शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कम्पनीको उद्देश्य, नाफा र शेयर मूल्य
रविन्द्र भट्टराई
एउटा कम्पनी स्थापना गरेर कारोबार गर्नुको उद्देश्य के हुन सक्छ ? यस प्रश्नमा धेरैको जवाफ नाफा कमाउनु, विक्री बढाउनु, बजार हिस्सा बढाउनु आदि हुन सक्छन् । तर, यिनले कम्पनीको वास्तविक उद्देश्यलाई प्रतिनिधित्व गर्न सक्दैनन् र कुनै कम्पनीले यो उद्देश्य लिएर आफ्ना निर्णयाई अगाडि बढाउँछ भने त्यो सधैं शेयरधनीको हितअनुकूल नहुन सक्छ । कम्पनीका मालिक भनेका यसका शेयरधनी हुन् । कम्पनीको उद्देश्य शेयरधनीको सम्पत्ति वा शेयरको मूल्य बढाउने हुन जरुरी हुन्छ ।

कोकाकोला कम्पनीले आफ्नो लक्ष्यलाई एक वाक्यमा समेटेको छ । यसले भनेको छ, 'लामो समयसम्म शेयरधनीको सम्पत्ति बढाउनु नै कम्पनीको एकमात्र उद्देश्य हुनेछ ।' तर, नेपाली कम्पनीको लक्ष्य वा उद्देश्यलाई केलाउँदा यस्तो पाइँदैन । बैङ्किङ उद्योगमा प्राय: बैङ्कले एक नम्बर बन्ने उद्देश्य राखेका छन् । नाफा, शेयरधनीको सम्पत्ति निर्माण वा ग्राहकको सेवामध्ये कुन विषयमा एक नम्बर बन्ने भन्ने खुल्न सकेको देखिँदैन । यसको आआफ्नै व्याख्या हुन सक्छ । जलविद्युत् कम्पनीले पनि अग्रपङ्क्तिको कम्पनी बन्ने उद्देश्यलाई प्राथमिकता दिएको पाइन्छ । तर, कतिपयले भने सन्तुष्ट कर्मचारी, सर्वसुलभ सेवा, वातावरणीय सुरक्षामा जोड दिएका छन् । नेपाल टेलिकमको उद्देश्य 'देशका हरेक कुनाकाप्चामा सर्वसुलभ सेवा पुर्याउने' हो । सरकारी लगानी मात्र भएको अवस्थामा यो उद्देश्य ठीकै हुन सक्छ तर यसको निजीकरण र शेयरको किनबेचसमेत शुरू भइसकेको अवस्थामा शेयरको मूल्य बढाउने उद्देश्य र यो पूरा हुने कार्यक्रममा कम्पनीले ध्यान दिनुपर्ने देखिन्छ ।

कम्पनीको नाफा बढ्दैमा सधैं शेयरको मूल्य बढ्छ वा अधिकतम हुन्छ भन्ने निश्चितता हुँदैन । नाफा बढाउने विषयमा पनि अन्योल छ । सञ्चालन नाफा, खुद नाफा, इक्विटीमा प्रतिफल वा प्रतिशेयर नाफा(आम्दानी)मध्ये कस्तो नाफा बढाउने भन्ने स्पष्ट छैन । यस विषयमा आफ्नो अनुकूलका व्याख्या र विश्लेषण हुन सक्छन्, जसले लगानीकर्तामाझ भ्रम सृजना गर्ने काम गर्नसक्छ । कुल नाफा बढाउने वा प्रतिशेयर नाफा भन्ने विषयमा नेपाली कम्पनी र लगानीकर्तामा स्पष्टता छैन । नेपाली पत्रकारिताजगत्मा पनि यस विषयको समाचार सम्प्रेषणमा अन्योल छ । खुद नाफाले कम्पनीको वास्तविक नाफाको मापन गर्न सक्दैन । खुद नाफाभन्दा बढी प्रभावकारी मापन प्रतिशेयर नाफाबाट गर्न सकिन्छ । खुद नाफा बढ्दैमा प्रतिशेयर नाफा बढ्छ भन्ने छैन । नाफा बढाउने कम्पनीको उद्देश्य कुल नाफाभन्दा पनि प्रतिशेयर नाफामा केन्द्रित हुनुपर्छ । नेपाल टेलिकमको परिमाणगत नाफा बढी देखिए तापनि विगतका प्रतिवेदन पल्टाउँदा प्रतिशेयर नाफामा सूचीकृत धेरै कम्पनीको तुलनामा कमजोर छ ।

लगानीकर्ताले पनि लगानी गर्नुअघि यस विषयमा ख्याल पुर्याउन जरुरी छ । नेपाली बजारमा देखिएका विभिन्न कम्पनीको नाफाको परिमाण र तिनको शेयरमूल्य तुलना गर्दा नाफा बढी भए पनि शेयरमूल्य कम रहेको पाइन्छ । उदाहरणका लागि आव २०६६/६७ को वित्तीय विवरण हेर्दा निजीक्षेत्रका वाणिज्य बैङ्कमा नेपाल इन्भेष्टमेण्ट बैङ्कको नाफा सबैभन्दा बढी छ । दोस्रोमा नबिल र तेस्रोमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्क । तर, बजारमूल्य हेर्ने हो भने ठीकविपरीत देखिन्छ । स्ट्याण्डर्ड चार्टर्डको बजारमूल्य सबैभन्दा बढी छ । त्यसपछि नबिल अनि नेपाल इन्भेष्टमेण्ट बैङ्क छन् । सूचीकृत कम्पनीमध्ये नेपाल टेलिकमको सबैभन्दा बढी परिमाणगत नाफा भए पनि मूल्य भने निराशाजनक छ ।

