शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कस्तो कम्पनीको शेयरमा लगानी गर्ने ?
भानुप्रसाद आचार्य
शेयरबजारलाई कतिपयले 'धनी व्यक्तिको जुवाघर' वा 'रक्सीको नशा'सँग तुलना गरेका छन् । प्रख्यात अर्थशास्त्री जोन मेनार्ड किन्सले सन् १९३६ मा यसलाई सौर्न्दर्य प्रतियोगितामा विजयी हुन सक्ने 'सुन्दरी छनोटको भविष्यवाणी'सँग तुलना गरेका थिए । उनको भनाइअनुसार यस्तो प्रतियोगिताको उद्देश्य सबैभन्दा राम्री सुन्दरीको छनोट गर्ने नभई निर्णायकहरूलाई राम्री लागेकी सुन्दरीलाई सो उपमा दिनु हो । सन् १९३० को 'ग्रेट डीप्रेशन'पश्चात्को आर्थिक मन्दी र नियमन तथा उद्धार गर्ने सरकारी संयन्त्रको अभाव भएको तत्कालीन परिवेशमा गरिएको यस्तो तुलनाले बजारनियमका आधारमा चल्नुपर्ने शेयरबजारमा पर्याप्त कमजोरी रहेको तथ्य स्पष्ट हुन्छ । अपर्याप्त एवम् गलत सूचना, सरकारी तथा केन्द्रीय बैङ्कका पदाधिकारीहरूको बानीबेहोरा, लगानीकर्ताको अनभिज्ञता, चतुर खेलाडीको चलखेल र शेयर छनोटकर्ताहरूको आवेगजस्ता कुराले शेयरबजारमा प्रभाव पारी बजारले तटस्थ रूपमा काम गर्न नसकेको तथ्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय घटनाक्रमले देखाएको छ ।

शेयरबजारमा 'कालो शुक्रवार'का नामले चिनिने २५ अक्टोबर १९२९ मा न्यूयोर्क स्टक एक्सचेञ्जले एक दिनमै १४ अर्ब डलर र त्यो हप्ताभरिमा ३० अर्ब डलरको नोक्सानी बेहोर्नुपरेको थियो । यस्तो स्थितिमा सुधार आउन १२ वर्ष लाग्यो । त्यस्तै 'कालो सोमवार'का नामले चिनिने १९ अक्टोबर १९८७ मा हङकङबाट शुरू भई यूरोप र अमेरिकासम्म पुगेको शेयर मन्दीबाट अमेरिकाको शेयरबजारले २२ प्रतिशत पूँजीकरण गुमाएको थियो । इण्डोनेशियालाई सबैभन्दा बढी नोक्सान पुर्‍याएको र कोरिया, थाइल्याण्डलगायत पूर्वी एशियाका मुलुकहरूमा शेयरमूल्यमा आएको कमीले १९९७ मा वित्तीय सङ्कट ल्याएको थियो । १९९० को दशकको रियल इष्टेट, सूचना तथा सञ्चार र वित्तीय क्षेत्रमा आएको वृद्धिले शेयरबजारमा अस्वाभाविक वृद्धि गर्‍यो । पूँजीबजारमा देखिएको यस्तो अस्वाभाविक वृद्धिको व्यवस्थापन गर्न नसक्दा २००७ मा विश्वका कैयौं मुलुकले पुनः आर्थिक सङ्कटको सामना गर्नुपर्‍यो । अहिले पनि सङ्कटमुक्त भइनसकेको तर सुधारोन्मुख रहेको अर्थशास्त्रीहरूको भनाइ छ ।

नेपालको शेयरबजार मापन गर्ने नेप्से परिसूचक सन् २००८ को अगष्टमा ११७५ बिन्दुसम्म पुगेकोमा अहिले खस्केर ३९१ बिन्दुमा आइपुगेको छ । यसको अर्थ साढे दुई वर्षको अवधिभित्रै शेयरमा बजारमूल्यको दुई तिहाइ रकम नोक्सानी भइसकेको छ । अप्रत्याशित रूपमा ठूलो मात्रामा हुने शेयर मूल्यको कमी र महीनौं या वर्षौं समय बितेर आउने कमीको नकारात्मक प्रभावमा केही भिन्नता भए पनि मूल्य घट्नेक्रम रोकिएन भने दुवै अवस्थामा सङ्कट आउने निश्चित छ । शेयरबजारमा उत्तारचढाव आउनु स्वाभाविक हो । तर, शेयरमूल्यमा अन्तहीन कमी आउनेक्रममा सुधार गर्ने प्रयास भएन भने थप पूँजी नआउनुका साथै भर्खरै बामे र्सन लागेको शेयरबजारप्रतिको विश्वास घट्नेछ ।

