उद्योगको अपरिहार्यता
दानी रोद्रिक
हामी उत्तर औद्योगिक युगमा बाँचिरहेका छौं, जहाँ सूचना प्रविधि, बायोटेक र उच्च मूल्यका सेवाहरूले आर्थिक वृद्धिलाई डोर्याइरहेका छन् । यस प्रसङ्गमा देशहरूले उत्पादनमूलक उद्योगको स्वास्थ्यलाई बेवास्ता गरिरहेका छन् । यो उनीहरूको विनाशको कारण हुन सक्छ ।
उच्च प्रविधियुक्त सेवाले विशिष्टीकृत ज्ञानको माग गर्छ र अत्यन्तै थोरै रोजगारी सृजना गर्छ । त्यसैले त्यस्ता सेवाको समग्र रोजागारी सृजनामा सीमित योगदान हुन्छ । तर, उत्पादनमूलक क्षेत्रले साधारण सीप भएका ठूलो सङ्ख्याका कामदारलाई रोजगारी दिन सक्छ । यस क्षेत्रले ती कामदारलाई स्थायी रोजगारी र राम्रै लाभ दिइरहेको छ । त्यसैले, अधिकांश देशहरूमा उच्च ज्याला पाउने रोजगारीको बलियो स्रोतका रूपमा उत्पादनमूलक उद्योग नै रहिरहेको छ ।
वास्तवमा उत्पादनमूलक क्षेत्र यस्तो क्षेत्र हो, जसबाट विश्वमा मध्यमवर्गले आकार लिएको र विकास गरेको छ । गतिशील र बलियो उत्पादनमूलक आधार नहुँदो हो त समाजमा धनी र गरीबबीचको अन्तर निकै गहिरो हुन सक्थ्यो । स्थायी प्रकारको र राम्रो पारिश्रमिक पाउने र कम सुरक्षित र अस्थिर प्रकारका रोजगारमा रहेकाहरूबीचमा विभेद हुन्थ्यो । त्यसैले उत्पादनमूलक क्षेत्र अन्तत: देशमा लोकतन्त्रलाई दिगो राख्ने महत्त्वपूर्ण शक्ति हुन सक्छ ।
संयुक्त राज्य अमेरिकाले पछिल्लो दशकमा एक किसिमको अ-औद्योगिकीकरण (डिइण्डष्ट्रिलाइजेशन)को अनुभव गरेको छ । आंशिक रूपमा विश्वव्यापी प्रतिस्पर्धाले यस्तो भएको छ । साथै, यसो हुनुमा केही हदसम्म प्रविधिमा आएको परिवर्तनको पनि हात छ । सन् १९९० देखि हालसम्म उत्पादनमूलक क्षेत्रको रोजगारीमा झण्डै ५ प्रतिशत कमी आएको छ । उत्पादनमूलक क्षेत्रमा श्रमिकको उत्पादकत्व र कमाइ अर्थतन्त्रका अन्य क्षेत्रको तुलनामा उल्लेखनीय रूपमा बढी नभएको भए यसलाई त्यति नराम्रो मान्नुपर्ने थिएन । वास्तवमा अन्य क्षेत्रको तुलनामा उत्पादनमूलक क्षेत्रको उत्पादत्व ७५ प्रतिशतले बढी छ ।
सेवा उद्योगहरूले उत्पादनमूलक क्षेत्रबाट निस्केको श्रम प्रयोग गर्छन्, र त्यहाँको उत्पादकत्व थोरैदेखि धेरैसम्म छ । वित्त, बीमा तथा बजार सेवाहरूलाई मिलाउने हो भने तिनीहरूको समुच्च उत्पादकत्व उत्पादनमूलक क्षेत्रको बराबर हुन आउँछ । यी उद्योगले केही नयाँ रोजगारी सृजना गरेका छन् तर धेरै होइन । त्यो पनि सन् २००८ मा शुरू भएको वित्तीय सङ्कटअघिको मात्रै हो ।
'व्यक्तिगत र सामाजिक सेवा'क्षेत्रमा ठूलो मात्रामा नयाँ रोजगारी सृजना हुन्छ । तर, ती क्षेत्रमा अर्थतन्त्रकै सबैभन्दा कम उत्पादकत्व भएको जागीर पाइन्छ । त्यसरी, उत्पादनमूलक क्षेत्रबाट श्रमिक स्थानान्तरण हुँदा उनीहरूको उत्पादकत्व त कम भएको छ नै यसले समग्र अमेरिकाको उत्पादकत्व वृद्धिलाई सन् १९९० देखि हरेक वर्षशून्य दशमलव ३ प्रतिशतले घटाइरहेको छ । सो उत्पादकत्व ह्रास उक्त अवधिमा अमेरिकाले हासिल गरेको वृद्धिको ६ भागको १ भाग हो । त्यसरी कम उत्पादकत्व भएका श्रमिकहरूको बाहुल्य बढ्दै जाँदा अमेरिकी समाजमा आयको असमानतामा पनि वृद्धि भएको छ ।
