(तरुण खन्ना, स्पाण्टिएगो मिङ्गो)
आर्थिक अवधारणाहरूमध्ये सबैभन्दा धेरै प्रशंसित एवम् निन्दित अवधारणा होर्-अर्थतन्त्रको खास क्षेत्रको विकास गर्ने उद्देश्य ल्याइने क्षेत्रगत अथवा औद्योगिक नीति । पूर्वी एशियाली देशहरूको उत्थानबारे अध्ययन गर्नेहरू यस्तो नीतिका कट्टर प्रशंसक एवम् पक्षपाती हुन् । तर, यसका विरोधीहरू भने यस नीतिको नाम सुन्दैमा खतरा हुने देख्छन् । यसको र्समर्थन गर्नेहरू यसबाट हासिल भएको आर्थिक विकासलाई आफ्नो धारणाका आधारका रूपमा प्रस्तुत गर्छन् । यसका विरोधीहरू भने यस नीतिका कारण अर्बौं अझ खर्बौं डलर नालीमा बगाइएको ठान्छन् ।
केही समयदेखि नवीकरणीय इन्धनका विषयमा निकै वादविवाद चलिरहेको छ । सफा ऊर्जाको प्रवर्द्धन गर्ने उद्देश्यले विश्वभरि सार्वजनिक प्रोत्साहन लगानीका रूपमा १ खर्ब ८४ अर्ब डलर छुटयाइएको छ । त्यसमध्ये सबैभन्दा धेरै अर्थात् ६७ अर्ब डलर संयुक्त राज्य अमेरिकाले र ४७ अर्ब डलर चीनले छुटयाएका छन् । यस क्षेत्रमा केही प्रगति पनि अवश्य भएको छ । डेनमार्कको कुल ऊर्जामागको करीब २० प्रतिशत वायुऊर्जाबाट प्राप्त भइरहेको छ । स्पेन र पोर्चुगलमा यो दर करीब १५ प्रतिशत छ । तैपनि सफलताको सूत्र भने अझै पनि पत्ता लागेको छैन ।
औद्योगिक नीतिका सम्बन्धमा हाल अत्यन्त विपरीत धारणाहरू विद्यमान छन् । यस प्रसङ्गमा १९७० को दशकदेखि ब्राजिलले नवीकरणीय इन्धनको प्रवर्द्धनमा हासिल गरेको अनुभव प्रत्यक्ष रूपमा सान्दर्भिक छ । ब्रजिलमा यस उद्योगको विकासमा 'प्रो-आल्कूल’ भनिने नीतिगत कार्यक्रमको भूमिका निर्णायक थियो । आज ब्राजिल नवीकरणीय इन्धनको उत्पादनमा विश्वकै सर्वाधिक प्रतिस्पर्धी राष्ट्र हो । खास गरेर उसले बायोइथानोलमा आधारित ऊर्जा उत्पादन गर्छ । त्यहाँ हल्का सवारी साधनमा प्रयोग हुने इन्धनको ५० प्रतिशतभन्दा बढी इथानोलबाट आउने गरेको छ ।
र, ल्याटिन अमेरिकाकै एउटा सबभन्दा ठूलो कम्पनी ब्राजिलियन ऊर्जा उत्पादक पेत्रोब्रासको अनुमानमा २०२० सम्ममा कुल ऊर्जाखपतमा इथानोलको अंश ८० प्रतिशतभन्दा बढी पुग्ने सम्भावना छ । हाम्रो अनुसन्धानले के देखाउछँ भने ब्राजिलमा बायोइथानोल उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नमा औद्योगिक नीतिको हात छ । १९७० को दशकमा तेलको मूल्य बढेपछि सरकारले यस उद्योगको प्रवर्द्धन गर्न बृहत् कार्यक्रम ल्यायो र त्यसले नयाँ उद्योगको जन्म दियो ।
तर, यस उद्योगको विकासमा प्रतिस्पर्धाको निर्णायक भूमिका छ । अरू देशहरूले हाल जे प्रयास गर्दै छन् त्यसैगरी ब्राजिल पनि ऊर्जामा आत्मनिर्भर हुन प्रयास गर्दै थियो । तर, सित्तैमा पाइने उपहारले कहिल्यै पनि अपेक्षित परिणाम हासिल हुदैन । र, औद्योगिक नीतिका आलोचकहरूले यही तथ्यलाई स्मरण गराउँछन् । यस्तै सित्तैमा पाइएको उपहारले गर्दा उत्पन्न परिणामपछिको स्थितिमा सही कदम चालेको हुनाले ब्राजिलको सफलता प्राप्त भएको हो । अन्तरराष्ट्रिय बजारमा ऊर्जाको मूल्य स्वाट्टै घटेपछि ब्राजिलले अनुदान वितरणको धारा बन्द गर्यो । त्यसपछि डार्बिनको सिद्धान्तअनुसारको निर्दयी प्रतिस्पर्धा शुरू भयो । र, ब्राजिलको प्रो-आल्कूल नीतिको सफलताका पछाडि यस प्रतिस्पर्धात्मक तार्किकताको भूमिका निर्णायक थियो ।
