सम्बन्ध विद्युत् र आर्थिक विकासको
नेपालमा उपलब्ध स्रोतसाधनले यसको प्रयोग गर्न कठिन मात्र होइन, हालको परिस्थितिमा असम्भव प्रायः देखिन्छ । त्यसकारण पनि नेपालले जलविद्युत् उत्पादनका लागि अन्तरराष्ट्रिय, क्षेत्रीय तथा द्विपक्षीय लगानीको खोजी गर्नु आवश्यक छ ।

कमलराज ढुङ्गेल
विकसित वा अविकसित जुनसुकै देशको उत्थानका लागि पनि विद्युत्शक्ति अनिवार्य आवश्यकता हो । अहिलेको समयमा उत्पादन क्षेत्र वा सेवाक्षेत्र, जुनसुकै क्षेत्रमा पनि प्रविधिको प्रयोग विद्युतीय शक्तिको अभावमा हुन सक्दैन । सञ्चार, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा त यसको महत्व अझ बढी छ । आज आर्थिक तथा सामाजिक विकास कम्प्युटर प्रविधिमा आधारित भइसकेको छ ।
कुनै पनि सेवामूलक वा उत्पादनमूलक निजी तथा सार्वजनिक प्रतिष्ठानहरूको सञ्चालनमा कम्प्युटरको सहयोग आवश्यक पर्छ । अब एकछिनका लागि अनुमान गरांै, के कम्प्युटरको सञ्चालन बिजुलीको अभावमा सम्भव छ ? अन्य कुराहरू यथावत् रहेको अवस्थामा पनि विद्युत्विना सम्भव छैन । वस्तु उत्पादनमा मात्र नभई सेवाक्षेत्रको सञ्चालन पनि बिजुलीको अभावमा हुन सक्दैन । अर्थ व्यवस्थाका प्रत्येक क्षेत्रको विकासमा विद्युतीय शक्ति आवश्यक पर्छ ।
त्यसैले विद्युतीय शक्ति अँध्यारोबाट मुक्त गर्ने माध्यम मात्र नभई भूमि, पूँजी, श्रम र सङ्गठनजस्तै एउटा प्रमुख उत्पादन साधनका रूपमा स्थापित भइसकेको छ । उत्पादन, सेवा तथा अन्य क्षेत्रको विकासका लागि आवश्यक पर्ने भएकाले पनि विद्युत्शक्तिलाई प्रमुख उत्पादन साधनका रूपमा लिने गरिएको हो ।
कुनै पनि देशको आर्थिक विकास त्यस देशमा उपलब्ध प्राकृतिक स्रोत तथा साधनको उपलब्धतामा निर्भर हुन्छ । पानी एउटा प्रमुख प्राकृतिक स्रोत हो, जसको सहायताले आर्थिक प्रणालीका विभिन्न क्षेत्रको विकास सम्भव भएको छ । पानी प्राणीको जीवनका लागि मात्र नभई खाद्यान्न उत्पादन, सिँचाइ, स्वच्छ तथा प्रदूषणमुक्त विद्युत्का साथै अन्य धेरै कार्यका लागि आवश्यक पर्छ । नेपाल पानीको उपलब्धताका हिसाबले धनी मुलुक मानिन्छ ।
बिजुली उत्पादनका धेरै स्रोतमध्ये पानी एउटा प्रमुख स्रोत हो । तर पनि नेपालमा उपलब्ध पानीको सदुपयोग भने हालसम्म उचित रूपले हुन सकेको छैन । यदि यसको उचित र विवेकशील ढङ्गले प्रयोग हुन सकेको भए नेपालीको जीवनस्तर अहिलेको भन्दा ४–५ गुणा माथि हुने थियो । नेपालमा जलविद्युत्को सम्भावना अत्यधिक रहेको र त्यसमध्ये ४० गिगावाट आर्थिक र प्राविधिक रूपले सम्भव भएको तथ्य सार्वजनिक भएका छन् ।
यो सम्भाव्यतालाई कार्यान्वयनको तहमा लग्न सकिए देशको आर्थिक– सामाजिक विकासले एउटा निश्चित बाटो पहिल्याउने कुरा निर्विवाद छ । तर, अहिले नेपालले यो सम्भावनाको करीब १ प्रतिशत मात्र सदुपयोग गर्न सकेको छ । अहिलेका विकसित वा अविकसित जुनसुकै राष्ट्रले हासिल गरिरहेको आर्थिक वृद्धिदर बिजुलीको उपलब्धता, नियमितता र निरन्तरतामा निर्भर छ ।
