गलेका वित्तीय विनियामकहरू
जे ब्राडफोर्ड डेलङ
सन् १९९० को दशकको अन्त्यतिर, खासगरी अमेरिकामा वित्तीय विनियमन (वित्तीय प्रणालीलाई कम नियमन गरेर खुला छोड्ने अवधारणा)लाई दुईओटा विचारहरूले उत्प्रेरित गरेका थिए । पहिलो, बैङ्कहरूको पूँजीगत आवश्यकतासम्बन्धी प्रावधानहरूलाई ठूलो पारेर वाणिज्य बैङ्कहरूबाट इन्भेष्टमेण्ट बैङ्किङलाई कानूनी ढङ्गले छुट्टयाइएको थियो । दोस्रो, डेरिभेटिभ्सहरूको आक्रामक ढङ्गले विकास र प्रयोगलाई हौस्याइएको थियो । अहिले अत्यन्तै खराबजस्तो देखिएको यो विनियमनको रणनीति त्यतिखेर किन असल देखियो भन्ने प्रश्न अहम् छ ।
पहिलो कोटीका विचारकहरू, सामान्यत: अमेरिकाको रिपब्लिकन पार्टी समर्थकहरूले वित्तीय नियमनलाई खराब मानेका छन् । किनभने, उनीहरूका लागि सबै खालका नियमन नै अनावश्यक हुन् । दोस्रो कोटीका विचारकहरू डेमोक्रेटिक पार्टीका समर्थकहरू हुन् । उनीहरूका अवधारणाहरू सजिलै बुझिने खालका छैनन् तापनि तिनलाई निम्न चारओटा मूल्याङ्कनमा आधारित छन् भन्न सकिन्छ ।
१) विश्व अर्थतन्त्रको मुख्यगरी औद्योगिक उत्पादनका लागि वित्तीय स्रोतका कारण सृजित बाधाहरूले विगत ६० वर्षयता समग्र उत्पादनशीलता र रोजगारीमा सामान्यभन्दा बढी नै प्रभाव पारेको छ । आधुनिक केन्द्रीय बैङ्कहरूलाई मुद्रास्फीतिका झट्काहरू व्यवस्थित गर्न मुश्किल परिरहेको अवस्था एकातर्फछ भने अर्कोतर्फयथामूल्यस्थितिको अवस्थालाई व्यवस्थित गर्न पनि उनीहरूलाई पुस्तौं लागेको छ । अथवा, उपभोक्ताको तहमा लगातार मूल्यवृद्धि भइरहेको छ भने औद्योगिक उत्पादनहरूले उचित मूल्य नपाएका कारण नाफामुखी हुन सकेका छैनन् ।
२) इन्भेष्टमेण्ट बैङ्किङले सञ्चालन गरेको एकाधिकारपूर्ण व्यवसायले कमाएको नाफा सामान्य प्रतिस्पर्धी बजारले दिन सक्नेभन्दा कैयौं गुणा धेरै देखियो । यस्तो नाफा कमाउनेमा गोल्डम्यान साख्स, मोर्गन स्टयान्ले र जेपी मोर्गन चेजलगायतका केही मुठ्ठीभर इन्भेष्टमेण्ट बैङ्कहरू मुख्य थिए । उनीहरूले आफूसँग उपलब्ध भएको ठूलो मात्राको लगानीयोग्य रकम र नियमन प्रणालीलाई छलेर काम गर्नसक्ने क्षमताका कारण यस्तो नाफा कमाउन सकेका थिए ।
