शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

आशा, लोभ र डरको मनोविज्ञान
रवीन्द्र भट्टराई
शेयर, डेरिभेटिभ तथा विदेशी मुद्रा कारोबारको प्राविधिक विश्लेषण गर्नु लगानीकर्ताका तीन फरक मनोविज्ञानको मूल्य  प्रदर्शित गर्ने रेखाचित्रहरूको अध्ययन गर्नु पनि हो । अनि समग्र बजारले पनि यिनै तीन तत्वका आधारमा आफ्नो बाटो तताइरहेको हुन्छ । यथार्थमा यिनका बाटा कहिल्यै सीधा हुँदैनन् । तर्राईका फाँटमा नागबेली बनी बग्ने नदी अनि मस्त पिएर सडकका दुवै किनारालाई छोउँलाझैं गरेर हिँड्न खोज्ने जँड्याहाको शैलीमा यो निरन्तर चलिरहेको हुन्छ, हिँडिरहेको हुन्छ । त्यसैले रक्सी र शेयर बजारलाई कहिलेकाहीँ जोडेर हेर्ने गरिन्छ ।

यो बजार कहिले उकालो त कहिले ओरालो गर्दै हिँड्ने गर्छ । ओरालो टक्क अडिएर उकालो लाग्ने बिन्दु अनि उकालो एकपटकलाई सकिएर ओरालो र्झने बिन्दु पत्ता लगाएर किनबेच गर्नु अनि नाफा कमाउनु नै यो बजारको विशेषता हो । ती बिन्दु पत्ता लगाउनु नै प्राविधिक विश्लेषण गर्नेको सफलता हो ।  

यी हरेक उकाली-ओरालीका पछाडि मानवीय मनोविज्ञानको भूमिका हुन्छ । यी उकाली-ओरालीमा लगानीकर्ताका दुइओटा आआफ्नै विश्लेषण हुन्छन् । घट्ने या बढ्ने । यो भीडमा कोही बढ्ने आशमा दौडिरहेका हुन्छन् भने कोही घट्ने । बढ्ने आश बोकेकाहरू किन्न दौडिरहेका हुन्छन भने घट्ने आश हुनेहरू बेच्न दौडिरहेका हुन्छन् । बढ्ने आश बोक्नेहरूको जमात बढी भएमा माग बढ्न जान्छ र मूल्य पनि माथि जान्छ तर यसको विपरीत घट्ने आश बोक्नेको जमात बढी भएमा आपूर्ति बढ्न गई मूल्य तल जान्छ । कुरा यतिमात्र हो, बहुमत कसको जुट्ने हो, त्यसले बजारलाई त्यतै लगिरहेको हुन्छ । अनि जुन समूह बजारमा बलियो बन्छ, बजार त्यतैतर्फ लाग्ने गर्छ । यो यहाँको मात्रै नभई संसारकै बजारको नियम हो । एउटा विवेकी लगानीकर्ताका लागि बजारबाट नाफा लिनका लागि आधारभूत विश्लेषणको अध्ययन मात्र पर्याप्त नहुन सक्छ । त्यसका लागि लगानीकर्ताको व्यवहारका अध्ययनमा यी दुइ आशको अध्ययन पनि आवश्यक हुन्छ ।  

आशावादीहरूमा नयाँ प्रवेशी तथा पुराना दुवै लगानीकर्ता हुन सक्छन् । हरेक नयाँ व्यक्ति बजारमा प्रवेश गर्दा उसको मुहारमा केही कमाउने आश झल्किएको हुन्छ । भएको सम्पत्तिमा केही जोड्ने अनि किनेको भन्दा बढीमा बेचेर नाफा लिने अनि साथीले कमाएजसरी नै आफूले पनि कमाउने, छिमेकीको जस्तै गाडी जोड्ने , घर किन्ने आदि । त्यसैगरी पुरानै लगानीकर्तामा पनि त्यस्तै आशा रहेको हुन्छ । बजार घटेमा बढी मूल्यमा किन्नेहरू आगामी दिनमा मूल्य अझै बढ्ने आशमा बसेका हुन्छन् । अनि बढी मूल्यमा बेच्नेहरू अझै मूल्य घटेर तल जाने आशमा बसेका हुन्छन् । यो आश कहिल्यै पनि मरेको हुँदैन । किन्ने अझ बढ्ने आशमा अनि बेच्ने अझ घट्ने आशमा हुन्छन । बजार यी दुइ आशका बीचमा नै चलिरहेको हुन्छ ।

नयाँ प्रधानमन्त्रीको चयनसँगै घट्दो बजारबाट निराश लगानीकर्तामा सरकारविहीनता र अन्योलबाट देशले मुक्ति पाउने अनि स्थायी सरकारसँगै शान्तिप्रक्रिया पूरा भई समयमा संविधान बन्ने आशासँगै आइतबारबाट बजार सकारात्मक देखिएको थियो । लामो समयसम्म पूरै स्क्रीन हरियो नदेखेका लगानीकर्ताले आइतबार शेयरबजारमा हरियाली छाएको देखे (हरियो रङले बढ्दो बजार र रातो रङले घट्दो बजारको सङ्केत गर्छ) । अनि उनीहरूमा यही आशा छ, यो देशको राजनीति र आर्थिक गतिविधिमा आगामी दिनमा यसरी नै हरियाली छाइरहनेछ । तर, सरकार गठनका सम्बन्धमा गठबन्धनकारी दलहरूबीच नै विवाद भएपछि सोमबार र मङ्गलवार नेप्सेमा पुनः रातो रङ हाबी भयो ।

