पानी र विकास
कुलचन्द्र अर्याल
शहरीकरणसँगै चुलिँदै गएको पानीको चुनौतीलाई नारा बनाएर यो वर्षको पानी दिवस मनाइएको छ । नेपालमा समिति नै बनाएर जलसप्ताह मनाइयो । अव्यवस्थित शहरीकरण, जनसङ्ख्याको केन्द्रीकरण र थेग्नै नसक्ने चाप, पानीका स्रोतहरूको प्रदूषण तथा वन र सीमसारलगायतको विनाशका कारण शहरी क्षेत्रमा पानीको अभाव चर्किंदै गएको छ । मूलको पानी अभाव हुन थालेपछि जमीनमुनिबाट अत्यधिक तान्न थालिएको छ । यसकारण भूमिगत जल सतहसमेत घट्दै गएको छ । यसो हुँदै जाँदा भविष्यमा विज्ञहरूले काठमाडौं शहर भासिने खतरामा रहेको चेतावनी पनि दिएका छन् । यस्तो बेला कङ्क्रिटको जङ्गलको निर्माणसँगै बढेका पानीको स्रोत अभाव र क्षयीकरण अहिले मुख्य चासोको विषय बनिरहेको छ ।
जीवनदायिनी पानी सम्पूर्ण जीवित पदार्थका लागि अपरिहार्य तत्त्व हो । यसको अभावमा जीवनको कल्पना गर्न सकिँदैन । तर, जनसङ्ख्या वृद्धि, स्रोतको विनाश तथा विश्व उष्णीकरणलगायतका कारणले गर्दा मानिसको पानीमाथिको पहुँच गुम्दै गएको छ । विश्वमा अहिले पनि १ अर्ब ११ करोड मानिस स्वच्छ खानेपानीको पहुँचबाहिर छन् । विश्वमा दूषित पानीको प्रयोगबाट हुने विभिन्न रोगका कारण वर्षेनि २० लाख बालबालिका र दिनहुँ ५ हजार मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । संयुक्त राष्ट्रसङ्घले तयार पारेको सहस्राब्दी विकास लक्ष्य प्राप्तिमा भइरहेको प्रगतिबारेको पछिल्लो प्रतिवेदनले अहिले पनि विकासोन्मुख देशका ग्रामीण क्षेत्रहरूमा १० मा आठ जनाले स्वच्छ पानी पिउन नपाइरहेको देखाएको छ । प्रतिवेदनले एशिया र अफ्रिकामा सयमा ६० भन्दा बढीले आधारभूत सरसफाइको सुविधा नपाइरहेको देखाएको छ । विभिन्न अध्ययनहरूले विकासशील देशमा दूषित पानीका कारण लाग्ने रोगव्याधिबाट हुने मानवीय तथा भौतिक क्षति र त्यसको उपचारमा हुने खर्चका कारण गार्हस्थ्य उत्पादनमा १० प्रतिशतले ह्रास हुने गरेको देखाएका छन् । पानीको स्रोतको अत्यधिक दोहन, अव्यवस्थित शहरीकरण तथा औद्योगीकरणले गर्दा जीवनयापन अस्वस्थकर र सङ्कटग्रस्त बन्दै छ । जलप्रदूषणका कारण हुने मानवीय क्षति तथा रोगव्याधि नियन्त्रणमा गरीब देशहरूले ठूलो रकम लगानी गर्नु परिरहेको छ । यसका कारण गरीब देशहरूमा आर्थिक वृद्धि झनै सुस्त बन्ने विज्ञहरूको भनाइ ती देशमा बारम्बार फैलिरहने महामारीले पुष्टि गर्छ । गरीब देशहरूले नागरिकलाई आधारभूत सरसफाइ र स्वच्छ खानेपानीको पहुँच पुर्याउन सकेका छैनन् । त्यसो हुँदा रोगव्याधजन्य मानवीय सङ्कट निवारणमा विकास बजेटको ठूलो हिस्सा खर्च गरिरहनु परेको स्थिति छ । यसले पनि स्वच्छ पानीको अभाव विकासका लागि मुख्य चुनौती बनेको प्रस्ट हुन्छ ।
नेपालका सरकारी तथ्याङ्कले १ सयमा झण्डै ८० जनामा धाराको खानेपानी पहुँच पुगेको देखाएको छ । तर, सुरक्षित पानीको पहुँचमा १ सयमा १० जना नेपाली छन् । नेपालमा दूषित पानीको प्रयोग तथा अस्वस्थकर जीवनयापनको कारण लाग्ने विभिन्न रोगबाट वर्षकोनि १५ हजार बालबालिकाको ज्यान जाने गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले नेपालमा सयमा ५२ जना मानिसले खुला ठाउँमा दिसापिसाब गर्ने गरेको देखाएको छ । शहरी भेकका सयमा १५ जना र ग्रामीण भेकका सयमा ६० जना मानिस चर्पीको पहुँचबाहिर छन् । देशमा बढी नागरिक चर्पीको पहुँचबाहिर रहेका ११ ओटा मुख्य देशमध्ये नेपाल पनि एक हो । नदी-खोलालगायतका पानीका स्रोतहरूमा सीधै मलमूत्रका ढल मिसाउने क्रियाकलाप पनि जलप्रदूषणका मुख्य कारक हुन् । यसले अन्तत: स्वच्छ पानीको विनास निम्त्याइरहेको छ । नेपालमा प्रशस्त पानीका स्रोत भए पनि पानीको वितरण र व्यवस्थापन प्रभावकारी छैन । यसो हुँदा ग्रामीण क्षेत्रका बासिन्दा काकाकुल बन्नु परिरहेको छ । मानिसको सङ्ख्या बढेसँगै पानीको अभाव चर्किंदा शहरबासीको दैनिकी कठिन बनिरहेको छ ।
