शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

व्यावसायिक समस्याका रूपमा जलवायु परिवर्तन
जी ट्रयुएट टेइट
केही राजनीतिक समस्या आजको भोलि नै समाधान हुन सक्छन्, केहीले भने वर्षौं लिन सक्छन् । तर, धेरै लामो समयपछि, वित्तीय सङ्कट तथा यूरोपको समस्या पनि बिसिसकिएका बेला हामी जलवायु परिवर्तनका परिणामहरू भने भोगिरहेका हुनेछौं ।

जलवायु परिवर्तनको त्यो तहको चुनौती तथा गहिराइले असाधारण तहको सहकार्यको माग गर्दछ- देशहरूबीच, राजनीतिक दलहरूबीच, सरकार-सरकारबीच, व्यवयाय एवम् जनताहरूबीच । यही कारणले लोएड्स बैङ्किङ ग्रूपलगायत बेलायतका केही ठूलामध्येका व्यावसायिक प्रतिष्ठानहरू 'प्रिन्स अफ वेल्स कर्पोरेट लीडर्स ग्रूप अन क्लाइमेट चेञ्ज' (सीएलजी)मा आबद्ध भएर सहकार्य गरिरहेका छन् । अर्को शब्दमा भन्ने हो भने यो चुनौतीलाई सामना गर्न हामी आफै प्रतिबद्ध भएका छौं । अहिलेसम्म हाम्रो काम अत्यन्त आशालाग्दो भएको छ । हामीले जलवायु परिवर्तन ऐनलाई समर्थन गर्यौं । हामीले बलियो, वैज्ञानिक रूपमा भरपर्दो कार्बन कटौतीको लक्ष्य तय गर्न सहयोग गर्यौं । र, हामीले पछिल्लोपल्टको चौथो किस्तासम्म हरेकपटक कार्बन बजेटको समर्थन गरेका छौं ।

अघिल्लो वर्ष बेलायतमा संयुक्त सरकार बन्यो । नयाँ सरकारका प्रधानमन्त्री डेभिड क्यामरुनले यसलाई 'अहिलेसम्मकै बढी हरियो सरकार' बनाउन गरेको वाचाले निकै उत्साहित छौं । प्रधानमन्त्री क्यामरुनले भनेजस्तै 'हरियो सरकार' भएन भने ब्रिटेनले कार्बन कटौतीको लक्ष्य पूरा नगर्ने जोखिम मात्रै छैन, ऊ बलियो, बढी स्थिर र दिगो अर्थतन्त्रको निर्माण गर्ने प्रयासमा पनि पछि पर्नेछ । यस सन्दर्भमा महत्त्वपूर्ण प्रारम्भिक कदममध्ये एक हो, सन् २०२० को दशकसम्म गरिने कार्बन कटौतीबारे कानूनी रूपमा बाध्यकारी लक्ष्य तोक्ने पहिलो देश बेलायतलाई बनाउनु । यस काममा सीएलजीले उत्प्रेरक भूमिका खेल्यो ।

तर, कानूनी रूपमा बाध्यकारी हुने वाचा गर्नु भनेको त्यसलाई साकार गराउने सन्दर्भमा प्रारम्भिक कदम मात्रै हो । यस सम्बन्धमा धेरै काम गर्न बाँकी छ । सरकारी वातावरण रणनीतिसम्बन्धी प्रतिवेदन 'सीज द डे : अ कल टु एक्शन फर यूके क्लाइमेट लीडरशिप'मा त्यस्ता प्रतिबद्धता र वास्तविक नीतिबीच धेरै अन्तर रहेको सीएलजीले पहिचान गरेको छ । आकाङ्क्षालाई यथार्थमा परिणत गर्ने किसिमको रणनीति बनाउन अझै बाँकी छ । बेलायतलाई हरित अर्थतन्त्रको शुरुआतकर्ता बनाउने साधारण र स्पष्ट नीतिगत संरचना हामीलाई चाहिएको छ ।

यदि व्यवसायीहरूले लगानी गर्नुपर्ने हो भने उनीहरूलाई स्थिर र अनुमान गर्न सकिने नीतिको आवश्यकता हुन्छ । दुर्भाग्य के छ भने हामीले त्यसको साटो नीतिगत जटिलता र अस्थिरताका कैयौं उदाहरण देखेका छौं । यसको उदाहरण हो, कार्बन न्यूनीकरण प्रतिबद्धता, ऊर्जा कुशलता योजना । हामीलाई थाहा छ, बेलायती सरकारले प्रदूषणलाई निरुत्साहित पार्न करको लीवरलगायत आफूले प्रयोग गर्न सक्ने सबै प्रकारका उपाय प्रयोग गर्नुपर्छ । तर, यस्ता उपाय परिवर्तनका दीर्घकालीन रणनीतिसँग अनिवार्य रूपमा जोडिएकै हुनुपर्छ भन्ने हामी विश्वास गर्छौं ।

