शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''गरीबी न्यूनीकरणका लागि गाउँ पर्यटन'' - डा. प्रेम शर्मा
गरीबीको रेखामुनि रहेका ठूलो सङ्ख्याका नेपालीहरूको आर्थिकस्तर उकास्न पर्यटन क्षेत्र भरपर्दो माध्यम हो । त्यसमा पनि ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्न सके गरीबीलाई हटाउन ठूलो मद्दत पुग्नेछ । देशभर छरिएर रहेका पर्यटनगन्तव्य, स्रोतसाधन र आयामलाई उपयोग गर्ने हिसाबले कमै काम भएको छ । केही वर्षयता देशका बुद्धिजीवी र उद्यमीहरूबाट यी स्रोत, साधन र सम्भावनाहरूका विषयमा विचार विमर्श गर्ने र सरकारको ध्यानाआकर्षण गर्ने प्रयास भएको छ ।

हामीले अन्तरराष्ट्रिय पर्यटन विकासका साथै आन्तरिक पर्यटनमा पनि ध्यान पुर्याउनुपर्छ । यसो नगर्ने हो भने नेपाली पर्यटन क्षेत्रको दीगो विकास सम्भव छैन । त्यसैले नेपालको ग्रामीण पर्यटनलाई आन्तरिक स्रोत र साधन, पहुँच र नेपालीहरूको क्षमताभित्र विकास गराउनुपर्छ । अन्तरराष्ट्रिय पर्यटनलाई समेत ग्रामीणमुखी गराई अधिकतम फाइदा लिने गरी योजना बनाउनुपर्छ । यर्स तर्फ नेपाल सरकार, व्यवसायीहरू, स्थानीय निकाय एवम् जनतालाई एकीकृत र जागरूक बनाउनुपर्छ ।

नेपालमा गाउँ पर्यटनका क्षेत्रमा अर्थपूर्ण शुरूआत भएको छ । कास्कीको घनपोखरा, लमजुङको घलेगाउँ, स्याङजाको सिरूबारी (पञ्चमूल) आदि स्थानमा ग्रामीण पर्यटनको शुरूआत भएको छ । तर, यतिमात्र प्रयासले देशको विशाल स्रोत र साधनको सम्भावनालाई उपयोग, परिचालन र विकास गर्न सम्भव छैन । सरकारको एकल प्रयासले मात्र पनि नेपालमा ग्रामीण पर्यटनको विकास सम्भव छैन । सबन्धित सबै हिस्सेदारको संयुक्त प्रयासले मात्र यसको विकास हुन सक्छ ।

नेपाल सरकारले ग्रामीण गरीबी न्यूनीकरणका लागि ग्रामीण पर्यटन विकास कार्यक्रम अगाडि सारेको छ । सो कार्यक्रमलाई परिणाममुखी गराउन धेरै काम गर्नु आवश्यक छ । ग्रामीण पर्यटनका माध्यमबाट रोजगारी सिर्जना गर्ने उद्देश्य नेपाल सरकारको छ । त्यस कार्यका लागि नेपाल सरकार र ग्रामीण उद्यमी व्यवसायीहरूबीच सहज सम्बन्ध विकास हुनु जरूरी छ । नेपाल पर्यटन बोर्ड र गाउँ पर्यटन मञ्चजस्ता संस्थाले त्यसका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छन् ।

बढ्दो औद्योगिकीकरण, यान्त्रिक एवम् प्राविधिक थकाइबाट केही फुर्सद लिई आनन्द लिनका लागि पश्चिमी देशमा पनि गाउँ पर्यटनको विकास बढ्दो छ । भूमण्डलीकरणको असर र शहरी जीवनको न्यास्रोपनले भोलि नेपाली जनजीवनलाई पनि असर पार्नेछ । त्यसैले, आन्तरिक रूपमा ग्रामीण पर्यटनको विकासको दीर्घकालीन सोच यस क्षेत्रमा हुनु आवश्यक छ । अन्तरराष्ट्रिय पर्यटकहरूलाई नेपालको ग्रामीण जनजीवन, स्रोतसाधन, सम्पदा आदिसँग परिचित गराउन सकेमा भावी दिन सुखमय हुनेछन् । त्यसैले नेपाली गाउँघरमा रहेको पर्यटन सम्भावनाको विकासका लागि सम्बन्धित विशेषज्ञहरू, उद्यमी, व्यवसायीहरू र नीतिनिर्माताले संयुक्त प्रयास थाल्नु अपरिहार्य छ ।