काठमाडौंमा दैनिक ३२ करोड लिटर पानीको माग छ । तर, वर्षा याममा १७ करोड र हिउँदमा ९-१० करोड लिटर मात्रै पानीको आपूर्ति हुन सकिरहेको छ । तर, राजधानीमा वितरित पानीमा समेत विभिन्न रोगका हानिकारक जिवाणु पाइएको अनुसन्धानले देखाएको छ । काठमाडौंमा वितरित धाराको पानीमध्ये झण्डै ६१ प्रतिशतमा रोगका जिवाणु पाइएका छन् । स्वच्छ भनेर वितरण गरिने बोतलका पानीमध्ये ५२ प्रतिशत असुरक्षित रहेको देखाएको छ । विभिन्न भूमिगत स्रोतबाट डीप बोरिङ गरेर निकालिएका पानीमा समेत आर्सेनिक, आइरनलगायतका हानिकारक धातु पाइएको छ । यस्तो पानीमा ठूलो मात्रामा अमोनियालगायतको हानिकारक ग्यास पाइएको छ । सतहको पानी सङ्कलनदेखि लिएर वितरणसम्मका सबै स्थानमा कुनै पनि बेला प्रदूषणको चपेटामा पर्न सक्छ । किनकि वितरित पाइपहरू वर्षौं पुराना खिया लागेका छन् । कतिपय ठाउँमा फुटेका र चुहिएका छन् । यस्तो अवस्थामा ढलको पानी समेत मिसिन सक्छ । तर, उपभोक्ताले त्यही पानी पाउनसमेत मरिहत्ते गर्नुपरेको छ । धाराबाट थापेको पानीलाई तेलजस्तै गरी फारो गरेर चलाउनुपर्ने बाध्यता छ ।
यद्यपि, पानीको विकराल समस्या विश्वव्यापी बनिसकेको छ । वैज्ञानिकहरू भन्छन्, प्रकृतिमाथिको मानवीय अतिक्रमण यही रफ्तारमा जारी रहने हो भने तातो तावाझैं तातिँदै गएको पृथ्वीमा महाप्रलय कुर्नुबाहेक अर्को विकल्प हामीसँग रहने छैन । विश्व उष्णीकरणका कारण गत शताब्दीमा विश्वको तापक्रम करीब एक डिग्री सेल्सियसले बढेको वैज्ञानिकहरूको अनुमान छ । जलवायु परिवर्तनको यही दर कायम रहे र हरितगृह ग्यास उत्सर्जनको परिणाममा उल्लेख्य कटौती हुन नसके एक्साइसौं शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम साढे ६ डिग्री सेल्सियससम्मले बढ्न सक्ने आईपीसीसीको प्रतिवेदनमा उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (यूएनईपी)ले सन् १९९९ मा गरेको एक अध्ययनले जलवायु परिवर्तन र पानी सङ्कटलाई संसारका दुई मुख्य समस्याका रूपमा चित्रण गरेको थियो । जनसङ्ख्याको वृद्धिसँगै पानीको माग यसरी बढ्दैछ कि अबको दुई दशकमा अहिलेको तुलनामा त्यो ४० प्रतिशतले बढी हुनेछ । अहिले पनि कुल पानी उपयोगको ७० प्रतिशत हिस्सा कृषिक्षेत्रमा उपयोग हुँदै आएको छ । तर, बढ्दो जनसङ्ख्यालाई मुखमा माड लगाउने हो भने सन् २०२० सम्ममै हामीसँग उपलब्ध पानी १७ प्रतिशतले अपुग हुनेछ, जसका कारण दशौं लाख मानिस भोक-प्यासमा छटपटाउनुपर्ने खतरा छ । एकातर्फ विश्व उष्णीकरणका कारण पानीका स्रोतहरू नासिँदै छन् भने अर्कातर्फतीव्र जनसङ्ख्या वृद्धिका कारण स्रोतहरूको दिगो उपयोग हुन सकेको छैन । यसो हुँदा स्रोतहरू प्रदूषणको चपेटामा परेर उपयोगविहीन बन्न पुगेका छन् । जनसङ्ख्या बढेसँगै प्रदूषण र रोगव्याध पनि बढिरहेका छन् ।
पृथ्वीको ७० प्रतिशत भाग पानीले ढाकेको छ । तर, त्यसको ९७ प्रतिशत समुद्रमा नुनिलो पानीका रूपमा छ । बाँकी रहेको पानीमध्ये ८० प्रतिशत पनि हिउँका रूपमा रहेको छ जुन उपभोग्य अवस्थामा छैन । केवल एक भागभन्दा पनि कम पानी नदीनाला, खोला इत्यादिका रूपमा उपभोग्य रहेको छ । तर, त्यही पानी पनि दिनानुदिन नासिने क्रममा छ । जनसङ्ख्याको वृद्धि, जलवायु परिवर्तन, वातावरणीय विपत्ति र प्रकोपहरूमा वृद्धि तथा पानीका स्रोतहरूको प्रदूषण वा विनाशले स्वच्छ उपभोग्य पानीमाथिको पहुँच क्रमश: घट्दै छ । अर्कोतर्फ आधारभूत सरसफाइको अभावमा उत्पन्न समस्याका कारण आर्थिक तथा मानवीय क्षतिको शृङ्खला बढ्दै छ । यस्तो भयानक परिदृश्य अन्तत: विकासको मुख्य बाधक बनिरहेको छ ।
लेखक पर्यावरणविद् हुन् ।
Admin 2011-04-07