धनी हुने बाटोको खोजी
ओटाभियानो कानुतो
विश्वव्यापी आर्थिक वृद्धिको इञ्जिनको स्थान परिवर्तन हुँदै छ । अहिले विश्वको कुल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्साको स्रोत विकासशील देशहरू हुन् । परिणामस्वरूप स्वाभाविक रूपमा एउटा नयाँ प्रश्नप्रति ध्यानाकर्षण भएको छ- केही वा धेरै ती विकासशील देशहरू 'मध्यम आयको धराप'मा फस्न सक्ने जोखिम छ कि छैन ?
'मध्यम आयको धराप'ले निकैओटा विकासशील देशहरूलाई कब्जामा पारिसकेको छ । तिनीहरू न्यून प्रतिव्यक्ति आयको स्तरबाट माथि उठ्न सफल भएका छन् । तर, त्यसपछि भने रोकिएका छन् । उनीहरूले विकसित मुलुक बराबर उच्च आयस्तरमा पुग्ने बाटो भेट्टाउन सकेका छैनन् । सन् १९८० देखिको धेरै ल्याटिन अमेरिकी देशहरूको अनुभवले यस किसिमको धरापलाई चित्रण गर्छ । पछिल्ला वर्षहरूमा अन्यत्रका मध्यम आयस्तर भएका देशहरूले पनि त्यही बाटो पछयाउने डर उत्पन्न भएको छ । आयस्रोतको भर्याङमा जति माथि चढ्दै गयो त्यति नै गाह्रो हुने त होइन ?
न्यूनबाट मध्यम आयस्तरमा उक्लेका प्राय: सबै देशहरूलाई हेर्दा त्यसमा निहित विकास प्रक्रिया समग्रमा उस्तै छ । त्यहाँ निर्वाहमुखी पेशाबाट आधुनिक उत्पादनमूलक वा सेवा क्षेत्रमा स्थानान्तर भएका अदक्ष मजदूरहरूको ठूलो सङ्ख्या छ, जहाँ यस्ता कामदारहरूको शीप वृद्धिको त्यति धेरै जरुरत पर्दैन । तथापि, उनीहरू उच्चस्तरको पूँजी तथा त्यसैअनुरूपको प्रविधिमा काम गर्छन् ।
यसको कारण के छ भने आधुनिक प्रविधि धनी देशहरूबाट सजिलै प्राप्त गर्न सकिन्छ र स्थानीय रूपमा ग्रहण गर्न पनि सजिलो छ । यस किसिमको प्रविधि हस्तान्तरणको असरस्वरूप उत्पादनलाई असर पार्ने सबै पक्षहरूको उत्पादकत्व (टोटल फयाक्टर प्रडक्टिभिटी)मा उल्लेख्य वृद्धि हुन्छ, जुन साधारणतया शहरीकरणसँगसँगै अघि बढ्छ । यसले कुल गार्हस्थ्य उत्पादनको वृद्धिलाई उच्च बनाउँछ । यस्तो वृद्धि श्रम, पूँजी तथा उत्पादनका अन्य भौतिक साधनहरूको विस्तारमार्फत बढ्नेभन्दा निकै बढी हुन्छ ।
यसप्रकार त्यस्ता 'तलै झुण्डिएका फलफूल'बाट आर्थिक वृद्धिका रूपमा लाभ सङ्कलन गरिरहँदा ढिलो वा छिटो फाइदाहरू सीमित हुँदै जान्छन् । त्यसपछि आर्थिक वृद्धि सुस्त हुनसक्छ र अर्थतन्त्र मध्यम आयस्तरको धरापमा पर्नसक्छ । यो सङ्क्रमणको 'टर्निङ प्वाइण्ट' त्यसबेला आउँछ, जब स्थानान्तरण हुन सक्ने अदक्ष कामदार आउने स्रोत रित्तिन्छ । वा कहिलेकाहीँ यस्तो अवस्था पनि आउन सक्छ, जुनबेला कामदार खपत गर्ने आधुनिक उत्पादकत्वको क्षेत्र कामदारको स्रोतको त्यो पोखरी नरित्तीकनै भरिइसक्छ ।
यो अवस्था पार भएपछि उत्पादनका हरेक साधानको वृद्धि गर्ने तथा कुल गार्हस्थ्य उत्पादनमा भएको तीव्र वृद्धिलाई कायम राख्ने कुरा उत्पादनमूलक, सेवा क्षेत्र तथा कृषिको मूल्य अभिवृद्धि शृङ्खला (भ्यालू चेन)लाई उत्थान गर्नसक्ने अर्थतन्त्रको क्षमतामा निर्भर गर्छ । यस्तो उत्थानले प्राविधिक उन्नयन, उच्च गुणस्तरीय मानव पूँजी आवश्यक पर्ने क्रियाकलापहरू, तथा डिजाइन एवम् सङ्गठनात्मक क्षमताजस्ता उत्पादनका पक्षहरूको आवश्यकतालाई बढाउँछ । यसका अतिरिक्त नवप्रवर्तन तथा बजार कारोबारको परिष्कृत शृङ्खलालाई सहयोग गर्ने संस्थागत संरचना पनि आवश्यक पर्छ ।
अहिलेको स्तरका प्रविधिहरूको सञ्चालनमा महारथ हासिल गर्नुभन्दा विदेशबाट सजिलै किन्न वा नक्कल गर्न नसकिने क्षेत्रमा आन्तरिक क्षमता तथा संस्थाहरूको निर्माण गर्नु चुनौतीपूर्ण हुनेछ । त्यसका लागि शिक्षाको प्रावधान तथा उपयुक्त पूर्वाधार न्यूनतम शर्त हुन् ।
