वैकल्पिक ऊर्जाको सम्भावना र स्थिति

राजेशमान केसी
सामान्य घरेलु प्रयोजनदेखि अन्तरिक्ष उडानसम्मका लागि ऊर्जाको आवश्यकता पर्दछ । कोइला, खनिज तेल, ग्यास, कार्बन आदि ऊर्जाका प्रमुख स्रोत हुन् । त्यसो त ऊर्जा कुनै पनि मुलुकका लागि विकासको आधार पनि हो । किनकि ऊर्जा उपयोगको दरले नै राष्ट्रिय विकास मापदण्डको प्रतिनिधित्व गरिरहेको हुन्छ ।
विश्वमा हाल आपूर्ति भइरहेको ९० प्रतिशत ऊर्जा गैरनवीकरणीय स्रोत अर्थात् खनिज (जीवाश्म) इन्धनभित्र पर्दछ । त्यसैले ऊर्जाखपतको वृद्धिसँगै त्यस्ता जीवाश्म स्रोतहरूमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको मात्रा निरन्तर घटिरहेको छ । करोडौं वर्षको प्राकृतिक प्रक्रियाबाट बनेका यस्ता स्रोतको उपयोग दर यदि यही गतिमा बढ्दै जाने हो भने आउँदो ३० देखि ४० वर्षसम्ममा यी स्रोतहरू पृथ्वीबाट लोप हुने अनुमान विशेषज्ञहरूको छ । ऊर्जाको विश्वव्यापी खपतलाई हेर्दा कोइला ३८ दशमलव ७४ प्रतिशत, पेट्रोल २३ दशमलव ०५ प्रतिशत, प्राकृतिक ग्यास २३ दशमलव ७५ प्रतिशत, जलविद्युत् ६ दशमलव ६४ प्रतिशत र परमाणु विद्युत्बाट ६ दशमलव ५४ प्रतिशत ऊर्जा आपूर्ति भइरहेको छ । हाल नेपालमा खाना पकाउने ऊर्जामध्ये दाउरा ६५ दशमलव ५९ प्रतिशत, मट्टीतेल १३ दशमलव ५३ प्रतिशत, गुइँठा ९ दशमलव ९६ प्रतिशत, एलपी ग्यास ७ दशमलव ६७ प्रतिशत, बायोग्यास १ दशमलव ६६ प्रतिशत र बाँकी अन्य प्रयोग हुने गरेको छ । यसरी नेपालको कुल ऊर्जाखपतलाई हेर्ने हो भने परम्परागत ऊर्जा (दाउरा, कृषि उत्पादनबाट रहने अंश र गोबर गुइँठा आदि) ७९ दशमलव ६३ प्रतिशत र व्यापारिक ऊर्जा (पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र जलविद्युत्) १९ दशमलव ८९ प्रतिशत र बाँकी बायोग्यास, सोलार आदिबाट शून्य दशमलव ४९ प्रतिशत आपूर्ति हुने गरेको देखिन्छ ।
पृथ्वीमा ऊर्जाका अथाह स्रोतहरू भए पनि यिनीहरूको सही र दिगो उपयोग हुन नसक्दा यसले विभिन्न पारिस्थितिकीय प्रणालीलाई असन्तुलित बनाउँदै लगेको छ । यसबाट वातावरणीय समस्या उत्पन्न भई मानिसका साथै पूरै जैविक विविधतामाथि नकारात्मक असर पर्दै गएको वैज्ञानिकहरूको ठहर छ । जस्तो गैरनवीकरणीय इन्धनको अत्यधिक खपतका कारण निस्कने धुवाँबाट भूमण्डलीय तापक्रम बढिरहेको छ । वैज्ञानिकहरूका अनुसार यसबाट व्यापक मात्रामा जैविक विविधतामा ह्रास आइरहेको छ । त्यसो त विभिन्न सङ्क्रामक रोगहरू वृद्धिको प्रमुख कारण पनि तापमानमा वृद्धि र प्रदूषण नै भएको विभिन्न अध्ययनले देखाएका छन् । खासगरी इन्धनको स्रोतका रूपमा दाउराको उपयोग गर्दा वनविनाशको क्रम तीव्र रूपमा बढिरहेको छ । नेपालमा मृत्युको चौथो प्रमुख कारण घरभित्र प्रयोग गरिने दाउरा र गुइँठाको धुवाँ हो भन्ने वातावरणविद्हरूको निचोड छ । खासगरी खाना पकाउन प्रयोग गरिने दाउरा, गुइँठा तथा कृषिजन्य अवशेषलाई बाल्दा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रस अक्साइड, सल्फर डाइअक्साइडजस्ता हानिकारक ग्यासहरूको उर्त्र्सजन हुने गर्दछ । यस्ता विषाक्त ग्यासहरू लामो समयसम्म घरभित्र नै रहने भएकाले यस्तो प्रदूषण घरबाहिरको भन्दा शतप्रतिशत बढी हानिकारक हुने बताइन्छ ।
विशेषगरी वनविनाशको क्रम बढ्दै जाँदा यसले निम्त्याउन सक्ने भू-क्षय, माटोको उर्वराशक्तिमा ह्रास, पानीका मुहानहरू र जीवजन्तुका वासस्थानमा आउने ह्रास आदिजस्ता वातावरणीय समस्याहरू कहिलेकाहीँ मानव अस्तित्वका लागि समेत जोखिमपूर्ण बन्न पुग्दछन् । त्यसो त काठ-दाउराजस्ता परम्परागत ऊर्जा तथा खनिज पदार्थजन्य ऊर्जा बाल्दा उत्पन्न हुने कार्बन डाइअक्साइडजस्ता अन्य ग्यासले पनि वायु प्रदूषण गरी तापक्रममा वृद्धि भई मौसम परिवर्तनमा समेत प्रतिकूल प्रभाव पार्ने वैज्ञानिक रूपमै पुष्टि भइसकेको छ । वैज्ञानिकहरूले सन् १९९० देखि २१०० भित्रमा १ दशमलव ४ देखि ५ दशमलव ८ डिग्री ड्रि्रीसम्म विश्वव्यापी तापमानमा वृद्धि हुने अनुमान गरेका छन् ।
