श्रमबजार लचकताको गलत औषधि
हेलीन मीज
आर्थिक क्षेत्रमा 'प्रतिस्पर्धात्मकता' भन्ने शब्द अचेल धेरै सुनिन्छ । बाराक ओबामाले गत जनवरीमा आफ्नो स्टेट अफ द युनियन भाषणमा पनि यसको धेरै प्रयोग गरेका थिए । अनुदारवादी दलबाट बेलायती प्रधानमन्त्री भएका डेभिड क्यामरुनदेखि समाजवादी दलबाट स्पेनी प्रधानमन्त्री बनेका होसे लुइस जापाटेरोसम्मले तथा जापानका नयाँ अर्थमन्त्री काओरु योसानोले समेत यसलाई प्राथमिकताका साथ उच्चारण गर्ने गर्दछन् । तर, उनीहरूको दिमागमा भएको प्रतिस्पर्धात्मकता कस्तो हो त ?
सन् २००७ को सेप्टेम्बरमा अमेरिकाको फेडरल रिजर्भ बैङ्कका पूर्वअध्यक्ष एलान ग्रीनस्पानलाई यूरोपेली देशहरूले आफ्नो श्रम कानूनलाई उदार बनाउनुपर्छ कि पर्दैन भनेर सोधिएको थियो । उनले के जवाफ दिएका थिए भने यूरोपका श्रम संरक्षण कानूनहरूले त्यहाँको आर्थिक प्रगतिमा उल्लेखनीय अवरोध गरेका छन् । र, त्यसको परिणामस्वरूप सो महादेशमै निकै लामो समयदेखि उच्च बेरोजगारी कायम छ । तर, अमेरिकामा अन्य देशको तुलनामा सजिलैसँग मानिसलाई रोजगारीबाट अवकाश दिन सकिन्छ र त्यस समयमा त्यहाँको बेरोजगारी दर विश्वमै कम थियो ।
तर, अहिले सन् २००७ को सेप्टेम्बर होइन । र, अहिले अमेरिकाको बेरोजगारी ४ दशमलव ५ प्रतिशत होइन, ९ दशमलव ४ प्रतिशत छ । र, ग्रीनस्पानका उत्तराधिकारी बेन बर्नान्कीका अनुसार तत्कालै बेरोजगारी दर ५ प्रतिशतमा पुग्न सक्छ भन्ने कुनै आधार छैन । साधारणतया ५ प्रतिशत बेरोजगारीदरलाई स्वाभाविक मानिन्छ ।
सन् २००० को दशकमा अमेरिकाले खुद हिसाबमा निजीक्षेत्रको २० लाख रोजगारी गुमायो । सन् १९९९ को डिसेम्बरमा अमेरिकी निजीक्षेत्रमा ११ करोड मानिसले जागीर पाएका थिए । सन् २००९ को डिसेम्बरमा त्यो घटेर १० करोड ८० लाखमा पुग्यो । त्यही समयमा त्यहाँ उपभोग खर्चमा विशाल वृद्धि भइरहेको थियो । यसरी रोजगारीमा १ दशमलव ४ प्रतिशतले कमी आएको त्यही दशकमा अमेरिकाको कुल जनसङ्ख्या भने ९ दशमलव ८ प्रतिशतले बढेको थियो ।
यो के भइरहेको हो भन्ने बुझ्नका लागि इभरग्रीन सोलार भन्ने कम्पनीलाई उदाहरणका रूपमा लिऊँ । यो अमेरिकाको तेस्रो ठूलो सोलार प्यानल उत्पादक कम्पनी हो । यसले गत जनवरीमा अमेरिकामा रहेको आफ्नो मुख्य कारखाना बन्द गर्ने घोषणा गर्यो । यसले दुई महीनाभित्र ८ सय मजदूरलाई कामबाट हटाउने तथा आफ्नो उत्पादनलाई चीनमा सार्ने भनेको छ । कम्पनी व्यवस्थापनले यसो गर्नुका पछाडि चीनमा पाइने सरकारी सहयोगलाई प्रमुख कारण बताएको छ ।
इभरग्रीन त एउटा प्रतिनिधि उदाहरणमात्र हो । यस्ता धेरै उदहरण छन्, जसको सङ्केत के हुन्छ भने अमेरिका चाँडै प्रिन्सटन अर्थशास्त्री एलान ब्लिण्डरले भनेजस्तो 'तेस्रो औद्योगिक क्रान्ति'को चपेटामा पर्नसक्छ । ब्लिण्डरका अनुसार ४ करोड २० लाखदेखि ५ करोड ६० लाखसम्म अमेरिकी रोजगारी (जुन अमेरिकाको निजी र सरकारी क्षेत्रबाट दिइने रोजगारीको एक तिहाइ हो) विदेशमा जाने (अफसोरिङ हुने) जोखिम छ । ब्लिण्डरले के पनि भविष्यवाणी गरेका छन् भने लचक र तरल अमेरिकी श्रमबजारले यूरोपेली श्रमबजारभन्दा छिटो र राम्रोसँग विश्वव्यापीकरणको परिस्थितिसँग मिल्ने गरी आफूलाई परिवर्तन गर्नेछ ।
यदि यसलाई 'तेस्रो औद्योगिक क्रान्ति' भन्ने हो भने हामी त्यो क्रान्तिको शुरुआती चरणमा छौं र त्यसको परिणाम अझै पनि अनिश्चित नै छ । तर, यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीसँग अमेरिकाको तुलना गर्दा के देखिन्छ भने भूमण्डलीकरणको युगमा टिक्न जर्मनी अमेरिकाभन्दा साधन सम्पन्न छ ।
