पश्चिमा पूँजीवादको वैचारिक सङ्कट
जोसेफ ई स्टिग्लिज
केही वर्षअघि मात्रै बजार स्वतन्त्र र नियन्त्रणमुक्त हुनुपर्छ भन्ने शक्तिशाली विचारधाराले विश्वलाई झण्डै बर्बाद बनाएको थियो । अमेरिकी शैलीको अनियन्त्रित पूँजीवादले आफ्नो उत्कर्षका बेला अर्थात् १९८० देखि २००७ सम्मको अवधिमा पनि धनी देशका धनी जनतालाई मात्र सुख दिन सकेको थियो । वास्तवमा उक्त विचारधाराको ३० वर्षको अवधिमा बहुसङ्ख्यक अमेरिकीहरूले प्रत्येक वर्षआफ्नो आम्दानी घट्दै गएको वा स्थिर नै रहेको अनुभव गरे ।
त्यसका साथै, उक्त अवधिमा अमेरिकी उत्पादन वृद्धि पनि दिगो खालको थिएन । अमेरिकी राष्ट्रिय आम्दानीको अधिकांश हिस्सा अत्यन्तै सीमित व्यक्तिहरूसम्म मात्र पुगेकाले त्यस अवधिको आर्थिक वृद्धि ऋण लिएर उपभोग गर्ने प्रचलनमा मात्र धानिएको थियो ।
वित्तीय सङ्कटले अमेरिकी (र अरूलाई पनि) पाठ सिकाउला कि भनेर आशा गर्नेहरूमध्ये म पनि एक थिएँ । अझ बढी समानता, अझ बलियो नियमन तथा बजार र सरकारबीचको सन्तुलनमा सुधारका आवश्यकतासम्बन्धी पाठ सिकिसकेको अपेक्षा थियो । तर, दु:खको कुरा, त्यसो भइरहेको छैन । बरू, त्यसविपरीत, दक्षिणपन्थी अर्थशास्त्रको पुनरूत्थान भइरहेको छ । खास विचारधारा र विशेष स्वार्थले अनुप्राणित यस्तो अर्थतशास्त्रले पूरै विश्व अर्थतन्त्रलाई फेरि तर्साईरहेको छ । अझ यूरोप र अमेरिकालाई यसले निकै नै तर्साईरहेको छ । यिनै अर्थतन्त्रमा यस्तो अर्थशास्त्र मौलाउँदै गएको पाइन्छ ।
यस्तो दक्षीणपन्थी पुनरुत्थानका पक्षपातीहरू गणित र अर्थशास्त्रका आधारभूत नियमभन्दा बाहिर जान्छन् । अमेरिकामा उनीहरूको सिद्धान्तले राष्ट्रऋणको समयमा भुक्तानी नहुने बाध्यात्मक परिस्थिति सृजना गरिरहेको छ । आम्दानीभन्दा बढी खर्च गर्ने अनुमति संसद्ले दियो भने बजेटघाटा हुन्छ, र त्यस्तो घाटाको पूर्ति गर्ने वित्तीय स्रोतको व्यवस्थापन गर्नुपर्छ । सरकारी खर्चको प्रत्येक कार्यक्रमका केही लाभ हुन्छन् भने त्यो खर्च जुटाउन कर उठाउँदा त्यसका केही लागत हुन्छन् । त्यस्ता लाभ र लागतको बुद्धिमत्तापूर्ण सन्तुलन कायम गर्नु आवश्यक छ । तर, त्यो सन्तुलन कायम गर्ने प्रयास गर्नुको सट्टा दक्षिणपन्थीहरू मुढेबल मात्र प्रयोग गरिरहेका छन् । राष्ट्रऋण बढ्न नदिने हो भने सरकारी खर्च करबाट प्राप्त आम्दानीभन्दा बढी हुन सक्दैन ।
उसो भए कुन खर्चलाई प्राथमिकता दिने भन्ने प्रश्न खडा हुन्छ । यदि राष्ट्रिय ऋणको ब्याज तिर्न लाग्ने खर्चलाई प्राथमिकता नदिने हो भने समयमा ऋण भुक्तानी नहुने कुरा अवश्यम्भावी छ । अझ, खुला बजार अवधारणाले उत्पन्न गराएको वर्तमान सङ्कटको बीचमै खर्च कटौती गर्ने हो भने त्यसले निश्चित रूपमा अधोगमनको अवधिलाई लम्ब्याउनेछ ।
एक दशकअघिको आर्थिक समृद्धि बढिरहेका बेला अमेरिकाको बजेट बचत यति धेरै थियो कि त्यसले राष्ट्रऋण नै शून्यमा झार्ने सम्भावना देखिन्थ्यो । तर, धान्न नसकिने कर कटौती र युद्धका साथै आएको आर्थिक मन्दी तथा तीव्र रूपमा बढेको स्वास्थ्यसेवा खर्चले ठूलो मात्राको बचतलाई छोटो अवधिमै शान्तिकालको कीर्तिमानी घाटामा परिणत गरिदियो । स्वास्थ्यसेवा खर्च बढ्नुको एउटा कारण तत्कालीन बुश प्रशासनले औषधी कम्पनीलाई बजार मूल्य निर्धारणका लागि स्वतन्त्र छाडिदिनु प्रमुख थियो, जबकि त्यसबाट सरकारलाई समेत घाटा भइरहेको थियो ।
