सहस्राब्दी विकास लक्ष्य र चुनौती
ब्योर्न लोम्बर्ग
यस शताब्दीको शुरूतिर सबै देशका नेताहरू संयुक्त राष्ट्रसङ्घीय सहस्राब्दी विकास लक्ष्य अर्थात् मिलेनियम डेभलपमेण्ट गोल (एमडीजी) हासिल गर्ने प्रयासमा लाग्न सहमत भएका थिए । यस ग्रहका सर्वाधिक समस्याग्रस्त नागरिकहरूको अवस्थामा २०१५ भन्दा पहिले नै व्यापक सुधार गर्ने उद्देश्य एमजीडीको थियो । त्यस्तो भावना निश्चय नै सराहनीय थियो । तापनि ११ वर्षपछि लक्ष्य प्राप्ति असमान भएको छ । लक्ष्य प्राप्तिको मिति समाप्त हुँदै गर्दा नीति निर्माताहरूले समीक्षा गरिरहेका बेला केले काम गर्यो, केले गरेन र कसरी सुधार गर्न सकिन्छ भन्नेबारे विचार गर्नु उपयुक्त हुनेछ ।
एमडीजीले निर्धारण गरेको लक्ष्य आधारभूत रूपमा ँप्राप्त गर्नसके राम्रो हुने’ स्वरूपका छन् । लगभग सबै क्षेत्रमा केही प्रगति भएको छ, तर धेरैजसोमा आवश्यक मात्रमा भएको छैन । २०१५ मा जन्मिने बच्चाले उसका आमाबाबुको भन्दा निश्चित रूपले थोरैमात्र भौतिक समस्या झेल्नुपर्नेछ । तर, त्यसका साथै व्यापक चुनौती र विशाल असमानता पनि यथावत् नै रहेका छन् । कसरी अझ बढी प्रगति गर्न सकिन्छ भन्नेबारे हामीले आफैलाई सोधिराख्नुपर्छ ।
एमडीजीको महत्त्वाकाङ्क्षामा आठओटा महत्त्वपूर्ण लक्ष्य रहेका छन्: चरम गरीबी र भोक हटाउने, सबैलाई प्राथमिक शिक्षा दिलाउने, लैङिगक समानता र महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने, बालमृत्युदर घटाउने, मातृमृत्युदरमा घटाउने, एचआईभी/एड्स तथा मलेरियालगायतका रोगविरूद्ध लड्ने, वातावरणीय दिगोपना सुनिश्चित गर्ने र विकासका लागि विश्वव्यापी साझेदारीको प्रवर्द्धन गर्ने । यी लक्ष्यका स्पष्ट र ठोस उद्देश्य थिए । उदाहरणका लागि, हामीले दैनिक आय १ डलरभन्दा मुनि हुने मानिसको जनसङ्ख्यालाई आधाले घटाउने लक्ष्य राखेका थियौं । त्यसैगरी, महिला र युवालाई उपयुक्त रोजगार दिने, मातृ मृत्युदर तीन चौथाइले घटाउने, र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर दुई तिहाइले घटाउने लक्ष्य राखिएको थियो ।
यस्ता लक्ष्यबारे कसैले पनि प्रश्न उठाउन सक्दैन । तर पनि लक्ष्यको संरचना भने असङ्गत नै छ । गरीबी आधाले, मातृ मृत्युदर तीन चौथाइले र पाँच वर्षमुनिको मृत्युदर दुई तिहाइले घटाउने लक्ष्य किन राखिएको होला ? 'उचित रोजगार प्राप्ति’को चाहनाप्रति अस्पष्ट रहेर यी क्षेत्रका लागि मात्र किन निश्चित लक्ष्य तोकिएको ?
