कुशल आर्थिक संरचना निर्माण
जे ब्राडफोर्ड डेलङ
स्टेफेन कोहेन र मैले मिलेर 'दि एण्ड अफ इन्फलुएन्सः ह्वाट ह्यापेन्स ह्वेन अदर कण्ट्रिज ह्याभ मनी' भन्ने पुस्तक लेखेका थियौं । स्टेफेन भन्ने गर्छन्- अर्थतन्त्रको क्रमबद्ध विकास हुँदैन, बरू कुशलतापूर्वक तिनको संरचना (डिजाइन) निर्माण गरिन्छ । साथै उनी थप्छन्- चतुर बुद्धि भएकाले अर्थतन्त्रको संरचना निर्माण गर्दछन् तर त्यसको अर्थ उनीहरूले बुद्धिमानीपूर्वक संरचना निर्माण गरेका छन् भन्ने किमार्थ होइन । कोहेनको पहिलो दाबी अर्थात् कुशलतापूर्वक अर्थतन्त्रको संरचना निर्माण गरिन्छ भन्नेमा शायदै कुनै विवाद होला । सरकारहरूले अर्थतन्त्रको संरचना कस्तो बनाउँछन् वा बनाउँदैनन् र त्यसलाई कसरी सञ्चालन गर्छन् वा गर्दैनन् भन्ने कुरा आर्थिक विकासका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ ।
तपाईं आफू वरिपरि हेर्नुस् । आर्थिक उत्पादकत्व तथा उन्नतिको तुलनात्मक स्तरबारे सयौं थरीका राजनीतिक मतभिन्नता देख्नुभो ? ती मतभिन्नतामध्येको ठूलो हिस्साका पछाडि विगत तथा वर्तमानमा सरकार सञ्चालनका तरीका नै धेरै हदसम्म जिम्मेवार छन् ।
मेरो विचारमा कोहेनको दोस्रो दाबी पनि सही छ । अर्थतन्त्रलाई कुशल डिजाइनको उत्पादन भन्नुको अर्थ त्यस्तो संरचनालाई कुनै कुशल मानवीय बुद्धिले सञ्चालन गरिरहेको छ । चतुर बुद्धि भएको मानिसले निर्माण गर्दैमा अर्थतन्त्रको संरचना कुशल वा त्यसको उत्कृष्टताको प्रत्याभूति हुँदैन ।
एउटा कुरा भने पक्कै हो । डिजाइनसम्बन्धी निर्णय धेरै जना मिलेर गर्ने कामजस्तै हुन्छ । धेरैको चाहना हुन्छ- घोडा बनाउने । तर, एकआपसमा लामालामा वार्ताहरू र धकेलाधकेल भएपछि अन्त्यमा उँटको सृजना हुन्छ । त्यतिमात्र होइन, सरकारी अधिकारी, मध्यस्थकर्ता तथा संरचना निर्माणमा चाख राख्ने समूहहरूले सार्वजनिक हितको ख्याल नै राखेका हुँदैनन् । अझ भन्ने हो भने उनीहरूलाई र्सार्वजनिक हित केमा छ भन्ने पनि थाहा हुँदैन जस्तो छ ।
अमेरिकामा गरिएका अर्थतन्त्रका कुशल संरचनाहरू धेरैजसो सफल भएका छन् । त्यसै कारण अमेरिकीहरू आज तुलनात्मक र निरक्षेप दुवै आधारमा यत्तिका धनी हुनसकेका छन् । अमेरिकाको स्थापना हुने बेलामा नै त्यसका संस्थापकहरूले शिशु अमेरिकी अर्थतन्त्रलाई पुनःस्वरूप दिएका थिए । अर्थतन्त्रमा वाणिज्य र उद्योगले प्रमुख भूमिका खेल्नुपर्नेमा अमेरिकाका संस्थापक पितामध्येका एक 'एलेक्जेण्डर ह्यामिल्टन'को स्पष्ट दृष्टिकोण थियो ।
