समृद्ध जर्मनीबाट नेपालको आशा
पूर्णहरि अमात्य
सन् १९३२ को आर्थिक मन्दीपछि यूरोप र अमेरिका पुनः एकपटक त्यस्तै चपेटामा परे । आर्थिक मन्दीले यूरोपका ग्रीस, आयरल्याण्ड र स्पेनजस्ता मुलुक नराम्रोसँग प्रभावित भए । तर, यूरोपकै एउटा देश जर्मनी आर्थिक तथा वित्तीय सङ्कटबाट मुक्त छ । अर्थशास्त्रीहरूले जर्मनीलाई आर्थिक हिसाबले यूरोपको चीन भन्न थालेका छन् ।
सन् २०१० मा अमेरिकाको कुल गार्हस्थ्य उत्पादन दर २ दशमलव ९ प्रतिशत थियो । त्यही अवधिमा जर्मनीको गार्हस्थ्य उत्पादन ३ दशमलव ६ प्रतिशत रहयो । स्टेफेन गारिली (निर्देशक वर्ल्ड कम्पिटिटीभनेस सेण्टर, स्वीस बिजनेश स्कूल) भन्छन्, 'जर्मनी सधैंको भन्दा अहिले अत्यधिक प्रतिस्पर्धात्मक क्षमतामा छ ।' यो एक दशकको अवधिमा यूरोप तथा अमेरिकाको बेरोजगारीको स्थितिमा खासै फरक आएको छैन । तर, ओईसीडी (अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेण्ट) का अनुसार जर्मनीमा सन् २००७ मा ८ दशमलव १० प्रतिशत बेरोजगारी रहेकोमा सन् २०१० मा त्यसलाई ६ दशमलव ९ प्रतिशतमा झार्न ऊ सफल भयो ।
जर्मनीको वित्तीय स्थितिमा सुधार आउनाले यूरोपमा उसको आर्थिक दृष्टिकोणको सशक्त भूमिका देखिन थालेको छ । स्पेन, आयरल्याण्ड तथा बेलायतले समयानुकूल वित्तीय नीति अङ्गीकार नगर्दा आर्थिक हिसाबले सङ्कटग्रस्त भए । तर, जर्मनीले सुस्तरी भए पनि वित्तीय नीतिमा समयानुकूल परिवर्तन गर्नाले ऊ यूरोपको एउटा सम्पन्न मुलुक हुनसक्यो । ओईसीडीको एक अध्ययनअनुसार सन् २००० मा यूरोपको कुल गार्हस्थ्य उत्पादनमा जर्मनीको योगदान १० प्रतिशत मात्र थियो । तर, अहिले उसको योगदान ६० प्रतिशतमा उक्लेको छ । जर्मनीको संसदीय सचिवालयका अर्थसचिव स्टेफेन कम्पेटर भन्छन्, 'हामी यूरोपका रोगग्रस्त मानिस इञ्जिनका रूपमा परिवर्तित भएका छौं ।'
जर्मनीले तयारी वस्तुहरू ठूलो परिणाममा निकासी गरिरहेको छ, जससँग अन्य यूरोपली देशले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । यूरोपियन युनियनसित जर्मनीको ८० प्रतिशत व्यापार बचत (ट्रेड सरप्लस) छ । जर्मनीका उद्योगधन्दाहरू जतिजति उभो लाग्दै जान्छन्, त्यतित्यति अन्य यूरोपेली मुलुक उनीहरूको मूल्यमा जर्मनीले विकास गरेको आरोप लगाउँछन् । आन्द्र सापिर (ब्रसेल्सस्थित थिङ्क टयाङ्क फेलो) भन्छन्, 'जर्मनीसित सबै निराश छन् र जर्मनी अघि बढिरहेको छ । तर, उसले बाँकी यूरोपका लागि के गरिरहेको छ त ?'
