शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

वैदेशिक रोजगारको अर्को पक्ष
भीष्म उप्रेती
नेपालको बढ्दो बेरोजगारी र न्यून आर्थिक वृद्धिका बीचमा वैदेशिक रोजगारी अर्थतन्त्रलाई प्राण दिने प्रमुख तत्त्वका रूपमा देखापरेको छ । निरन्तर रूपले आयातमा भइरहेको वृद्धि तथा निर्यातमा सुधार हुन नसकेको अवस्था, विदेशी मुद्राको सञ्चितिमा आइरहेको ह्रास तथा शोधनान्तर घाटा, देशभित्र लामो समयदेखिको राजनीतिक अस्थिरता तथा खराब श्रमसम्बन्धले बिगारेको लगानीयोग्य वातावरण आदि कारणले गर्दा देशभित्र भएको थोरैथोरै पूँजी पनि पयालन भइरहेको यथार्थ छ । यस्तो अवस्थामा यो देशको अर्थतन्त्रलाई गर्लम्मै ढल्नबाट अहिलेसम्म बचाएर राख्ने एकमात्र स्रोत भनेको वैदेशिक रोजगारी नै हो । तर, स्रोत परिचालनका दृष्टिले हेर्ने हो भने यो स्रोत पनि दीर्घकालीन र दिगो भने होइन । यति भईकन पनि वैदेशिक रोजगारी देशभित्र रोजगारी पाउन असफल भइरहेका तथा कृषिक्षेत्रले समेत अपेक्षित प्रतिफल दिन नसकेर निराश भएका देशका युवावर्गको आकर्षणका रूपमा रहेको छ । यसैबाट युवाहरूमा बढ्ने असन्तोष र त्यसले निम्त्याउने द्वन्द्व एवम् आन्दोलनले बढारिनबाट नेपाली राजनीतिक दल एवम् नेताहरू अहिलेसम्म बचेका छन् । झट्ट हेर्दा वैदेशिक रोजगारीबाट नेपालमा ठूलो मात्रामा विदेशी मुद्रा भित्रिइरहेको छ, ग्रामीण क्षेत्र एवम् दूरदराजका नेपालीहरूले समेत केही आर्जन गरेकाले गाउँगाउँका घरहरूमा टिनका छाना टल्केका देखिन्छन् । बालबालिकाहरूले पढ्न पाएका र बिहानबेलुका खान पाएका छन् । देशभित्र कुनै उद्यमशीलता नभए पनि कछुवा गतिमै भए पनि नेपालीहरूको प्रतिव्यक्ति आय बढेको छ । सरकार एवम् नीतिनिर्माताहरूले अहिलेलाई ढुक्कले निदाउन र आर्जन गर्न पाएका छन् ।

नेपालीहरूको वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण चित्र यति रङ्गीन र आकर्षक मात्र छैन । यसको अर्को पाटो पनि छ, जुन आर्थिक, सामाजिक एवम् मनोवैज्ञानिक दृष्टिले हेर्दा निकै भयावहपूर्ण देखिन्छ । त्यस पक्षमा भने नेपाली राजनीतिज्ञ, नीतिनिर्माता, बौद्धिक वर्ग एवम् कलमजीवीहरूको ध्यान कमै मात्र पुगेको अनुभव हुन्छ । यस लेखमा नेपालीहरूको वैदेशिक रोजगारको त्यो अर्को पाटोलाई केही केलाउने प्रयत्न गरिएको छ ।

