शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

भोकतर्फको विश्वव्यापी दौड
ब्योर्न लोम्बर्ग
अमेरिकाको प्रसिद्ध 'डेटोना ५०० कार रेस' हेरिरहेका दर्शकलाई यस वर्ष हरियो झण्डा हल्लाउन दिइएको थियो । रेसमा कुदाइएका कारको इन्धनमा १५ प्रतिशत मकैमा आधारित इथानोल प्रयोग गरिएकोमा त्यस्तो खुशियाली मनाइएको थियो । यसरी बायोफयुल अर्थात् जैविक इन्धनको विज्ञापन गरिएको थियो । सरसर्ती हेर्दा अमेरिकाको प्रसिद्ध कार रेस प्रतियोगिता नास्कारलाई वातावरणमैत्री बनाउने प्रयासजस्तो देखिन्छ । तर, जैविक इन्धनका पहलकर्ता र अमेरिकीहरूको प्रिय शौखको साझेदारीले एउटा गैरजिम्मेवार नीतिको पक्षमा जनमत सृजना
गरिरहेको छ ।

अमेरिकाको सङ्घीय सरकारले इथानोल उत्पादनका लागि वर्षा झण्डै ६ अर्ब डलर खर्च गर्छ । त्यस्तो सरकारी सहायताले विश्वको कुल उत्पादित मकैमध्ये ६ भागको एक भाग इथानोल उत्पादन गर्दा नष्ट हुन्छ । इथानोल उत्पादनमा नष्ट गरिने मकैको त्यस्तो परिमाण ३५ करोड मानिसलाई वर्षभरि पुग्ने खानाबराबर हुन्छ ।

जैविक इन्धनको उत्पादनमा सरकारी सहायताले खाद्य उत्पादनलाई असन्तुलित बनाएको छ । अमेरिकी र यूरोपेली सरकारी नीतिका कारण खाद्यवस्तुलाई जैविक इन्धन उत्पादन गर्ने क्रम ह्वात्तै बढेको छ । २०१० मा विश्वको कुल अन्न उत्पादनमध्ये ६ दशमलव ५ प्रतिशतभन्दा बढी जैविक इन्धन उत्पादनमा खर्च भएको छ । जबकि २००४ मा त्यस्तो तथ्याङ्क २ प्रतिशतमात्र थियो । त्यसैगरी, २००४ मा जैविक इन्धनका लागि नगन्य मात्रामा वनस्पति तेल प्रयोग गरिएको थियो ।  तर, २०१० मा विश्वभरि उत्पादन भएको वनस्पति तेलमध्ये ८ प्रतिशत जैविक इन्धनको उत्पादनमा खर्च गरिएको छ ।  

त्यस्तो प्रवृत्तिको परिणाम हामीले यो वर्षको बाली खराब भएपछि अनुभव गरेका छौं । संयुक्त राष्ट्रसङ्घले १९९० देखि तथ्याङ्क राख्न थालेयता खाद्यवस्तुको मूल्य हालसम्मकै चर्को हुन पुगेको छ । कुपोषण निराकरणको क्षेत्रमा जतिसुकै प्रगति हासिल गरे तापनि जैविक इन्धनमा उत्पादनका लागि मकैको प्रयोग गरिनाले कुपोषण झनै बढेको छ ।  

जैविक इन्धनको उत्पादनमा खाद्यवस्तुको प्रयोगले २००७ र २००८ मा राजनीतिक अस्थिरता त बढयो नै, कुपोषण पनि बढेको थियो । तर, विकसित देशहरूले त्यसबाट पाठ सिकेनन् । २००८ पछि पनि इथानोलको उत्पादन ३३ प्रतिशतले बढिसकेको छ ।

वातावरण अभियन्ताहरूले शुरूमा जैविक इन्धनलाई विश्वव्यापी तापक्रमवृद्धिविरूद्धमा एउटा अचूक अस्त्रका रूपमा प्रस्तुत गरेका थिए । तर, धेरैजसो अन्न बालीबाट उत्पादित जैविक इन्धनले हरितगृह ग्यासको उत्सर्जनलाई खासै नघटाउने थुप्रै अनुसन्धानले देखाइसकेका छन् । बरू त्यसबाट थप खाद्यान्न उत्पादनका लागि कतिपय क्षेत्रका वनजङ्गल विनाश भएका छन् । यसप्रकार, पेट्रोलियम इन्धनले भन्दा पनि जैविक इन्धनको उत्पादनबाट झन् बढी कार्बनडाइअक्साइड उत्सर्जन भएको देखिन्छ ।

कतिपय हरित अभियन्ताले इथानोलको दोस्रो पुस्ता उत्पादनमा सहयोग पुग्ने अपेक्षा राखेर जैविक इन्धनको समर्थन गरेका थिए । त्यो दोस्रो पुस्ता भनेको अखाद्य बिरुवाबाट उत्पादन हुने इथानोल भनिएको थियो, तर त्यस्तो भएन । त्यसैले त्यस्तो नीतिको समर्थनमा आज एक जना पनि वातावरणविद् भेट्टाउन कठिन छ । कतिसम्म भने इथानोलको प्रखर पक्षधर भएकोमा गर्व गर्ने अमेरिकी पूर्वउपराष्ट्रपति तथा नोबेल विजेता अल गोरले पनि त्यस्तो नीतिलाई 'गलत’ रहेको स्वीकार गरिसकेका छन् । अहिले उनी २००० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई समर्थन गर्ने आइओवा राज्यका मकै उत्पादक किसानप्रतिको सहानूभूतिका कारण त्यस्तो नीति लिएको स्वीकार गर्छन् ।