अनि किन यी कुरामा मात्र निश्चित लक्ष्य तोकिएका होलान् ? आधारभूत ऊर्जा क्षेत्रमा जनताको पहुँच बढाउनेतर्फजोड दिनुको साटो किन इण्टरनेट र मोबाइल फोनजस्ता सूचना प्रविधिमा ध्यान केन्द्रित गरिएको होला ? जबकि अझै पनि १ अर्ब ६० करोड जनताको विद्युतमा पहुँच छैन र सूर्यास्तसँगै उनीहरूको जीवन अन्धकारमा डुब्छ । त्यसैगरी, दाउरा, गुइँठाजस्ता खाना पकाउने इन्धनबाट निस्कने धूँवाले कोठाभित्र हुने वायु प्रदूषणबाट प्रत्येक वर्ष१४ लाखको मृत्यु हुने गर्छ । त्यस क्षेत्रमा किन कुनै लक्ष्य निर्धारण नगरिएको ?
केही आवश्यक क्षेत्रमा ध्यान केन्द्रित गराउन भने एमडीजी सफल भएको छ । स्वच्छ पानी, ढल निकास, वनजङ्गल फँडानी, शिक्षामा लैङिगक विभेदजस्ता विषयले विकसित देशका सञ्चारमाध्यमको ध्यान खासै खिचेको देखिँदैन । एमडीजीमा निर्धारण गरिएका लक्ष्यले यी मुद्दाहरूलाई नीति निर्माणमा समावेश गराउन सफल भएको छ, जसले गर्दा शुरूका दुई क्षेत्रमा प्रगति पनि भएको छ ।
तर, हामी एक कदम अझै अगाडि बढेर धेरै राम्रो गर्न सकिने क्षेत्रमा बढी ध्यान दिन पनि सक्थ्यौं । वास्तवमा यी लक्ष्यहरू प्राप्त गर्न सम्भव नरहेको हामीलाई सन् २००० तिर नै थाहा थियो । यी लक्ष्य प्राप्तिका लागि नीति र सेवा प्रदान गर्ने व्यवस्थामा सुधारका साथै वार्षिक अन्तरराष्ट्रिय सहायतामा ५० अर्ब डलरले वृद्धि गरिनुपर्ने विश्व बैङ्कले हिसाब निकालिसकेको थियो । त्यसैले विविध लक्ष्य प्राप्तिका लागि सहमति गर्नुको साटो केही निश्चित र प्राप्त गर्न सकिने लक्ष्यमा सहमति बनाउनु बढी प्रभावकारी हुने थियो । कोपनहेगन कन्सेन्सस सेण्टरका लागि नोबेल पुरस्कार विजेतालगायतका प्रतिष्ठित अर्थशास्त्रीहरूले गरेको विश्लेषणअनुसार केटाकेटीको खोप कार्यक्रम विस्तार गर्ने, स्कूल जाने खर्च घटाउने र 'सूक्ष्म भोक’का रूपमा देखिएको सूक्ष्म पोषकको कमी अन्त्य गर्ने दिशातर्फ लगानी गर्नु बढी सार्थक हुनेछ ।
गत दशकमा एमडीजीका विस्तृत लक्ष्यले त होइन, विश्वव्यापी तापक्रम वृद्धिले भने धेरै बढी ध्यान खिच्न सफल भयो । वास्तवमा यस अवधिमा विश्वका नेता र नीति निर्माताहरूबीच तापक्रम वृद्धिको मुद्दाले जति प्राथमिकता पायो, त्यति विकाससम्बन्धी अन्य कुनै पनि मुद्दाले पाउन सकेन । यूरोपियन युनियनको जलवायु नीतिको खर्च प्रतिवर्ष२ खर्ब ५० अर्ब डलर पर्न आउँछ, जुन एमडीजीको सबै लक्ष्य पूरा गर्न पर्याप्त हुन्छ । तर, त्यसबाट विश्वव्यापी तापक्रममा कति योगदान पुग्यो भन्ने कुरा सय वर्षसम्ममा पनि मापन गर्न गाह्रो छ ।