प्रो आल्कूल नीतिअन्तर्गत जुन खेलाडी प्रतिस्पर्धाको मैदानमा उत्रने सम्भावना थिएन, उनीहरूलाई पनि सहभागी गराउने गरी प्रोत्साहन उपलब्ध गराइयो । डिष्टिलरीको स्थापना गर्न न्यून ब्याजदरमा ऋण र ग्यारेण्टी उपलब्ध गराइयो । साथै, इथानोलबाट चल्ने गाडी खरीदमा करसम्बन्धी सुविधा प्रदान गरियो । पेट्रोलियमको आकर्षक विकल्प हुन सक्ने गरी इथानोलको मूल्य निर्धारण गरियो । अनि सरकारले पोत्रोब्रासलाई यो नवीकरणीय ऊर्जा वितरण गर्न प्रोत्साहित गर्यो ।
पेट्रोल पम्पहरूमा इथानोलका पम्प पनि लगाइए । सरकारले प्रमुख गाडीउत्पादक कम्पनीहरूलाई शतप्रतिशत इथानोल प्रयोग गर्न सक्ने गाडी उत्पादन गर्न प्रोत्साहन दिने गरी सम्झौता पनि गर्यो । आज ब्राजिल पुग्ने जोकोहीले यस्ताखाले इन्धन उपयोग गर्न सक्ने कारहरू जताततै देख्न सक्छ । यस्ता गाडीको टयाङ्की भर्दाको अनुभव रमाइलो हुन्छ । तेल भर्ने स्टेशनभित्र छिर्नुअघि ड्राइभरले परम्परागत तेल र इथानोलमा कुन सस्तो पर्ला भनेर हिसाब गर्छ र अनि मात्र कुन पम्पअगाडि आफ्नो गाडी खडा गर्ने भनेर निर्णय गर्छ । उही परिमाणको पेट्रोलमा भन्दा इथानोलमा ऊर्जाशक्ति ३० प्रतिशत कम हुन्छ ।
शुरूमा ब्राजिलको नीतिले सबै किसिमका उद्यमीहरूलाई आकर्षित गर्यो । तीमध्ये केही साँच्चै नै प्रतिभावान् थिए । नयाँ अनुदान र प्रोत्साहनले गर्दा यो उद्योग दीर्घकालीन लगानीका लागि अत्यन्तै आकर्षक भएको उनीहरूले देखे । उनीहरूसँगै गलत नीयत भएका उद्यमीहरू पनि सरकारको उदारताका कारण यस क्षेत्रमा प्रवेश गरे । तर, भाग्यवश विजेता र हरुवाहरूलाई आफैंले छुटयाउने असम्भव दुष्प्रयास सरकारले गरेन ।
सन् १९९० सम्ममा प्रमुख अनुदान एवम् नीति पनि बन्द गरिए । यस उद्योगको नियमन गर्न छोडियो । ब्राजिलको इथानोल उद्योगमा उद्यमीहरूको प्रवेश र बहिर्गमनको ढाँचा सम्बन्धमा हामीले गरेको तथ्याङ्कीय विश्लेषणले के देखाउँछ भने बढी कुशल उद्यमीले कम कुशल उद्यमीहरूको व्यवसाय खरीद गरे । सबभन्दा खराब व्यवसाय गर्ने इथानोल कम्पनीहरू टाट पल्टिए र ती कम्पनीहरूलाई बढी कुशलतापूर्वक व्यवसाय सञ्चालन गरेको इतिहास भएका उद्यमीहरूले आफ्नो हातमा लिए । कमजोर किसिमले सञ्चालन भएका कम्पनीहरूको सरकारले उद्धार गरेन । फलस्वरूप अनुदान दिन बन्द गरेपछिको अवधिमा यस उद्योगको पुनःसंरचना बजार संयन्त्रले नै गरायो । प्रो-आल्कूल अन्तर्गतको अनुदानबाट लाभान्वित भएकाहरूले संरचनात्मक नीति कायमै राख्न सरकारमाथि निकै दबाव दिए ।
त्यस्ता नीतिको उपयोगिता यस उद्योगको विकास गराउनुसम्म मात्रै सीमित भएको तथ्य सरकारले राम्ररी बुझेको थियो । त्यसैले यस दबावलाई सरकारले टेरेन । नवीकरणीय ऊर्जासम्बन्धी कार्यक्रम लागू गर्न इच्छुक देशहरूले ब्राजिलको अनुभवबाट सिक्नुपर्ने तीनवटा महत्वपूर्ण पाठ छन् :
१) सरकारी नीति निरन्तर, सरल र दिगो हुनुपर्छ । यसो भयो भने सम्भाव्य उद्यमीलाई दीर्घकालीन लगानी गर्न मिल्ने आश्वासन प्राप्त हुन्छ ।
२) राम्रा र सफल उद्यमीहरू सरकारले आफैं छनौट गर्ने काम अत्यन्तै थोरै गर्नुपर्छ । यस्तो आफैं गर्न खोज्ने सरकारी कर्मचारीहरूको चिरपरिचित कमजोरी हो ।
३) अनुदानको आवश्यकता भएको चरण सकिएपछि त्यसलाई समाप्त गर्ने खालको आत्मअनुशासन सरकारसँग अवश्य हुनुपर्छ ।
यी पाठको अनुसरण गरिएमा औद्योगिक नीतिले छोडेको विन्दुदेखि उप्रान्त बजार संयन्त्रले आफैं काम गर्न थालिहाल्छ । संसारभरिका देशहरूमा औद्योगिक नीतिको परिपाटी फेरि शुरू हुन थालेको परिप्रेक्ष्यमा यस्तो नीतिका समर्थक र विरोधी दुवैले यी पाठहरूलाई राम्ररी मनन गर्नु हितकर हुन्छ ।
खन्ना हार्वर्ड बिजनेस स्कूलका प्राध्यापक र मिङ्गो मायामी विश्वविद्यालयका सहायक प्राध्यापक हुन् स्रोतः प्रोजेक्ट सिण्डिकेट