विज्ञहरूका अनुसार, विश्व अर्थतन्त्रमा चीनले जुन भूमिका निर्वाह गरिरहेको छ, जर्मनीले पनि त्यही गरिरहेको छ । दुवै मुलुक विशाल उत्पादक हुन्, जसले अस्थिरताका साथसाथै विश्वलाई फाइदा पनि पुर्याइरहेको छ । जर्मनीले आफ्नो पक्षमा ठूलो मात्रामा व्यापार बचत प्राप्त गरेको छ भने कम प्रतिस्पर्धा क्षमता भएको स्पेनले ठूलो व्यापार घाटा बेहोरिरहनुपरेको छ । जर्मनीको निर्यातमुखी अर्थतन्त्रलाई यूरोपको वित्तीय सङ्कटको कारकतत्त्व भएको आरोप लगाइन्छ, अमेरिकाले चीनलाई आफ्नो अर्थतन्त्र फस्टाउन नदिएको आरोप लगाएझैं । यूरोपका साझेदारहरू पनि जर्मनीलाई क्षेत्रीय विकासको अवधारणालाई अघि बढाउन आह्वान गर्दछन् । यूरोपियन युनियनको गभर्निङ निकाय यूरोपियन कमिशन जर्मनीजस्तो व्यापार सन्तुलन राम्रो भएको मुलुकले उपभोक्तामूलक वस्तुमा खर्च बढाएर सिङ्गै यूरोपियन युनियनको अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने मनसाय राख्दछ । फ्रान्सकी अर्थमन्त्री क्रिष्टिन लागार्डे 'संयुक्त भाग्यको' भावना राख्दै यूरोपको भलोका लागि आफ्नो अर्थतन्त्र सुधारका लागि आह्वान गर्छिन् ।
यद्यपि, जर्मनीको निर्यात उसका लागि मात्र नभई सम्पूर्ण यूरोपका लागि हो भन्ने कुरामा बर्लिन विश्वास राख्दछ । एशियामा चीनझैँ जर्मनी एउटा यस्तो सञ्जालको केन्द्रमा अवस्थित छ, जहाँबाट निर्यातमुखी उद्योगहरूका लागि पाटपुर्जा तथा अन्य स्रोत उपलब्ध हुन्छन् । जर्मनीका उद्योगहरूले जतिजति निर्यातमा वृद्धि गर्छन् त्यतित्यति यसका सीमापारिका अर्थतन्त्र फस्टाउँदै जान्छन् । स्पेन, आयरल्याण्ड र अन्य यूरोपेली मुलुकले आफ्नो अर्थतन्त्र सङ्कटग्रस्त हुँदा पनि अनियन्त्रित गृह निर्माणमा निरन्तरता दिइरहे । तर, जर्मनहरूचाहिँ आफ्नो अर्थतन्त्र सुधार्नमा व्यस्त रहे । जर्मन कम्पनीहरूले अनुसन्धान तथा विकासमा पैसा खर्च गर्न कुनै कन्जुस्याइँ गरेनन् र खर्च कटौती गर्नसमेत सफल भए । जर्मनी श्रमबजारलाई व्यवस्थित गर्दै 'हायर एण्ड फायर'को नियम लागू गरेर कम्पनीले सहयोग पुर्याए । सन् २००५ पछि जर्मनीले ज्यालादरमा कमी ल्याउन सक्यो । जर्मनीको विशिष्ट उत्पादन बीएमडब्ल्यू स्पोर्टस् कार तथा कार्चरका सफा गर्ने उपकरणहरूले 'मेड इन जर्मनी'को लेबल देखाउँदै उपभोक्ताहरूसँग राम्रो मूल्य प्राप्त गर्नसके । त्यसले गर्दा जर्मनी द्रुत आर्थिक विकास गर्न सफल भयो ।
वास्तवमा औद्योगिक देशको हिसाबले जापानपछि जर्मनी नै एउटा यस्तो मुलुक हो, जसको राष्ट्रिय अर्थतन्त्रमा निर्यातको प्रमुख भूमिका छ । सन् २००० मा जर्मनीको राष्ट्रिय अर्थतन्त्रमा निर्यातको ३३ प्रतिशत योगदान थियो । सन् २००९ मा त्यो बढेर ४१ प्रतिशत पुग्यो । बर्न भेनोर (म्युनिखस्थित) व्यापार परामर्शदाता भन्छन्, 'जर्मनी एउटा रोडम्याप हो, अमेरिका तथा अन्य मुलुकका लागि ।' जर्मनीले गतवर्ष मेमा यूरोपियन युनियनलाई अन्तरराष्ट्रिय मुद्राकोषमार्फत वित्तीय सुधारका लागि १ टि्रलियन डलर सहयोग गर्यो ।