यो विश्वमा 'राम्रो गर्ने’ प्रयासमा समस्याकेन्द्रित हुनु र समाधानकेन्द्रित हुनुमा ठुलो भिन्नता छ । विश्वव्यापी तापक्रमवृद्धिलाई त्यस्तो भिन्नताले स्पष्ट गरेको छ । हामी समस्याकेन्द्रित हुन्छौं, अनि कार्बन उर्त्सजन घटाउने विश्वव्यापी सम्झौतालाई एकमात्र तार्किक समाधान भन्ठान्छौं । तर, त्यस्तो विस्तृत सम्झौता राजनीतिक रूपले असम्भवप्राय: देखिनुका साथै अत्यन्तै प्रभावहीनसमेत देखिएको छ । विश्वव्यापी तापक्रम वृद्धि निश्चय पनि एउटा गम्भीर चुनौती हो (जसले अन्य समस्या पनि निम्त्याउनेछ), तर कार्बन उर्त्सजन घटाउने प्रयास एकदमै निष्प्रभावी समाधान हो । त्यस्ता प्रयासले अन्य वैकल्पिक उपायसँग तुलना गर्दा रकमको कमजोर उपयोग मात्रै भएको देखिन्छ ।
समस्याको सबैभन्दा कुशल समाधान खोज्ने हो भने प्राथमिकता प्राथमिकता तोक्नुपर्छ । एमडीजीमा यस्तो प्राथमिकताक्रम तोकिएको छैन र धेरैलाई यो अरूचिकर समेत लागेको छ । तर, हामीले प्रभावकारिताका आधारमा तुलना गरेर स्पष्ट नीतिहरूको पहिचान गरेनौं भने प्राय: अन्य तत्त्व निर्णायक हुन पुग्छन् । जस्तो कि, सञ्चारमाध्यममा आएको चर्चित मुद्दा, आत्मकेन्द्रित व्यापारिक गृहहरू र लगानीलाई कुनै निश्चित क्षेत्रतफर्मोड्न चाहने अभियन्ताहरूले निर्णयप्रक्रियालाई आफ्नो स्वार्थअनुरुप अन्तै मोड्न सक्छन् ।
एमडीजीको एउटा प्रमुख ध्येय गरीबी घटाउनु थियो । सन् २०१५ सम्ममा हामी १ डलरभन्दा मुनि प्रतिव्यक्ति आय भएका मानिसहरूको सङ्ख्या हालको भन्दा आधाले घटाउन सक्नेछौं । तर, यसको श्रेय मूलत: चीन र भारतले लिएको ठूलो आर्थिक फड्कोलाई जानेछ, जसबाट व्यापारले कसरी गरीबी घटाउँछ भन्ने कुराको पुष्टि हुन्छ । तर पनि विकसित देशहरूले राजनीतिक रूपले असम्भव सुधार कार्यक्रम लागू गरेका छन्, जसले विकासशील देशहरूको व्यापारमाथि भएको अवरोध घट्नेछ । तैपनि, हामीले सारा समय क्योटो प्रोटोकलको नयाँ संस्करणका रूपको सन्धि लेख्न खर्चेका छौं, जबकि दोहा राउण्डको व्यापार वार्तालाई हामीले बिसिसक्यौं ।
सारांशमा, सहस्राब्दी विकास लक्ष्य अर्थात् एमडीजीले यस ग्रहलाई राम्रै गरेको छ । तर, २०१५ मा नयाँ लक्ष्य निर्धारण गर्ने बेला भने हामीले कुन क्षेत्रमा ध्यान केन्द्रित गर्दा धेरैलाई राम्रो हुन्छ भन्नेमा इमानदारीपूर्वक सोच्नुपर्ने हुन्छ ।
ब्योर्न लोम्बर्ग स्केप्टिकल इन्भाइरोन्मेण्टलिष्ट र कूलईट का लेखक, कोपनहेगन कन्सेन्सस सेण्टरका प्रमुख र कोपनहेगन बिजनेश स्कूलका एजङ्क्ट प्रोफेशर हुन् ।
Admin 2011-07-10