नवौं पञ्चवर्षीय योजनामा १४ वटा गाउँलाई गाउँ पर्यटन विकासका नमूनाका रूपमा सञ्चालन गर्ने लक्ष्य रहेको थियो । तर, त्यस कार्यमा खासै उपलब्धि हुन सकेन । दशौं पञ्चवर्षीय योजनामा पनि ६ वटा जिल्लामा ग्रामीण पर्यटन विकास कार्यक्रम सञ्चालन गरिएको थियो । हाल वसन्तपुर, धनुषाधाम, लुम्बिनी, डोल्पो, चितवनलगायतका नमूना गाउँहरूमा पर्यटन विकासका कार्यक्रमहरू सञ्चालनमा रहेका छन् ।

नेपालको पर्यटन विकासका लागि एशियाली विकास बैङ्क, यूएनडीपी, इसिमोड, एसएनभीजस्ता अन्तरराष्ट्रिय संस्थाको पनि ठूलो सहयोग छ । जसको परिणाम नेपाल सासेक (साउथ एशिया सबरिजनल इकोनोमिक कोअपरेशन) र बीबीबीएन (बङ्गलादेश, भूटान, भारत र नेपाल) को नेर्टवर्कमा आबद्ध हुन पुगेको छ । यी संस्थाको उद्देश्य यस क्षेत्रमा पर्ने देशमा पर्यटनको विकास गर्ने हो । पर्यापर्यटन (इको टुरिज्म) र बुद्धिष्ट हार्टजस्ता विषयलाई यी संस्थाले प्रथमिकता दिइरहेका छन् । यी क्षेत्रीय कार्यक्रमहरू नेपालका लागि अन्तरराष्ट्रिय पर्यटन विकासका आयाम हुन सक्दछन् । तर, नेपालले आन्तरिक पर्यटन विकास गर्न आफ्नै योजना, स्रोत र साधनलाई प्रथमिकताका साथ अघि बढाउनु उपयुक्त हुन्छ । विश्वमा गाउँ पर्यटनको महइभ्व बढिरहेको सन्दर्भमा उपयोग हुन नसकेका नेपालका पर्यटनमुखी स्रोत र सम्भावनालाई बजारीकरण गर्नु आवश्यक छ ।

गाउँ पर्यटन विकासका लागि केही निश्चित स्थिति, क्षमता र पूर्वाधार आवश्यक हुन्छ । पर्यटन पर्यटकको घुमफिर र सोखसँग सम्बन्धित हुन्छ । पर्यटक जुनसुकै प्रकारको भए पनि उससँग मनोरञ्जन र ज्ञान हासिल गरौं भन्ने उद्देश्य हुन्छ । आफूले पाउने सुविधा र ज्ञानका आधारमा उसले गन्तव्यस्थल निर्धारण गर्छ । पर्यटन विकास कुनै पनि स्थानको फरक विशेषता र क्षमताले तय गर्छ । पर्यटक, गन्तव्यस्थानको विशेषता र व्यवसायी/आयोजकहरूको त्रिकोणात्मक सम्मिश्रणको आधारमूत तरलीकरणबाट मात्र पर्यटन विकास सम्भव हुन्छ । त्यसैले कुनै योजनाकार तथा व्यवसायी/उद्यमीले गेष्ट-होष्टको माग, क्षमता र आवश्यकतामा आधारित बजार सम्भावनालाई अध्ययन गरेर मात्र पर्यटन विकासको योजना बनाउनुपर्छ । एक-दुइ दिनको रमझम र आकस्मिक पैसा खर्च गराउने कार्यक्रमले पर्यटन व्यवसाय सञ्चालन हुन सक्दैन । समय, माग र यसमा संलग्न व्यक्तिहरूको आवश्यकताले बजार खोज्दछ र त्यसलाई बुझन सके मात्र व्यवसायको भविष्य सफल रहन्छ ।