विशेषतः बढ्दो अर्थतन्त्रलाई टेवा दिन एउटा परिष्कृत बैङ्किङ प्रणाली स्थापना गर्नुपर्छ भन्नेमा ह्यामिल्टन निश्चिन्त थिए । त्यसैले उनी र जोन एडम्सलगायतका फेडरल अमेरिकाको स्थापना गर्ने उनका अन्य सहकर्मीहरू शिशु उद्योगलाई हुर्किने वातावरण दिनुपर्छ भन्नेमा दृढ विश्वास राख्दथे । कहाँसम्म भने युद्ध विभागका लागि छुट्टयाइएको पैसासमेत उच्च प्रविधियुक्त उद्योग क्षेत्रमा नवप्रवर्तनका निम्ति खर्चिएको थियो ।
जब थोमस जेफर्सन र जेम्स म्याडिसनको नेतृत्वमा डेमोक्रेटिक-रिपब्लिकनहरू आए, सानो सरकारसम्बन्धी सिद्धान्तहरू सत्ताबाहिर छँदा गफ छाँट्ने विषयमात्र भएको उनीहरूले छिट्टै बुझे । विजयका लागि गर्नुपर्ने युद्ध, भूअधिग्रहण, महादेशीय सर्वेक्षण, नहर, अनि त्यसपछि रेल्वेजस्ता ठूला आयोजनामा दिइने अनुदानजस्ता विषय, मतदाता, आप्रवासीलगायत सबैका लागि लाभदायक थिए ।
वास्तवमा, पूर्वाधारको निर्माण गर्ने तथा उन्नाइसौं शताब्दीमा अमेरिकी सरकारले दिएजस्तो विशाल क्षेत्रफलको जग्गा दिने जुनसुकै सरकार पनि 'ठूलो सरकार’ हुन्छ । अझ त्यसमा किसानहरूको तीव्र विरोधमाझ आयात गरिएका वस्तुहरूमा लगाइने ठूलो कर पनि थपियोस् । अब ठयाक्कै उन्नाइसौं शताब्दीको अधिकांश समय र बीसौं शताब्दीको शुरूतिर अमेरिकी अर्थतन्त्रलाई कुशलतापूर्वक संरचना गरेजस्तो नीति सृजना हुनेछ ।
दोस्रो विश्वयुद्धपछि अमेरिकी अर्थतन्त्रको संरचनालाई पुनःनिर्माण गर्ने काम पनि सरकारले नै गर्यो । अन्तरराज्य राजमार्ग प्रणालीको निर्माण भयो । त्यसका लागि छुट्टयाइएको धेरैजसो पैसा शहरी क्षेत्रको बाटो निर्माणमा खर्चिइएको थियो । त्यसपछि जनरल मोर्टसको हित नै अमेरिकाको हित हो भन्ने प्रतिविम्बित गर्दै 'दीर्घकालीन ऋण' बजारलाई धकेलेरै भए पनि सञ्चालन गरियो । त्यसपछि विश्वकै ठूलो अनुसन्धान विश्वविद्यालय विकास गरियो, जसबाट करोडौं मानिस शिक्षित हुन पुगे । सुरक्षाखर्चका लागि छुट्टयाइएको पैसा उच्चप्रविधिको अनुसन्धान र विकास कार्यमा खर्च गर्ने त परम्परा नै थियो । यसरी, दोस्रो विश्वयुद्धपछि अमेरिकी अर्थतन्त्रको संरचना निर्माण गरियो ।
जबजब अप्ठयारो पर्छ, अमेरिकी सरकारले आर्थिक उन्नतिका लागि नियतवश नै डलरको अवमूल्यनसमेत गरेको छ । महामन्दीका बेला फ्राङ्कलिन रुजवेल्टका साथै पछि आएर रिचर्ड निक्सन र रोनाल्ड रेगनले समेत त्यसो गरेका थिए । यस्तो इतिहासको समीक्षा हुनु आवश्यक छ । किनभने अर्थतन्त्रको क्रमबद्ध विकास हुन्छ वा त्यसको संरचना निर्माण गरिनुपर्छ भन्ने विषयमा आगामी दिनहरूमा बहस हुने देखिन्छ । राष्ट्रपति ओबामाका विरोधीहरू अमेरिकी अर्थतन्त्रमा भएका सबै राम्रा कुरा क्रमबद्ध विकास भएर आएको