जर्मनीका बहुराष्ट्रिय कम्पनीहरू सिमेन्स र डेम्लरले उदाउँदो बजार भएको देशहरूमा तथा आफ्नै देशमा हुने दुवै मागलाई धान्ने गरी लगानी बढाइरहेका छन् । यी कम्पनीहरू यही वर्षविश्वभरिमा सयौं हजार कर्मचारी थप्ने योजनामा छन् । यीमध्ये धेरै रोजगारी एशियामा प्राप्त हुनेछ । तर, दुवै कम्पनीले जर्मनीमा पनि उच्च शीपयुक्त जनशक्ति थप्ने बताएका छन् ।
तब, जर्मनी श्रमबजारको कठोरता धन्यवादयोग्य छैन त ? यो वास्तवमा विचारणीय विषय हो । नेदरल्याण्डको केन्द्रीय योजना विभागले हालै गरेको अध्ययनमा के देखिएको छ भने स्थायी कर्मचारीले अस्थायीको तुलनामा रोजगारदाताले पैसा तिरेर दिलाउने तालीम बढी प्राप्त गर्दछन् ।
कामदारहरूलाई हटाउन जर्मनीका भन्दा अमेरिकाका रोजगारदातालाई निकै सजिलो छ । जर्मनीको श्रम कानूनले यस किसिमको निष्कासनलाई रोक लगाएको छ । तर, सम्भवत: जर्मन रोजगारदाताहरू अमेरिकीको तुलनामा कामदार हटाउन पनि कम चाहन्छन् । किनभने तिनीहरूले आफ्नो कम्पनीको मानवस्रोतमा धेरै खर्च गरेका हुन्छन् । अमेरिकी कामदारहरूमा आफ्नो कम्पनीका लागि चाहिने विशिष्ट खालको दक्षता धेरै हुँदैन, तर जर्मन कामदारमा त्यस्तो विशेष दक्षता हुन्छ । फलस्वरूप अमेरिकी कामदारको बर्खास्ती हुने जोखिम पनि धेरै हुन्छ ।
वास्तवमा सिमेन्स कम्पनी श्रमबजारको कठोरताबाट हुने फाइदाका बारेमा सचेत देखिन्छ । उसले आफ्ना कर्मचारीहरूलाई जीवनभरि जागीर दिने अचम्मको वचन दिने गरेको छ । गतवर्ष यो कम्पनीले ट्रेड युनियन सङ्गठन आईजी मेटालसँग एउटा सम्झौता गर्यो । त्यस सम्झौतामा उसले आफ्ना १ लाख २८ हजार जर्मन कामदारलाई नहटाउने प्रत्याभूति दिएको छ ।
जर्मनीको वर्तमान आर्थिक सफलताका पछाडि अर्को महत्त्वपूर्ण कारण पनि हुन सक्छ । जस्तो कि जर्मन उद्योगहरू विशेषगरी गाडी उद्योगहरूले सरकारबाट संरचनात्मक आधारमा उल्लेखनीय सहयोग पाउने गर्छन् । अर्कातर्फ अमेरिकी अर्थतन्त्र भने लगानी बढाउनेमा भन्दा उपभोग बढाउने, विशेषगरी अति धनीहरूलाई लाग्ने कर घटाउनमा जोड दिइरहेको नीतिनिर्माताको पञ्जामा परेको छ ।
अमेरिकाले आफ्नो आर्थिक नीतिको मार्ग परिवर्तन गर्नु आवश्यक छ । ऐतिहासिक रूपमै कम ब्याजदरको दशकले आर्थिक असन्तुलन तर्फ डोर्यायो । त्यसले धेरै लेभरेज भएका क्षेत्र (जस्तै : वित्तक्षेत्र, घरजग्गा बजार तथा निजी इक्विटी)को विकास गरायो । यसको नकारात्मक असर इक्विटी फाइनान्सिङमा निर्भर क्षेत्रलाई भएको छ । अहिले आएर आवास उद्योगको बेलुन फुटेपछि अमेरिका रोजगारीको विश्वव्यापी प्रतिस्पर्धामा तालीम, शिक्षा, रणनीति सबैमा अरूभन्दा पछि परेको साबित भएको छ ।
अहिले आएर हामीले के बुझेका छौं भने श्रमबजारको उदारीकरण हुँदैमा आर्थिक लचकता तथा तीव्र रोजगार सृजनाको प्रत्याभूति हुँदैन । यसको विपरीत, श्रम सम्झौताको विविधता योभन्दा सम्भवत: उत्तम समाधान हुन सक्छ । निश्चित मात्राको श्रमबजार कठोरता भयो भने फर्मविशेषमा काम लाग्ने शीप तथा तालीम चाहिने रोजगारी तर्कसम्मत हुन्छ । साथै, त्यस्ता वर्गका लागि भने बढी लचकता आवश्यक छ, जसलाई थोरै शीप भए पनि पुग्छ ।
हेलीन मीज डच अर्थशास्त्री तथा अधिवक्ता हुन् । यो लेख उनले मार्चको तेस्रो हप्तामा तयार पारेकी हुन् ।
कपीराइट : प्रोजेक्ट सिण्डिकेट २०११
Admin 2011-05-13