कम्पनीको नाफा कमाउने उद्देश्यले मात्र शेयरको मूल्य बढ्दैन । नाफा एक परिमाणगत तत्त्व हो । यहाँ नाफाको गुणात्मकलगायत अन्य गुणात्मक तत्त्व अझ बढी महत्त्वपूर्ण बन्न जान्छन्, जसले शेयरको मूल्य बढाउन नाफाको भन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । पछिल्लो समयमा शेयरको मूल्य बढाउने उद्देश्य पूरा गर्न कम्पनीले व्यावसायिक मर्यादा र संस्थागत-सामाजिक उत्तरदायित्वमा जोड दिन थालेका छन् । शेयरमूल्य बढाउने उद्देश्यलाई यी तत्त्वले नेतृत्व गरेका पनि हुन्छन् । व्यावसायिक मर्यादामा कानूनको पालना र संस्थागत सुशासन महत्त्वपूर्ण हुन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैङ्कलाई नेपाली व्यावसायिकजगत्मा उच्च व्यावसायिक मर्यादाको उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ । यसैकारण पनि हुन सक्छ यो बैङ्कलाई नाफामा अन्य बैङ्कले पछि पारे पनि मूल्यमा पछि पार्न सकेका छैनन् ।

यसैगरी, कम्पनीको संस्थागत-समाजिक उत्तरदायित्वमा तीन प्रमुख दायित्व पर्न जान्छन्- कम्पनीको कर्मचारीप्रति, ग्राहक वा उपभोक्ताप्रति र समाजप्रतिको दायित्व । व्यावसायिक मर्यादाभित्र बसेर यी दायित्व पूरा गर्ने कम्पनीको नाफा कम भए पनि शेयरको मूल्य बढ्छ । लगानीकर्ताले लगानी गर्नुअघि यी तत्त्वको मूल्याङ्कन गर्न जरुरी हुन्छ । राम्रो कार्यवातावरणमा सन्तुष्ट र कर्तव्यनिष्ठ कर्मचारीको उत्पादकत्व बढी हुन्छ । कर्मचारी परिवर्तनको लागत घट्छ । यी कारणले वस्तुको लागत घट्न जान्छ र विक्री बढ्न गई कम्पनीको नाफा बढ्न जान्छ । बुटवल पावर कम्पनीले सामाजिक उत्तरदायित्व वहन, कर्मचारीको काम गर्ने राम्रो वातावरणको निर्माण, वातावरणको रक्षा र सरोकारवालाको भ्याल्यू बढाउनुलाई कम्पनीको भिजनमा राखेको छ ।

यसैगरी, कम्पनीको शेयरको मूल्य बढाउन ग्राहकको सेवा र सन्तुष्टिमा जोड दिनुपर्छ । एउटा सन्तुष्ट ग्राहकको निर्माण गर्नु र त्यसलाई जोगाइराख्नु नयाँ ग्राहक बनाउनुभन्दा १० गुणा बढी राम्रो हो । यसैले सन्तुष्ट ग्राहकको निर्माण गर्न सकिएमा यसले कम्पनीको नाफाको दीर्घकालीन वृद्धिमा सहयोग पुर्याउँछ । एक ग्राहकले अर्को ग्राहक बढाउँछ, जसले कम्पनीको विज्ञापन लागत ठूलो मात्रामा घटाउन मद्दत पुर्याउँछ ।

समाजमा स्थापना भई समाजबाटै नाफा कमाउन कम्पनीले समाजका निम्ति पनि केही काम गर्नुपर्छ भन्ने मान्यता छ । समाजमा कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्न समाजको मन जित्न सक्नुपर्छ । यसले समाजको कम्पनीप्रतिको विश्वास बढ्न गई त्यसको संरक्षण र प्रचारप्रसारमा सहयोग पुग्छ । कम्पनीको समाजप्रतिको दायित्वमा रोजगार सृजना गर्ने, आवश्यकताअनुसार गुणस्तरीय वस्तु तथा सेवा उत्पादन तथा वितरण गर्ने, प्रदूषणमुक्त वातावरणको निर्माण गर्ने कार्य पर्दछन् । नेपाल टेलिकमको नाफा बढी देखिए तापनि मूल्यमा सुधार आउन नसक्नुमा कमजोर सेवा, असन्तुष्ट ग्राहक र समाज पनि हुन् ।

कम्पनीका हरेक क्रियाकलापका सकारात्मक वा नकारात्मक पक्ष प्रदर्शित हुने ठाउँ भनेको यसको शेयरमूल्य नै हो, जसबाट शेयरधनीले सम्पत्ति निर्माण गर्छ वा बिगारिरहेको हुन्छ । यसमा कम्पनीको वित्तीय पक्षमात्र नभई गैरवित्तीय पक्षले पनि त्यत्तिकै भूमिका निर्वाह गरेको हुन्छ । यसैले कम्पनीको एकमात्र उद्देश्य भनेको शेयरको मूल्य बढाउने र शेयरधनीको सम्पत्ति निर्माण नै हुनुपर्छ । तर, यो लक्ष्यलाई पूरा गर्न भने व्यावसायिक मर्यादा र सामाजिक उत्तरदायित्वको सहारा लिनु अत्यावश्यक हुन्छ ।
लेखक शेयर विश्लेषक हुन् ।

Admin