सन् २००० पछि विश्वव्यापी रूपमा बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धाका कारण अमेरिकी उत्पादनमूलक क्षेत्रको रोजगारी घट्दै गएको हो । अन्तरराष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थाका अनुसन्धाता मेजिक म्याकमिलाको अध्ययनले चिनियाँ र अमेरिकी उत्पादनमूलक उद्योगको रोजगारी परिवर्तनका बीच नपत्याउँदो रूपमा उल्टो सहसम्बन्ध भएको देखाएको छ । त्यस अध्ययनले चीनका अधिकांश उत्पादनमूलक उद्योगमा रोजगारी विस्तारित भएको देखाएको छ भने अमेरिकामा सङ्कुचित हुँदै गएको निष्कर्ष निकालेको छ । तर, केही मात्र चिनियाँ उद्योगमा रोजगारी घट्दा अमेरिकी उद्योगमा रोजगारी बढेको छ ।
बेलायतमा उत्पादन क्षेत्र (म्यानुफयाक्चरिङ)को घट्दो क्रमले कञ्जरभेटिभ पार्टीका मार्गरेट थ्याचरदेखि वर्तमान प्रधानमन्त्री डेबिड क्यामरुनसम्मलाई पछयाएको जस्तो देखिन्छ । तथ्याङ्कहरू अझै अक्क न बक्क पार्ने खालका छन् । सन् १९९० र २००५ को बीचमा उत्पादनमूलक क्षेत्रले दिएको रोजगारीको अंश ७ प्रतिशतले घटेको छ । बेलायती कामदारहरूको कम प्रतिफलदायक सेवा क्षेत्रसँग सम्बन्धित काममा प्रतिस्थापन हुनुले प्रत्येक वर्षको उत्पादकत्व वृद्धिलाई शून्य दशमलव ५ प्रतिशतले घटाइरहेको छ । यो ती १५ वर्षमा बढेको उत्पादकत्वको झण्डै एक चौथाइ हो ।
विकासशील देशहरूका लागि उत्पादकत्व वृद्धिको आवश्यकता अत्यन्तै महत्त्वपूर्ण छ भनेर मात्रै पनि पुग्दैन । सामान्यत: उत्पादकत्वमा भएको फरक बाँकी अर्थतन्त्रमा अझ फराकिलो छ । जब उत्पादकत्व वृद्धि हुन शुरू हुन्छ, यसले लाखौं रोजगारीका अवसर सृजना गर्दछ । यस्ता अवसरहरू खासगरी परम्परागत कृषि र कम आम्दानी हुने सेवा क्षेत्रमा काम गरिरहेका अदक्ष कामदार र खासगरी महिलालाई उपलब्ध हुन्छन् । सन् १९५० र ६० को दशकमा दक्षिणी यूरोप र सन् १९६० को दशकयता पूर्वी र दक्षिणपूर्वी एशियामा भएको द्रुत आर्थिक वृद्धिपछाडिको मुख्य शक्ति त्यहाँ भएको औद्योगिकीकरण नै थियो ।
भर्खरै चीनको जस्तै वृद्धिदरको सुखद अनुभूति गरिरहेको भारत पनि सफ्टवेयर, कल सेण्टर र अरू सेवा व्यवसायहरूलाई बढाएर यस्तो आर्थिक वृद्धि गर्न सफल भएको हो । यसले भारत र अरू यस्तै देशहरूको उदाहरणले आर्थिक वृद्धिका लागि सेवाक्षेत्रको विस्तारको फरक बाटो लिँदा पनि सफलता प्राप्त हुँदो रहेछ भनेर मानिसहरूलाई सोच्न बाध्य बनाएको छ । तर, भारतको उत्पादनमूलक क्षेत्रमा देखिएको कमजोरीले समग्र आर्थिक प्रदर्शनलाई पछाडि तान्न सक्छ । यसले अहिलेको आर्थिक वृद्धिदरको दिगोपनलाई चुनौतीसमेत दिन सक्छ । भारतका सेवा उद्योगहरूको उत्पादकत्व बढी हुनुको कारण यस क्षेत्रमा उच्च शिक्षा प्राप्त गर्ने माथिल्लो वर्गका कामदारको बाहुल्य हुनु हो । तर, भारतीय अर्थतन्त्रले अन्ततोगत्वा कम दक्षता भएका कामदारहरूका लागि उत्पादनमूलक रोजगारीका अवसरहरू सृजना गर्नै पर्छ । यसले नै उनीहरूको जीवनस्तरलाई माथि उठाउन सक्छ । र, त्यस्तो रोजगारीको ठूलो हिस्सा उत्पादनमूलक क्षेत्र (म्यानुफयाक्चरिङ)बाटै आउनुपर्छ ।
