शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विश्वव्यापीकरणका फाइदाको प्रवर्द्धन
डानी रोड्रिक
विकासशील देशका अर्थतन्त्रमा रहेको अस्तव्यस्तता ती देशमा नबसेरै पनि ठम्याउन सकिन्छ । ती देशको अर्थतन्त्रमा उत्पादनशील र अनुत्पादक क्षेत्र तथा पहिलो र तेस्रो विश्वका प्रवृत्तिहरू एकैठाउँमा मिसमास भएको पाइन्छ । विकासशीलमध्येका पनि आधुनिक र उच्च उत्पादनशील अर्थतन्त्रहरूमा झण्डैझण्डै विकसित देशकै हाराहारीको उत्पादनशीलता देखिएको छ ।

वास्तवमा यस्तो 'द्वैधवाद’ आर्थिक विकासका सबैभन्दा पुराना र आधारभूत धारणाहरूमध्ये हो, जसको प्रवर्तन डच अर्थशास्त्री जेएच बोएकेले १९५० को दशकमा गरेका थिए । इण्डोनेशियामा आफूले गरेको अनुभवबाट बोएकेले त्यस्तो धारणाको प्रवर्तन गरेका थिए । बोएकेका अनुसार, पश्चिमा देशका आधुनिक, पूँजीवादी आर्थिक संस्था र 'अविकसित’ भनिने क्षेत्रका पूँजीवादपूर्वका परम्परागत आर्थिक व्यवस्थालाई एकदमै भिन्न राख्नुपर्छ । अविकसित समाजहरूमा पनि त्यतिखेर नै आधुनिक औद्योगिक क्रियाकलापले प्रवेश गरिसकेका थिए । तर, त्यसले खासै ठूलो फरक नपार्नुका साथै त्यस्ता समाजको एकमुष्ट परिवर्तन पनि गर्न नसक्ने बोएकेको धारणा थियो ।   

समकालीन अर्थशास्त्रीहरूले आर्थिक द्वैधवादबारे बहस गर्नुपर्दा सबैभन्दा पहिले नोबेल पुरस्कार विजेता सर डब्लू आर्थर लेविसलाई सम्झिन्छन् । लेविसले बोएकेको विचारलाई उल्टयाएर परम्परागत कृषि क्षेत्रबाट आधुनिक औद्योगिक क्रियाकलापतर्फो श्रम प्रवाह नै आर्थिक विकासको इञ्जिन हो भन्ने तर्क गरे । लेविसका अनुसार, वास्तवमा परम्परागत र आधुनिकको सहअस्तित्वबाट नै विकास सम्भव हुनसक्छ ।

एउटा चरम उदारहण लिऊँ । मलावीको खानी क्षेत्रको श्रम उत्पादकत्व  सम्पूर्ण अमेरिकी अर्थतन्त्रकै बराबर हुन आउँछ । मलावीका सबै कामदारलाई खानीमा रोजगार दिन सक्ने हो भने मलावी पनि अमेरिकाजत्तिकै धनी हुन सक्ने देखिन्छ । तर, खानी उद्योगले मात्रै सबै कामदारलाई रोजगार दिन सक्दैन । त्यसैले मलावीका बाँकी श्रम शक्तिले अर्थतन्त्रका अन्य कम उत्पादनशील क्षेत्रमा काम खोज्नुपर्ने हुन्छ ।

विश्वव्यापीकरणले विकासशील देशका द्वैध प्रकृतिलाई अझ बढी प्रोत्साहन गरेको छ । तिनका अर्थतन्त्रका कतिपय क्षेत्र जस्तै- निर्यातका विशिष्ट क्षेत्र, उच्च वित्त र हाइपरस्टोर लगायतको उत्पादकत्व उल्लेखनीय रूपमा बढेको छ । अन्तरराष्ट्रिय बजार र उच्च प्रविधसम्मको पहुँचका कारण यस्तो हुन सकेको हो । अन्य क्षेत्रले भने त्यस किसिमको अवसर पाएका छैनन् । त्यसैले अन्तरराष्ट्रिय पहुँच पाएका र नपाएका क्षेत्रबीच ठूलो भिन्नता उत्पन्न हुन
पुगेको छ ।   