अझ अनुसन्धानहरूले बिजुलीको उपभोग र आर्थिक तथा सामाजिक विकासबीच घनिष्ट सम्बन्ध रहेको तथ्यलाई पुष्टि गरेको कुरा उल्लेखनीय छ ।
यसले पनि विद्युत् उत्पादनको महत्वपूर्ण साधन भएको प्रमाणित गर्छ । विद्युत् अभावमा आर्थिक–सामाजिक विकासका उद्देश्यहरू हासिल गर्न सकिन्न । प्रस्तुत स्तम्भकारले हालसालै गरेको एक अनुसन्धानअनुसार नेपालको राष्ट्रिय आम्दानीमा १ प्रतिशतले वृद्धि हुँदा बिजुलीको उपभोग ३ प्रतिशतले वृद्धि हुन्छ । यसले बिजुलीको माग अत्यन्त लोचदार रहेको देखाउँछ ।
अर्थात् नेपालको कुल राष्ट्रिय आम्दानीमा भएको वृद्धिको तुलनामा बिजुलीको माग तीन गुणा बढी हुने गरेको छ । त्यस्तै, बिजुलीको प्रतिएकाइ मूल्यमा परिवर्तन हुँदा सोही अनुपातमा बिजुलीको मागमा फरक पर्छ । यसले के प्रमाणित गर्छ भने नेपालमा सम्भावित जलविद्युत्को उत्पादन गर्न सके त्यसको खपत देशभित्र नै हुन सक्छ । अर्को शब्दमा भन्ने हो भने, बिजुलीको घरेलु बजार अत्यन्त फराकिलो छ ।
नेपालले आफ्ना छिमेकी मुलुकहरूले विगत दुई दशकदेखि चालेका विकासका पाइलाहरूको अनुशरण गर्न आवश्यक छ । हाम्रा छिमेकीहरूको औसत आर्थिक वृद्धिदर अहिले लगभग प्रतिवर्ष दुई अङ्कको हाराहारीमा छ । यसको अनुशरण मात्र गर्न सके नेपाललाई बिजुलीको अझ बढी आवश्यकता पर्छ । यसो हुन सकेमा एकातिर देशको विकासको गति तीव्र बनाउन सहयोग पुग्छ भने अर्कोतिर यसले घरेलु बजारमा बिजुलीको खपत बढाउँछ ।
तर, वार्षिक आर्थिक वृद्धिदर दुई अङ्कका दरले प्राप्त गर्न पनि बिजुलीको उपलब्धता नियमित र निरन्तर हुनु आवश्यक छ । यसका निमित्त खेर गइरहेको पानीको सदुपयोग गरी विद्युत् उत्पादन गर्नु आवश्यक छ ।
नेपालको जलविद्युत् क्षेत्रको विकासको सम्भावनाबारे कतिपय विद्वानको चिन्तन अलिक फरक ढङ्गले प्रस्तुत हुने गरेको पाइन्छ । विद्युत् निर्यातले मात्र देशको विकास हुन सक्ने उनीहरूको तर्क छ । यसमा मेरो पनि सहमति छ । तर, मेरो भनाइ नेपालले प्रयोग गरेर बाँकी भएको बिजुली मात्र निर्यातयोग्य हुनुपर्छ भन्ने हो । हाम्रा होनहार युवाहरू त निर्यातयोग्य वस्तु भइरहेको अहिलेको अवस्थामा बिजुली निर्यात हुन नसक्ने भन्ने कुरै हुँदैन ।
सम्भावित विद्युत् उत्पादन गर्न सकिएको अवस्थामा ऊर्जासङ्कटले पिरोलिरहेका हाम्रा छिमेकी मुलुकहरू प्रचलित मूल्यमा बिजुली किन्न पक्कै हिचकिचाउँदैनन् । उनीहरूले अन्य वस्तु तथा सेवाहरूको आयात तथा निर्यात गरेजस्तै विद्युत् पनि आयात तथा निर्यात गर्ने निश्चित छ ।
अब प्रश्न उठ्छ, के नेपाल घरेलु स्रोत तथा साधनको प्रयोगबाट सम्भावित जलविद्युत् उत्पादन गर्न सक्षम छ ?