तर पनि धेरै उपलब्धिहरू हासिल भएका छन् । सरकारको 'ग्रीन डील' आफ्नै घर भएकाहरूको ऊर्जा कुशलता सुधार गर्न कसरी सहुलियत प्रदान गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण उदाहरण हो । र, भर्खरै स्थापना भएको 'ग्रीन इन्भेष्टमेण्ट बैङ्क'ले यस क्षेत्रमा लगानीलाई उत्प्रेरित गर्नुपर्छ । तर, यी दुवै योजनाले साँच्चैको प्रभाव पार्नका लागि प्रशस्त स्रोतसाधन र प्रतिबद्ध उद्देश्य हुनु आवश्यक छ ।

जलवायु परिवर्तन नि:सन्देह वैज्ञानिक अध्ययनको जटिल क्षेत्र हो । र, यससँग सम्बन्धित अन्य मुद्दा पनि उस्तै जटिल हुन सक्छन् । अझै पनि यससम्बन्धी महत्त्वपूर्ण प्रश्नको उत्तर खोज्नुपर्ने नै छ । उदाहरणका लागि वस्तु अन्तरनिहित कार्बन उर्त्सजनलाई वस्तुका रूपमा कसरी गणना गरेर हिसाब राख्ने वा घटाउने ? त्यस्तै, यस्ता वस्तुहरू देशको सीमा काटेर अर्को देशमा पुगेपछि उर्त्सजन न्यूनीकरणको खर्च उत्पादकले तिर्ने हो कि उपभोक्ताले ?

समस्या जटिलताको मात्र होइन, महत्त्वाकाङ्क्षाको पनि हो । यी चुनौतीको स्तर र आयामले सरकार र व्यवसायबीच असाधारण सहकार्यको माग गर्दछन् । जलवायु परिवर्तनले बजार असफलताको प्रतिनिधित्व गर्दछ, त्यस्तो अवस्थामा कम्पनीहरूले आफ्ना नियामकहरूसँग सहकार्य गर्नुपर्छ । उदाहरणका लागि कार्बनको प्रतिनिधिमूलक मूल्य तय गर्ने संयन्त्र बनाउन यसो गर्नुपर्ने हुन्छ ।

बहुपक्षीय उर्त्सजन कटौती सम्झौताका लागि सरकारहरूले निरन्तर जोड दिइरहनुपर्छ । तर, यसको अभावमा पनि हामी बेलायतलाई हरित प्रविधिको अभियन्ता र हरित उद्यमको केन्द्रका रूपमा प्रवर्द्धन गर्न सक्छौं । यथार्थत: जलवायु परिवर्तन भनेको बजार असफलता मात्रै होइन, यो त्यस्तो विनाश पनि हो, जसले धेरै अवसर पनि प्रदान गर्छ । ती अवसर भनेको व्यवसाय गर्ने नयाँ तरीका, हाम्रो जीवनशैलीलाई कायम राख्ने नयाँ प्रविधि र उपभोग र उत्पादनप्रति नयाँ दृष्टिकोण हुन् । बेलायतले यस क्षेत्रमा आफ्नो नेतृत्व पक्का गर्ने यो अवसर हो ।

पक्कै पनि बेलायत चरम मन्दीबाट अझै बाहिर निस्कने क्रममै छ । वित्तीय सङ्कटका कारण जीवनस्तर बिग्रिएको छ । यूरोजोनको समस्याले हामीलाई के सम्झाउँछ भने बेलायतभन्दा बाहिर पनि समस्या छ । यति हुँदाहुँदै पनि हामीसँग वास्तविक भिन्नता स्थापना गर्ने अवसर छ । बेलायतको गठबन्धन सरकार जलवायु परिवर्तनको खतराका बारेमा एक आवाजका साथ बोल्छ । बेलायती जनता के मान्दछन् भने निष्त्रिmयता अब स्वीकार्य छैन । र, देशको व्यवसायी समुदाय यो समस्यालाई सम्बोधन गर्नका लागि आफ्नो भूमिका खेल्न प्रतिबद्ध छ ।

जलवायु परिवर्तनले हाम्रो जीवनशैलीलाई खतरामा पारेको छ । आउँदा वर्ष र दशकहरूमा हामीले केही असहज समायोजनको सामना गर्नुपर्ने छ । अगाडिको बाटो निकै लामो र कठिन हुनेछ । र, त्यो निकै महँगोसमेत हुने सम्भावना छ ।

तर, भविष्यमा हामी सबैले लगानी गर्नु आवश्यक छ । हामी व्यवसायी समुदायले बेलायतलाई हरियो बनाइराख्न भविष्यमा लगानी गरिरहने र अवसरको सृजना गरिरहने वाचा गरेका छौं । तर, हाम्रो सफलताका लागि हामीले सरकारका पनि त्यस्तै प्रतिबद्धता हुनु आवश्यक हुन्छ । अन्य देशका व्यवसायलाई पनि यहाँको जस्तै सरकारको प्रतिबद्धता र स्थिरता आवश्यक छ । हामी सबैका लागि यो जलवायु परिवर्तनका विषयमा गरिएका ठूला वाचालाई वास्तविकतामा बदल्न नेतृत्व देखाउने समय हो ।
जी ट्रयुएट टेइट ल्योण्ड्स बैङ्किङ ग्रूपका प्रबन्ध निर्देशक हुन् । कपीराइट : प्रोजेक्ट सिण्डिकेट २०११