त्यस्ता भिन्नताहरूले समस्या निम्त्याउँछन् । तर, लेविसले जोड दिएजस्तै त्यस्ता भिन्नता आर्थिक वृद्धिको भावी इञ्जिन पनि हुन् । त्यसको उपाय के हो भने न्यून उत्पादकत्व भएको क्षेत्रबाट उच्च उत्पादकत्व भएको क्षेत्रतर्फो सङ्क्रमणमार्फत अर्थतन्त्रमा उचित किसिमको संरचनागत परिवर्तन सुनिश्चित गरिनुपर्छ । चीन र भारतजस्ता सफल अर्थतन्त्रमा परम्परागत कृषिक्षेत्रबाट उत्पादनमूलक (औद्योगिक) र आधुनिक सेवाको क्षेत्रतर्फो सङ्क्रमणले लेविसले पूर्वानुमान गरेजस्तै समष्टिगत उत्पादकत्व वृद्धिमा नै महत्त्वपूर्ण भूमिका खेलेको छ ।   

तर, विश्वका अन्य भागमा भने हालैका दशकमा एउटा अनौठो र अप्रिय प्रवृत्ति देखा परेको छ । गलत दिशातर्फो संरचनागत परिवर्तनबाट यस्तो भएको हो । आधुनिक र उच्च उत्पादकत्व भएका उद्योगहरूले अर्थतन्त्रमा रहेको श्रमशक्तिको सानो हिस्सालाई मात्र रोजगार दिन सकेका छन् । अर्कोतर्फ अनौपचारिक र न्यून उत्पादनशील कतिपय अन्य क्रियाकलापमा भने विस्तार भएको छ । जस्तो कि, ल्याटिन अमेरिका क्षेत्र तथा तल्लो सहारा क्षेत्रका अप्रिmकी देशमा १९९० देखि भएका संरचनागत परिवर्तनले आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्नुको साटो हतोत्साहित गरेको देखिन्छ ।

त्यसर्विपरीत धेरैजसो एशियाली देशहरूको अवस्था भने लेविसले भनेजस्तै नै देखिएको छ । संरचनागत परिवर्तनमा रहेको यस्तो फरक प्रवृत्तिले नै हाल ल्याटिन अमेरिका र तल्लो सहाराक्षेत्रीय अफ्रिका तथा एशियाली क्षेत्रबीच आर्थिक वृद्धिको प्रवृत्तिमा भिन्नता देखिएको छ ।

यस्तो निष्कर्ष निकाल्नु अर्जेण्टिना, ब्राजिल र चिलीजस्ता देशको अनुभवसँग अमिल्दो देखिन सक्छ । निश्चय पनि ती देशहरूमा अर्थतन्त्रका आधुनिक क्षेत्रमा रहेका थुप्रै कम्पनी ( गैरपरम्परागत कृषिलगायत)ले राम्रो वृद्धि हासिल गरेका छन् । तर, बुझ्नुपर्ने के छ भने सञ्चालन प्रक्रियाको सामान्यीकरण र प्रविधि सुधारमार्फत गरिएको त्यस्तो वृद्धिले रोजगार सृजनामा योगदान पुर्याएका छैनन् । कामदार कटौती गरेका कम्पनीहरू अझै बढी उत्पादनशील भए तापनि तिनले अर्थतन्त्रको समष्टिगत उत्पादनशीलतामा योगदान पुर्याउँदैनन् । किनभने त्यसरी कटौती गरिएका कामदारहरू अन्त्यन्तै न्यून उत्पादकत्व भएका अनौपचारिक क्षेत्रमा संलग्न हुन पुग्छन् ।