अधिकांश नेपाली युवाको लक्ष्य भनेको विदेश जानु हो । सक्ने र अलि सम्पन्न घरका युवा उच्च अध्ययनका नाममा यूरोप, अमेरिका र अष्ट्रेलियातिर गइरहेका छन् । अनि अलि कमजोर, अध्ययन गर्न नसकेका वा पहुँच कम भएका अधिकांश ग्रामीण क्षेत्रका युवाहरू अरब तथा मलेसिया जाने गरेका छन् । यसबाहेक गैरकानूनी रूपमा संसारका विभिन्न कुनामा नेपालीहरू पुगेका घटना बेलाबेलामा सार्वजनिक भइरहेका छन् । देशका अधिकांश शहरोन्मुख एवम् ग्रामीण क्षेत्रहरूमा युवकहरू भेट्न कठिन पर्ने स्थिति छ । उक्त क्षेत्रहरूमा कतिपय अवस्थामा त मलामी जाने मान्छेसमेत पाउन मुश्किल छ । गाउँघरमा बूढाबूढी, केटाकेटी र विदेशिएका युवकका जवान श्रीमतीहरूको सङ्ख्या अत्यधिक छ । यसले गर्दा साँझ वा राति कोही बिरामी भइहाल्यो भने अस्पताल वा स्वास्थ्य केन्द्रसम्म लैजाने सहाराको समेत अभाव छ ।

नेपाली परिवारहरूसँग धेरथोर खेतबारी हुन्छ । त्यसमा खनिखोस्री गरेर अन्न-तरकारी तथा फलफूल उत्पादन गरेर जीविकोपार्जन गर्ने नेपाली समाजको परम्परा हो । अहिले पनि देशको कुल आम्दानीको लगभग ३२ प्रतिशत हिस्सा कृषिकै छ । कृषि पेशा त्यसै पनि परम्परागत किसिमकै छ । त्यसमा पनि अहिले धेरै जमीन बाँझै रहन थालेको छ । भएको जमिनमा समेत खेतीकिसानी गर्ने पाखुरा गाउँमा छैनन् । आफ्नो जमीन बाँझो राखेर अरबमा कमाएको ८-१० हजार रुपैयाँले यहाँ घरपरिवार धानिनुपरेको छ । यसले एकातिर कृषिमा समेत नेपालीहरूलाई परनिर्भर बनाउँदै गइरहेको छ । अर्कातिर, किनेर खाएको खाद्यान्न तथा तरकारी, फलफूलमा अखाद्य पदार्थका साथै विषादीको प्रयोग धेरै हुने गरेकाले स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको छ । देशसँग निर्यात गर्ने क्षमता कमजोर बन्दै गएको अवस्थामा आफ्नै बारी र खेत बाँझो राखेर यहीँ उत्पादन हुन सक्ने वस्तु आयात गर्नु परिरहेको छ । यसले देशको व्यापार सन्तुलनलाई समेत गम्भीर असर पारिरहेको देखिन्छ भने सीमित रूपले आर्जन गरेको विदेशी मुद्राको खपतसमेत बढिरहेको छ । यसले अन्तत: देशको आर्थिक विकास र स्थिरतालाई गम्भीर असर पुर्याउनेछ ।

यूरोप, अमेरिकातिर विदेशिएका नेपालीहरूबाट देशमा रेमिटयान्सको आप्रवाह धेरै हुँदैन । रेमिटयान्स आप्रवाह हुने मलेसिया र विशेषत: खाडी मुलुकहरूमा वैदेशिक रोजगारीमा जाने अदक्ष नेपाली कामदारको औसत आय मासिक रू. १० हजारको हाराहारीमा मात्र हुने गरेको देखिन्छ । ती मुलुकमा जाने अधिकांशको काँधमा एक-डेढ लाख रुपैयाँ कर्जासमेत रहेको देखिन्छ । तसथ, त्यहाँबाट हुने कमाइले कर्जा तिर्ने एवम् परिवारका सदस्यहरूले लाउनेखाने गर्दा बचत हुने देखिँदैन । कतिपय अवस्थामा घर खर्च चलाउनै नपुग्नेसमेत देखिन्छ । घरमा रहेकी श्रीमतीलाई लोग्नेले विदेशमा दु:ख गरेर कमाएको पैसा नजोगाएर खर्च गरेर सकी भन्ने आरोप पनि लागेकै देखिन्छ । यसो हुँदा अर्थतन्त्रमा विदेशी मुद्रा आर्जन भई तत्काल केही सहयोग पुगे पनि बचत नहुँदा दीर्घकालीन दृष्टिले लगानी एवम् बचत अभिवृद्धि हुने देखिँदैन ।