३) उनीहरूले ठूलो लगानीयोग्य रकमलाई घरजग्गा, शेयर साझेदारी र डेरिभेटिभजस्ता दीर्घकालीन प्रकृतिका लगानीमा जोखिम उठाएर ठूलो लाभ लिन सके । यसले एकपटक वित्तीय बजार समाजको जोखिम उठाउनसक्ने क्षमतालाई आर्श्चर्यजनक ढङ्गले परिचालित गर्न सक्दो रहेछ भन्ने देखायो ।
४) अमेरिकी जनसङ्ख्याको दुई तिहाइ गरीबहरू भने सामान्य ब्याजदरमा ऋण लिने र बढी प्रतिलब्धि दर भएका क्षेत्रहरूमा लगानी गर्ने अवसरबाट वञ्चित भए । त्यो सुविधा एक तिहाइ धनीहरूले मात्र उपभोग गर्न पाए ।
यी चारओटा दृष्टान्तले केही संस्थागत व्यवस्थाहरूको परीक्षण भइरहेको कुरा प्रस्टै देखाउँछ । आर्थिक मन्दीका बेला जोखिम उठाउन लगाइएका बन्देजहरू यतिखेर कम जरुरी देखिए । वित्तीय अवनति र समुच्य मागबीचमा बलियो पर्खाल खडा गर्ने अमेरिकी फेडरल रिजर्भको क्षमता प्रामाणिक रूपले स्थापित भएका कारण यस्तो देखिएको हो । नयाँ ढङ्गले ऋण लिने र जोखिमलाई बाँड्ने कुराले कम महत्त्व पायो । ठूलो स्रोत भएका वाणिज्य बैङ्क तथा बीमा कम्पनीहरूले सृजना गरेको प्रतिस्पर्धाले इन्भेष्टमेण्ट बैङ्किङमा एकाधिकार भएका ठूला संस्थाहरूको बेरोकटोक नाफामा कमी आउने देखायो । त्यसैले इन्भेष्टमेण्ट बैङ्कहरूले जथाभावी लगानीको परीक्षण गरे, जुन गर्नु हुँदैनथ्यो ।
यो तथ्यलाई विश्लेषण गर्दा अहिले हामी यही परीक्षणको भग्नावशेष बटुलिरहेजस्तो देखिन्छ । किन विश्वस्तरका तीव्र ऋण बजार निर्माता (हाइली लिभरेज्ड) बैङ्कहरू जोखिम नियन्त्रणमा यस्ता लद्दु देखिए ? किन केन्द्रीय बैङ्क र सरकारहरूले वित्तीय सङ्कटका कारण निजीक्षेत्रको लगानी र उपभोग्य खर्च ठयाक्कै रोकिँदासमेत समग्र मागलाई घट्न नदिने प्रयास गरेनन् ?
आर्थिक मन्दीपछि गरिएका नीतिगत व्यवस्थाहरूले झन् धेरै प्रश्नहरू उब्जाएको छ । आर्थिक सङ्कटको व्यापकता प्रस्ट भइसकेपछि पनि किन सरकारहरू बेरोजगारीहरूलाई सामान्य तहमा फर्काउन आतुरीका साथ लागेनन् ? जबकि, मुद्रास्फीति, मूल्यवृद्धि र ब्याजदरसमेतमा पनि वृद्धि हुने सम्भावना नभएका बेला निजीक्षेत्रलाई लगानीको दबाब पर्नसक्थ्यो । र, वित्तीय उद्योगले नियमनकारी सुधारलाई रोकिराख्न कसरी यस्तो ठूलो राजनीतिक शक्ति कायम राख्न सक्यो ?