प्रमाणहरूको आधारमा गोरले आफ्नो विचारलाई परिवर्तन गर्नु राम्रो कुरा हो । तर, त्यसबाट पाइने शिक्षा अझै व्यापक छ । वामपन्थी र दक्षिणपन्थी दुवैतर्फका कतिपयले जैविक इन्धनमा सरकारी सहयोगको विरोध गरेका छन् । तर, गोरले भनेजस्तै, एकपटक त्यस्तो कार्यक्रम सञ्चालन गरिसकेपछि फेरि त्यसका पक्षधरहरूलाई मनाउन गाह्रो हुन्छ ।

राजनीतिकर्मीहरूलाई सामाजिकभन्दा पनि आर्थिक फाइदा हुने कुरा गर्नबाट रोक्न सकिन्न । तर, उनीहरूबाट अधिकतम सामाजिक हित हुने नीतिको अपेक्षा गरिनु पनि स्वाभाविक नै हो । तर, जब विश्व्यापी तापक्रम वृद्धि, वातावरण संरक्षण अथवा 'हरित रोजगार’जस्ता नीतिमाथि नियन्त्रण गर्नुपर्ने हुन्छ, हतारमा हचुवा निर्णयगरिन्छ ।

जैविक इन्धनका लागि सरकारी सहयोगको नीति त्यस्तै हचुवा 'हरित’ नीतिमध्ये एक हो । यस्तो नीतिले हाम्रो यो ग्रहलाई भन्दा पनि निहित स्वार्थ भएका केही व्यापारिक समूहलाई फाइदा पुर्‍याउँछ । पहिलो पुस्ताका नवीकरणीय ऊर्जा कम्पनीलाई दिइएको वित्तीय सहायतामाथि विचार गरौं । सोलार प्यानल स्थापना गर्ने काममा ७५ अर्ब डलरको अनुदान दिएर जर्मनीले विश्वमै अग्रणी भूमिका निर्वाह गरेको छ । तर, त्यसको परिणामस्वरूप जर्मनीजस्तो प्राय: बादल लागिरहने देशमा घरको छानामा कमसल प्रविधि जडान गरिएका छन् । सोलार प्यानलबाट जर्मनीको कुल ऊर्जा आपूर्तिमा शून्य दशमलव १ प्रतिशत मात्र योगदान हुन्छ भने सन् २१०० मा विश्वव्यापी तापक्रम वृद्धिको असरलाई त्यसले मात्र ७ घण्टा ढिलो बनाउनेछ ।    

यत्रो ठूलो वित्तीय जोखिम छँदाछँदै पनि वैकल्पिक ऊर्जा कम्पनी, 'हरित’ लगानी कम्पनी, र जैविक इन्धनका उत्पादकले अझ बढी सरकारी सहयोगका लागि पहल गर्नु अलि अनौठो नै लाग्छ । ती कम्पनीहरूले कथित वातावरणीय फाइदा, ऊर्जा सुरक्षा र रोजगारसमेतको आश्वासन दिँदै आफ्ना अभियानलाई जनसमक्ष ल्याएका छन् । जस्तो कि, इथानोल व्यापार समूह ग्रोथ इनर्जीका प्रमुख कार्यकारी अधिकृत टोम बुइसले भने, 'नास्कार सम्झौताले अमेरिकी इथानोललाई वातावरण मण्डलमा पुर्‍याउनेछ’ ।  

अमेरिकाका राष्ट्रपतिका दाबेदारहरूलाई भने त्यस्ता कम्पनीले खरीद गरिसकेको जस्तो देखिन्छ । गत महीना ओबामालाई रिपब्लिकनतर्फबाट राष्ट्रपतिका उम्मेदवार न्युट गिन्ग्रीचले इथानोलमा दिइने अनुदानको विरोध गर्नेमाथि खिसी गरे । त्यसैगरी, ओबामा प्रशासनका एक अधिकारीले खाद्यवस्तुको मूल्य उच्च नै रहे तापनि जैविक इन्धनलाई दिइने सहयतामा कमी नआउने बताए । तर, वास्तवमा लाखौं मानिसहरूले अनावश्यक रूपले भोग्नुपरेको पीडा हेर्दा त्यस्तो कार्यक्रम तत्काल बन्द गरिनुपर्ने देखिन्छ ।

ब्योर्न लोम्बर्ग 'द स्केप्टिकल इन्भाइरोमेण्टलिष्ट र कुलईट'का लेखक, कोपनहेगन कन्सेन्सस सेण्टरका निर्देशक तथा कोपनहेगन बिजनेश स्कूलका एजङ्क्ट प्रोफेशर हुन् ।
स्रोत : प्रोजेक्ट सिण्डिकेट २०११

Admin 2011-04-08