संस्थागत अपराधको विश्वव्यापीकरण
जेफ्री डी साख्स
संसार संस्थागत जालसाजीमा डुब्दै छ । समस्या 'असल शासन' भएको भनिएका धनी राष्ट्रहरूमा सम्भवत: सबैभन्दा ठूलो छ । गरीब मुलुकका सरकारले घूस लिन्छन् र धेरै सङ्ख्यामा आर्थिक अपराधहरू गर्छन् । तर, विश्वस्तरका ठूला कम्पनीहरू यी धनी देशमा नै छन् र त्यहाँका जालसाजीका घटना पनि सबभन्दा ठूला हुने गरेका छन् । पैसाले संसारभरिकै राजनीति र बजारलाई भ्रष्ट बनाएको छ ।
कुनै दिन त्यस्तो हुँदैन, जुन दिन नयाँ धोकाधडी र जालसाजीको समाचार नआएको होस् । विगतको दशकमा नक्कली लेखा राखेबापत, मिलीजुली व्यापार गरेबापत, धितोपत्र जालसाजीबापत, सदस्यता बनाएर ठगी गर्ने 'पोञ्जी' कार्यक्रम चलाएबापत वा प्रमुख कार्यकारीहरूले रकमको ठाडो हिनामिना गरेबापत प्रत्येक 'वालस्टि्रट' कम्पनीले उल्लेख्य मात्रामा दण्ड जरीवाना तिरेका छन् । न्यूयोर्कमा भएको एउटा अत्यन्तै ठूलो मात्राको मिलीजुली व्यापार (इन्साइडर ट्रेडिङ) माथि अहिले छानबिन भइरहेको छ । यसले वित्तीय उद्योगका केही नेतृत्वदायी चरित्रलाई दोषारोपण गरेको छ । यो पनि अमेरिकाका ठूला इन्भेष्टमेण्ट बैङ्कहरूले शेयर कारोबारसम्बन्धी नियमहरूको उल्लङ्घन गरेबापतको रकम मिलाउन तिर्ने जरीवानाकै अर्को शृङ्खला हो भन्न सकिन्छ ।
परिस्थिति यस्तो हुँदा पनि उत्तरदायित्व वहन गर्ने प्रचलन भने फाट्टफुट्ट मात्र छ भन्दा हुन्छ । इतिहासकै सबभन्दा ठूलो वित्तीय सङ्कट आएको २ वर्षभयो । यो सङ्कट वालस्टि्रटका ठूलाठूला बैङ्कहरूको अव्यवसायी गतिविधिले झन् जटिल बनाएको हो । तर, अहिलेसम्म वित्तीय क्षेत्रको एउटा पनि नेतृत्वदायी तहको व्यक्ति जेल परेको छैन । जब कम्पनी आर्थिक घोटालाबापत बन्द गरिन्छ त्यसको मूल्य प्रमुख कार्यकारी अधिकृत वा व्यवस्थापकहरूले होइन, शेयरहोल्डरहरूले चुकाउनुपर्ने अवस्था छ । जरीवानाको रकम गलत ढङ्गले आर्जित सम्पत्तिको सानो अंशबराबर पनि हुने गरेको छैन । यसले भ्रष्ट व्यवहारको प्रतिलब्धि दर सुनिश्चित र धेरै रहेको देखाउँछ । अहिले पनि नियामकहरू र राजनीतिक निर्णायककर्ताहरूमाथि बैङ्किङ लबीको प्रभावशाली दबाब रहने गरेको छ ।
अमेरिकी राजनीतिमा पनि भ्रष्टाचार अत्यन्त लाभकारी साबित भएको छ । फ्लोरिडाका वर्तमान गभर्नर रिक स्कट कोलम्बिया/एचसीए नामक एउटा प्रमुख स्वास्थ्य सेवाप्रदायक कम्पनीका प्रमुख कार्यकारी अधिकृत थिए । यो कम्पनीलाई अमेरिकी सरकारसमक्ष वास्तविकताभन्दा बढी रकम भुक्तानी मागेर बिल पेश गरेको जालसाजीको आरोप लागेको थियो । कम्पनीले अन्ततोगत्वा आफूले १४ ओटा यस्ता गलत काम गरेको स्वीकारेको थियो र त्यसबापत १ अर्ब ७० करोड डलर जरीवाना बुझाएको थियो । त्यहाँको सङ्घीय जाँच ब्यूरो (एफबीआई)को अनुसन्धानले स्कटलाई आफ्नो पद छोड्न बाध्य पारेको थियो । तर, कम्पनीले आफ्नो गल्ती स्वीकारेको एक दशकपछि स्कट रिपब्लिकन पार्टीको स्वतन्त्र बजार अभियन्ताका रूपमा पुन: प्रकट भए ।
