शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

विश्वव्यापी तापक्रम वृद्धिमा मधुरो प्रकाश
ब्योर्न लोम्बर्ग

विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ)का बारेमा चिन्ता बढिरहेको बेलामा ब्राजिल, अष्ट्रेलिया, अमेरिका तथा यूरोपियन युनियनका सदस्य राष्ट्रहरूले सन् २००० को दशकमा बिजुलीको इन्कान्डेसेन्ट बल्बमा प्रतिबन्ध लगाउने भिन्नाभिन्नै कानून पारित गरे । त्यसो गर्नुको नियत स्पष्ट थियो- यदि विश्वका सबै मानिसले त्यस्तो बल्बको साटो सीएफएल बल्ब प्रयोग गरे भने त्यसले कुल विद्युत् खपतको साढे ३ प्रतिशत बचत गर्न सकिन्छ । र, कार्बनडाइअक्साइडको उर्त्सजनमा १ प्रतिशत कमी गर्न सकिन्छ ।

अमेरिकी संसद्मा अहिले रिपब्लिकनहरू त्यस्ता बल्बलाई प्रतिबन्धित गर्ने अमेरिकी कानूनलाई रद्द गर्न खोज्दैछन् । यसले यससम्बन्धी छलफल पुन: जगाएको छ । धेरैले के विश्वास गर्छन् भने यो नयाँ एजेण्डा जलवायु परिवर्तनका खराबीलाई अस्वीकार गर्ने केही हठवादीहरूबाट सञ्चालित छ । तर, विश्वव्यापी तापमान वृद्धिलाई रोक्ने सबैभन्दा राम्रो तरीका भनेको कुनै कुरालाई प्रतिबन्ध लगाउनु नै हो भन्ने भनाइको आधारलाई राम्रोसँग लेखाजोखा गर्नु उपयुक्त हुन्छ ।

हो, हामीले जलवायु परिवर्तनको समस्यालाई समाधान गर्नुपर्छ । तर, यसको अर्थ सबै प्रकारका उत्सर्जनलाई कटौती गर्नुपर्छ भन्ने होइन । जैविक इन्धन बाल्नुको पनि उल्लेख्य लाभ छ । र, हामीले लागतलाई यसको लाभसँग तुलना गर्नुपर्छ ।

कार्बनमा लगाइने कर यसले गर्ने हानिबराबर हुनुपर्छ । यसको सबैभन्दा राम्रो अनुमानअनुसार प्रतिटन कार्बनडाइअक्साइडको ७ अमेरिकी डलर वा प्रतिग्यालन ग्यासोलिनको ६ सेन्ट (प्रतिलिटर शून्य दशमलव शून्य एक पाँच युरो) ठिक्क हुन्छ । धेरैजसो विकसित देशहरूले विद्युत् र जीवास्म इन्धनमा यो परिमाणको कर लगाइसकेका छन् । अझ कतिपयले त यसभन्दा निकै धेरै पनि लगाएका छन् । यद्यपि, यसमा वायुप्रदूषण र आपूर्ति असुरक्षाको लागत पनि समावेश छ ।

सीएफएल किन्न निकै महँगो हुने भए पनि दीर्घकालमा त्यो निकै सस्तो सावित हुन्छ । किनभने सीएफएलले निकै कम ऊर्जा खपत गर्छ । त्यसैले के भन्न सकिन्छ भने लागत-लाभको सीधा विश्लेषणका आधारमा धेरै मानिसलाई बढी ताप सिर्जना गर्ने बल्बलाई छोडेर नयाँ सीएफएल (हरितप्रविधि)को प्रयोग गर्नु उपयुक्त लाग्न सक्छ ।

यदि बैकल्पिक पदार्थ सस्तो भयो भने मानिसहरू त्यसको प्रयोग गर्न थाल्छन् । मेरो परिवारले सीएफएल प्रयोग गर्छ, फलस्परूप म पनि कम कार्बनडाइअक्साइड उर्त्सजन गरिरहेको र पैसा पनि कम खर्च भइरहेको छ भन्ने देखेर दङ्ग पर्छु ।

त्यसो भए पुराना बल्बहरूलाई गैरकानूनी घोषणा किन गर्नुपर्यो त ? कारण के हो भने मौद्रिक लागत यसको एउटा मात्रै तत्त्व हो । धेरै मानिसहरू सीएफएल प्रयोग गर्न किन अप्ठयारो मानिरहेका छन् भने सीएफएल बलेर त्यसबाट पूर्ण प्रकाश आउन धेरै समय लिन्छ । अथवा कतिपयलाई सीएफएलको प्रकाश मन पर्दैन वा कतिपय मानिसहरू सीएफएल फुटयो भने त्यसबाट निस्कने विषालु पारोले असर गर्ला भन्ने डर मान्छन् । केही मानिसहरूका विचारमा ऊर्जाकुशल बल्बले छारेरोग र माइग्रेन पनि गराउँछ ।

अर्कातिर धेरै रकम खर्च गर्न नसक्नेहरूका लागि यसको मूल्यले पनि अप्ठ्यारो पार्छ । धेरै बत्ती बालिरहनु नपर्ने स्थानका लागि कम मूल्य पर्ने पुरानाखाले बल्ब नै समग्रमा ऊर्जाकुशल सीएफएल बल्बभन्दा कम खर्चिला साबित हुन्छन् ।

