन्द्वकालमा ह्रास भएका पर्यटकीय ठाउँहरूको पुनःउत्थान र विकास कार्यक्रम अघिल्लो सरकारका पालमा ल्याइएको थियो । त्यसलाई पर्यटन वर्षमा पनि निरन्तरता दिने प्रयास गरिएको छ । यसलाई सरकारको प्रत्यक्ष सहभागितामा निरन्तरता दिइने भएको छ । यसैगरी देशभित्र जतिसक्दो धेरै पर्यटक भियभयाउन स्थानीयस्तरमा जनताको क्षमता अभिवृद्धि गराउने काम भइरहेका छन् । यसलाई हामीले ७५ वटै जिल्लामा पुर्याउने तयारी गरेका छौँ । यसको काम शुरू भइसकेको छ ।
अन्तरराष्ट्रिय क्षेत्रका पर्यटक उद्गम स्थलहरूमा प्रचारप्रसार र बजारीकरण पनि भइरहेको छ । त्यहाँबाट पनि राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ । हाम्रो सबैभन्दा ठूलो लक्ष्य भनेको पर्यटन वर्षमा १० लाख पर्यटक भियभयाउनु हो । यसका लागि नेपालभित्रका प्रमुख गन्तव्यस्थलको विकास गर्ने तयारी भएको छ । यसका लागि हामीले तराईका २२ जिल्लालाई छानेका छौँ । यसअन्तर्गत स्थानीयस्तरमा विभिन्न समिति बनाएर काम भइरहेको छ । अहिले कर्णाली विकास समिति बनाएर त्यस क्षेत्रमा पर्यटन वर्षको तयारी तीव्र बनाइएको छ । खप्तड, पूर्वाञ्चलको इलाम, र्स्वर्गद्वारीलगायतका क्षेत्रमा पर्यटन वर्ष विकास समिति गठन गरी विभिन्न काम भएका छन् । यी ठाउँहरूमा स्थानीयस्तरमा जनताको प्रत्यक्ष सहभागितामा पर्यटन विकासका लागि क्षमता अभिवृद्धि गर्ने काम भइरहेको छ । यसमा जनताले पनि उल्लेख्य सहभागिता जनाएका छन् ।
पर्यटन वर्षका लागि नेपालका सीमाक्षेत्रमा पनि विभिन्न कार्यक्रमहरू भइरहेका छन् । सीमावर्ती क्षेत्रमा गरिने कार्यक्रमअर्न्तगत सो क्षेत्र भएर आउने पर्यटकका लागि कसरी स्वागत सत्कार गर्ने र कसरी सेवा उपलब्ध गराउने भन्नेबारेमा जनतालाई तालीम दिइएको छ । यसमा सरसफाइलाई विशेष ध्यान दिइएको छ । विशेषगरी नेपालको सीमाक्षेत्र विराटनगर, काँकडभिट्टा, जनकपुर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज धनगढी, महेन्द्रनगरमा हामीले पाहुनाका लागि सरसफाइ, सेवा र सत्कारजस्ता कार्यहरू गरिसकेका छौँ ।
पर्यटन वर्षको औपचारिक शुभारम्भको मिति २०११ जनवरी १४ नजिकिँदै गर्दा मुख्य पाँच कार्यक्रमलाई ध्यान दिन आवश्यक छ । त्यसको तयारी पनि शुरू भइसकेको छ । ती कार्यक्रमहरू निम्न छन्:
एशियाली पर्यटनमन्त्रीस्तरीय सम्मेलन
छिट्टै नै पर्यटन वर्षलाई सफल बनाउनका लागि 'पर्यटनका लागि सँगसँगै' भन्ने नारासहित नेपालमा एशियाका पर्यटनमन्त्रीहरूको सम्मेलन हुँदैछ । त्यसमा दक्षिण एशियामा पर्यटकहरूको आवागमन र उनीहरूको सुविधाका बारेमा छलफल हुनेछ । यसैगरी पर्यटक आवतजावतका लागि एसियाका देशहरूबीच सहयोग आदानप्रदानका विषयमा पनि छलफल हुनेछ । यसैबीचमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क पर्यटन कार्यसमितिको बैठक पनि बस्दैछ ।
होम स्टेको विकास