बजारमा आशावादीहरूको पकड बढ्दै गई बजार बढ्दा लोभीहरूको जन्म हुन जान्छ । कतिपय अझै कमाउने लोभमा भएको शेयर विक्री गर्दैनन् । कतिपय भने बढ्दो बजारमा अगाडि नै नकिनेर नाफा गुमाएको र अझै बढ्ने लोभमा खरीद गर्छन् । जब ब्रोकरका कार्यालयमा किन्ने आदेशको भीड लाग्दै जान्छ, विक्रेता पनि के कम आफ्नो शेयरको मूल्य घटाउन तयार हुँदैन । अनि किन्नेहरू तँछाड मछाड गर्दै मूल्य बढाबढमा किन्दै जान्छन् र मूल्य बढ्न जान्छ । जबजब बजारमा मूल्य बढ्दै जान्छ, अनि लोभीहरू बढ्दै जान्छन्, आफूसँग शेयर हुनेहरू अझै मूल्य बढ्ने आशमा बेच्न चाहँदैनन् । नहुने चाहिँ नाफा कमाउने आशमा थप शेयर किन्न खोजिरहेको हुन्छ । हुनेहरू भएको शेयर जिन्दगीभर राख्न चाहन्छन् । किनकि तिनीहरूले यो दौडमा बजारको जँड्याहा प्रवृत्तिलाई बिर्सिएर वृद्धिलाई कहिल्यै नटुङ्गिने यात्राका रूपमा लिइरहेका हुन्छन । तर, बजार त्यो रूपमा रहिरहनु कहिले पनि सम्भव छैन ।

लोभ बढ्दै गएपछि त्यसले मानिसमा उत्तेजनाको विकास गर्छ । अनि ऊ थप शेयर तथा कमोडिटिज, डेरिभेटिभ किन्नका लागि आफ्नो खल्ती छाम्न थाल्छ । आफूसँग रकम नभए बैङ्कको मौज्दाततर्फउसको आँखा जान्छ । त्यसैगरी सापटी दिन सक्ने साथीभाइ तथा इष्टमित्रसँग रकम माग्न पनि ऊ पछि पर्दैन । त्यसमा पनि सम्भावना नदेखे आफूसँग भएको जायजेथा धितो राखेर बैङ्कबाट ऋण लिने मनस्थितिसम्म ऊ पुग्छ । ऊसँग भएको ५ हजार रुपैयाँले ५ लाखको शेयर किन्ने हिम्मत उसमा पलाउँछ । यो उत्तेजनाले उसको खल्ती रित्तो हुन्छ । सम्पत्तिका हिसाबले करोडपति भए पनि ऊसँग साथीलाई चिया खुवाउने पैसा पनि हुँदैन । घरको पैसाको व्यवस्थापन डामाडोल भइसकेको हुन्छ ।

लोभले सृजना गर्ने उत्तेजनाका कारण कतिपयले आफ्नो मिहिनेतको कमाईलाई सकिसकेका हुन्छन् । यो उत्तेजनाको नियन्त्रण गर्नेहरू आफूलाई सफल बनाइराखेका हुन्छन् ।  

हरेक कुराको दुइ फरक पक्ष भएजस्तै आशको पछाडि डर हुन्छ । अनि वृद्धिको पछाडि गिरावट हुन्छ । यो भीडमा निराशावादी अनि डरपोकहरू पनि त्यत्तिकै मात्रामा हुन्छन् । दिनैजसो हुने घटबढमा कुनै दिनको गिरावट अनि हरेक नराम्रा समाचारसँगै आफ्नो सम्पत्ति घट्ने वा लगानी डुब्ने डरसँगै भएको शेयर बेचेर सुरक्षित हुन चाहन्छन् । यदि यी डरपोकको जमात बजारमा बढेमा विस्तारै ब्रोकरको कार्यालयमा विक्री आदेशको ओइरो लाग्दै जन्छ । अनि किन्ने बढ्न चाहँदैन, बेच्नेले घटाएर बेच्न बाध्य हुन्छ । अनि मूल्य घट्न जान्छ । तर, यो गिरावट अनन्तकालको यात्रा बन्न सक्दैन । घटिरहेको बजारभित्र सस्तो मूल्यमाथि गिद्धेदृष्टि लगाउनेहरू फेरि जुर्मुराउन थाल्छन् र ब्रोकरलाई किन्न आदेश दिन्छन् र फेरि मूल्य बढ्न जान्छ । यसै समयमा नाफा देखेर र्‍याल काढ्नेहरू बेच्दै पनि गरेका हुन्छन् । कोही त्यही मूल्यलाई कम मूल्याङ्कन गरिरहेका हुन्छन् भने कोही बढी । त्यही भएर नै दिनैजसो अनि छिनछिनमै किनबेच भइरहेको हुन्छ । मूल्य तलमाथि गरिरहेको हुन्छ ।

यी सबैका पछाडि एउटै विषय छ । त्यो हो सूचना र समाचार । जबजब फाइदा हुने किसिमका सकारात्मक समाचारहरू सम्प्रेषण हुन्छन्, लगानीकर्तामा आशा पलाउँछ अनि घाटा लाग्ने समाचारले डर उत्पन्न गराउँछ । यी समाचार कुनै पनि क्षेत्र जस्तो कम्पनी, सरकार, राजनीतिक, सामाजिक, आर्थिक, कानूनीसँग सम्बन्धित हुन सक्छन् । समाचार कुनै पनि माध्यम रेडियो, टेलिभिजन, पत्रपत्रिका, व्यक्ति आदिबाट आउन सक्छ ।
लेखक शेयर विश्लेषक हुन् ।

Admin 2011-02-09