शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सहकारी वर्ष२०१२ र संयुक्त राष्ट्रसङ्घ
केशवप्रसाद बडाल
संसारभरिका सहकारी सङ्घ/संस्थाको छाता सङ्गठन अन्तरराष्ट्रिय सहकारी महासङ्घ र संयुक्त राष्ट्रसङ्घको संयुक्त आयोजनामा सन् २०१२ लाई अन्तरराष्ट्रिय सहकारी वर्षमा रूपमा मनाउने निर्णयभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाको औपचारिक घोषणा ६४/१३६ अनुसार यसको ६४औं महासभाले सन् २०१२ लाई पनि यससम्बन्धी घोषणा गरेको छ । यसका लागि अन्तरराष्ट्रिय सहकारी महासङ्घ र संयुक्त राष्ट्रसङ्घले सहकारी वर्षमनाउने संयुक्त कमिटी पनि बनाएका छन् । यसलाई सहकारी विकास र प्रवर्द्धनका लागि कमिटी (कोप्याक) भनिएको छ । यो कमिटीले 'सहकारी व्यवसायले सुन्दर विश्व निर्माण गर्छ’ भन्ने सहकारी वर्षको मुख्य नारा तय गरेको छ । यसरी विश्वभरि नै मनाइने वर्षलाई नेपालको सहकारी आन्दोलनले अवसरका  रूपमा लिनुपर्छ ।

संयुक्त राष्ट्रसङ्घले अन्तरराष्ट्रिय सहकारी वर्ष२०१२ का तीनओटा लक्ष्य निर्धारण गरेको छ । आर्थिक, सामाजिक विकासमा सहकारी क्षेत्रको योगदान बढाउने र सहस्राब्दी विकासको लक्ष्य प्राप्तिमा सहकारी योगदानसम्बन्धी जनसमुदायमा चेतना अभिवृद्धि जगाउने पहिलो लक्ष्य हो । सहकारी संस्थाहरूको प्रवर्द्धन तथा वृद्धि गर्नु दोस्रो लक्ष्य हो । त्यस्तै, सरकारलाई सहकारी क्षेत्रको प्रवर्द्धन तथा विकास लागि समयसापेक्ष नीति निर्माणका लागि पहल गर्नु यसको तेस्रो लक्ष्य हो ।

संयुक्त राष्ट्रसङ्घले सहकारीमार्फत विश्वका जनताको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न सकिन्छ भन्ने सन्देश दिनु आफैमा महत्त्वपूर्ण विषय हो । यही आधारमा विश्वका सबै देशलाई राष्ट्रिय कमिटी निर्माण गर्न र स्थानीय कमिटी बनाएर परिचालन गर्न आह्वान गरेको छ । सन् २०१२ को वर्षौभरि विश्वभरका सम्पूर्ण जनतामा सहकारी चेतना विकास गराउन संयुक्त राष्ट्रसङ्घले प्रेरित गरेको छ । यसले नेपालका सहकारीका लाखौं शेयर सदस्य, संस्थाहरू, जिल्ला सङ्घहरू, केन्द्रीय सङ्घहरू, राष्ट्रिय सहकारी बैङ्क र राष्ट्रिय सहकारी सङ्घलाई गौरव अनुभव भएको छ । सहकारीप्रति केही व्यक्तिमा नकारात्मक धारणा रहेको छ । यसको विरोध र इर्श्या गर्नेहरू प्रशस्तै छन् । यस्तो अवस्थामा संयुक्त राष्ट्रसङ्घले विश्वव्यापी रूपमा सहकारीको मूल्य, मान्यता र महत्त्वबारे प्रकाश पार्न सहकारी वर्षनै मनाउने निर्णयगर्नुले सहकारीकर्मीहरूमा हौसला प्रदान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको पहललाई प्रेरणाका रूपमा लिई सहकारीकर्मीहरूले कमीकमजोरी सच्याउनु आवश्यक छ । सहकारीका आधारभूत सिद्धान्त र मूल्यमान्यताअनुरूप आफू चल्नुपर्छ । सहकारी आन्दोलनमा व्यावसायिक कुशलता विकास गर्नु आवश्यक छ । सहकारीका सात सिद्धान्तलाई व्यवहारमा उतार्न र सहकारीबारे उठेका भ्रमलाई चिर्दै अघि बढ्नु आवश्यक छ । यसो भयो भने मात्र सहकारीको पक्षमा जनमत निर्माण गर्न सकिन्छ ।

