शेयर बजार सुधारका लागि मार्जिन कारोबार
रवीन्द्र भट्टराई
गत साता एक वाणिज्य बैङ्कका ऋण अधिकृतले मलाई फोन गरे । उनले मसँग करोडौं रुपैयाँबराबरको शेयर धितोकर्जा लिने व्यक्ति वा संस्था आवश्यक रहेको र कोही भए सिफारिश गरिदिन अनुरोध गरे । शेयर बजारमा निरन्तर कमी आइरहँदा पनि बैङ्कहरूले शेयर धितो राखेर ऋण लिने ग्राहकको खोजी गर्नुले यो क्षेत्रमा गरिने लगानी बैङ्कका लागि अझै पनि सुरक्षित छ भन्ने प्रस्ट हुन्छ । शेयर बजार घटेर यति तल आउँदा पनि हालसम्म लगानी डुबेको कुनै समाचार सार्वजनिक भएको छैन । त्यसैले पनि यस्तो भएको हुन सक्छ । तर, बजारको प्रवृत्ति यस्तै रहने हो भने सधैं बैङ्क सुरक्षित नै हुन्छन् भन्ने छैन । यसका लागि नयाँ तरिकाबाट ऋण प्रदान गर्न आवश्यक छ ।
आव २०६४/६५ मा शेयर बजार तीव्र वृद्धि हुनुमा शेयर धितो ऋणको ठूलै भूमिका थियो । लगानीकर्ताले शेयर धितो राखेर लिएको ऋण पुनः शेयरमै लगाउँथे । उनीहरू घरजग्गा धितो राखेर पनि शेयरमा लगानी गर्थे । त्यसले बजारमा लगानीकर्ताको क्रयशक्ति, तरलता र कारोबार बढाउनमा सहयोग पुर्याएको थियो । तर, राष्ट्रबैङ्कले यस प्रकारको कर्जामा कडाइ गरेपछि त्यो प्रवृत्ति घटेर गयो र बजार पनि तल र्झन थाल्यो, जुन अझै पनि निरन्तर छ ।
अहिले बजारमा शेयरको सङ्ख्या नेप्से उत्कर्षमा रहेको समयको भन्दा दोब्बरबराबरले बढेको छ । तर, लगानीकर्ताको सङ्ख्या गुणात्मक रूपमा वृद्धि हुन सकेको छैन । महँगोमा शेयर किनेर तथा घर जग्गामा ठूलो लगानी फसेपछि अहिले लगानीकर्ताको क्रयशक्ति घटेको छ । यिनै कारण बजार घट्नेक्रम नरोकिएको हो । लगानीकर्तामा बजारप्रति निराशा बढ्दै गइरहेको छ । बजारप्रति लगानीकर्ताको विश्वास कायम राख्न उनीहरूको लगानी क्षमता वृद्धि गर्न आवश्यक देखिन्छ । त्यसको एउटा उपाय मार्जिन कारोबारको शुरुआत हुन सक्छ । केही समयअघि घरजग्गाको कारोबार अत्यधिक बढ्नुको एउटा कारण मार्जिन कारोबार थियो ।
शेयर खरीद गर्न ब्रोकरबाट ऋण लिने र किनिएको शेयर त्यहीँ धितोका रूपमा राखी गरिने कारोबारलाई मार्जिन कारोबार भनिन्छ । यसरी गरिने कारोबारमा लगानीकर्ताले खरीद मूल्यको निश्चित प्रतिशत नगद ब्रोकरलाई बुझाउँछ भने बाँकी ब्रोकरले नै ऋण प्रदान गर्छ । उदाहरणका लागि कुनै लगानीकर्ताले 'क’ बैङ्कको १ सय कित्ता शेयर २ सय रुपैयाँका दरले २० हजार रुपैयाँ (कमिशनबाहेक)मा खरीद गर्यो । लगानीकर्ताले ६० प्रतिशत नगद बुझाउनुपर्ने व्यवस्था भएमा नगद १२ हजार रुपैयाँ ब्रोकरलाई