राष्ट्रियस्तरमा पर्यटक आगमनका लागि क्षामता अभिवृद्धि गर्नु आवश्यक छ । पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण मानिएको होम स्टे कार्यक्रमलाई व्यवस्थित बनाउन लागिएको छ । सञ्चालनमा रहेका होम स्टेलाई हामीले प्रवर्द्धन गरिरहेका छौँ । अहिले देश भरमा ८० भन्दा बढी ठाउँमा होम स्टे सञ्चालन भएका छन् । ती ठाउँहरूमा होम स्टे सञ्चालन प्रक्रियाका बारेमा तालीम सञ्चालन भइरहेको छ । होम स्टे सञ्चालनका लागि जनचेतना बढाउने कार्यक्रम पनि गरिएको छ । होम स्टे कार्यक्रमअर्न्तगत नै विभिन्न २५ जिल्लाका सदरमुकाममा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यसमा हामीले होम स्टे कार्यविधि बनाएका छौँ । यसको दर्ता र प्रचारप्रसारमा तीव्रता दिएका छौँ । यसमा निजी क्षेत्रको पनि उल्लेख्य सहभागिता छ । यसबीचमा काभ्रेको बल्थली र पात्लेखेत, इलामको श्रीअन्तु र वरबोटेजस्ता ठाउँमा नयाँ होम स्टेहरू सञ्चालनमा आउन लागेका छन् । यसको सम्पूर्ण तयारी भइसकेको जानकारी आएको छ । त्यहाँ पनि हामीले होम स्टे सञ्चालन प्रक्रियाका सम्बन्धमा तालीम दिएर आएका छौँ ।
नयाँ उत्पादन
पर्यटन प्रवर्द्धनका लागि यससँग सम्बन्धित नयाँनयाँ उत्पादनको खोजी र विकास गर्ने कामहरू भइरहेका छन् । यसमा पर्यटन 'प्याकेज' कार्यक्रम पनि समावेश गरिएको छ । नयाँ गन्तव्यको विकास गर्ने काम पनि भइरहेको छ । यसका लागि विभिन्न सहयोगात्मक कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन् ।
प्रचारप्रसार
अन्तरराष्ट्रिय पर्यटक रहने बजारमा प्रचारप्रसारका विभिन्न कामहरू भइरहेका छन् । बढी पर्यटक आउन सक्ने हाम्रा दुइ छिमेकी मुलुक चीन र भारतलाई विशेष महइभ्व दिएर बढी प्रचारप्रसार गरिएको छ । भारतमा हामीले विभिन्न टेलिभिजन र स्थानीय रेडियोमार्फत प्रचारप्रसार गरेका छौँ ।
जनसहभागिता
जनसहभागिताविना पर्यटन वर्ष सफल हुदैन र यसको औचित्य पनि हुदैन । त्यसैले पर्यटन वर्षलाई भव्य रूपमा सफल बनाउनका लागि हामीले स्थानीयस्तरमा जनसहभागितालाई महत्व दिएका छौँ । यसका लागि आन्तिरिक रूपमा विभिन्न ठाउँमा विकास समितिहरू गठन भएका छन् ।
पर्यटन वर्षसफल बनाउनका लागि विभिन्न चरणमा कार्यक्रम भए । अहिले अन्तिम चरणमा आइपुग्दा पर्यटन क्षेत्रमा सबैतिरबाट सहयोग मिलिरहेको छ । राजनीतिक दलहरूले पनि पर्यटन वर्षलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अहिलेको सन्दर्भमा पनि नेपालका ठूला साना अधिकांश सबै होटलहरू पर्यटकले भरिएका छन् । पर्यटन वर्षमा १० लाख पर्यटक भियभयाउन हामी सक्षम छौँ भनेर देखाउनु छ । यसमा सबै क्षेत्रको साथ भयो भने अवश्य पनि सकिन्छ ।
अहिले हामीसँग देशको ध्वजावाहकसँग पर्याप्त विमान भइदिएको भए विभिन्न हवाई प्याकेज ल्याएर कम भाडामा पर्यटक ल्याउन सकिन्थ्यो । तर, त्यसो हुन सकेन । अहिले विभिन्न २७ वटा अन्तरराष्ट्रिय एयरलायन्सले नेपालमा उडान गरिरहेका छन् । उनीहरूले आफूखुशी भाडा असुलेका छन् । उनीहरूको ग्यारेन्टी पनि छैन । नेपाल वायुसेवा निगमको जहाज के कति कारणले आउन नसकेको हो प्रस्ट छैन । यस्ता क्षेत्रमा राजनीति नहुनुपर्ने हो । तर, विडम्बना नै भन्नुपर्छ, त्यही भइरहेको छ ।
पर्यटक मात्रै यस्तो क्षेत्र हो, जसले आर्थिक क्षेत्रलाई सबल बनाउन सक्छ । पर्यटन वर्षलाई सफल बनाउन अझै पनि सामूहिक प्रतिबद्धता हुनु जरुरी छ । यसका लागि भौतिक पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्छ । नेपालमा एकजना पर्यटकबराबर प्रत्यक्ष वा अप्रत्यक्ष गरी १० जनालाई रोजगारी मिलिरहेको छ । यसतर्फसबैले ख्याल गर्नुपर्छ ।
लेखक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता हुन् ।