टफ्ट्स युनिर्भसिटी र अन्तरराष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थाका म्यागी म्याकमिलनसँग मिलेर मैले एउटा अनुसन्धान गरेको थिएँ । उक्त अनुसन्धानले के देखाउँछ भने खासगरी प्राकृतिक स्रोतको क्षेत्रमा बलियो तुलनात्मक लाभ रहेका देशहरू आर्थिक वृद्धि घटाउने संरचनागत परिवर्तनको जालोमा अल्झिन पुग्छन् । विश्वव्यापीकरणले पनि त्यस्ता देशहरूलाई मिश्रति परिणाम दिएको छ । विश्वव्यापीकरणले प्रोत्साहन गर्ने प्राकृतिक स्रोत उद्योगले सीमित मात्रामा मात्र परम्परागत क्षेत्रबाहिरका रोजगार उपयोग गर्न सक्छन् ।  यसप्रकार, विश्वव्यापीकरणले द्वैधवादको समाधान गर्नुको साटो त्यसलाई झनै बढाइरहेको देखिन्छ ।

उपयुक्त नीतिहरू अवलम्बन गरेमा त्यस्ता समस्याको समाधानमा सहयोग पुग्छ । एउटा उपाय के हो भने, आयातसँग प्रतिस्पर्धा गरिरहेका प्रशस्त रोजगार अवसर सृजना गर्ने उद्योगलाई समयमअगावै विघटन हुनुबाट जोगाउनुपर्छ । त्यस्ता उद्योगको विघटन हुनुअघि नै तीभन्दा पनि अझ बढी उत्पादनशील उद्योग स्थापित भइसकेको सुनिश्चित गरिनुपर्छ । उदारहणका लागि, एशियाली देशहरूले निर्यात अनुदान वा विशेष आर्थिक क्षेत्रजस्ता उपायमार्फत सीमान्त क्षेत्रमा उदारीकरण गरेका छन् । त्यसबाट अन्य क्षेत्रलाई नचलाईकनै निर्यात क्षेत्रमा नयाँ उद्योगहरू स्थापित हुन मद्दत पुगेको छ ।

दोस्रो, समस्या समधानका लागि विनिमय दर अत्यन्तै महत्त्वपूर्ण हुन्छ । श्रम शक्तिको ठूलो हिस्सालाई रोजगार दिने आधुनिक व्यापारयोग्य उद्योगहरूलाई प्रतिस्पर्धी मुद्राहरूले संवर्द्धन तथा सुरक्षा गर्छन् । हामीले अनुसन्धानमा के पायौं भने प्रतिस्पर्धी मुद्रा भएका देशहरूमा वृद्धि प्रवर्द्धन गर्ने खालका संरचनागत परिवर्तनको सम्भावना बढी हुन्छ ।

अन्त्यमा, श्रमबजारसँग सम्बद्ध नीतिहरू पनि लचिलो हुनु अत्यन्तै महत्त्वपूर्ण देखिन्छ । श्रमशक्ति नियुक्ति गर्ने तथा सेवामुक्त गर्ने सम्बन्धमा अत्यन्तै खर्चिलो बनाउने खालका कानूनी प्रावधानहरूका कारण नयाँ उद्योगहरूमा रोजगार सृजना गर्ने कार्यलाई हतोत्साहित गर्छ ।

उचित दिशा निर्देशन नहुने हो भने संरचनागत परिवर्तनले मात्रै आफैमा आर्थिक विकासलाई प्रवर्द्धन गर्दैन् । खासगरी प्राकृतिक स्रोतको क्षेत्रमा बलियो तुलनात्मक फाइदा रहेको देशलाई त्यस्तो दिशानिर्देशनको झनै बढी आवश्यकता हुन्छ । विश्वव्यापीकरणबाट यस्तो आधारभूत वास्तविकतामा कुनै परिवर्तन आउँदैन । तर, जसरी विश्वव्यापीकरणले सही नीतिबाट उत्पन्न फाइदालाई प्रवर्द्धन गर्छ, त्यसैगरी विश्वव्यापीकरणले गलत नीतिका कारण चुकाउनुपर्ने मूल्यलाई पनि बढाउँछ ।

डानी रोडि्रक हावर्ड विश्वविद्यालयमा अन्तरराष्ट्रिय राजनीतिक अर्थशास्त्रका प्राध्यापक तथा 'द ग्लोबलाइजेशन प्याराडक्स: डेमोक्रेसी एण्ड द फ्युचर अफ द वर्ल्ड इकोनोमी’का लेखक हुन् ।
कपीराइट : प्रोजेक्ट सिण्डिकेट २०११

Admin 2011-05-08