  एकपटक बाहिरिएको युवा कम्तीमा पनि २ वर्षसम्म घर आउँदैन । त्यसपछि पनि समयावधि लम्ब्याएर बस्नेको सङ्ख्या ठूलै छ । घरमा जवान श्रीमती एक्लै हुन्छिन् । स्वाभाविक रूपले उनलाई लोग्नेको चाहना हुन्छ नै । यस्तो अवस्थामा लामो समयसम्म अलग भएपछि लोग्नेप्रतिको स्नेह एवम् हार्दिकता विस्तारै पातलिँदै जाँदैन भन्न पनि सकिन्न । अर्कातिर, नजिकमा जो छ र जोसँग बारम्बार भेट भइरहन्छ, त्यसैसँग भावना बढ्दै जानु पनि स्वाभाविक हो । यस्तो अवस्थामा बिस्तारै लुकिछिपी गर्नेहरूको सङ्ख्या बढ्दै जान सक्छ । गाउँघरमा विदेशमा लामो समय बसेका लोग्नेका श्रीमती कहिलेकाहीँ अर्कैसँग गएको तथा आत्महत्यासमेत गरेको सुन्न र देख्न पाइन्छ । यो प्रवृत्ति भुसको आगोझैँ भित्रभित्रै बलुन्जेल थाहा हुँदैन । तर, ज्वालाझैँ बाहिर दन्किएपछि समाजले नियन्त्रण गर्न सक्ने छैन । सामाजिक मूल्य, मान्यता एवम् अनुशासनलाई त्यसबेला कसरी परिभाषित गर्नुपर्ने हो र समाज एवम् परिवारलाई विखण्डन हुनबाट कसरी जोगाउने हो भन्ने विषयमा आजैदेखि गम्भीर हुनुपर्ने बेला आइसकेको छ ।

  नेपाली सामाजिक संरचनालाई हेर्दा पनि सधैं बुहारीमाथि सासु हाबी हुने गरेकै छिन् । लोग्ने घरमा भएको अवस्थामा केही हदसम्म लोग्नेको स्नेह एवम् सुरक्षाले बुहार्तन स्याहार्न सान्त्वना मिल्छ । तर, लोग्ने नै लामो समयसम्म नभएपछि घरमा सासु, ससुरा एवम् परिवारका अन्य सदस्यबाट हुने छेडखानी, लाञ्छना एवम् घरभित्रको कामको अत्यधिक बोझले युवती बुहारीहरू थिल्थिलो हुन्छन् । साथै, घरबाहिरबाट समेत उनीहरूले सुरक्षित महसूस गर्दैनन् । यसरी, अत्यधिक कामको बोझले उनीहरूमा निराशा थप्दै लैजान्छ । अर्कातिर यौन र प्रेमको विषयमा चर्चा-परिचर्चा गर्न मन नपराउने नेपाली सामाजिक संरचनाले विवाहित नेपाली युवती चेलीहरूको मनोदशा बुझ्न चाहेको देखिँदैन । यसबाट लोग्ने वैदेशिक रोजगारमा गएका अत्यधिक परिवारमा महिलाहरू मनोवैज्ञानिक रूपले कमजोर एवम् समस्यामा रहेका देखिन्छन् ।

  यस्ता महिलाहरूले कुनै किसिमले यौन चाहनालाई पूरा गरेछन् नै भने पनि लामो समयसम्म लोग्नेबाट अलग भएकी महिलाले सन्तान जन्माउन मिल्ने कुरा भएन । लाखौंलाख युवकहरू लामो समयसम्म विदेशमा बस्ता उनीहरूको सन्तान जन्माउने क्षमतासमेत घट्न जान्छ । फलस्वरूप आज सामान्य देखिए तापनि आउँदो २०-२५ वर्षपछि नेपालमा युवाको तुलनामा वृद्धहरूको सङ्ख्या अत्यधिक हुनेछ । यसबाट नेपालको जन्मदर घट्न जानेछ र भविष्यमा देशलाई आवश्यक पर्ने युवा जनशक्तिको कमी हुन जानेछ ।