मौद्रिक स्थिरता कायम राख्ने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैङ्कले हालै कर्जामा केही खुकुलो नीति ल्याउने उद्घोष गरेको छ । यस्तो नीतिले छोटो अवधिका लागि केही राहत दिए पनि हालको शेयरबजारको स्थितिमा सुधार ल्याउन भने पर्याप्त हुँदैन । यो उपाय केन्द्रीय बैङ्कले 'पटके' रूपमा अपनाएको देखिन्छ । र, नीतिगत रूपमा थप खुकुलो पार्ने र निरन्तरता दिने सम्भावना कमै रहन्छ । पुँजीबजारमा सुधार ल्याउन सरकारले खुलाबजारप्रतिको वचनबद्धता, लगानी सुरक्षाको प्रत्याभूति, वित्तीय नीतिको माध्यमबाट राहत र शेयरबजारसम्बन्धी निकायको संस्थागत एवम् संरचनात्मक सुधारको कार्यक्रम तत्कालै सार्वजनिक गरी लगानीकर्तालाई आश्वस्त तुल्याउनुपर्छ ।

नेपालको शेयरबजारको उत्तारचढावमा साना लगानीकर्ताले बढी गुमाउनु परेको गुनासो आइरहेको छ । साथै, खस्कँदो घरजग्गा तथा शेयर कारोबारले वित्तीय क्षेत्रको खराब कर्जा बढाई अर्थतन्त्रलाई नै गम्भीर नोक्सानी पुर्‍याएको छ । राजनीतिक अस्थिरतालगायत कारणले यो स्थितिमा तत्कालै सुधार आउने देखिँदैन । आफ्नो नियन्त्रणबाहिरको आर्थिक, राजनीतिक एवम् सामरिक महत्त्वको आकस्मिक घटनाले पनि संवेदनशील शेयरबजारमा तत्कालै गहिरो प्रभाव पारी जोखिम बढाउँछ । अर्थतन्त्रको सङ्कुचन वा वृद्धि, राजनीतिक उतारचढाव, मुद्रा प्रदायलगायतका आर्थिक परिसूचकमा आएको परिवर्तन, नागरिक एवम् सम्पत्तिको सुरक्षा, कामदारसँगको सम्बन्ध र राष्ट्रिय तथा अन्तरराष्ट्रिय सामरिक घटनाप्रति ज्यादै संवेदनशील र तुरुन्तै प्रतिक्रिया जनाउने शेयरबजारको 'केमिष्ट्री' त्यति सरल छैन । शेयरको बजारमूल्य घटेको बेलामा बजारमा प्रवेश गर्नु उपयुक्त समय हो भन्ने धारणा व्यक्त गर्ने विज्ञहरूको कमी छैन । तर, घटेको कुन मूल्य र समय सही हो भन्न सक्ने विज्ञ भेट्टाउन मुश्किल छ । शेयर खरीद गर्न चाहेको अमूक कम्पनीको शेयर मूल्यले कम्पनीको वास्तविक आर्थिक स्थिति प्रतिविम्बित गर्छ वा गर्दैन ? र, अर्थतन्त्रका मुख्य परिसूचकहरू शेयरबजारप्रति सकारात्मक छन् वा छैनन् भन्नेजस्ता मूलभूत कुराको अध्ययन तथा विश्लेषणबाट पुष्टि नगरी सामान्य कथनका रूपमा आउने यस्ता भनाइले हचुवा 'स्पेकुलेटिभ' प्रवृत्तिलाई नै बढावा दिन्छ । यो अवस्था शेयरबजारको दीर्घकालीन हितमा हुँदैन । यस पृष्ठमूमिमा अर्थतन्त्रको समग्र पाटोलाई बेवास्ता गरी हचुवाका भरमा शेयरको बजारमूल्य बढ्छ भन्ने आशमा आफ्नो परिश्रमको बचतबाट वा बैङ्कबाट ऋण लिएर शेयर कारोबारमा लागिपर्नु भनेको जानीजानी जोखिममा पर्नु हो ।