निम्नानुसारको निदानमा ध्यान दिएको खण्डमा अमेरिकी बजेटघाटाको स्वत: उपचार हुनेछ: अर्थतन्त्रलाई उत्पे्ररणा दिइयोस्, विवेकहीन युद्ध रोकियोस्, सैन्य र औषधि खर्च नियन्त्रण गरियोस् र कम्तीमा पनि अत्यन्त धनाढयका लागि मात्र भए पनि कर बढाइयोस् । तर, दक्षिणपन्थीहरू यीमध्ये कुनै पनि उपाय अपनाउन तयार छैनन् । बरू तिनले व्यापारिक गृह र धनाढयमाथि लाग्दै आएको करका साथै सरकारले सामाजिक सुरक्षाका लागि गर्ने खर्च र लगानीमा कटौती गर्न माग गर्दै आएका छन् । त्यसले अमेरिकी अर्थतन्त्रको भविष्यलाई नै सङ्कटमा पार्नुका साथै बचेखुचेको सामाजिक सम्झौतालाई नै छिन्नभिन्न पार्नेछ । अर्कोतर्फ अमेरिकी वित्तीय क्षेत्रले आफूलाई नियन्त्रणबाट स्वतन्त्र राखियोस् भन्दै पैरवी गरिरहेको छ, जसबाट उसले पहिलाको जस्तै विपत्तिकारक स्वतन्त्रता अपनाउन खोजेको देखिन्छ ।
फेरि, यूरोपको अवस्था पनि खासै फरक देखिँदैन । ग्रीस र अन्य देशको सङ्कटको विशेष समाधान भनेको उही पुरानै खर्च कटौती कार्यक्रम र निजीकरण हुन पुगेको छ । ती कार्यक्रम लागू गर्ने समस्याग्रस्त देशहरू झनै गरीब र कमजोर हुनेछन् । यस्तो उपचार पूर्वी एशिया, ल्याटिन अमेरिकालगायत अन्यत्र पनि असफल भइसकेको छ भने यूरोपमा यसपटक पनि असफल हुनेछ । वास्तवमा आयरल्याण्ड, लात्भिया र ग्रीसमा त्यस्ता कार्यक्रम अहिल्यै असफल भइसकेका छन् ।
एउटा विकल्प भने छ, यूरोपियन युनियन र अन्तरराष्ट्रिय मुद्रा कोष समर्थित अर्थिक वृद्धिको रणनीति । आर्थिक वृद्धिले ग्रीसको ऋण तिर्न सक्ने आत्मविश्वास बहाली हुनेछ, जसबाट ब्याजदर घट्नुका साथै वृद्धिकारक लगानीका लागि वित्तीय वातावरण बन्नेछ । आर्थिक वृद्धिले अर्कोतर्फकर आम्दानी बढ्नुका साथै बेरोजगारी भत्ताजस्ता सामाजिक खर्चको आवश्यकता घट्नेछ । त्यसबाट उत्पन्न आत्मविश्वासले झनै बढी वृद्धि गराउनेछ ।
तर, दु:खको कुरा, वित्तीय बजारहरू र दक्षिणपन्थी अर्थशास्त्रीहरूले समस्याको ठयाक्कै उल्टो व्याख्या गरिरहेका छन् । खर्च कटौतीले विश्वास बढाउने र विश्वासले वृद्धि गराउने उनीहरूको तर्क छ । तर, खर्च कटौतीले वृद्धिलाई नकारात्मक प्रभाव पार्छ, जसबाट सरकारको वित्तीय अवस्था झनै खराब हुन्छ । अथवा खर्च कटौतीबाट यसका हिमायतीहरूले आशा देखाएभन्दा निकै कम मात्र लाभ दिलाउँछ । दुवै अवस्थामा विश्वास झनै खस्किन्छ र अर्थतन्त्र अधोगतितर्फलाग्छ ।
प्रश्न उठ्छ, के हामी लगातार असफल भइसकेका अवधारणाको अर्को खर्चिलो प्रयोग गर्न सक्छौं त ? त्यसो गर्नु उपयुक्त हुँदैन, तर अहिले के देखिन्छ भने अझै अर्को त्यस्तो प्रयोग हामीले खप्नु नै पर्नेजस्तो छ । यूरोप वा अमेरिकामध्ये कुनै एकले सुदृढ आर्थिक वृद्धि पुनर्बहाली गर्न सकेनन् भने त्यसले विश्व अर्थतन्त्रलाई नै नोक्सान पुर्याउँछ । यदि यी दुवैले त्यसो गर्न सकेनन् भने त्यसको परिणाम निकै भयावह हुनेछ र त्यसलाई प्रमुख उदीयमान देशहरूको आत्मनिर्भर दिगो वृद्धिले पनि धान्न सक्ने छैन । तर, बुद्धिमान टाउकाहरूको भनाइलाई महत्त्व दिइएन भने विश्व त्यही दुर्भाग्यपूर्ण बाटोमा लम्किरहेको देखिन्छ ।
जोसेफई स्टिग्लिज नोबेल पुरस्कार विजेता, कोलम्बिया युनिभसिटीका प्रोफेसर र 'फ्री फल: फ्री मार्केट्स एण्ड द सिङ्किङ अफ द ग्लोबल इकोनोमी’का लेखक हुन् ।
Admin 2011-07-16