अन्तरराष्ट्रिय सहकारी वर्षतयारीका लागि संयुक्त राष्ट्रसङ्घले पनि विभिन्न प्रकारका कार्यक्रम गर्दैछ । संयुक्त राष्ट्रसङ्घको आर्थिक-सामाजिक काउन्सिलले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका पर्यवेक्षकहरूसँग बसेर विभिन्न समयमा गोलमेच छलफल गर्दैछ । छलफलमा सहकारी सङ्घका प्रतिनिधि, विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिहरूसमेतको छलफलबाट सहकारी वर्ष२०१२ लाई सफल बनाउन प्रयास गरेको छ । यो छलफलले संयुक्त राष्ट्रसङ्घको ६६ औं महासभामा सहकारी वर्षसफल पार्नका लागि तयारी कार्य प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । यो तयारीपछि २१ डिसेम्बर २०११ मा सहकारी वर्ष२०१२ को सम्पूर्ण कार्यक्रम प्रस्तुत गर्न सजिलो पर्ने भएको छ ।

यसले संयुक्त राष्ट्रसङ्घ सहकारी विकास र विस्तारका लागि कति चिन्तित छ भन्ने कुरालाई उजागर गरेको छ । संयुक्त राष्ट्रसङ्घले तय गरेको सहकारी वर्ष२०१२ को मुख्य नाराले विश्वभरिका आफ्ना सदस्य राष्ट्रलाई खास सन्देश दिन खोजेको छ । सहकारी इण्टरप्राइजले उन्नत विश्व बनाउँछ भन्ने नाराले विश्वशान्ति, विश्व विकास, विश्व वातावरण संरक्षण, विश्व समृद्धिका लागि संसारभरिका जनतालाई दीक्षित गरेको छ । यसले सहकारीको मर्म र भावना बुझ्न, अनुसरण गर्न र आमजनतामा सहकारी चेतनावाद दीक्षित गर्न निर्देशित गरेको छ । अन्तरराष्ट्रिय सहकारी महासङ्घले सहकारीलाई महत्त्व दिनु स्वाभाविक हो । तर, संयुक्त राष्ट्रसङ्घले यति धेरै महत्त्व दिनुको अर्थ सामान्य मात्र होइन । यसमा संसारभरिका सबै सहकारीकर्मी र संसारभरिका संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले गम्भीर भएर सोच्न, विचार गर्न र विश्लेषण गर्न जरूरी छ ।