नेपालले एक दशक अघिदेखि नै विद्युत् सङ्कटले आक्रान्त छ । नेपाल घरेलु स्रोत र साधनको प्रयोगबाट जलविद्युत् उत्पादन गर्न सक्षम भएको भए बिजुली सङ्कटको यस्तो अवस्था नै आउने थिएन ।
नेपालमा उपलब्ध स्रोत तथा साधनले यसको प्रयोग गर्न कठिन मात्र होइन, हालको परिस्थितिमा असम्भवप्रायः देखिन्छ । त्यसकारण पनि नेपालले जलविद्युत् उत्पादनका लागि अन्तरराष्ट्रिय, क्षेत्रीय तथा द्विपक्षीय लगानीको खोजी गर्नु आवश्यक छ । विदेशी लगानीकर्ताहरू नेपालको जलविद्युत् विकासमा लगानी गर्न उत्सुक देखिएका पनि छन् किनभने यसको बजार अत्यन्तै फराकिलो छ ।
लगानीकर्ताहरू आफुले गरेको लगानी सुरक्षित रहन्छ वा रहँदैन त्यसको लेखाजोखा गर्छन् । त्यस्तै, दुई वा दुईभन्दा बढी व्यक्ति, समूह वा देशहरू जसले पनि कुनै जलविद्युत् आयोजनामा लगानी गर्दा लगानीको अनुपात र त्यसबाट हुन सक्ने जोखिम र फाइदाको बाँडफाँट दुइटा कुरालाई राम्ररी विश्लेषण गरेर मात्र लगानी गर्ने गर्छन् ।
अब प्रश्न आउँछ, द्विपक्षीय लगानीको । मानौं नेपालको जलविद्युत् विकासमा भारत लगानी गर्न चाहन्छ । नेपालको जलविद्युत् विकासमा लगानी गर्न भारतको इच्छा र तत्परता त छँदै छ, लगानी गर्न सक्षम पनि छ । त्यत्ति मात्र होइन, भारतलाई बिजुली आवश्यक पनि छ । केही ठूला जलविद्युत् आयोजनाको निर्माण गर्ने इजाजतपत्र पनि भारतले लिइसकेको छ । यीमध्ये केहीको निर्माण शुरू हुने प्रक्रियामा छ ।
यसो हुँदाहुँदै पनि जलविद्युत् विकासको सम्बन्धमा नेपालले अझै पनि भारतीय लगानी आकर्षित गर्न सकेको भने छैन । विद्युत् विकासको प्रक्रियामा किन ढिलाइ भइरहेको छ भन्ने तर्फ आजसम्म हाम्रो ध्यान गम्भीर रूपमा जान सकेको छैन । कहिले जलविद्युत् विकासका लागि भनेर आयोग गठन हुन्छ त कहिले विद्युत् विकास फण्डको घोषणा गरिन्छ ।
वास्तवमा भन्ने हो भने, जलविद्युत् क्षेत्रको विकासका लागि क्षेत्रीय सहयोगको अवधारणा आजको आवश्यकता हो । यसो नभएसम्म यसको विकास हुने सम्भावना अत्यन्तै न्यून छ । विद्युत् विकासका लागि क्षेत्रीय अवधारणाका साथ दक्षिण एशियाका मुलुकहरू एकै ठाउँमा आबद्ध भई अघि बढेमा लगानीका ढोकाहरू खुल्न सक्छन् । यसो हुन सके भारतीय लगानी मात्र नभई दक्षिण एशियाका सबै मुलुक यस क्षेत्रमा लगानीका लागि आकर्षित हुन सक्छन् । यसरी अघि बढ्न सकिएमा नेपालको विद्युत् विकासमा अन्तरराष्ट्रिय लगानी पनि आकर्षित हुन सक्छ ।
लेखक त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका सहप्राध्यापक हुन् ।