शेयरबजार ओर्लने उपरोक्त प्रसङ्गले शेयर कारोबारलाई 'जुवा'का रूपमा नलिई मुलुकको आधारभूत आर्थिक तथ्य र शेयर खरीद गरिने कम्पनीको वास्तविक उपलब्धिको प्राविधिक विश्लेषणको आधारमा कारोबार गरेमा फाइदा लिन सकिन्छ । अरू वस्तुहरूजस्तै शेयरको खरीदविक्री पनि माग र आपूर्तिका आधारमा बजारले तय गरेको मूल्यमा कारोबार हुन्छ । तर, बजारको अनिश्चित एवम् भविष्यवाणी गर्न नसकिने स्वभावले गर्दा शेयरको खरीदविक्रीमा माग र आपूर्तिको सामान्य नियमले सधैं काम गर्दैन । शेयरबजारको कारोबारलाई लगानीकर्ताको आफ्नै क्रियाकलाप र आफ्नो क्षमताबाहिरका अनेकौं तत्त्वले प्रभाव पार्ने हुनाले कतिपय अवस्थामा आधारभूत तथा प्राविधिक विश्लेषणबाट निकालिएका प्रक्षेपणले समेत काम गर्दैनन् । त्यसैले शेयर कारोबारमा संलग्न हुन अग्रसर भएका नवप्रवेशी वा पुराना लगानीकर्ताहरूले शेयरबजारको स्वरूप र तत्कालीन परिस्थितिका बारेमा प्रारम्भिक जानकारी आफैले राखेमा बढी प्रतिफल लिन सक्छन् । साथै, छरिएर रहेको बचतलाई शेयरबजारको माध्यमबाट पूँजी निर्माणमा लगाई मुलुककै आर्थिक वृद्धिमा समेत योगदान पुर्‍याउन सकिन्छ । यसबाट शेयरबजार 'जुवाघर' नभई पूँजी परिचालन र प्रतिफलको माध्यम हो भन्ने तथ्य
प्रमाणित गर्न सकिन्छ ।

लागनीकर्ताले शेयर कारोबारमा प्रवेश गर्नुपूर्व नै दीर्घकालीन रूपमा शेयरमा लगानी गर्ने वा शेयरबजारलाई व्यापारिक कारोबारका रूपमा उपयोग गर्ने भन्ने कुराको आधारमा रणनीति तय गर्नुपर्दछ । शेयरमा लगानी वा शेयरको कारोबारका रणनीतिबीच समानताका साथै केही फरक पनि छ । शेयरको दैनिक कारोबार वा छिटोछिटो हुने खरीदविक्रीमा सामेल हुँदा जोखिमको मात्रा र शीघ्र प्रतिफलको दर बढी हुने सम्भावना हुन्छ । बजार विश्लेषणको आधारमा लगानी गर्दा तुलनात्मक रूपमा जोखिम कम हुन्छ । तर, दुवै स्थितिमा शेयरबजारका आधारभूत तथ्यहरूलाई बेवास्ता गर्नु हुँदैन । मुख्य कुरा, नोक्सान बेहोर्न सक्ने आफ्नो क्षमताभन्दा बाहिर गएर लगानी गरेमा, बजारको जानकारी नराखी लगानी वा कारोबार गरेमा र लोभ तथा आवेशमा शेयरको चलखेल गरेमा नोक्सानी बेहोर्नुपर्छ । शेयर कारोबारमा संलग्न हुने व्यक्तिले धैर्य हुन सक्नुपर्छ । अस्वाभाविक लोभ एवम् आशा र अस्वाभाविक निराशाको केन्द्रबिन्दुमा रुमल्लिएको शेयरबजारको उतारचढावको भविष्यवाणी त्यति सहज छैन । तथापि, शेयर कारोबारमा संलग्न हुनेहरूले बजारबारे विज्ञको परामर्श लिई त्यसको प्रारम्भिक जानकारी आफैले राखेमा जोखिम कम हुन्छ ।