जर्मनीका समस्या चीनको समस्यासँग मिल्दाजुल्दा छन् । दुवै मुलुकले पुनः सन्तुलन गरी गार्हस्थ्य वृद्धिका लागि नयाँ स्रोतहरूको पहिचान गर्दै विश्व अर्थतन्त्रलाई धरापमा पार्नु पनि भएको छैन । कम्पेटर भन्छन्, 'हामीले के थाहा पायौं भने सुधार एक दशकका लागि मात्र होइन, यो सधैंका लागि एउटा हाँक हो । एउटा पूर्ण सन्तुलित जर्मनी (धेरै हदसम्म चीनझैं) ले मुलुकको प्रतिकूल अर्थतन्त्रमा कमी ल्याउनेछ । विश्व अर्थतन्त्रमा अधिकतम सकारात्मक कुरा ल्याउनेछ । उदाहरणका लागि अमेरिकाले आफ्ना धेरै उत्पादन जर्मन कम्पनी तथा उपभोक्ताहरूलाई विक्री गर्न सक्नेछन् ।
नेपाल र तत्कालीन पश्चिम जर्मनीबीच सन् १९५८ मा दौत्य सम्बन्ध कायम भयो । त्यसबेलादेखि हालसम्म दुवै मुलुकबीच प्रगाढ सम्बन्ध रहँदै आएको छ । जर्मनीका तत्कालीन राष्ट्रपति हेनेरिक लुबकेले सन् १९६७ मा नेपालको राजकीय भ्रमण गरेर नेपाललाई उच्च राजनीतिक महत्त्व दिए । त्रिभुवन अन्तरराष्ट्रिय विमास्थलमा सर्वप्रथम उनी सवार जेट विमान अवतरण गरेको थियो, त्यो नै नेपालमा प्रथमपटक अवतरण गर्ने जेट थियो । नेपाल र जर्मनीबीच व्यापारिक सम्बन्ध पनि राम्रो छ ।
सन् २००८/९ मा नेपालले जर्मनीमा रू. २ अर्ब ८० करोडबराबरका निर्यात गर्यो । त्यसमध्ये ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, नेपाली परम्परागत कागज, अर्थोडक्स चिया तथा कफीले मुख्य हिस्सा ओगटेका छन् । नेपालले सन् २०१० मा २ अर्ब ३ करोडबराबरका विभिन्न वस्तु जर्मनीबाट आयात गर्यो । जर्मनीबाट विशेषगरी गाडी, केमिकल्स र इञ्जिनियरिङ वस्तुहरू नेपालले आयात गर्दछ । नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीकी प्रमुख कार्यकारी अधिकृत सरस्वती महर्जनका अनुसार भारत, अमेरिका र बङ्गलादेशपछि नेपाल जर्मन बजारका लागि चौथो ठूलो व्यापारिक साझेदार हो । जर्मन बजारमा नेपाली उत्पादनहरूको राम्रो माग छ, जसमध्ये अर्थोडक्स चिया र कफी त्यहाँका नागरिकहरूबीच अत्यन्त लोकप्रिय छन् । तर, मागअनुसार ती वस्तु नेपाली उद्यमीहरूले आपूर्ति गर्न सकेका छैनन् । अतः नेपाली किसानहरूले चिया- कफीको उत्पादन र निर्यात बढाई लाभ लिन सक्नुपर्छ । त्यसैगरी अर्ग्यानिक कृषि उत्पादनहरूको पनि जर्मनी ठूलो बजार हो । त्यस्ता वस्तुको उत्पादन तथा निर्यात गरेर राम्रो आर्जन गर्ने सम्भावना छ ।
जर्मनी नेपालका लागि एक प्रमुख पर्यटकीय उद्गम बजार पनि हो । सन् २००९ मा १९ हजार २ सय ४६ जर्मन पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तर, दुई मुलुकबीच सोझो हवाई सेवा सम्पर्क नभएकाले पर्यटक आगमन बढ्ने सम्भावना हुँदाहुँदै पनि हुनसकेको छैन ।
लेखक पुराना पत्रकार तथा अर्थशास्त्रका अध्येता हुन् ।
Admin 2011-04-10