जब बाराक ओबामालाई अमेरिकी अटोमोबाइल उद्योग बचाउन एउटा भरपर्दो व्यक्तिको खोजी गर्नुपर्यो, उनले वालस्टि्रटका ठूला दलाल स्टेभन र्याटनरलाई छाने । यद्यपि, र्याटनरमाथि अमेरिकी सरकारी अधिकारीहरूलाई काम गरिदिएबापत घूस दिएकोमा छानबिन भइरहेको छ भनी ओबामालाई थाहा थियो । र्याटनरले ह्वाइटहाउससँग आफ्नो काम सिध्याएपछि केही लाख डलर मात्र जरीवाना तिरेर आफ्नो मुद्दा मिलाउने अवसर पाए ।
गभर्नर र राष्ट्रपतिका सल्लाहकार मात्रैका के कुरा ? पूर्वउपराष्ट्रपति डिक चेनी ह्यालिबर्टन नामक कम्पनीको प्रमुख कार्यकारी भएपछि ⋲वाइट हाउस प्रवेश गरेका हुन् । ह्यालिबर्टनमा उनको कार्यकालताका सो कम्पनी नाइजेरियाका सरकारी अधिकारीहरूलाई अवैध तरीकाले घूस दिने कार्यमा संलग्न भएको थियो । कम्पनीलाई नाइजेरियाको अर्बौं डलर मूल्यबराबरको तेलखानीहरूमा पहुँच दिलाउनका लागि यस्तो घूस दिइएको थियो । नाइजेरियाली सरकारले ह्यालिबर्टनलाई घूसको आरोप लगाएपछि कम्पनीले ३ करोड ५० लाख डलर जरीवाना तिरेर अदालतबाहिर मुद्दा मिलाउने सम्झौता गरेको थियो । तर, यी सबै कुराले चेनीमाथि कुनै प्रकारको प्रभाव परेन । अमेरिकी सञ्चारमाध्यममा यो समाचारले विरलै कुनै तरङ्ग ल्यायो ।
दण्डहीनता व्यापक छ । वास्तवमा धेरै संस्थागत अपराधबारे कसैले चालै पाउँदैन । केही सार्वजनिक भएका पनि फास्सफुस्स भएर अन्त्य हुन्छ । यसका शेयरहोल्डरहरूले सानोतिनो जरीवाना तिरेपछि कुरा मिलिहाल्छ । यस्ता कम्पनीका शीर्ष स्थानमा रहने वास्तविक अपराधीहरूले दण्डित होइन्छ कि भनेर पीर गर्नुपर्ने अवस्था छैन । कम्पनीहरूले ठूलो मात्रामा जरीवाना तिर्दा पनि प्रमुख कार्यकारीहरू पदबाट हट्दैनन् । शेयरहोल्डरहरू यति छरिएर रहेका र शक्तिहीन छन् कि उनीहरूमा यस्ता कम्पनीको व्यवस्थापन नियन्त्रण गर्ने शक्ति अत्यन्त कम छ । अमेरिका, यूरोप, चीन, भारत, अफ्रिका, ब्राजिल र अन्य कतिपय ठाउँमा विस्फोटक बनेको भ्रष्टाचारले यसका कारणहरूबारेमा थुप्रै चुनौतीपूर्ण प्रश्न खडा गरेको छ । अहिले प्रकोपको अवस्थामा पुगिसकेको भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने भन्ने प्रश्न सबभन्दा अहम् हो ।
संस्थागत भ्रष्टाचार मुख्यगरी दुई कारणले नियन्त्रणबाहिर गएको छ । पहिलो, ठूला कम्पनीहरू बहुराष्ट्रिय भएका छन् तर तिनको नियमन र नियन्त्रण गर्ने सरकार राष्ट्रिय तहमा मात्र सीमित छन् । ठूला कम्पनीहरू आर्थिक रूपले यति शक्तिशाली छन् कि सरकार उनीहरूमाथि कारबाही गर्न सधैं डराउँछ । दोस्रो, अमेरिकाजस्ता देशहरूमा यस्ता कम्पनीहरू राजनीतिक प्रचारका लागि आवश्यक रकम प्रदान गर्ने मुख्य स्रोत हुन् । कतिपय अवस्थामा राजनीतिज्ञहरू आफै कम्पनीका अंशियार अथवा संस्थागत नाफाका सुषुप्त लाभग्राही हुन् । झण्डै आधा सङ्ख्याका अमेरिकी कङ्ग्रेसका सदस्य लखपति छन् र धेरैको उनीहरू कङ्ग्रेसमा निर्वाचित भएर आउनुभन्दा पहिलेदेखि नै यस्ता ठूला कम्पनीहरूसँग निकटको सम्बन्ध रहने गरेको छ ।