शेयरको कारोबार गर्ने व्यक्ति वा संस्थाले आफ्नो लगानीको प्रतिफल उच्चदरमा प्राप्त गर्नका लागि बजारमा उपलब्ध माध्यमहरूको विश्लेषण गरी सही विकल्पको छनोट गर्न सक्नुपर्दछ । विकल्पको छनोट गर्दा शेयरबजारको आधारभूत तथ्यहरूको विश्लेषण गरी जोखिम कम भएका शेयरको कारोबार गर्ने गरी रणनीति तय गर्नुपर्दछ । लगानीका लागि छुट्टयाइएको रकमको कुशल व्यवस्थापन गरी उच्चतम प्रतिफल लिन सक्नु नै लगानीकर्ताको सफलता हो । तुलनात्मक हिसाबले जोखिमको मात्रा र प्रतिफलको दर कम भएका तर प्रतिफलमा निरन्तरतायुक्त सामूहिक लगानी कोषजस्ता उपाय रोज्ने वा दैनिक शेयर कारोबारबाट बढी प्रभावित हुने व्यापारिक चरित्र भएका शेयर रोज्ने भन्ने निर्णयलगानीकर्ता आफैले गर्नुपर्दछ । हुन त विकसित स्वरूपका शेयरबजारमा पनि सामूहिक लगानी कोषहरूले बजार अनुसन्धानमा अर्बौं रुपैयाँ खर्च गरे पनि यस्ता कोषबाट गरिएको शेयर लगानी प्रतिफलको सफलता भने उत्साहजनक देखिँदैन । सानासाना लगानीकर्तासमेतको पूँजी सङ्कलन गरी शेयरबजारलाई स्थिर र तरलता बढाउने उद्देश्यले सञ्चालन गरिने यस्ता सामूहिक लगानी कोषको अवधारणा हामीकहाँ भर्खरै भित्रिएको छ । यसकारण पनि सामूहिक लगानीको उपलब्धिको मूल्याङ्कन गर्न केही समय पर्खनुपर्ने छ ।

शेयर कारोबारमा जोखिम त हुन्छ नै, कुनै जोखिम आफैले व्यवस्थापन गर्न सक्ने किसिमको हुन्छ भने कुनै नियन्त्रणभन्दा बाहिर हुन्छ । आफूले जोखिम व्यवस्थापन गर्दा शेयर खरीदविक्रीको आधारभूत पक्षको विश्लेषण गरी बजारमा देखिने परिवर्तनको स्वरूपका आधारमा 'पोर्टफोलियो'मा परिवर्तन गरेमा जोखिम कम गर्न सकिन्छ । जोखिम लिन नसक्ने वा नचाहनेहरूले शेयरबजारमा प्रवेश गर्नुभन्दा निश्चित प्रतिफल दिने वाणिज्य बैङ्कहरूमा बचत गर्नु श्रेयस्कर हुन्छ ।

पूँजीबजारमा लगानीको प्रमुख माध्यमका रूपमा रहेका शेयर, ऋणपत्र, मुद्रा र वस्तुको बजार पूर्णरूपमा विकास भइनसकेको र सानो प्राथमिक शेयरबजार, संस्थागत लगानीकर्ताको न्यून उपस्थिति तथा सामूहिक लगानी कोषको अभावमा शेयरबजारमा प्रवेश गर्न चाहनेहरूले केही बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीका शेयरमा निर्भर रहनुपरेको छ । पछिल्ला दिनमा जलविद्युत्, होटल, उत्पादन र अन्य समूहमा थोरै सामेल भए पनि सीमित बैङ्क तथा वित्तीय संस्थाहरूको कारोबारले समग्र शेयर परिसूचक निर्देशित भइरहेको छ । उपलब्ध भएका सीमित विकल्पकै बाध्यताले जोखिमको मात्रा बढी भएको तथ्यलाई शेयर कारोबार गर्नेहरूले ध्यान पुर्‍याउनुपर्दछ ।

लगानीकर्ताले शेयरबजारको नियमित अनुसन्धान तथा विश्लेषण, आफूले लगानी गरेको शेयरबजारको स्थिति र बजारको प्रवृत्तिअनुरूप लगानी 'पोर्टफोलियो'मा परिमार्जन गरी बजारको सही दिशा ठम्याउन सकेमात्र बढी प्रतिफल लिन सक्छन् । अँध्यारोमा रहेर विश्लेषणबिनाको हचुवा प्रवृत्तिलाई निरन्तरता दिएमा नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ । शेयर कारोबारमा सफल भएकाहरूको अनुभवले यही तथ्यलाई पुष्टि गरेको छ ।
लेखक नेपाल सरकारका पूर्व अर्थ सचिव हुन् ।

Admin 2011-03-14