दाबी गर्छन् । साथै अर्थतन्त्रमा देखिएका सबै खराबी सरकारले अर्थतन्त्रको संरचना निर्माण गर्नाले उत्पन्न भएको उनीहरूको दाबी छ । तर, त्यस्तो दाबी हास्यास्पद छ । अमेरिकी सरकारले विगतमा झैं अर्थतन्त्रको विकासका लागि योजना र संरचना निर्माण गरिरहनेछ । बरू त्यस्तो संरचना कसरी गर्ने वा बुद्धिमानीपूर्वक गरिएको छ कि छैन भन्ने विषयचाहिँ महत्त्वपूर्ण छ । तर, अमेरिकामा आगामी दिनमा हुने बहसका विषय दुइओटा छन् । पहिलो विषय हो, 'प्रतिस्पर्धात्मकता', जुन बहसको मूल आधार हुने सम्भावना छ । 'प्रतिस्पर्धात्मकता’को साटो 'उत्पादनशीलता’मा बहस गर्नु राम्रो हुनेछ । किनभने, 'प्रतिस्पर्धात्मकता’मा कसैले पाउन कसैले गुमाउनुपर्छ भन्ने सन्देश अन्तर्निहित छ । त्यसबाट अमेरिकाले पाउन उसका व्यापारिक साझेदारले गुमाउनुपर्छ भन्ने सन्देश जान सक्छ ।
त्यसैले 'प्रतिस्पर्धात्मकता’बाट गलत सन्देश जानुका साथै त्यसको परिणाम खतरनाकसमेत हुन सक्छ । त्यसको साटो धनी व्यापारिक साझेदारले अमेरिकीहरूलाई सस्तोमा राम्रो सामान अझ बढी बेचून् । अनि ती देशहरूभित्र माग बढेपछि उनीहरूले पनि राम्रो मूल्यमा अमेरिकी उत्पादन खरीद गर्नेछन् । यसबेला कसैले पनि गुमाउनु नपर्ने अवस्था हुन्छ अर्थात् दुवै पक्षको जित हुन्छ ।
अमेरिकामा भएका कम्पनी, तिनका लगानीकर्ता, कार्यकारी तथा व्यवस्थापकलाई हुने फाइदा नै अमेरिकालाई हुने फाइदा हो भन्ने अर्थ 'प्रतिस्पर्धात्मकता’ले जनाउने अर्को खतरा हो । कुनै समय राष्ट्रपति आइजेनहावरले मन्त्रिमण्डलमा चार्ली विल्सनलाई मनोनीत गरेका थिए । विल्सनले त्यतिखेर अमेरिकाको हितमा जनरल मोटर्स (जीएम)को हित छ र जनरल मोटर्सको हितमा अमेरिकाको हित छ भनेका थिए । त्यतिखेर जीएम भन्नाले त्यसका शेयरहोल्डर, कार्यकारी तथा व्यवस्थापकमात्र थिएनन्, बरु आपूर्तिकर्ता र श्रमिक युनियनका सदस्यहरू पनि जीएममा समाविष्ट थिए । अहिले ओबामाले रोजगार तथा प्रतिर्स्धात्मकताका लागि राष्ट्रपतीय आयोगमा जनरल इलेक्ट्रिकका कार्यकारी जेफरी इम्मेल्टलाई मनोनयन गरेका छन् । तर, इम्मेल्टको कम्पनी कार्यकारी, लगानीकर्ता तथा व्यवस्थापकमा मात्र सीमित भइसकेको छ ।
आशा गरौं, आसन्न बहसले सुखद परिणाम दिनेछ । अझ उन्नत र तीव्र वृद्धि गरिरहेको अमेरिका जसमा बाँकी विश्वको समेत स्वार्थ अन्तरनिहित रहोस्, त्यस्तो अमेरिकाको भविष्य अझै अनिर्णित देखिन्छ ।
जे ब्राडफोर्ड डेलङ अमेरिकाका पूर्वसहायक अर्थमन्त्री, क्यालिफोर्निया विश्वविद्यालय बर्कलेका प्राध्यापक तथा नेशनल ब्युरो फर इकोनोमिक रिसर्चका रिसर्च एशोसिएट हुन् ।