परिणामस्वरूप, जब कम्पनीहरूको व्यवहारले स्वीकार्य कानूनी र नैतिक सीमा नाघ्छ त्यतिखेर राजनीतिज्ञहरू मुन्टो अर्कैतिर फर्काउँछन् । यदि सरकारले कसैगरी कानून पालन गराउन प्रयास गर्यो भने कम्पनीहरूसँग सरकारलाई घेर्ने वकिलको जमात नै हुन्छ । त्यसले दण्डहीनताको संस्कारलाई बढावा दिएको छ र यसले संस्थागत भ्रष्टाचार लाभकारी छ भन्ने अवधारणालाई थप पुष्टि गरेको छ ।
कानूनको धन र शक्तिसँगको गहिरो साँठगाँठका कारण संस्थागत अपराधलाई नियन्त्रण गर्न कठिन र संघर्षपूर्ण हुने निश्चित छ । भाग्यवश द्रुत र व्यापक सूचनाप्रवाह आजभोलि भ्रष्टाचारको एक प्रकारको प्रतिरोधक र प्रवाह अवरोधक बनेको छ । भ्रष्टाचार अपारदर्शी र अन्धकार वातावरणमा मौलाउँछ । इमेल र ब्लग, फेसबूक, ट्वीटर अरू सामाजिक सञ्जालमार्फत यसअघिको भन्दा अत्यन्त धेरै सूचना यसबारेमा प्रवाह हुन थालेका छन् । हामीलाई नयाँ प्रकारको राजनीतिज्ञ नेताले नेतृत्व गरेको राजनीतिक अभियानको पनि आवश्यकता छ । यस्तो अभियान शुल्क तिरेर गरिने सञ्चारमाध्यमको प्रयोगको सट्टा नि:शुल्क अनलाइन सञ्चारप्रणालीमा आधारित हुनुपर्छ । जब राजनीतिज्ञहरूले आफूलाई संस्थागत चन्दा लिने संस्कारबाट मुक्त गर्छन् तबमात्र उनीहरूले संस्थागत शक्ति दुरुपयोगलाई नियन्त्रण गर्ने क्षमता प्राप्त गर्छन् ।
हामीले संसारका कर स्वर्ग मानिएका केम्यान टापु र अति गोप्य ढङ्गले काम गर्ने स्वीस बैङ्कजस्ता अँध्यारा कुनाहरूमा प्रकाश पुर्याउनुपर्ने आवश्यकता छ । कर छली, घूसखोरी, अवैध भुक्तानी र अरू अवैध कारोबार यिनै गोप्य स्थानका खाताबाट प्रवाहित हुन्छन् । धन, शक्ति र यस्तो अवैध ढङ्गले सशक्तीकृत भएको अदृश्य शक्ति अहिले संसारभर व्यापक भएको छ । यसले विश्व अर्थतन्त्रको वैधानिकतालाई नै चुनौती दिएको छ । यस्तो चुनौती आयमा अभूतपूर्व असमानता र ठूला बजेटघाटाहरू देखिएका बेला थपिएको छ । र, यस्तो असमानता र बजेटघाटा सरकारको धनीमाथि कर लगाउने राजनीतिक निर्णयक्षमता नभएका कारण बढेको हो ।
तसथ, जब तपाईं फेरि अप्रिmका वा कुनै गरीब क्षेत्रमा भएको भ्रष्टाचारका बारेमा सुन्नुहुन्छ, यो कहाँबाट शुरू भएको हो र मानिसहरूलाई भ्रष्ट बनाउने काम को गर्दैछ भन्ने प्रश्न अवश्य सोध्नुस् । न त अमेरिकी, न त कुनै विकसित मुलुकले नै गरीब राष्ट्रहरूप्रति यसबारेमा औंला उठाउन सक्नेछ । किनभने यो समस्या अत्यन्त शक्तिशाली विश्वस्तरीय कम्पनीहरूले सृजना गरेका हुन् ।
साख्स कोलम्बिया युनिभसिटीका अर्थशास्त्रका प्राध्यापक हुन् । उनी संयुक्त राष्ट्रसङ्घ महासचिवका सहस्राब्दी विकास लक्ष्य विशेष सल्लाहकार पनि हुन् ।
साभार : प्रोजेक्ट सिण्डिकेट
Admin 2011-06-10