विकासशील देशहरूका लागि उत्पादनमूलक उद्योगको विस्तार गर्नु भनेको उनीहरूको स्रोतको समुचित प्रयोग हुनु मात्र होइन, समयकालसँगै लाभ प्राप्तिको गति बढ्नु पनि हो । किनभने, सबै उत्पादनमूलक उद्योगहरूलाई 'भर्याङ चढाउने गतिविधि' भन्न सकिन्छ । जब अर्थतन्त्रमा उद्योग क्षेत्रको दिगो विकास हुन्छ, तब उत्पादकत्व द्रुत गतिले प्रविधिउन्मुख हुन्छ ।
मेरो अध्ययनले हरेक उत्पादनमूलक उद्योग जस्तै- अटोपार्ट र मेशिनरी उत्पादकहरूले अर्थशास्त्रीहरूले भन्ने गरेजस्तो 'नि:शर्त सम्मिलन'को अवस्था पैदा गर्छ । यसले विकसित मुलुकहरूमा देखिएको उत्पादकत्वको फरकलाई पूर्ण स्वचालित प्रवृत्तिमा कम गर्छ । यो 'सशर्त सम्मिलन'भन्दा विल्कुलै फरक अवस्था हो । सशर्त सम्मिलनले अर्थतन्त्रका बाँकी चरित्रलाई बुझाउँछ, जहाँ उत्पादकत्व वृद्धि निश्चित हुँदैन र यो सरकारी नीति एवम् बाह्य परिस्थितिहरूमा निर्भर गर्छ ।
उत्पादनमूलक क्षेत्रको प्रदर्शनलाई मूल्याङ्कन गर्दा परम्परागत रूपमा त्यसको उत्पादन मात्रा वा क्षमतालाई मात्र हेर्नु गल्ती हो । त्यसमा रोजगारी सृजनाको सम्भावनालाई अवश्य हेरिनुपर्छ । उदाहरणका लागि, दक्षिण अमेरिकी देशहरूमा त्यस क्षेत्र आर्थिक उदारीकरण र अन्तरराष्ट्रिय व्यापारमा खुला भएपछि उत्पादनमूलक क्षेत्रको उत्पादकत्व धेरै गुणाले बढयो । तर, उत्पादनमूलक क्षेत्रको त्यस्तो लाभ केही हदसम्म उद्योगहरूको छनोटपूर्ण विकास र रोजगारी घटाइएका कारण अथवा त्यसको मूल्यस्वरूप प्राप्त भएको थियो । जगेडामा फालिएका कामदारहरू कम लाभ दिने क्षेत्रहरू, जस्तै- अनौपचारिक क्षेत्रमा काम गर्न बाध्य भए । यसले गर्दा, उत्पादनमूलक क्षेत्रको उत्साहप्रद प्रदर्शन हुँदाहुँदै पनि समग्र अर्थतन्त्रको उत्पादकत्व स्थिर रह्यो ।
एशियाली अर्थतन्त्रहरू पनि खुला भए । तर, त्यहाँका नीतिनिर्माताहरूले उत्पादनमूलक क्षेत्रहरूलाई सहयोग गर्न बढी सावधानी अपनाए । सबैभन्दा महत्त्वपूर्ण ती देशहरूले आफ्ना मुद्राहरूलाई प्रतिस्पर्धी तहमा राखेका छन्, जुन उत्पादनमूलक क्षेत्रका लागि उच्च नाफा सुनिश्चित गर्ने सबभन्दा उचित बाटो हो । उत्पादनमूलक क्षेत्रको रोजगारी पनि कुल रोजगारीको अंशको तुलनामा बढ्ने क्रममा छ । यस्तो वृद्धि सेवा क्षेत्रले अग्रता लिएको भारतजस्तो अर्थतन्त्रमा पनि देखिएको छ ।
जब अर्थतन्त्रहरू विकसित हुन्छन् र देशहरू धनी हुन्छन्, उत्पादनमूलक क्षेत्र- वस्तु निर्माण- स्वभावैले कम महत्त्वपूर्ण बन्न जान्छन् । तर, यस्तो प्रक्रिया कामदारहरूले उच्च प्रविधिको सीप सिक्नुअगाडि नै भयो भने त्यसले अर्थतन्त्रको उत्पादन संरचना र यसको श्रमशक्तिबीच डरलाग्दो असन्तुलन निम्त्याउँछ । यस्तो असन्तुलनको परिणाम हामी संसारभरि देख्न सक्छौं । ती परिणामहरू अर्थतन्त्रको कमजोर कार्यकुशलता, बढ्दो असमानता र राजनीतिक विभाजनका रूपमा प्रदर्शित हुन्छन् ।
दानी रोद्रिक हार्वर्ड विश्वविद्यालयका अन्तरराष्ट्रिय अर्थराजनीतिका प्राध्यापक हुन् । उनी 'द ग्लोबलाइजेशन पाराडक्स : डेमोक्रेसी एण्ड फयुचर अफ वर्ल्ड इकोनोमी'का लेखक पनि हुन् ।
साभार : प्राजेक्ट सिण्डिकेट २०११
Admin 2011-09-16