अझ थप कुरा, समग्र वित्तीय प्रणालीलाई कसरी पुन:संरचना गर्ने भन्ने कुरा अझै प्रस्ट भएको छैन । ग्लास-स्टीगल ऐनले इन्भेष्टमेण्ट बैङ्कहरूलाई वाणिज्य बैङ्कबाट छुट्टयाएको थियो । यसले इन्भेष्टमेण्ट बैङ्कहरूको एकाधिकारलाई ठूलो लाभ पुर्यायो । ठूलो स्रोत भएका वाणिज्य बैङ्क र बीमा कम्पनीहरूसमेत इन्भेष्टमेण्ट बैङ्किङको प्रतिस्पर्धामा सहभागी भएपछि पनि वित्त कम्पनीहरूको नाफामा अझै वृद्धि भएन । जोखिम उठाउन सक्ने क्षमता भएका, जोखिमबाट लाभ उठाउन नयाँ वित्तीय उत्पादनहरू ल्याउन सक्ने र बिचौलियाको खर्च कटौती गर्नसक्ने वित्तीय सेवाप्रदायकहरूका लागि नाफा कमाउने अवसर उल्लेख्य ढङ्गले बढयो । लगानीकर्ताहरूलाई सोझै लगानीको अवसरसम्म पुर्याएर उनीहरूले बिचौलियाको खर्च घटाए । तर, डेरिभेटिभ्सहरूको उद्भवले जोखिमलाई बाँड्नुको सट्टा केन्द्रीकृत गर्यो । यसबारे जानकारी नै नभएका मानिसहरूलाई जोखिम विक्री गरेर अझ धेरै पैसा बनाउने क्रम शुरू भयो । वास्तवमा, सामान्य मानिसहरूलाई डेरिभेटिभ्सको व्यवसाय गरेर कस्तो जोखिम उठाउँदैछु भन्ने पनि थाहा भएन ।
केन्द्रीय बैङ्कहरूको आफ्नो आधारभूत जिम्मेवारी पनि पूरा गर्न नसक्नुले केन्द्रीय बैङ्किङ प्रणालीमै व्यापक सुधारको आवश्यकता त छैन भन्ने प्रश्न उब्जाएको छ । केनेसियन अर्थशास्त्रीहरू मात्र होइन, राम्रा भनिएका मौद्रिक अर्थशास्त्रीहरूले पनि न्यूनतम आम्दानीलाई स्थिर अवस्थामा राखिराख्न (घट्न नदिन) सफलता पाएनन् । सन् १८२५ मा बैङ्क अफ इङल्याण्डका गभर्नर रहेका कर्नेलियस बुलरले भनेका थिए, जब निजीक्षेत्रमा सुरक्षित र तत्काल नगदमा परिणत गर्न सकिने वित्तीय सम्पत्तिको मागमा अचानक वृद्धि भएर त्यसलाई सङ्कलन गर्न तँछाडमछाड हुन्छ, त्यतिबेला ती मागहरूलाई पूरा गर्नु केन्द्रीय बैङ्कको जिम्मेवारी हो । यसले अर्थतन्त्र टाट उल्टिने र त्यसमा मन्दी आउने सम्भावनालाई टाढा राख्छ । उनीपछि यो पद सम्हाल्नेहरूले यति सानो कुरा पनि कसरी बुझेनन् भन्ने आर्श्चर्य आफ्नो ठाउँमा छ ।
अहिलेको अवस्थामा, दोस्रो विश्वयुद्धपछिको पहिलो पुस्ताको वित्तीय प्रणालीजस्तै कडाइका साथ नियमन गरिएको वित्तीय प्रणालीमा फर्किनुपर्ने अवस्था आउन सक्छ । त्यतिखेरको वित्तीय प्रणालीले औद्योगिकीकरणको उत्थानलाई राम्ररी सघायो । कम्तीमा त्यतिखेरका बृहत् आर्थिक तथ्याङ्कहरूले त्यस्तै देखाएका छन् भन्ने दाबी गर्न सकिन्छ । निश्चितै रूपमा, हामीले अवलम्बन गरेको अहिलेको प्रणालीले अर्थतन्त्रलाई त्यसरी सघाएको छैन ।
जे ब्राडफोर्ड डेलङ अमेरिकाका पूर्व सहायक अर्थमन्त्री हुन् । उनी युनिभसिटी अफ क्यालिफोर्निया, बर्केलीका अर्थशास्त्रका प्राध्यापक तथा नेशनल ब्यूरो फर इकोनमिक रिसचका रिसच एशोसिएट हुन् ।
कपीराईट : प्रोजेक्ट सिण्डिकेट २०११
Admin 2011-07-13