त्यसै पनि नेपालले महँगो पेट्रोलियम पदार्थको आयात गर्दा तिर्नुपरेको विदेशी मुद्रा र त्यसबाट सिर्जित प्रदूषण, वन विनाश, भू-क्षय तथा प्राकृतिक प्रकोप भोग्दै आएको छ । हामीले यस अवस्थाबाट मुक्ति पाउनका लागि हरित ऊर्जा वा नवीकरणीय वैकल्पिक ऊर्जालाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ । ऊर्जाका रूपमा वैकल्पिक इन्धनको उचित प्रचार-प्रसार र विकास गर्न नसक्दा वन विनाशको क्रम तीव्र रूपमा बढ्दै गइरहेको छ । स्मरण रहोस्, अहिले पहाडमा वर्षेनी २ दशमलव ७ र तराईमा शून्य दशमलव २७ प्रतिशतका दरले वनविनाश भइरहेको बताइएको छ । बढ्दो ऊर्जाखपतको यही स्थितिलाई दृष्टिगत गरी हाल आएर विकासोन्मुख तथा विकसित दुवै राष्ट्रहरूले नवीकरणीय ऊर्जाको प्रवर्द्धन र प्रचारप्रसारमा जोड दिने नीति अघि सारेका छन् । विकसित राष्ट्रहरूले मूलतः वातावरणीय समस्याका कारण नवीकरणीय ऊर्जाको प्रवर्द्धनमा विषेश जोड दिने गरेका छन् । विकासोन्मुख राष्ट्रहरूले चाहीँ वातावरणभन्दा आर्थिक कारणलाई प्राथमिकतामा राखेर नवीकरणीय ऊर्जातर्फजोड दिने गरेको पाइन्छ । यस्ता नवीकरणीय ऊर्जाभित्र खासगरी जलविद्युत्, वायु, सौर्य, बायोग्यास, बायोब्रिकेटजस्ता स्रोतहरू पर्दछन् । नेपालको सर्न्दर्भमा भन्ने हो भने वैकल्पिक ऊर्जाको सबैभन्दा महत्त्वपूर्ण स्रोत जलविद्युत् नै हो । जलस्रोतका क्षेत्रमा ब्राजिलपछि विश्वकै दोस्रो ठूलो मुलुक मानिने नेपालमा सानाठूला गरी ६ हजारभन्दा बढी नदीनालाहरू बग्ने गर्दछन् । तीव्र गतिमा बग्ने यी नदीनालाहरूलाई उपयोग गर्न सकिएको खण्डमा यसबाट ८३ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने अनुमान छ । तर, नेपालमा अहिलेसम्मको जलविद्युत् उपयोगलाई हेर्दा केवल ठूला र महँगा विद्युत् आयोजनाहरूमा मात्रै ध्यान गएको देखिन्छ । तर, विज्ञानप्रविधिको क्षेत्रमा भएको द्रुत विकासका कारण नेपालका डाँडाहरूमा बग्ने सानातिना खोलाहरूबाट समेत अत्यन्तै सस्तो मूल्यमा विद्युत् निकालेर ऊर्जाको उपयोग गर्न सकिने स्थिति छ ।
नेपालमा सौर्य, वायु, बायोग्यास, हरित ऊर्जा एवम् लघु जलविद्युत्जस्ता वैकल्पिक ऊर्जाको प्रशस्त सम्भावना रहँदारहँदै पनि यसको उचित खोज अनुसन्धान हुन नसक्नु प्रमुख समस्या देखिएको छ । यसक्षेत्रमा लगानी न्यून रहनु र यसले योजनागत प्राथमिकतासमेत नपाउनु अझ दुःख लाग्दो कुरा हो । नेपालमा परम्परागत ऊर्जाको प्रयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाको विकासतर्फ अगाडि बढ्न सकेको खण्डमा यसबाट कृषि उत्पादन बढाउन, वनजङ्गल विनाशलाई रोक्न, स्वरोजगार बढाउन र वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन विकासमा समेत महत्त्वपूर्ण योगदान पुग्न जाने देखिन्छ । वैकल्पिक ऊर्जा प्रयोगमा वृद्धि गर्न सकेमा यसले वातावरणीय विनाश रोक्न पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । त्यसो त राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानीकर्ताहरू पनि यस क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन् । तर, अनुकूल वातावरण र आवश्यक ऐन कानूनको अभावमा यसक्षेत्रमा वाञ्छित लगानी हुन सकिरहेको छैन ।
समष्टिमा भन्नुपर्दा जैविक र नवीकरणीय ऊर्जाको धनी देश नेपालमा खेर गइरहेको स्रोतको उचित प्रयोग गरी ऊर्जा उत्पादनमा जोड दिनुपर्ने देखिन्छ । वैकल्पिक ऊर्जाको प्रवर्द्धनबाट अत्यधिक रूपमा भइरहेको पेट्रोलियम पदार्थप्रतिको परनिर्भरतामा कमी ल्याउन सकिन्छ । यसबाट बचत हुने ठूलो धनराशी मुलुकको अन्य आर्थिक गतिविधिहरूमा लगानी गरी नेपालको आर्थिक स्थितिमा समेत सुधार ल्याउन मद्दत पुग्नेछ ।
लेखक नाष्टका प्रवर्द्धन अधिकृत हुन् ।