अहिले मध्यम आय भएका ल्याटिन अमेरिकी देशहरूमा निर्वाहमुखी क्षत्रमा श्रम बचत हुँदाहुँदै पनि त्यहाँबाट श्रमिकको स्थानान्तरण हुने क्रम एकदम सुस्त भइसकेको छ । सन् १९९० को दशकसम्मको बृहत् आर्थिक अव्यवस्थापन र अन्तरमुखी दृष्टिकोणले त्यस्तो श्रम स्थानान्तरण प्रक्रियालाई सीमित बनाएको छ । यद्यपि, उत्पादनका केही विशेष क्षेत्रहरूले विश्व मूल्य अभिवृद्धि शृङ्खलामा राम्रो स्थान हासिल गरेका छन् । उदाहरणका लागि ब्राजिलको आधुनिक प्रविधिप्रधान खेती, परिष्कृत समुद्री पिँधबाट तेल निकाल्ने प्रविधि क्षमता तथा हवाईजहाज उद्योग उल्लेख्य छन् ।
यसको ठीक विपरीत एशियाली विकासशील देशहरूले आफ्नो श्रमलाई स्थानान्तरण गर्न अन्तरराष्ट्रिय व्यापार गरेका छन् । यसका लागि उनीहरूले विश्व मूल्य अभिवृद्धि शृङ्खलाका श्रमप्रधान क्षेत्रहरूमा आफूलाई घुसाएका छन् । सूचना तथा सञ्चार प्रविधिमा भएको अत्याधुनिक विकासले यस कार्यलाई सहज बनाइरहेको छ । साथै, यातायात खर्चमा तथा अन्तरराष्ट्रिय व्यापार अवरोधमा आएको कमीले पनि यसलाई सघाइरहेको छ ।
न्यूनबाट मध्यम प्रतिव्यक्ति आयतर्फजाने र त्यसबाट उच्च आयस्तरमा जाने बाटोलाई निर्वाहमुखी क्रियाकलापबाट आधुनिक र त्यसबाट पनि परिष्कृत काममा जाने जनसङ्ख्याको हिस्साले प्रतिनिधित्व गर्छ । अन्तरराष्ट्रिय व्यापारले त्यस्तो बाटो खुला गरेको छ । तर, संस्थागत सुधार, उच्च गुणस्तरीय शिक्षा तथा स्थानीय रूपमा अमूर्त सम्पत्तिको निर्माणजस्ता पक्षहरू प्रगतिलाई दीर्घकालसम्म बचाइराख्नका लागि आवश्यक छन् । दक्षिण कोरिया यसको एउटा गतिलो उदाहरण हो, जसले आयस्रोतको खुड्किलो चढ्नका लागि यी सबै अवसरहरूलाई दोहन गर्यो ।
विकासशील देशहरूमा उच्च वृद्धि कायम राख्न आवश्यक छ । ग्रामीण निर्वाहमुखी र शहरी अर्ध बेरोजगार श्रमिकलाई पेशागत परिवर्तनका माध्यमबाट कुल उत्पादकत्व वृद्धि गराउन अहिलेसम्म प्रयोग नभएका स्रोतहरूमा लगाउनुपर्छ । यसमा विश्वव्यापी तहमा सफल हुनका लागि मध्यम आय भएका देशहरू, जसले यसको प्रक्रिया शुरू गरिसकेका छन्, तिनले उच्च आयप्राप्तिको राजमार्गका अवरोधलाई हटाउन सक्नुपर्छ । यसैगरी, विकासशील देशहरूमा आयस्रोतको सोपानलाई सजिलो बनाउन मागको सृजना तथा आपूर्तिको अवसर खोलेर प्राथमिक श्रमलाई स्थानान्तरण गर्नुपर्छ ।
प्राकृतिक स्रोतसाधनले भरिपूर्ण मध्यम आयस्तर भएका देशहरूले आफ्नो बाटो आफै तय गर्नुपर्छ । तिनीहरूले दीर्घकालमा स्पष्ट रूपमा वस्तुको मूल्यमा वृद्धि गरेर त्यस बाटोलाई फराकिलो पारिसकेका छन् । यसले विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको संरचनामा परिवर्तन ल्याएको छ । उत्पादनमूलक क्षेत्रको विपरीत प्राकृतिक स्रोतको उपयोग निकै नै विशेष स्वभावको हुन्छ । त्यसले परिष्कृत आर्थिक वृद्धिउन्मुख क्रियाकलापमा स्थानीय सक्षमताको सृजना गर्छ । त्यसका साथै त्यस्ता क्रियाकलापलाई दिगो बनाउने चुनौती पनि निहित छ ।
न्यूनबाट मध्यम आयस्तर पुगेका अधिकांश देशहरूले लगभग एउटै बाटो तय गरेका छन् । तर, तिनीहरूको दोस्रो चरणको विकास संस्थागत सुधार र अमूर्त सम्पत्तिहरूको सङ्कलनका हिसाबले हेर्दा निकै नै विविधतापूर्ण अनुभव हुनेछ । विकसित अर्थतन्त्रहरूको कमजोर आर्थिक वृद्धिको सम्भावनालाई हेर्दा विश्व अर्थतन्त्रको अबको गतिशीलता देशविशेषको आयस्रोत सोपान कति सफल हुन्छ, त्यसैमा निर्भर हुने देखिन्छ ।
ओटाभियानो कानुतो विश्व बैङ्कको गरीबी न्यूनीकरण तथा आर्थिक व्यवस्थापनका उपाध्यक्ष हुन् ।
कपीराइट : प्रोजेक्ट सिण्डिकेट २०११
Admin 2011-07-14