बुझाउनुपर्छ । बाँकी ८ हजार रुपैयाँ ब्रोकरले लगानीकर्तालाई निश्चित प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउँछ । यसरी किनिएको शेयर ब्रोकरले धितोका रूपमा आफै राख्छ । मार्जिनमा कारोबार गर्दा दिइने ऋण ब्रोकरले आफ्नै पैसा वा बैङ्कबाट लिएर दिन सक्छ । बैङ्कले ब्रोकरको वित्तीय अवस्था, नेटवर्थ, कारोबार हेरी ऋण उपलब्ध गराउँछ । यसबाट बैङ्कले लगानीकर्ताबाट हुने जोखिमलाई ब्रोकरतर्फसार्छ र ब्रोकरबाट समयसमयमा ऋण लगानीका बारेमा जानकारी लिई ऋणको गलत प्रयोग हुनबाट रोक्ने काम गर्छ ।
शेयर खरीद गर्न लगानीकर्ताले तिरेको नगदलाई मार्जिन भनिन्छ । खरीद मूल्यको कति प्रतिशतसम्म लगानीकर्ताले नगद तिर्ने, ब्रोकरले कति प्रतिशतसम्म ऋण उपलब्ध गराउने भन्ने मार्जिन कारोबार नियमावलीले व्यवस्था गरेबमोजिम हुन्छ । भारत तथा अमेरिकामा शये र किन्दा नगदको ५० प्रतिशत शुरूमा तिर्नुपर्ने व्यवस्था छ, जसलाई शुरुआती मार्जिन पनि भनिन्छ । यसका साथै कस्ता ब्रोकर कम्पनीले मार्जिन ऋण दिन पाउने तथा एउटा लगानीकर्तालाई कतिसम्म ऋण दिने भन्ने विषय पनि सोही नियमावलीमा व्यवस्था गरेबमोजिम हुन्छ । भारतमा कम्तीमा ३ करोड नेटवर्थ हुने ब्रोकरेज फर्मले मार्जिन ऋण उपलब्ध गराउन पाउँछ । यसैगरी कस्तो धितोपत्र र कम्पनीमा ऋण दिन पाउने भन्ने पनि नियमावलीले व्यवस्था गरेअनुसार नै हुन्छ ।
तर, नेपालमा हालसम्म मार्जिन कारोबारसम्बन्धी नियमावली ल्याइएको छैन । अहिले हुने गरेको शेयर कारोबार नगद कारोबार हो, जहाँ लगानीकर्ताले खरीद गरेको पूरै रकम नगद बुझाउनुपर्छ । नगद कारोबारमा लगानीकर्ताले किनेको मूल्य, कमिशन तथा अन्य शुल्कहरूसहितको कुल रकम ब्रोकरलाई नगदै बुझाउँछ ।
मार्जिनमा खरीद गरिएको शेयरको मूल्य बढ्दै गएमा लगानीकर्तालाई फाइदा हुन्छ र ब्रोकर पनि सुरक्षित हुन्छ । तर, घट्दै गएमा लगानीकर्तालाई घाटा हुन्छ भने ब्रोकरले दिएको ऋणको जोखिम पनि बढ्दै जान्छ । यस्तो जोखिमलाई कम गर्न मर्मत मार्जिनको व्यवस्था गरिन्छ । यदि शेयरको मूल्य घट्दै गई कुल बजार मूल्यमा ऋणको रकम घटाएर बाँकि रहने रकम (लगानीकर्ताको वास्तविक मार्जिनको प्रतिशत) तोकिएको प्रतिशत मानौं ३० प्रतिशतभन्दा तल गएमा ब्रोकरले लगानीकर्तालाई ब्रोकर कार्यालयमा केही रकम जम्मा गर्न वा अन्य शेयर धितोको रूपमा थप्न आग्रह गर्छ । यसरी गरिने आग्रहलाई मार्जिन कल भनिन्छ । मार्जिन कल गर्न तोकिएको निश्चित प्रतिशत नै मर्मत मार्जिन (म्यान्टिनेन्स मार्जिन) हो । अमेरिका तथा भारतमा मर्मत मार्जिन ४० प्रतिशत छ । यदि ब्रोकरले भनेबमोजिम पैसा वा थप शेयर धितोका रूपमा राख्न नसके ब्रोकरले मार्जिनमा किनेको शेयर विक्री गरी ऋण र ब्याज असुल गरी बाँकी पैसा लगानीकर्तालाई फिर्ता दिन्छ ।
