वित्तीय क्षेत्रको जनशक्ति निर्माणका चुनौती
सञ्जीव सुब्बा
नेपालको वित्तीय क्षेत्रमा धेरै बैङ्कहरू स्थापना भएका छन् । तर, यो क्षेत्रको विकासका लागि चरणबद्ध रूपमा कुनै रणनीतिक योजना तर्जुमा भएको छैन । नेपालमा यसका लागि नियामक निकाय र निजीक्षेत्र दुवै चुकेको देखिन्छ । रणनीतिक योजना भएन भनेर पन्छिने अवस्था छैन । आगामी दिनहरूमा कसरी अघि बढ्ने भन्ने बारेमा गहन छलफल गर्नुपर्ने आवश्यकता छ ।
नेपालको वित्तीय क्षेत्रमा सङ्ख्यात्मक रूपमा भएको वृद्धि र हासिल गरेका सूचकाङ्क, मापदण्ड र परिणामहरू निकै प्रशंसनीय छन् । त्यसैले वित्तीय क्षेत्र सुधारका लागि अहिले नियामक निकायको पनि राम्रै ध्यान गइरहेको छ । विगत ८-९ महीनादेखि नेपाल राष्ट्र बैङ्कले सुधारात्मक कार्यक्रम भनेर यस क्षेत्रमा विभिन्न क्रियाकलाप गरिरहेको छ । यस क्षेत्रमा समयसापेक्ष सुधार ल्याउन आवश्यक छ ।
पछिल्लो समयमा बैङ्कको सङ्ख्यामा अति नै वृद्धि भएको छ । बैङ्कको सङ्ख्यात्मक वृद्धि जुन रूपमा भइरहेको छ, त्यस आधारमा दक्ष जनशक्ति पुगेको छैन । यो अवस्था आउन नदिनका लागि राष्ट्र बैङ्कले दीर्घकालीन सोच तयार गर्नुपर्ने थियो । नयाँ बैङ्क खोल्ने क्रमलाई रोक्नुपथ्र्यो । त्यस विषयमा उसले ध्यान दिएन । अहिले यस क्षेत्रका कर्मचारीमा कामको अनुभव निकै कम छ । र, पाइरहेको तलब औसत रूपमा धेरै कम छ । सीईओ र व्यवस्थापन तहको अनुभव मात्रै हेरेर हुँदैन । २-३ वर्षमात्रै अनुभव भएको मानिस शाखा प्रबन्धक (ब्राञ्च मेनेजर)जस्तो संवेदनशील तहमा भएको अवस्था छ । त्यो वित्तीय क्षेत्रको अहिलेको बाध्यता हो । अर्को कुरा के पनि भइदियो भने यो उद्योग वृद्धि भइरहेको अवस्थामा दक्ष जनशक्तिमा ध्यान दिइएन । एक अर्काबाट कर्मचारी खोसाखोस गर्ने र चाँडै बढुवा गरिहाल्ने प्रवृत्ति देखा पर्यो । यसले भर्खरै काम शुरू गरेका सहायकस्तरका कर्मचारीहरूमा १-२ वर्षमै प्रबन्धक बनिहाल्ने आशा जगायो । कर्मचारीहरूले छोटो बाटो अपनाउन थाले र यस क्षेत्रले पनि त्यसलाई स्वीकार्दै आयो । शाखा विस्तारका क्रममा धेरै जनशक्ति चाहियो । तर, दक्ष जनशक्तिभन्दा पनि सङ्ख्यात्मक रूपमा उनीहरूले कर्मचारी नियुक्त गर्न थाले । जुन रूपमा प्रवृत्ति विकास भएको छ, त्यो दिगो हुँदैन । उद्योगलाई चाहिने दक्ष जनशक्ति पनि उत्पादन हुन सक्दैन । त्योचाहिँ अल्पकालीन समाधान मात्रै हो ।
नेपालमा वित्तीयक्षेत्रमा प्रवेश गर्ने कर्मचारीको न्यूनतम योग्यता र सीमा तोकिएको छैन । वित्तीय क्षेत्र भनेको प्राविधिक क्षेत्र हो । इञ्जिनीयर, डाक्टर हुनलाई त्यही विषयमा ज्ञान हासिल गर्नुपर्छ । तर, वित्तीय क्षेत्रमा जाँदा यससम्बन्धी अलिकति भए पनि ज्ञान, अनुभव अथवा त्यही किसिमको शिक्षा हासिल गरेको भए राम्रो हुन्थ्यो ।
वित्तीय क्षेत्रमा तालीमको ठूलो आवश्यकता छ । ठूलो सङ्ख्यालाई तालीम प्रदान गर्नुपर्ने आवश्यकता छ । तालीममा पनि सङ्ख्यात्मकभन्दा पनि गुणात्मक पक्षमा ध्यान दिनुपर्ने अवस्था छ । अहिले तालीम दिने थुपै्र संस्था आएका छन् । यो तालीमलाई पनि व्यापारीकरण गरिँदै छ । उनीहरूले कतिसम्म गुणात्मक जनशक्ति उत्पादन गर्न सक्छन् भन्ने विषय मननयोग्य छ । गुणात्मक जनशक्ति उत्पादन गर्नुमा तालीम दिनेको हात हुन्छ । यसमा तालीम दिने व्यक्ति कुन पृष्ठभूमिका हुन् भन्ने प्रश्नले पनि महत्त्व राख्दछ । नेपालमा निजी बैङ्कहरूबाट आएका कतिजना पूर्णकालीन प्रशिक्षकहरू हुनुहुन्छ त्यसको खोजी गर्नुपर्छ । नेपालमा निजी बैङ्कहरूमा १०-१५ वर्षअनुभव भएका पूर्णकालीन प्रशिक्षकहरू विरलै मात्रै छन् । बिहान-बेलुका समय निकालेर पढाउने आंशिक प्रशिक्षकहरू मात्रै छन् । तालीमप्रति समर्पित भएर वित्तीय क्षेत्रका लागि वित्तीय क्षेत्रबाटै आएका प्रशिक्षक धेरै कम छन् । छँदै छैन भने पनि हुन्छ । सरकारी बैङ्कहरूबाट आउनेचाहिँ छन् । नियामक निकायबाट आएका पनि छन् । नेपालमा निजी बैङ्कको सङ्ख्यात्मक वर्चस्व छ । त्यसैले त्यही क्षेत्रबाट आएकाहरू भए त्यो तालीम प्रभावकारी हुन्थ्यो । तर, त्यो स्थिति छैन । नेपालमा नियमित प्रशिक्षक पाउन गाह्रो छ । तालीमका लागि कार्यक्रम पनि तयारी छ, प्रशिक्षार्थीहरू पनि छन् । तर, पूर्णकालीन प्रशिक्षकहरू नै छैनन् । त्यो पनि बैङ्किङ उद्योग क्षेत्रका लागि एउटा चुनौतीको विषय हो ।
बैङ्किङ क्षेत्रमा प्रवेश गर्नका लागि न्यूनतम मापदण्डको आवश्यकता छ । स्नातक, स्नातकोत्तर गरेकै भरमा मात्रै बैङ्किङ क्षेत्रमा जाने प्रवृत्ति छ । त्यसले उद्योग कतिसम्म दिगो हुन सक्छ र आजको आवश्यकता के हो भन्ने विषयमा विचार गर्नुपर्छ ।
अब बैङ्किङ क्षेत्रमा प्रवेश गर्नका लागि न्यूनतम मापदण्ड परिभाषित गर्नुपर्ने हुन्छ । त्यसो हुन सक्यो भने वित्तीय क्षेत्रले यस क्षेत्रसम्बन्धी ज्ञान भएको जनशक्ति पाउँछ । त्यस्तो जनशक्तिलाई संस्थाहरूले अभिमुखीकरणका लागि धेरै समय खर्चिनु पर्दैन । न्यूनतम मापदण्ड तोकिएपछि वित्तीय क्षेत्रमा आउने पनि त्यही किसिमले आउनेछन् । उनीहरू योग्यता बनाएर मात्रै आउँछन् । वित्तीय क्षेत्रमा प्रवेश गर्नेहरूले न्यूनतम शैक्षिक योग्यताका रूपमा 'बैङ्किङ डिप्लोमा' विकास गर्नु आजको आवश्यकता हो । व्यावसायिक रूपमा तयार पारिएको शैक्षिक कार्यक्रम देशलाई धेरै जरुरी भइसकेको छ । यो कार्यक्रम आजभन्दा ५ वर्षअघि नै आउनुपर्ने हो तर अहिलेसम्म आउन सकेको छैन । यो उद्योगले विश्वासका साथ एकदमै राम्रो छ भनेर स्वीकार्न सक्ने किसिमको बैङ्किङ डिप्लोमा कार्यक्रम अहिलेसम्म आएको छैन । त्यस किसिमको कार्यक्रम ल्याउनलाई गहन अध्ययन गर्नुपर्ने पनि अवस्था छ । कुन कार्यक्रम नेपालको सन्दर्भमा उपयुक्त हुन सक्छ, स्टाफिङ कसरी गर्ने, प्रशिक्षकहरू कस्तो हुनुपर्दछ, कसलाई लक्षित गर्नुपर्दछ भन्ने विषयमा छलफल भइरहेको छ । यसो गर्न सकियो भने पछिसम्मका लागि वित्तीय क्षेत्रमा कुशल जनशक्तिको जमात तयार हुन्छ । यसले भविष्यमा यो क्षेत्रको नेतृत्वका लागि सहयोगी भूमिका पनि निर्वाह गर्न सक्छ । त्यसले गर्दा संस्थागत रूपमा औद्योगिक भविष्य दिगो रूपमा बढ्छ ।
नेपालमा वित्तीय क्षेत्रलाई मुख्य रूपमा तीन किसिमले विभाजन गरिएको छ । राष्ट्रिय अर्थतन्त्रमा यी तीनओटै क्षेत्रको आआफ्नो ठाउँमा महत्त्वपूर्ण योगदान छ । यी तीनओटै क्षेत्रका लागि योग्य जनशक्ति तयार गर्नु अहिलेको आवश्यकता हो । तल्लो तहका लागि मात्रै जनशक्ति तयार गरेर पनि हुँदैन । सबै तहका लागि गर्नुपर्छ । सञ्चालकहरूलाई पनि हामीले यस किसिमको कार्यक्रम लागू गर्नुपर्छ । नेपालको सन्दर्भमा वित्तीय संस्थाका सञ्चालकहरू पहिलो पुस्ताका छन् । हाम्रो समाज कृषि र सानोतिनो व्यापारबाट विकसित हुँदै आएको हो । हामी भर्खरै मात्र व्यवसायीकरणतर्फ उन्मुख भइरहेका छौं । यसो हुँदा सञ्चालकमा संस्थागत सुशासन, नेतृत्वदायी भूमिका, रणनीति आदिका बारेमा पर्याप्त ज्ञान देखिँदैन । त्यसको विकास पनि अहिलेको आवश्यकता हो ।
लेखक नेशनल बैङ्किङ ट्रेनिङ इन्षिटच्युटका प्रमुख कार्यकारी अधिकृत हुन् ।
Admin 2011-03-11