यसको मतलब आफूले कस्तो प्रकारको बल्ब प्रयोग गर्ने भन्ने छनोट मानिसहरूलाई आफैँ दिनुपर्छ । तर, बढी ताप दिने बल्बलाई 'फेजआउट' नै गर्नुपर्छ भन्ने विचारका समर्थकहरू भने आफू नै सबभन्दा जान्ने भएको तर्क गर्छन् । भर्खरै अमेरिकी ऊर्जामन्त्री स्टेभेन चुले भने, 'जनताले अनावश्यक रूपमा पैसा नाश गरिरहनुपर्ने विकल्पलाई हामी हटाउँदैछौं ।'

यो विचारमाथिका अन्य सम्भावित विरोधहरूलाई एकातिर पन्छाइदिने हो भने पनि एउटा समस्या अझै देखिन्छ । यस धारणाले के मान्छ भने बढी ताप दिने बल्बको मूल्य ७ अमेरिकी डलर प्रतिटन कार्बनडाइअक्साइडको भन्दा कम हुन्छ । नयाँ बल्बका कारण माइग्रेन र छारेरोगबाट पीडित हुनेहरूका लागि यो धारणा निश्चय नै सत्य हुँदैन । पारोका बारेमा अत्यन्तै चिन्तित हुनेहरू र अन्य कारणले बढी ताप दिने बल्ब मन पराउनेहरूका लागि पनि कुरा त्यस्तै हो ।

यो समस्या समाधान प्रविधिको सुधारमा केन्द्रित हुनु हो । अर्थात् यसको प्रकाशलाई बढी सुरक्षित, उज्यालो, चाँडै बल्ने र अझै बढी ऊर्जा बचत गर्ने बनाउनुपर्छ । यसो हुँदा धेरै मानिसहरूले आफ्नो घरको बल्ब स्वत: बदल्नेछन् ।

तर, नीतिनिर्माताहरूले बल्बहरूमा मात्रै प्रतिबन्ध लगाउन खोजेका छैनन् । यूरोपेली युनियनका सांसदहरूले पाटियो हीटर (घरबाहिर बाल्ने हीटर) मा पनि प्रतिबन्ध लगाउने पक्षमा भारी मतदान गरेका छन् । यो हीटरलाई युरोपेली संसद्का एक सदस्यले 'यो ग्रहले धान्न नसक्ने विलाशिता' भनी घोषणासमेत गरे ।

कुनै वस्तु विलाशी हो वा होइन भनेर कसले निर्णयगर्ने हो ? र, यसको सीमा के हो ? केही मानिसहरूले विलाशी भने भनेर एअर कण्डिशनर वा टेलिभिजन स्याटेलाइट बक्सहरूलाई हामी प्रतिबन्धित गर्न सक्छौं ? एक ठाउँदेखि अर्को ठाउँमा जानका लागि सार्वजनिक सवारी साधन उपलब्ध छ भने त्यस्ता साधनले कम कार्बन उर्त्सजन गर्छ भनेर निजी कारलाई प्रतिबन्धित गर्न सक्छौं ?

हामीले कार चलाउँदा वा हाम्रो घर तताउँदा उत्पन्न हुने कार्बनको लागतबारे विचार गर्नु त उपयुक्त नै हुन्छ । तर, सांसदहरूले चाहेभन्दा धेरै मन्द गतिमा मात्रै बढी ताप दिने बल्ब फेजआउटको काम भइरहको छ भने प्रतिबन्ध लगाउनु उचित समाधान होइन ।

कार्बन उर्त्सजनमा वास्तविक कमी तब मात्रै आउनेछ, जब सुधारिएको प्रविधि व्यक्ति तथा व्यवसायको बानीमै परिवर्तन ल्याउन प्रोत्साहित गर्ने खालको हुन्छ । सीएफएल वा अन्य विकासले हामीलाई यस मार्गमा केही अगाडि लैजान त सक्छन् तर जीवास्म इन्धनलाई हरित इन्धनभन्दा कम आकर्षक बनाउनका लागि अझै विशाल प्राविधिक अवरोधहरूको सामना अवश्य गर्नुपर्छ ।

यही बिन्दूमा धेरैजसो नीतिनिर्माताले गल्ती गर्छन् । सरकारहरू उर्त्सजनमा तुलनात्मक रूपमा उच्च कर लगाउनुपर्ने कुरा त गर्छन् तर अनुसन्धान र विकासमा सार्थक वृद्धि सुनिश्चित गरी आवश्यक सफलता हासिल गर्नमा भने उनीहरू अत्यन्तै कम केन्द्रित भइरहेका छन् ।

बिजुलीको 'गलत' बल्ब वा पाटियो हीटरमा पहुँच सीमित बनाउने कार्य निश्चय नै सही बाटो होइन । हामी विश्वव्यापी तापमान वृद्धिको समस्यालाई अहिले भएकाभन्दा राम्रा वैकल्पिक प्रविधि सुनिश्चित गरेर मात्रै समाधान गर्न सक्छौं । त्यसो भएमा विश्वभरका मानिसहरूले त्यस्तो प्रविधिको स्वत: प्रयोग गर्नेछन् ।
ब्योर्न लोम्बर्ग 'द स्केप्टिकल इन्भाएरोमेण्टालिष्ट' र 'कूल इट'का लेखक, कोपनहेगन कन्सेन्सस सेन्टरका प्रमुख तथा कोपनहेगन बिजिनेश स्कुलका ए डजङ्क्ट प्राध्यापक हुन् ।
कपीराइट : प्रोजेक्ट सिण्डिकेट २०११

Admin 2011-09-11