  वैदेशिक रोजगारमा जाँदा कतिपय युवकहरू श्रीमतीलाई गर्भवती अवस्थामा छोडेरसमेत गएका देखिन्छन् । यसैगरी, कतिपय युवकहरू भर्खर जन्मेका वा वर्षदिन पनि नपुगेका छोराछोरीहरू छोडेर गएका हुन्छन् । सामान्यतया बालबालिकाको मस्तिष्कको विकास हुने अवस्था शुरूको ६ वर्षसम्म हो भनिन्छ । सो उमेरमा उनीहरूलाई बाबुआमाको अत्यधिक हेरचाह, माया एवम् स्नेहको आवश्यकता पर्दछ । तर, वैदेशिक रोजगारीमा जानेहरूका छोराछोरीले आमाबाबुमध्ये एकजनाको मात्र मायाममता एवम् सुरक्षा पाउने भए भने छुट्टिएर बसेका बाबुआमाकै मनोदशा सामान्य एवम् स्वस्थ हुन्छ भन्ने निश्चित हुँदैन । यसो हुँदा बच्चासँगै भएकाबाट पनि उचित स्याहारसुसार एवम् ममता पाउन सक्ने अवस्था रहँदैन । यस्तो परिस्थितिमा हुर्केका बच्चाको पूर्ण विकास हुन कठिन हुन्छ भने मनोदशासमेत अनौठो हुन जाने हुन्छ ।

उपर्युक्त सबै पक्षहरूलाई मसिनोसँग केलाएर हेर्ने हो भने वैदेशिक रोजगारीबाट प्राप्त हुने २(४ लाख रुपैयाँभन्दा दीर्घकालमा देश, समाज एवम् परिवारले बेहोर्नुपर्ने लागत धेरै ठूलो देखिन्छ । आजको मुख्य प्रश्न भनेको के हामी यति ठूलो सामाजिक, मनोवैज्ञानिक एवम् आर्थिक लागत बेहोर्न साँच्चै तयार छौं ? वा, भोलिको पुस्तालाई अप्ठयारो पर्ने गरी अनावश्यक रूपले अनेकौं विकृतिको भारी बोकाउन नैतिक रूपले हामीलाई मिल्छ ? यी प्रश्नहरूलाई आज राजनीति एवम् देशको नेतृत्व गर्नेहरू, नीति-निर्माताहरू एवम् त्यसलाई लागू गराउने स्थानमा बसेर अधिकारको प्रयोग गरिरहेकाहरू सबैले गम्भीरतापूर्वक विचार गर्न अत्यावश्यक भइसकेको छ । देशभित्रै रोजगारी सृजना गर्नु, भएका जग्गाजमीनको उचित उपयोग गरी उत्पादन बढाउनु एवम् कृषिका विभिन्न हाँगाहरूलाई व्यवसायीकरण गर्न कृषक एवम् युवाहरूलाई उत्प्रेरित गर्नु आवश्यक छ । उनीहरूलाई वित्तीय एवम् प्राविधिक सहयोग उपलब्ध गराई देशभित्रै आर्थिक क्रियाकलाप बढाउनु नै आयातलाई प्रतिस्थापन गर्ने तथा देशको दीर्घकालीन हितमा हुने देखिन्छ । बेला छँदै बुद्धि पुर्याइएन भने पछि पछुताएर मात्र समाधान आउने छैन ।
लेखक नेपाल राष्ट्र बैङ्कका उपनिर्देशक हुन् ।
यहाँ व्यक्त विचार लेखकका निजी हुन् ।

Admin 2011-07-08