त्रिशूली रानीपौवा वा मलेखुमा माछा खाने, सिरूबारी वा घलेगाउँमा गुरुङ संस्कृति र सौराहा चितवनमा थारू संस्कृतिको स्वाद लिने नेपाली आन्तरिक पर्यटकहरू को हुन् ? तिनको पहिचान हुनु आवश्यक छ । उनीहरू ती स्थानमा किन जान्छन्, तिनको निरन्तरता कति छ ? ती स्थानका विशेषतालाई दीगो रूपमा विकसित गर्दै लैजाने पूर्वाधार र पहलहरू के के हुन् ? इत्यादि कुरा थाहा पाइरहनु आवश्यक हुन्छ । हिजो काठमाडौँवासी उपत्यकाभित्रका डाँडापाखामा हिउँ पर्दा घरभित्र बस्थे । तर आज फूलचोकी र दामनसम्म किन पुग्छन् ? बिहेपूर्व प्रेमी-प्रेमिका र बिहेपछि दम्पती नगरकोट, पोखरा, दामन, चितवनलगायत ठाउँमा किन जान्छन् ? यी तथ्यहरू बुझनु जरूरी छ । यीभन्दा अलि पर नेपालभित्रै साङ्ग्रिला र स्वर्गहरू छन् । तर त्यहाँ हामी पर्यटनको विकास किन गर्न सकिरहेका छैनौँ ? बुझनु आवश्यक छ ।

फेवातालभन्दा त रारा धेरै गुना राम्रो छ, मनकामनाभन्दा मुक्तिनाथ धेरै कुराबाट अगाडि होला, सिरूबारीभन्दा हुम्लाको लिमी-केर्मी धेरै अगाडि होलान्, राउण्ड अन्नपूर्ण भन्दा कैलाश मानसरोवर धर्मतीर्थ धेरै अगाडि होला । तर हामी किन ती सम्भावना र स्रोतसाधनको उपयोग गर्न सकिरहेका छैनौं ? माग, आवश्यकता र एउटा पर्यटक एवम् उसको उपस्थितिलाई चित्तबुझदो वातावरण बनाउन सक्दा ती क्षेत्रको पर्यटन विकासमा योगदान पुग्न सक्छ । नेपालमा गाउँ पर्यटनको विकास र त्यसलाई दीगो, जनमुखी (गरीबमुखी), क्षमतामुखी र परिणाममुखी बनाउनु अहिलेको चुनौती हो ।

नेपालमा शहरबजारका वासिन्दाको क्रयशक्ति बढ्दै गइरहेको छ । तिनीहरूको फुर्सद , शहरी जीवनको दिक्दारी, यान्त्रिकता तथा कृत्रिमताबाट मुक्तिको चाहनालाई सम्बोधन गर्न सक्दा नेपालको गाउँ पर्यटनको विकासमा योगदान पुग्न सक्छ । हलेसी, फिक्कल, र्स्वर्गद्वारी, रारा, लिमीलगायतका क्षेत्रलाई ग्रामीण पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ । तर, नेपालले आफूसँग रहेका प्राकृतिक, जैविक, मानवीय उत्पादन, संस्कृति र पुरातात्विक सम्पदालाई राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा परिचित गराउने दिशामा धेरै काम गर्न बाँकी छ । हाम्रा स्रोतसाधनहरू कति छन् र त्यसबाट केकति फाइदा लिन सकिन्छ भन्ने ज्ञान नेपालीहरूलाई पनि कमै छ । हामी भारतलाई आफ्नो गन्तव्य बनाइरहेका छौं तर नेपालभित्रै रहेका बहुमूल्य सम्पदा, विषयवस्तु र ठाउँलाई उपयोग गर्न सकिरहेका छैनौं ।

नेपालमा रहेको अपार पर्यटन सम्भावनालाई परिचालन गरी बेरोजगारी, गरीबी र पछौटेपनको समस्या समाधान गर्न सकिन्छ । तर, त्यसका लागि दीर्घकालीन सोच, योजना र कार्यक्रमहरू हुनु आवश्यक छ ।
लेखक त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन् ।