मार्जिन कारोबारले लगानीकर्ताको क्रयशक्ति बढाउँछ । उदहरणका लागि ५० प्रतिशत मार्जिनमा शेयर किन्ने व्यवस्था भए १ लाख रुपैयाँ नगद हुने लगानीकर्ताले २ लाखबराबरको शेयर खरीद गर्न सक्छ । त्यसको कारण बजारमा शेयरको माग बढ्न जान्छ । अहिलेको घट्दो बजारमा शेयरको माग बढाउने नीति आवश्यक पनि छ । यसका साथै नगद कारोबार मात्र रहेको बजारमा लगानीकर्तालाई अन्य विकल्प प्रदान गर्नु पनि जरुरी छ । यो बजारलाई अन्तरराष्ट्रियस्तरमा लाने प्रयास पनि हो ।
मार्जिन कारोबारबाट बैङ्क तथा वित्तीय संस्था अझ बढी सुरक्षित हुन्छन् । बजारमा कतिपय कम्पनीका शेयरको किनबेच भएको देखिए पनि ती शये रमा वास्तविक तरलता भने हुँदैन । यस्ता शेयर धितो राखी ऋण उपलब्ध गराउँदा बैङ्क तथा वित्तीय संस्थाले आवश्यक परेको बेला शेयर विक्री गर्न नसक्ने हुन्छ । त्यस्तै, बजारमा लगानीकर्ताले अनियमित तवरबाट मूल्य बर्ढाई शेयर धितोकर्जा लिने प्रवृत्ति पनि रहेको छ । यो जोखिम बैङ्कलाई सजिलै थाहा नहुने हुन्छ । तर, ब्रोकरमार्फत ऋण दिइएमा बजारको आन्तरिक सूचना ब्रोकरलाई थाहा हुन्छ । त्यसका कारण तरलता भएका र अनियमियतता नगरिएका शेयरमा मात्र ब्रोकरले ऋण उपलब्ध गराउने गर्छ । त्यस्तै, लगानीकर्ता ब्रोकरको नियमित सम्पर्कमा आउने भएकाले उनीहरूको ऋण तिर्न सक्ने क्षमता पनि ब्रोकरलाई बढी थाहा हुन्छ, जसले गर्दा जोसुकै लगानीकर्ताले ऋण पाउने सम्भावना रहँदैन । अर्कोतर्फ मार्जिन कल गर्दा पनि लगानीकर्ताले मार्जिन बुझाउन नसकी शेयर विक्री गर्नुपर्ने अवस्था आएमा ब्रोकरले यस्ता शेयर पहिलो प्राथमिकतामा राखेर कारोबार गर्छ, जुन बैङ्क तथा वित्तीय संस्थामार्फत विक्री गर्दा कम सम्भावना रहन्छ ।
मार्जिन कारोबारमा नगद कारोबारभन्दा बढी जोखिम भए पनि बजारमा विविध विकल्प प्रदान गर्न र लगानीकर्ताको क्रयशक्ति बढाउन यो आवश्यक छ । त्यसैले नयाँ ब्रोकरलाई अनुमतिपत्र प्रदान गर्ने र केन्द्रीय निक्षेप प्रणाली लागू गर्ने कामसँगै धितोपत्र बोर्डले मार्जिन कारोबारसम्बन्धी नियमावली पनि ल्याउन आवश्यक छ । यसले बजारमा तरलता र कारोबार बढाउनुका साथै नयाँ व्यक्तिगत तथा संस्थागत लगानीकर्ता भियभयाउन पनि मद्दत पुग्छ ।
लेखक शेयर विश्लेषक हुन् ।