निजीकरण, उदारीकरण, बजारीकरणलगायत विचारले विश्वव्यापी प्रभाव विस्तार गरिरहेका बेला सहकारी वर्षको अभियान चलेको छ । विश्वव्यापी रूपमा सहकारी अर्थतन्त्रको विकासलाई महत्त्व दिने यो प्रयास स्वागतयोग्य र उत्साहवर्द्धक छ । त्यसमा पनि 'सहकारीले नै सुन्दर संसारको निर्माण गर्छ’ भन्ने नारा तय गर्नु र विश्वव्यापी रूपमा त्यसलाई स्थापित गर्न प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घका वर्तमान महासचिव बान कि मुनलाई धन्यवाद दिनुपर्छ । संयुक्त राष्ट्रसङ्घले नारा मात्र दिएको छैन, कार्यक्रमको महत्त्वलाई पनि दर्साएको छ । सबै देशका राष्ट्रिय कमिटीहरूलाई लक्ष्य प्राप्तिका लागि कार्यक्रम बनाउन निर्देशित गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका वर्तमान महासचिव बान कि मुन दक्षिण कोरियाका नागरिक हुन् । कोरिया दोस्रो विश्वयुद्धपछिसम्म पनि निक्कै पछौटे अवस्थामा रहेको देश हो । त्यतिबेला नेपालभन्दा पनि गरीबी, असमानता, शोषणबाट आक्रान्त अवस्थामा रहेको देश हो । ३३ हजार गाउँ भएको त्यो देशमा ६० प्रतिशत किसान मोही तथा भूमिहीन थिए । ग्रामीण बासिन्दाको जीवन अत्यन्त कष्टकर थियो । त्यसलाई पराले झुपडी र टुकी बालेर बस्ने देश भनेर चिनिन्थ्यो । त्यहाँ भूमिसुधार कार्यक्रम लागू गरेर भूमिहीनमा जमीनको पहुँच पुर्‍याइयो । प्रत्येक गाउँमा सहकारी स्थापना गरियो । अलि पछि नयाँ गाउँ अभियान (सिमाउल उन्दुङ) सञ्चालन गरियो  । यसरी आमजनतामा छरिएर रहेको शीप, क्षमता अनुभव र पूँजीलाई व्यापक परिचालन गरेर थालिएको विकास अभियानले अहिले कोरिया विश्वको १६ औं ठूलो अर्थतन्त्र भएर जी २० को सदस्य छ । प्रतिव्यक्ति आय २० हजार अमेरिकी डलर पुगेको छ । विज्ञान र प्रविधि, कृषि र आवास, सडक, रेल, जहाजलगायतका पूर्वाधार क्षेत्रमा लोभलाग्दो प्रगति गरेको छ । कच्चाश्रम र कच्चापदार्थ निर्यात होइन, आयात गर्ने देशमा परिणत भएको छ । यस्तो देशका नेता संयुक्त राष्ट्रसङ्घका महासचिव भएकाले पनि होला, उनले सन् २०१२ लाई सहकारी वर्षघोषणा गरेका छन् । विश्वलाई सन्देश दिन चाहेका छन्, शान्ति, विकास र समृद्धिका लागि सहकारी अर्थतन्त्रको ठूलो महत्त्व छ ।

राज्यले मात्रै, निजीक्षेत्रले मात्रै होइन, राज्य, सहकारी र निजी तीनै क्षेत्र हातेमालो गर्दे अगाडि बढे मात्र विकास गर्न सकिन्छ । सामाजिक न्याय र उत्पादकत्व वृद्धि गर्न सकिन्छ । यसले मात्रै विश्वशान्ति कायम गर्न सकिन्छ भनेर सन् २०१२ लाई अन्तरराष्ट्रिय सहकारी वर्षमा रूपमा मनाउन विश्वभरिका जनता र राष्ट्रलाई आह्वान गरेका छन् । वास्तवमै यो कार्यक्रमले सहकारी क्षेत्रको विकासमा सहकारी जागरण पैदा गर्न, सहकारी व्यवसाय विकास गर्न, सहकारी क्षेत्र विकासलाई आवश्यक पर्ने ऐन, कानून र नीति निर्माण गर्न बल दिनेछ । हामी विश्वभरिका सहकारीकर्मीहरू अन्तरराष्ट्रिय सहकारी महासङ्घ र संयुक्त राष्ट्रसङ्घको यो अभियनमा सामेल हुनुपर्छ । सरकार, सहकारी र निजीक्षेत्रका सबै पक्षले हातेमालो गर्दे शान्ति र समृद्ध नेपाल निर्माण गर्न एकजुट भएर अघि बढ्न अठोट गर्नुपर्छ ।
लेखक राष्ट्रिय सकारी सङ्घ नेपालका अध्यक्ष हुन् ।

Admin 2011-09-14